अम्रिसो बेचेरै शिक्षकलाई तलब खुवाउने एक विद्यालय, वर्षमा गर्छ पाँच लाख बढीको आम्दानी

अम्रिसो बेचेरै शिक्षकलाई तलब खुवाउने एक विद्यालय, वर्षमा गर्छ पाँच लाख बढीको आम्दानी

सुर्खेत : विद्यालय संचालनका लागि स्थानीय स्रोतबाट राखिएको शिक्षकलाई तलब खुवाउन रकमको अभाव भएपछि पश्चिम सुर्खेतमा रहेको एक विद्यालयले गजबको जुक्ति लगायो, अम्रिसो खेती।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि करिब २६ किलोमिटर दुरीमा पर्छ पश्चिम सुर्खेतको बराहताल गाउँपालिका। यसै गाउँपालिकाको वडा नम्बर ४ स्थित माथिल्लो तरङ्गामा छ जनज्योति आधारभूत विद्यालय।

२०५५ सालमा स्थापना भएको विद्यालयमा बालविकासदेखि कक्षा आठसम्म पढाइ हुन्छ। यस विद्यालयमा २०२ जना विद्यार्थी अध्ययनरत छन्।

कुल सात जना कर्मचारीले यो पुरै विद्यालय धान्नुपर्ने वाध्यता छ। विद्यालयमा एक जना बालविकास शिक्षक, प्रावि तहमा दुई जना राहत शिक्षक, निमावि तहमा तीन जना स्थानीय स्रोतका शिक्षक र एक जना कार्यालय सहयोगी कार्यरत छन्।

थोरै शिक्षक भएकाले एक जनाले सात घण्टीसम्म पढाउनुपर्छ। सरकारले सिर्जना गरेको दुई जना राहत शिक्षकले नै अध्यापन गराउन नसक्ने भएपछि अन्य शिक्षक राख्नुपर्ने आवश्यकता विद्यालयलाई भयो।

विद्यालयले स्थानीय स्रोतबाट तीन जना शिक्षक राख्यो। तर उनीहरूलाई तलब दिनका लागि स्थानीय स्रोत भने केही थिएन।

न त, त्यहाँका स्थानीय अभिभावकले शिक्षकलाई तलब खुवाउन चन्दा नै दिन सक्थे, न त विद्यालय व्यवस्थापन समितिले अन्य स्रोत नै जुटाउन सक्थ्यो। 

तर, विद्यालय व्यवस्थापन समितिकै पूर्व अध्यक्ष ओमबहादुर महताराले एउटा उपाय निकाले। जसअनुसार शिक्षकका लागि तलब भत्ता जुटाउन विद्यालयले आफ्नो जमिनमा अम्रिसो खेती गर्न थाल्यो।

अम्रिसोलाई अम्लिसो पनि भन्ने गरिन्छ। यो लामो डाँठ हुने एक प्रकारको घाँस हो। नेपालको मध्य तथा पुर्वी पहाडी भेगमा पाइने यसलाई कुचो बनाउन प्रयोग गरिन्छ।

‘दुई जना राहत शिक्षकले मात्रै विद्यालय धान्ने स्थिति भएन, विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार हामीले तीन जना स्थानीय स्रोतबाट शिक्षक राख्यौं,’ विद्यालयका प्रधानाध्यापक बसन्तप्रसाद रेग्मी भन्छन्, ‘उनीहरूलाई तलब दिने कुनै पनि स्रोत नभएपछि विद्यालयको आठ कट्ठा जमिनमा अम्रिसो लगाएर आम्दानीको स्रोत बनाएका छौं।’ 

सिंचाइको अभाव भएका कारण वर्षौंदेखि बाँझो रहेको जमिनमा अरू केही पनि खेती हुन्थेन। तर अहिले अम्रिसो भने निकै फस्टाएको छ। 

२०७५ सालबाट विद्यालयले अभिभावकको सहयोगमा जंगलबाट बिउ ल्याएर अम्रिसो लगाउन सुरु गरेका थिए। यसपछि २०७७ फागुनदेखि अम्रिसो बिक्री गर्न थालिएको थियो।

