बागमती प्रदेश सभामा आज सभामुखका लागि निर्वाचन हुने

बागमती प्रदेश सभामा आज सभामुखका लागि निर्वाचन हुने

काठमाडौं: बागमती प्रदेशको प्रदेश सभाका सभामुख पदको लागि आज निर्वाचन हुँदैछ। प्रदेश सभा सचिवालयका अनुसार आज बिहान ११ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुनेछ।

नेपालको संविधानको धारा १८२ को उपधारा (१) बमोजिम प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेश सभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख निर्वाचन गर्नुपर्ने प्रावधान रहेको छ।

गत पौष १८ गते सोमबार बसेको प्रदेश सभाको बैठकले आज पौष २९ गते शुक्रबार बस्ने बैठकमा सभामुखको निर्वाचन कार्यक्रम निर्धारण गरेको थियो।

निर्वाचनका लागि हिजै मनोनयन दर्ता भइसकेको छ। हिजै मनोनय फिर्ता तथा अपराह्न ४ बजेभित्र अन्तिम नामावली सार्वजनिक गर्ने म्याद थियो।

सभामुख पदका लागि नेपाली कांग्रेसबाट शिवराज अधिकारी, सत्ता गठबन्धनबाट राप्रपाका भुवनकुमार पाठक र नेमकिपाबाट सिर्जना सयजुले मनोनयन दर्ता गराएका छन्।

बागमती प्रदेश सभामा एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका दुई जना सांसद छन्। यी दलले सत्ता गठबन्धनका पाठकलाई समर्थन गर्ने भएका छन्।

यस्तै कांग्रेसका ३७ जना र नेमकिपाका तीन जना सांसद छन्।

२९ पुस, २०७९, ०९:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।