अन्धविश्वासले निम्त्याएको लीलाको दुख : २० वर्षकी माताले ‘बोक्सी’ नचाउने भन्दै छोरीको ज्यान खोसिन्, शोकमा छिमेकीले सद्भाव खोसे

अन्धविश्वासले निम्त्याएको लीलाको दुख : २० वर्षकी माताले ‘बोक्सी’ नचाउने भन्दै छोरीको ज्यान खोसिन्, शोकमा छिमेकीले सद्भाव खोसे
शोकमा रहेकी लिला अनी मृतक सिता। तस्बिर विकाश पराजुली।

बुटवल : सैनमैना नगरपालिका वडा नम्बर १० मा रहेको ज्ञवाली परिवारको कान्छी छोरी झारफुकको क्रममा मारिइन्। भिडियो सार्वजनिक भएपछि मलामी गएकासहितलाई प्रहरीले छानबिनका लागि लग्यो।

कान्छी छोरीको झारफुकका क्रममा यातनाका कारण मृत्यु भएको १० दि बित्दा पनि लीला ज्ञवालीको घर सुनसान छ।

मृत्यु संस्कार नसकिएसम्म आफ्ना, नातागोता, आफन्त, छिमेकबाट समवेदना आउने सामाजिक परम्परा छ। तर लीला सबैबाट एक्लिएकी छिन्। माइत आएकी छोरी र उनको बच्चा बाहेक अरू कोही छैनन् घरमा।

बिरामी भएकी १४ वर्षीय सीता ज्ञवालीलाई यातना दिँदा उनको मृत्यु भएको थियो। यातना दिँदा आमा-बुबाले समेत केही नगरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भयो। अनि उनी समाजबाट एक्लिइन्।

फागुन २० मा झारफुककोक्रममा यातना दिएपछि छोरीको मृत्यु भयो। अनि परिवारका सदस्य मिलेर रातारात शवको अन्त्येष्टि गरे। दुई दिनपछि यातना दिएको भिडियो सार्वजनिक भयो। अनि सबै पक्राउ परे।

प्रहरीले अनुसन्धानको क्रममा उपचार गर्ने माता, माताको परिवार, मृतकको बुबा ताराप्रसाद ज्ञवाली, मृतकका मामा ईश्वरी पोखरेलसहित मलामी जाने १८ जनालाई हिरासतमा राखेको छ।

१० जना तारिखमा छन्। आमा छोरीको मृत्युसँगै समाजबाट एक्लिँदाको पीडामा छिन्।

के थियो घटना ?

सहर उन्मुख रुपन्देहीको सैनमैना १० का ताराप्रसाद ज्ञवाली र लीला ज्ञवालीकी कान्छी छोरी हुन सिता। ज्ञवालीका ३ छोरी र १ छोरा छन्। २ छोरीको विवाह भइसकेको छ।

सितालाई केही दिनदेखि कान दुख्ने र ज्वरो आउने समस्या थियो। निरन्तर ज्वरो आएपछि सालझण्डीकै एक क्लिनिकमा उपचार भयो।

क्लिनिक सञ्चालकले रगत, पिसाब जाँच गरेर केही औषधी दिएर घर पठाए। बुटवल जान सल्लाह दिए।

तर घर पुगेपछि सितालाई सन्चो भयो। त्यसपछि बुवा ताराप्रसाद ज्ञवालीले हेराउने भन्दै छोरीलाई अटोमा राखेर माताकोमा लगे।

१० बेमटेनी टोलमा माता भनिने युवतीको घर थियो। अटोमा लगेका सितालाई त्यहाँ लगेपछि माताले ‘बोक्सी’ का कारण बिरामी भएको भन्दै पहेँलो अक्षताले हानिन्।

ज्वरोले थलिएको उनको शरीर कमजोर थियो । परिवारले नपिट्न भने पनि ‘बोक्सीलाई हानेको हो, दुख्दैन’ भन्दै माताले पिटिरहिन्।

‘मैले नहान्नुस् भन्दा बोक्सी नचाएर देखाउँछु भन्दै पिटेकी हुन’ मृतक सिताकी आमा लीलाले भनिन्।

माताले बोक्सी नचाएर देखाउँछु भन्दै त्यसको भिडियो समेत खिच्न मृतककी मामालाई भनिन्। घटनाको २ दिनपछि यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो।

भिडियोमा सीताले माताको यातना सहन नसकेका कारण मृत्यु भएको देखिएपछि दाहसंस्कारमा गएका गाउँलेहरू पनि अनुसन्धानमा तानिए।

प्रहरीले माता बताउने संज्ञा रेश्मी, माताको परिवार, मृतकका बुवा ताराप्रसाद, मृतकका मामा ईश्वरी पोखरेलसहित मलामी जाने १७ जनालाई नियन्त्रणमा लिएर थुनामा राख्यो।

सैन मैना नगरपालिका वडा नं १० को बेमटेनीकी २२ वर्षीय अविवाहित संज्ञा रेश्मी माता भएको धेरै लामो समय भएको थिएन।

प्लस टुमा शिक्षा शास्त्र अध्ययन गरेकी उनलाई केही समयदेखि माता उत्रने गरेको छिमेकीहरू बताउँछन्।

सैन मैना नगरपालिका वडा नं १० का वडाध्यक्ष कृष्णप्रसाद घिमिरे आफ्नो वडामा अकल्पनीय घटना भएको बताउँछन्।

घटना लगतै कार्यालयमा कुनै पक्ष उजुरी नआएको भन्दै उनले मृतकको बाआमा, मामा, लामा गर्ने बैनी बाबुआमाले घटनाको भिडियो बाहिर आएपछि एकाएक घटना बाहिरिएको बताए।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले  घटनाबारे अनुसन्धान अगाडि बढेको बताउँछन्। अदालतबाट अनुमति लिई अनुसन्धान अघि बढेको उनको भनाई छ।

१ चैत, २०७९, १७:३७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।