प्रोटोकल विपरीत स्वास्थ्य राज्यमन्त्री आइसियुमा छिरेर औषधी नै ‘प्रेस्क्राइब’ गरिन्

प्रोटोकल विपरीत स्वास्थ्य राज्यमन्त्री आइसियुमा छिरेर औषधी नै ‘प्रेस्क्राइब’ गरिन्

काठमाडौंः मंगलबार नयाँ वानेश्वरस्थित संसद भवन अगाडि सडकमा इलामका प्रेमप्रसाद आचार्यले आफ्नै शरीरमा आगो लगाए।

आत्मदाहको प्रयास गरेका घाइते अवस्थाका आचार्यलाई कीर्तिपुर अस्पतालमा पुर्याएर उपचार भइरहेको बेला उनकाे अवस्था बुझ्न स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की कीर्तिपुर अस्पताल पुगिन्। 

उपचारमा संलग्न चिकित्सकले राज्यमन्त्री कार्की अस्पताल पुगेको थाहा पाएनन्।  राज्यमन्त्री कार्की पनि चिकित्सक हुन्। तर, उनी कीर्तिपुर अस्पतालमा बिरामीको उपचार गर्न पुगेकी थिइनन्।

डा. कार्की त राज्यमन्त्रीको हैसियतमा बिरामीको अवलोकनका लागि पुगेकी थिइन्। तर, उनले आफ्नो पदीय गरिमा मात्रै हैन चिकित्सकीय नैतिकता (मेडिकल इथिक्स) लाई समेत भुलेर आइसियुमा छिरिन् भिडभाड लिएर।   

राज्यमन्त्रीज्यू खबर गरेर आइसियुमा छिर्नु भएको थियो की खबर नगरी भन्ने जिज्ञासामा उपचारमा संलग्न एक चिकित्सकले भने,‘मलाई केही जानकारी छैन।’

राज्यमन्त्री कार्कीले बिरामी भेटेर फर्कने क्रममा मात्रै आफूलाई फोन गरेको कीर्तिपुर अस्पतालका प्लाष्टिक सर्जन तथा प्राध्यापक डा. शंकरमान राईले जानकारी दिए।

‘हामीलाई थाहा भएन। पुगेर निस्कने बेलामा फोन गर्नु भएको थियो,’ उनले भने, ‘आठ/साढे आठ बजेको थियो होला।उहाँ (राज्यमन्त्री) ले फोन गर्दा।’

राज्यमन्त्री कार्कीले गाउन र मास्क लगाए पनि आत्मदाहको प्रयासपछि अस्पतालको आइसियुमा उपचार भइरहेको अवस्थामा ग्लब्स समेत नलगाइ बिरामी (आचार्य) लाई चलाएको भिडियो बाहिरिएको छ। 

त्यति मात्रै हाेइन आइसियुको ‘प्रोटोकल’ विपरित राज्यमन्त्री कार्कीले बोलेको तथा बिरामीलाई छोएको भिडियो समेत बाहिरिएपछि उनको चर्को आलोचना भइरहेको छ।

राज्यमन्त्रीले ग्लब्स नै नलगाइ बिरामीलाई छोएको सुन्दा आफूहरु पनि जिल्ल परेको कीर्तिपुर अस्पतालका प्लाष्टिक सर्जन तथा प्राध्यापक डा. शंकरमान राईले बताए।

‘उहाँले बिरामीलाई ग्लब्स नै नलगाइ छुनु भयो रे भनेको सुन्दा हामी पनि जिल्ल परेका छौं’,उनले भने।

आइसियुमा फोटो तथा भिडियो खिच्न नमिल्ने डा. राईले जानकारी दिए।

‘बिरामीको मान्छेहरुलाई हामी भनिरहेका हुन्छौं। भिडियो त खिच्ने कुरै आएन। फोटो लिन त दिंदैनौं,’ डा. राईले थपे।

त्यति मात्रै कहाँ हो र? राज्यमन्त्री कार्कीले आफैंले उपचार गरिरहेको बिरामीलाई जसरी नै आचार्यलाई पेन किलर सुई समेत दिन सुझाव दिएको भिडियोमा देखिन्छ। 

आत्मदाहको प्रयासपछि घाइते भएर कीर्तिपुर अस्पतालमा भर्ना भएका बिरामीको बेड छेउमा उभिएर स्वास्थ्यकर्मीतर्फ हेर्दै राज्यमन्त्री कार्कीले भनेकी थिइन्, ‘उहाँ (आचार्य) लाई एउटा पेन सुई नै राखिदिनुहोस् ल।’

अन्य चिकित्सकले उपचार गरिरहेको बिरामीलाई त्यसरी औषधि दिनु भन्न नमिल्ने एक नियमनकारी निकायका चिकित्सकले जानकारी दिए। 

चिकित्सकका अनुसार पहिलो कुरा त एक चिकित्सककाे टिमले उपचार गरेको बिरामीलाई अन्य चिकित्सकले न बिरामीको कागजात हेर्न मिल्छ, न सोध्न नै।

‘पहिलो कुरा त अर्काले उपचार गरेको मान्छेलाई उपचारमा संलग्न नहुने मान्छेले न कागज हेर्न मिल्छ, न सोध्न मिल्छ,’ ती चिकित्सकले भने, ‘त्यसैको कारणले मान्छेको मृत्यु भयो भने त्यसको जिम्मेवारी को?’ 

