ह्यारी कि प्यारी : रुढिवादी सोचले ग्रस्त, कथाको संसारमा पुर्‍याउनै नसक्ने

ह्यारी कि प्यारी : रुढिवादी सोचले ग्रस्त, कथाको संसारमा पुर्‍याउनै नसक्ने

काठमाडाैं : सञ्चारमाध्यममा अन्तरवार्ता धेरै आए, ‘हाँस्य कलाकार जितु नेपालले सुन्दरी नायिका साम्राज्ञी राज्यल्क्ष्मी शाहसँग रोमान्स गर्ने।’

जसमा जितुको भनाइ छ– ‘म जस्तो मानिस फिल्मको हिरो। म जस्तो मानिस साम्राज्ञीसँग रोमान्स गर्ने। पत्याउनै मुस्किल पर्यो।’

साम्राज्ञीले पनि कथा पढेपछि कन्भिन्स भएको तर सुरूमा अनौठो लागेको बताइन्।

सुरुवातदेखि नै बलिउडको ह्याङबाट उत्रिन नसकेको नेपाली फिल्मको रूढिवादी सोच छ– हिरो भनेको यस्तो हुनुपर्छ, हिरोइन भनेको उस्तो हुनुपर्छ।

दयाहाङ राई, सौगात मल्ललगायतले हिरो भनेको त्यस्ता पनि हुन्छन् भन्ने भाष्य निर्माणमा सहयोग गरिरहेको समयमा ‘ह्यारी कि प्यारी’ले मानिसको पुरानो सौन्दर्य चेतलाई बढवा दिएको छ।

फिल्ममा एउटा संवाद छ, जहाँ जेनी(साम्राज्ञी)ले ह्यारी(जितु)लाई शुक्रकिट दानका लागि रोज्ने समयमा भन्छिन्, ‘यो मानिस न अनुहारले राम्रो छ, न पढेलेखेको नै। पैसामा मात्रै ध्यान छ त्यसैले यसैलाई फिक्स गर्नू?’

अर्थात् ह्यारीको न उचाइ धेरै छ, न गोरो छ। ऊ नराम्रो छ। जेनी अग्लो छे, गोरी छे, त्यसैले ऊ राम्री छे।

ह्यारीजस्तो मानिस शारीरिक रूपमा सुन्दर हुँदैन तर जेनीजस्तो मानिस सुन्दर हुन्छ भन्ने भाष्य फिल्मले निर्माण गरेको छ। किशोरावस्थाको बालबालिकालाई यस्ता फिल्मले मनोवैज्ञानिक रूपमा ठूलो असर पार्छ। फिल्मले समाजको विविधता स्वीकार्न सक्ने क्षमतालाई कम गर्नुका साथै पश्चगामी सोचलाई बढावा दिन्छ।

यै फिल्मको कथाजस्तै, सुन्दरताको मापदण्ड तय गरिएका फिल्महरू ‘सुन्दर मेरो नाम’, ‘पोइ पर्यो काले’ लगायतका फिल्म पनि बनेका छन्। जसले सबै मानिस सुन्दर हुन्छन्, उसले गर्ने काम मात्रै असल र खराब छ भन्नुको सट्टा मानिस सुन्दर नभए पनि मन सुन्दर छ भन्ने खालको सन्देश दिन्छ। यी फिल्महरूमा केटा मानिसको बडि सेमिङ गरिएको छ। जुन समाजका लागि हानिकारक छ।

त्यस्तै, हातमा स्मार्टफोन बोक्ने गाउँले, जसलाई सामान्य कुरा पनि थाहा हुँदैन। शहरमा बस्ने केटी जो पब र रेष्टुरन्ट नगई आधुनिक बन्दिन। फिल्म ‘ह्यारी कि प्यारी’को चरित्र निर्माणमै समस्या छ। पुरानो सामाजिक रूढिवादी सोचले फिल्मको पात्र निर्माण गरिएको छ।

फिल्ममा चित्त बुझाउन सकिने कुरो सिनेमेट्रोग्राफी छ। सुन्दर हिमाल ब्याकग्राउन्डमा हेर्न सकिन्छ।

नेपालमा स्पष्ट कानून नबनिसकेको शुक्रकिट दान, गाउँले नायक ह्यारी र शहरिया नायिका जेनीको भेट्ने माध्यम बनाइएको छ। नेपालको कानूनअनुसार विवाहको परम्परागत प्रक्रिया अवलम्बन गर्न नसकेको अवस्थामा जिल्ला अदालतबाट दर्ताद्वारा गरिने विवाह (कोर्ट म्यारिज)लाई विदेशी जसरी देखाइएको छ फिल्ममा।

