मीठो झगडा

मीठो झगडा

म बिग्रेको मौसम झैँ
गड्गडाई हिँड्छु
खुट्टा बजार्छु
फनफनी घुम्छु
के-के न गर्छु झैँ
रिसाइ हिँड्छु
भुतभुताउँछु
र झन् उग्र हुन्छु

०००

उनी चुपचाप चुपचाप
मौनता साँध्छिन्
साँध्छिन्-साँध्छिन् साँध्छिन्...
धारिलो पार्छिन्
र मार हान्छिन्
छिनाल्दिन्छिन् गर्धन
मेरो अहंकारको
मेरो आक्रोशको
र म
दुधकोशी झैँ  सित्तल
चिसो....चिल.....बहन्छु

०००
कामना छ मेरो
जिन्दगीभर यसरी नै
हारिरहन पाऊँ

४ चैत, २०७९, ०७:५२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।