कीर्तिपुर अस्पतालका अर्का एक चिकित्सकले भने राज्यमन्त्री कार्कीले गर्न नहुने काम गरेको बताए।

‘उहाँ (राज्यमन्त्री कार्की) ले गर्न नहुने चिज गर्नु भयो,’ ति चिकित्सकले भने, ‘इथिक्स त उहाँले बुझ्ने कुरा हो।’

अस्पतालका प्लाष्टिक सर्जन डा. किरण नकर्मीका अनुसार ८० प्रतिशत शरीरको भाग जलेकाले आचार्यको बुधबार बिहान मृत्यु भइसकेको छ। उनले धुवाँ समेत निलेको अवस्था थियो। 

कीर्तिपुर अस्पतालका प्लाष्टिक तथा ह्याण्ड सर्जन डा. नकर्मीले कीर्तिपुर अस्पतालमा करिब ५५ प्रतिशत शरीरको भाग जलेका व्यक्तिलाई बचाएको र त्यसभन्दा बढी शरीरको भाग जलेका व्यक्तिलाई बचाउन हालसम्म सम्भव नभएको जानकारी दिए।

जलनको कारणले शरीरका विभिन्न अंग फेल भएका आचार्यलाई बचाउन नसकेको नकर्मीले उल्लेख गरे।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी स्वास्थ्य राज्यमन्त्री कार्कीले चिकित्सकीय नैतिकता र उपचारको सामान्य प्रोटोकललाई समेत ख्याल नगरी बिरामीको सोधिखोजी गर्नुकासाथै उपचार कक्षमा अव्यवहारिक गतिविधि गरेको बताउँछन्।

‘उहाँले त्यो गर्न मिल्दैन। उहाँले परबाट अवलोकन गर्न चाहिँ मिल्छ,’ उनले भने, ‘फ्यासिलेटेट हुनसक्छ भने फ्यासिलेटेट गर्ने कुरा हो। त्यहाँ गएर अरु कुरा गर्न चाहिँ मिल्दैन।’

संक्रमणको जोखिमको दृष्टिले समेत त्यसरी आइसियुमा स्वास्थ्यका मापदण्ड पूरा नगरी व्यक्ति जान नमिल्ने डा. मरासिनिले जानकारी दिए। 

राज्यमन्त्री कार्कीले म चिकित्सक हुँ भन्दै आइसियुमा उपचार गरिरहेका बिरामीलाई केरकार गर्न समेत नमिल्ने डा. मरासिनिले बताए। 

त्यति मात्रै हैन, लिखित अनुमतिबिना त्यसरी बिरामीको भिडियो समेत खिचेर मिडियामा सम्प्रेषण गर्न नमिल्ने उनले जानकारी दिए।

छटपटाइरहेका बिरामीलाई राज्यमन्त्रीको केरकार 

राज्यमन्त्री कार्कीले आइसियुको बेडमा छटपटाइरहेका आचार्यलाई आफ्नो परिचय दिँदै बोलाएको भिडियाेमा देखिन्छ।

भिडियाेमा उनले भनेकी छन्, ‘प्रेम दाइ। म आएको छु है, डा. तोसिमा कार्की।’ 

राज्यमन्त्री कार्कीले भनेको सुन्दा लाग्छ, उनी बेडमा छटपटाइरहेका आचार्यलाई उपचार गर्न पुगेकी चिकित्सक हुन्। उनले मोडलिङ शैलीमा भिडियो खिचिरहेको अवस्थामा बोलेको देखिन्थ्यो।

प्रहरीले कुनै अभियुक्तलाई घटनाको बारेमा केरकार गरे झैं राज्यमन्त्री कार्कीले आचार्यलाई केरकार समेत गरेको भिडियोमा देखिन्थ्यो।

‘किन यस्तो गर्नु भएको तपाईंले हेर्नु त,’ राज्यमन्त्री कार्कीले भनेकी छन्, ‘मेरो नाम पनि लेख्नु भएको रहेछ तपाईंले।’

राज्यमन्त्रीले याे सोधिरहँदा आचार्यले जवाफ फर्काएको सुनिन्छ तर, प्रष्ट बुझिँदैन। राज्यमन्त्रीले आचार्यको जलेको शरीर सुम्सुम्याएको जस्तो गर्दै धारावाहिक रुपमा प्रश्न गरिरहेको देखिन्छ, सुनिन्छ।

‘मैले पूरा पढेँ तपाईंको स्टाटस। हेर्नुस् तपाईंले के गर्नु भएको यस्तो। हामी थियौंं नी, राज्य छ नी तपाईंहरुको लागि।’

त्यसैगरी, उनले नयाँ सरकार बनेको भन्दै सरकारसँग आफ्ना कुरा राख्न आउनुको सट्टा किन आत्मदाहको प्रयास गर्नुभएको भन्ने किसिमले प्रश्न गरेकी थिइन्।