समाज एक्लो व्यक्तिले बन्दैन, समूह चाहिन्छ भन्ने कुरालाई पूर्ण रूपमा बेवास्था गरिएको छ। ३५ वर्षको उमेरसम्म पनि समाजसेवा मात्रै गर्ने, बेरोजगार, अरुको मात्रै चिन्ता गर्ने तर आफूलाई समय नदिने, भएको जग्गासमेत धितो राखेर स्वास्थ्य चौकी निर्माण गर्न खोज्ने पुरुष फिल्ममा मात्रै सुपरहिरो हो, वास्तविकतामा हैन।

फिल्ममा न वास्तविक (रियालिष्टक) कुरा देखाउन सकिएको छ, न काल्पनिक (फेन्टासी) नै। वास्तविक र काल्पनिक दुवै विषय फिल्ममा समावेश गरिए पनि त्यो कथालाई उपयुक्त र सुन्दर ढंगले फिल्ममा अटाउन सकिएको छैन।

फिल्ममा अर्को दिक्क लाग्दो कुरा ह्यारीको काकाको भूमिमा निभाएका बिजय बरालको कथा लेखन छ। उनले गरेको अभिनय उत्कृष्ट छ तर पात्रको कथा लेखन निकै फितलो।

दुईओटा आइटम गीतको प्रयोग गतिलो तरिकाले भएको छैन। एउटा आइटम गीत नायिकाको शहरी रवाफ देखाउन प्रयोग गरिएको छ भने अर्को २ लाख सक्न। जसमा दर्शक कन्भिन्स हुँदैनन्।

सामान्य कुरामा समेत फिल्म चिप्लिएको छ। उदाहरणका लागि जेनी चिकित्सक हुन्। गर्भावस्थामा हिल लगाउन हुँदैन भन्ने कुरामा समेत ध्यान दिइएको छैन। यस्ता चिप्लिएका दृश्य धेरै छन्।

मग्रमा भन्दा फिल्मको लेखन निकै कमजोर छ, कथाको संसारमा दर्शकलाई लैजानबाट पूर्ण रूपमा चुकेको छ।

फिल्ममा गाउँले गरीब केटो र शहरीया धनी केटीको कथा देखाइएको छ। वर्गीय खाडलले निम्त्याएको द्वन्द्वमा दर्शक पुग्नै सक्दैनन्। दोस्रो हाफमा जेनी गाउँ गएपछि ५ दिनमै उनमा आएको परिवर्तन पनि उति पत्यारिलो छैन।

अझै अन्त्यमा चिकित्सकसमेत रहेकी जेनी सुत्केरी अवस्थामा बच्चा च्यापेर दगुरेको दृश्यले पुराना हिन्दी सिरियलको झल्को दिन्छ।

फिल्ममा चित्त बुझाउन सकिने कुरो सिनेमेट्रोग्राफी छ। सुन्दर हिमाल ब्याकग्राउन्डमा हेर्न सकिन्छ। जितुको अभिनयमा नौलोपना महसुस गर्न सकिन्छ।

पहिलो हाफमा साम्राज्ञीलाई अन्य फिल्महरूको जस्तो भूमिकामा देखिए पनि दोस्रो हाफमा उनको परिवर्तन महसुस हुन्छ। अन्य कलाकारहरूको अभिनय पनि दिक्क लाग्दो छैन। पाँचै दिनमा साम्राज्ञीमा आएको परिवर्तन अपत्यारिलो भए पनि सुन्दर भने छ।

गाउँले रितीरिवाज, उनीहरूमा भएको एकता फिल्ममा देखाइएको छ। विवाहको दृश्यमा बारीको पाटोमा भतेर खाएकोदेखि रत्यौली नाचेसम्मका दृश्यले आउने पुस्तालाई लोप हुँदै गएको विवाहबारे अवगत गराउनेछ।

फिल्ममा एक दृश्य छ, जसमा जेनीले ह्यारीलाई आफू नजिक बोलाउँछिन्। आफैँ हात समाउँछिन् र नायकको नजिक जान्छिन्। फिल्मको सम्पूर्ण थिम बुझाउन यहि एक दृश्य काफी छ। यसले वर्गीय रूपमा सम्पन्न हुनेबित्तिकै आउने आत्मविश्वास देखाउँछ।

यो बाहेक फिल्म पुरानो स्टेरियोटाइप सोचाइबाट ग्रस्त छ। फिल्मको कथा अहिलेको नेपाली समाज पनि बन्न सकेको छैन, पुरानो समाज पनि बन्न सकेको छैन। टाइमफ्रेम स्पष्ट नहुँदा फिल्ममा विविध समस्या देखिन्छन्।

कसको आँखाबाट कथा भनिएको हो, त्यो स्पष्ट हुन सकेको छैन। समग्रमा भन्दा फिल्मको लेखन निकै कमजोर छ, कथाको संसारमा दर्शकलाई लैजानबाट पूर्ण रूपमा चुकेको छ।

२१ माघ, २०७९, १८:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।