संरचनाभित्रै बसेर प्रदेशलाई असफल बनाउने घोषणा गरेकालाई बागमतीको सभामुख बनाउँदै गठबन्धन

संरचनाभित्रै बसेर प्रदेशलाई असफल बनाउने घोषणा गरेकालाई बागमतीको सभामुख बनाउँदै गठबन्धन

काठमाडौं : सार्वजनिक रूपमै प्रदेश संरचनालाई असफल बनाउने घोषणा गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशमा सभामुख पदमा उम्मेदवारी दिएको छ।

सो पार्टीका नेताहरूले सङ्घीय संरचनाको औचित्य नभएको र त्यसलाई त्यही संरचनाभित्र बसेर असफल बनाउने घोषणा गरेका छन्। केही दिन अगाडि सो पार्टीका नेता रवीन्द्र मिश्रले एपिवानसँगको अन्तर्वार्तामा प्रदेश संरचनालाई असफल बनाउन प्रदेश सरकारमा सहभागी भएको दाबी गरेका थिए।

सभामुखको दायित्व प्रदेश संसदलाई प्रभावकारी रूपमा अगाडि बढाउने हो। बागमती र गण्डकी प्रदेश सरकारमा राप्रपा सहभागी भइसकेको छ। बागमती प्रदेशको सभामुखका लागि भुवन पाठकले उम्मेदवारी दर्ता गराइसकेका छन्। उनी सात दलीय गठबन्धनकोतर्फबाट उम्मेदवार बनेका हुन्।

प्रतिपक्षमा रहेको नेपाली कांग्रेसका शिवराज अधिकार र  नेपाल मजदुर किसान पार्टीकी सृजना सायजुले समेत सभामुख पदमा उम्मेदवारी दर्ता गरेका छन्। पाठकलाई एमालेका प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रस्ताव गरेका छन् भने माओवादी केन्द्रका युवराज दुलालले समर्थन गरेका छन्।

बागमती प्रदेशमा सत्ता साझेदार पाँच दलसँग ७० सांसद छन्। सबैभन्दा ठुलो दल भए पनि कांग्रेससँग ३७ सांसद छन्। नेमकिपासँग तीन सांसद छन्।

 

२८ पुस, २०७९, १५:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।