‘हाम्रो नयाँ सरकार बनेको थियो। एकचोटी आउनुपथ्र्यो तपाईंहरु। ...यस्तो गर्नु भएन तपाईंले। किन यस्तो गर्नु भयो भन्नुहोस त,’ भन्दै प्रश्न गरिरहेको देखिन्छ। 

राज्यमन्त्री कार्कीले अस्पतालकी एक स्वास्थ्यकर्मीसँग आचार्यको अवस्था के छ भनेर सोधेको समेत भिडियोमा देखिन्छ।

त्यसपछि उनले छटपटाइरहेका आचार्यलाई हातले छोएर डाक्टरले बिरामीको उपचार गरिरहेको तथा उपचारका लागि बिरामीको स्वास्थ्य अवस्थाको जाँच गरिरहेको जसरी आँखा खोल्न र जिब्रो निकाल्न लगाएकी थिइन्।

त्यसमाथि पनि उनले सामान्य सुरक्षाको उपायसमेत अपनाएको देखिंदैन। राज्यमन्त्रीले मास्क र गाउन लगाए पनि ८० प्रतिशत शरीरको भाग जलेका बिरामीलाई पञ्जासमेत नलगाइ खाली हातले शरीरमा चलाउँदै आँखा र जिब्रो निकाल्न लगाएको देखिन्छ।

‘आँखा खोल्न सक्नुहुन्छ प्रेम दाइ। ल आँखा खोल्नुहोस् त,’ राज्यमन्त्री कार्कीले आचार्यलाई भनेकी थिइन्, ‘आँखा खोल्नुहोस्। देख्नु भो, मलाई देख्नु भो। जिब्रो निकाल्नुहोस त। 

त्यति मात्रै कहाँ हो र? आफू पनि डाक्टर भएको भन्दै आचार्यलाई उनले आफ्नो परिचय समेत दिएकी थिइन्, ‘म आफू पनि डाक्टर हो नी त है।’

राज्यमन्त्रीले आफू पनि डाक्टर भएको परिचय दिइरहँदा बेडमा छटपटाइरहेका आचार्यले बल्ल-बल्ल ‘हो, हो’, भन्दै जवाफ फर्काएको सुनिन्छ। 

‘मैले तपाईंलाई यसो हेरेको। अहिलेसम्म त राम्रो होस छ। नआत्तिनु होस ल’ भनेको देखिन्छ, सुनिन्छ। यसपछि आचार्यले पनि केही बोलेको सुनिन्छ।

त्यसपछि भने राज्यमन्त्रीले आचार्यलाई ‘पेन किलर लगाउने?’ भन्दै प्रश्न गरेकी थिइन्।

बेड नजिकबाट स्वास्थ्यकर्मीतर्फ हेर्दै राज्यमन्त्री कार्कीले भनेकी थिइन्, ‘उहाँ (आचार्य) लाई एउटा पेन सुई नै राखिदिनुहोस् ल।’

कार्कीले त्यसरी पेन किलर नै प्रेस्क्राइब गर्नुमा चिकित्सकको समेत मतान्तर देखिएको छ। केही चिकित्सकले यसलाई गम्भीर रुपमा लिएका छन्।

डा. मरासिनी भने सल्लाहका रुपमा छटपटाइरहेको बिरामीलाई औषधि प्रेस्क्राइब गर्न सक्ने बताउँछन्। ‘सजेष्ट गर्न त पाइयो,’ डा. मरासिनिले भने।

राज्यमन्त्री कार्कीले यसपछि ‘डाक्टरसापहरु हुनुहुन्छ यहाँ, नआत्तिनुहोस्। केही समस्या पर्याे भने बोलाइ हाल्नुहोस्’ भनेकी थिइन्।

त्यसपछि आचार्यले रवि सरलाई पनि... भनेको सुनिन्छ। त्यसपछि राज्यमन्त्रीले ‘हुन्छ म रवि सरलाई पनि भनिदिन्छु’ भनेकी थिइन्।

यति मात्रै हैन आचार्यको जलेको शरीर समेत भिडियोमा देखिन्छ। जुन मेडिकल इथिक्स विपरित मानिन्छ।

स्रोतका अनुसार राज्यमन्त्री कार्की बेलुका करिब साढे सात बजे कीर्तिपुर अस्पताल पुगेकी थिइन्।

‘उहाँ (राज्यमन्त्री) पुग्दा त साढे सात बजेको थियो होला,’ स्रोतले भन्यो,‘त्यहाँ (अस्पतालमा) १०/१५ मिनेट बस्नु भएको थियो।’

बिरामीलाई हेरेर उपचारमा संलग्न चिकित्सकसँग आचार्यको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएर राज्यमन्त्री कार्की फर्केको स्रोतले बतायो।

अस्पतालका सम्बन्धित चिकित्सकलाई समेत खबर नगरी राज्यमन्त्री कार्की ‘आइसियुको प्रोटोकल’ विपरित कसरी उपचार भइरहेको आइसियुमा छिरिन् त? भन्ने प्रश्न उब्जिएकाे छ।

११ माघ, २०७९, २०:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।