उकेरा टप फाइभ : बालेनको विकासे मोडलदेखि विस्फोट भएको घरसँग जोडिएको ब्ल्याकमेलिङदेखि नक्कली नागरिकतासम्मको प्रसङ्ग

उकेरा टप फाइभ : बालेनको विकासे मोडलदेखि विस्फोट भएको घरसँग जोडिएको ब्ल्याकमेलिङदेखि नक्कली नागरिकतासम्मको प्रसङ्ग

काठमाडौं : आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि शुक्रबार पनि उम्मेदवारहरूको दौडधूप जारी रह्यो।

एमालेबाट उम्मेदवार बनेका सुवास नेम्वाङ यसदिन जनमत पार्टीको कार्यालयमा पुगेर अध्यक्ष सिके राउतसँग भोट मागे।

उता आठ दलीय गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेर सभापति रवि लामिछानेसँग भेट गर्दै भोट मागे।

दुवै उम्मेदवार आफ्ना पार्टीका नेताहरूसहित मत माग्दै हिँडे। उनीहरूले आफू नै राष्ट्रपति हुनका लागि योग्य रहेको भन्दै सहयोग गर्न आग्रह गरे।

यस्तै, शुक्रबार नै नेपाली क्रिकेट टिमले युएईमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तरर्गतको सिरिजमा पपुवा न्यूगिनीलाई ३ विकेटले पराजित गर्यो। नेपालको जितमा सन्दीप लामिछाने र आशिफ शेखले महत्वपूर्ण पारी खेले।

अब लागौं टप फाइभतर्फः
उकेराले बुधबार कर्णाली प्रदेश सभाका अधिकांश सांसदहरूले स्वकीय सचिवमा आफ्नै परिवारका सदस्य र नजिकको नातेदारलाई नियुक्त गरेकोबारे समाचार छाप्यो। प्रदेश सभा सचिवालयले दिएको जानकारीअनुसार प्रदेश सभाका ४० सांसदमध्ये हालसम्म ३६ जनाले स्वकीय सचिव नियुक्त गरिसकेका छन् जसमा धेरैका स्वकीय सचिव आफ्नै नातेदार छन्।
पूरा समाचारः कर्णालीका अधिकांश सांसदका स्वकीय सचिव छोरा-ज्वाइँ अनि भाइ-भतिज

दिउँसो उकेराले साप्ताहिक शेयर समीक्षा प्रकाशित गर्यो। यो साता राजनीतिक अस्थिरता निम्तने जोखिमले ‘बुलिश’ यात्रातर्फ बामे सर्दै गरेको नेप्सेलाई पुनः ‘बियरिश’ यात्रातर्फ उन्मुख गराएको छ। यसको पछाडिको अर्को कारण राष्ट्र बैङ्कको आर्थिक नीति पनि हो। राष्ट्र बैङ्कले लघुवित्तहरूलाई कस्ने नीति ल्याएसँगै लघुवित्त क्षेत्रमा त पहिरै गएको छ।
पूरा समाचारः साप्ताहिक शेयर समीक्षा: अस्थिरता उन्मुख राजनीति र राष्ट्र बैङ्कको रवैयाले नेप्से बियरिश यात्रामा

दिउँसै उकेराले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको विकासे मोडलबारे समाचार प्रकाशित गर्यो। अहिले वीर अस्पताल अगाडि रहेका फार्मेसी हटाइएको स्थानमा निजी कम्पनीले पार्किङ गराइरहेको छ भने टुकुचा प्वाल पारिएको स्थानमा दुर्गन्ध फैलिएको छ।
पूरा समाचारः बालेनको विकास मोडल : वीर अगाडिको मेडिकल हटाएर निजीलाई पार्किङ, टुकुचा प्वाल पारेर दुर्गन्ध उपहार

साँझपख उकेराले नेपालले पपुवा न्यूगिनीविरुद्धको खेल संघर्षपूर्ण तरिकाले जितेको समाचार छाप्यो। खेलमा आशिफ शेख र सन्दीप लामिछानेको योगदान महत्वपूर्ण रह्यो।
पूरा समाचारः आशिफ सम्हालिँदा पीएनजीविरुद्ध नेपालको संघर्षपूर्ण जित

शुक्रबार नै बेलुकी उकेराले विस्फोटमा परेको कपनको घरमा ब्ल्याकमेलिङदेखि नक्कली नागरिकतासम्म जोडिएको समाचार प्रकाशित गर्यो। उक्त घरसँग अहिले नेपाली मुलका बेलायती नागरिक निम्स पूर्जासमेत जोडिएका छन्।
पूरा समाचारः विस्फोटमा परेको कपनको घर जोडियो ब्ल्याकमेलिङदेखि नक्कली नागरिकतासम्म!

१९ फागुन, २०७९, २२:५५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।