पहिलो पटक होली खेलेका पर्यटकको अनुभूति : जीवनकै सबैभन्दा रमाइलो क्षण (तस्बिरहरू)

पहिलो पटक होली खेलेका पर्यटकको अनुभूति : जीवनकै सबैभन्दा रमाइलो क्षण (तस्बिरहरू)

पोखरा : पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा पोखरेली र विदेशी पर्यटकहरूले सँगसँगै होली मनाएका छन्। उनीहरूले एक आपसमा शुभकामना साटासाट गरी रंगहरुको पर्व होली मनाएका हुन्।

रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) ले पोखराको लेकसाइडमा आयोजना गरेको होली विशेष कार्यक्रममा पोखरेली र विदेशी पर्यटकहरूले आपसमा रंग खेलेर आत्मीयता बढाए।

पोखराका पर्यटन व्यवसायीहरूले भाइटीका, होली लगायतका चाडपर्वहरू विदेशी पर्यटकहरूसँगै विशेष कार्यक्रमको आयोजना गरी मनाउँदै आएका छन्।

यसरी विदेशी पर्यटकसँग चाडपर्व मनाउँदा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने र आपसी भाइचारा तथा मित्रता पनि कायम हुने व्यवसायीहरूको विश्वास रहेको छ। 

रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले पछिल्लो समय सुस्ताएको पर्यटनलाई चलायमान बनाउने र नेपाली संस्कृतिलाई विदेशी पर्यटकका माझ चिनाउने उद्देश्यले प्रत्येक वर्ष होली उत्सव आयोजना गर्दै आएको बताए।

उता जीवनमै पहिलो पटक खेलिएको होलीले निकै रमाइलो अनुभूति भएको अमेरिकन नागरिक रोवट हर्टले बताए।

‘जीवनको सबै भन्दा रमाइलो क्षणको रुपमा मैले यस होलीलाई लिएको छु,’ उनले भने, ‘यस पटकको नेपाल भ्रमण मैले सोचेभन्दा रमाइलो र अविस्मरणीय रह्यो।’

होली कार्यक्रममा विदेशी पर्यटकहरू निकै रमाएका थिए। उनीहरू आपसमा रंग दलेर होली मनाउँदा निकै प्रसन्न मुद्रामा देखिएका थिए। पर्यटकको बढी चहलपहल हुने लेकसाइडको फिस्टेल गेटदेखि हल्लन चोकसम्मको क्षेत्र होलीले आकर्षक बनेको थियो।

 

२२ फागुन, २०७९, १६:५८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।