'के लत बस्यो मलाई'का रचनाकार मैनालीले गायक पेलालाई मानसिक यातना दिएको आरोप, के भन्छन् मैनाली ?

'के लत बस्यो मलाई'का रचनाकार मैनालीले गायक पेलालाई मानसिक यातना दिएको आरोप, के भन्छन् मैनाली ?

काठमाडौं: अहिलेको सर्वप्रिय गजल 'के लत बस्यो मलाई' का रचनाकारले गायकलाई मानसिक यातना दिएको आरोप लागेको छ। यस गजलका रचनाकार डा. प्रदीपकुमार मैनाली हुन् भने गायक तिलकसिंह पेला हुन्।

गजलकार जे. सागरले आफ्नो फेसबुक स्टेटसमार्फत् यो आरोप लगाएका हुन्। उनका अनुसार पहिले पेलालाई साथी बनाएर पटक-पटक आफ्नो गजल गाउन अनुरोध गरेका मैनालीले अहिले भने च्याटमा र अडियो मेसेजमा समेत धम्की दिन थालेका छन्।

उनले उक्त फेसबुक स्टेटस त डिलिट गरिसकेका छन्। तर उक्त आरोप लगाउने स्टेटसमा लेखेका थिए- 'गजल अप्रत्याशित सफल भएपछि गायकलाई तँ मेरो इशारामा चल्नुपर्छ, तँ मैले भनेको ठाउँमा मात्रै अन्तर्वार्ता दिन जानुपर्छ या मलाई पनि सँगै लिएर जानुपर्छ। तेरो युट्युब च्यानल र तेरो पुरानो नचलेको गीतहरू मेरो कारण चले। अब त्यसको कमाइ पनि भाग लगाउनुपर्छ भनेर मानसिक तनाव दिने काम 'के लत बस्यो मलाई' गजलकारको रचनाकारले गायकलाई गरिरहेका छन्।'

हाल उनले अर्को स्टेटस लेख्दै भनेका छन्- 'हिजो राखेको स्टेटसको सन्दर्भमा सम्बन्धित सर्जकहरूको आपसमा समझदारी भइसकेको खबर पाएकोले हटाइदिएको छु।'

आरोपबारे के भन्छन् डा. प्रदीपकुमार मैनाली?

'के लत बस्यो मलाई' गजल सम्बन्धमा सर्जक र सङ्गीतकार/गायकको विषयलाई लिएर केही टिप्पणीहरू देखापरेकाले मेरो गम्भीर ध्यान आकर्षण भएको छ। मैले यस गजल सम्बन्धमा आफ्नो नाम जोडिएन भनेर कहीँ कतै अभिव्यक्ति नदिएको, गुनासो नगरेको, कसैलाई दबाब नदिएको प्रष्ट पार्दछु।

मिडियाका साथीहरूले अन्तर्वार्ता दिनुपर्यो भन्दा- 'जे हो मिडियामा आइसक्यो, अहिले नगरौँ भो' भनेर मैले धेरै मिडियालाई भनेको छु। ममा नाम र दामको आशक्ति छैन। दाम कमाउन मलाई आफ्नै काम प्रशस्त छ। साहित्य मेरो पेशा हैन। हो त केवल मेरो मन शान्त पार्ने स्थल हो। जसलाई म पैसा वा व्यवसायीकरणमा लगेर जोड्न चाहन्नँ।

आर्थिक लेनदेन सम्बन्धमा मबाट कहीँ कतै सम्झौता पनि भएको छैन र अहिलेसम्म त्यतातिर ध्यान पनि गएको छैन। यसैले आर्थिक लाभको आशा पनि नराखेको प्रष्ट पार्न चाहन्छु। कुनै प्राप्ति हुने भएमा नियमसङ्गत, कानूनसम्मत हुने कुरा मात्र स्वीकार गर्दछु।

जहाँसम्म गुरु तिलकसिंह पेलाको कुरा छ, उहाँलाई मैले कहीँ जान, कतै प्रस्तुति दिन रोक नलगाएको जानकारी गराउँदछु। गुरु तिलक सरले पटकपटक भन्नुहुन्थ्यो- "तपाईंको गजलले निद हराम भो, नियमित कर्म बिथोलियो, ध्यान/साधना अर्कोतर्फ मोडियो"- यसको लागि पटक पटक क्षमा मागेको छु र फेरि सार्वजनिक रूपमा क्षमा माग्दछु।

कतै हाम्रो सम्बन्धमा खटपट नआओस्, हामी सजग बन्नुपर्छ है भनेर उहाँसँग बोल्ने क्रममा अनर्थ लाग्न गएको भए पनि माफी चाहन्छु।

उहाँले नेपाली गजल सङ्गीत र गायनप्रति दिनु भएको योगदानको जतिसुकै चर्चा गरे पनि कमै ठान्दछु। यस गजलले चर्चा पाउनुमा उहाँकै ठूलो योगदान छ भनेर पटक पटक मिडियामा भनेको छु (कति मिडियाले उक्त कुरा समेटे, कतिले समेटेनन् त्यो अलग कुरा हो)। पुनः त्यही कुरा दोहोर्याउँछु- 'उहाँकै कारणले यति चर्चा कमाउन सफल भएको हो यस गजलले।'

२१ माघ, २०७९, १२:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।