सामुदायिक शिक्षाको गुणस्तर बढाउन एक सय ५० स्वयंसेवक शिक्षक राख्दै भरतपुर महानगर

सामुदायिक शिक्षाको गुणस्तर बढाउन एक सय ५० स्वयंसेवक शिक्षक राख्दै भरतपुर महानगर

चितवन : सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन भरतपुर महानगरपालिकाले एक सय ५० युवा स्वयंसेवक शिक्षक थप गर्ने भएको छ। महानगरकी मेयर रेनु दाहालले यसका लागि बजेट समेत विनियोजन भइसकेको बताइन्।

साझापुर माध्यमिक विद्यालयको ७९ औँ वार्षिकोत्सवको एवम् अभिभावक दिवस कार्यक्रममा बोल्दै उनले एक कक्षा कोठा एक शिक्षकको नीति अगाडि बढाइने बताइन्।

महानगरपालिकाले सामुदायिक विद्यालयलाई थप आकर्षणको केन्द्र बनाउन विद्यालयको पहिचान गरी यो कार्यक्रम लागू गर्न लागेको उनको भनाई थियो।

‘विद्यालयमा भौतिक पूर्वाधार निर्माण भएका छन्। अब स्थायी शिक्षकको दरबन्दी पनि छिटै मिलान गर्छौ' उनले भनिन्।

भरतपुर महानगर क्षेत्र शिक्षाको हबको रूपमा विकास भइरहेकाले अन्य जिल्लाबाट सिकाइको लागि यहाँका विद्यालयमा शिक्षक विद्यार्थी आउने गरेको उनले बताइन्।

दाहालले विद्यालयको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगतको ४ कोठे भवनको शिलान्यास समेत गरेकी थिइन्। ४ कोठे भवन निर्माणका लागि ३५ लाख विनियोजन भएको छ।

मेयर दाहालले हालै नारायणी पुलमा जडान गरेको सोलार बत्तीसँगै नारायणी किनारमा आरती स्थल र नदी किनारा संरक्षण योजनाको शिलान्यास समेत गरेकी थिइन्। पछिल्लो समय स्वास्थ्य पूर्वाधार विकासका कार्यक्रम अगाडि बढाउन दाहालले प्राथमिकता दिँदै आएकी छिन्।

१९ फागुन, २०७९, १८:१७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।