विद्यालयमा आन्तरिक स्रोत पनि नभएका कारण स्थानीय स्रोतका शिक्षक नै जागिर छोड्ने स्थिति आएपछि अम्रिसो खेतीको उक्त जुक्ति आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण थापाले बताए।

अहिले विद्यालयको आठ बिघा जमिनमा अम्रिसो लगाइएको छ। हरेक वर्षको फागुनमा अम्रिसो काट्ने गरिन्छ। जसका लागि प्रत्येक घरका एक जना अभिभावक श्रमदानमा अम्रिसो काट्न र बोक्न आउँछन्।

शिक्षक नहुँदा आफ्ना बालबालिकाको पढाइ प्रभावित हुने र शिक्षकलाई तलब दिन आफूसँग पैसा नहुँदा विद्यालयले गरेको यो काम प्रशंसनीय रहेको बताउँछन् माथिल्लो तरङ्गाकै स्थानीय शिवराज गौतम।

‘केही कृषि गरौं भने सिंचाई छैन, मकै र गहुँ पनि आकासे पानीकै भर पर्नुपर्छ, जसबाट उत्पादन भएको अन्नले तीन/चार महिना मात्रै खान पुग्छ,’ उनी भन्छन्, ‘सबै मान्छे भारत नगएर पुग्दैन, हामीले कहाँबाट चन्दा दिन सक्छौं? त्यसैले सबै घरका एक-एक जना मान्छे अम्रिसो काट्न र बोक्न श्रमदान गर्छौं।’

यसरी संकलित अम्रिसो लिन कर्णाली र लुम्बिनी प्रदेशका व्यावसायिक संस्था र व्यक्तिहरू घरमै आउने गरेका छन्।

कुचो बन्ने फूल भएको अम्रिसोलाई प्रतिकिलो ८५ रुपैयाँ र त्यसको तलपट्टीको डाँठलाई प्रतिकिलो १० रुपैयाँका दरले विद्यालयले बिक्री गर्दै आएको छ।

विद्यालयका प्रधानाध्यापक रेग्मीका अनुसार विद्यालयले २०७७ सालमा ९८ हजार रुपैयाँको अम्रिसो बेचेको थियो।

त्यसैगरी २०७८ मा एक लाख २४ हजार रुपैयाँ र यो वर्ष २०७९ मा पाँच लाख ७१ हजार रुपैयाँको अम्रिसो विद्यालयले बिक्री गरेको छ। यस रकमले नै  स्थानीय शिक्षकहरूलाई तलब खुवाउने गरेको उनले बताए।

तर अम्रिसो बेच्दा पनि स्थानीय शिक्षकहरूलाई पुग्ने तलब जुटाउन समस्या भएको उनी बताउँछन्।

रेग्मीका अनुसार तीन जना शिक्षकलाई मासिक ६५ हजार रुपैयाँ दिनुपर्छ। यसरी १३ महिनाको जोड्दा आठ लाख ४५ हजार रुपैयाँ त तीन जनाको तलब मात्रै हुन आउँछ।

‘यही स्रोत पनि अपुग भएको छ। यहाँ अभिभावकबाट श्रमदान बाहेक अरू आउन सक्ने स्थिति छैन। अभिभावकसँग सहयोग मागे पनि भोलीपल्टदेखि विद्यार्थीलाई अभिभावकले स्कुल पठाउनै छोडिदिने अवस्था छ,’ उनले भने।



साबिक तरङ्गा गाउँ विकास समितिको ५ नम्बर वडा रहेको माथिल्लो तरङ्गामा २२६ घरधुरी छन्। कक्षा आठ पास गरेपछि करिब ४५ मिनेट हिंडेर यहाँका विद्यार्थी सोही वडाको तल्लो तरङ्गास्थित भेरी माविमा पढ्न जाने गर्छन्।

यस विद्यालयमा शिक्षकलाई तलब खुवाउने समस्यासँगै अपांगमैत्री शौचालय र इन्टरनेटको असुविधा रहेको प्रधानाध्यापक रेग्मीको भनाई छ। प्रदेश सरकारबाट क्रमागत रुपमा परेको चार कोठे भवन पनि हाल निर्माणाधिन अवस्थामा छ।

३ चैत, २०७९, ०९:२१:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।