पुष्पालाई आत्महत्या गर्न बाध्य बनाएको अभियोगमा जेल पुगे सुधन, पहिल्यै घरमै बलात्कार भएको बयान 

पुष्पालाई आत्महत्या गर्न बाध्य बनाएको अभियोगमा जेल पुगे सुधन, पहिल्यै घरमै बलात्कार भएको बयान 

काठमाडौँ : आफ्नो शरीरमा पेट्रोल खनाएर आत्मदाह गरेकी पुष्पा न्यौपानेलाई आत्महत्या गर्न बाध्य बनाएको अभियोगमा सुधन सङ्ग्रौला पुर्पक्षका लागि कारागार पुगेका छन्।

मङ्सिर १८ गते काठमाडौँको धुम्बाराहीमा उनले आत्महत्या गरेकी थिइन्। जिल्ला अदालत काठमाडौँले थुनछेकको बहसमा उनलाई तत्काल संलग्न नभएको भन्न सक्ने अवस्था नभएको भन्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म कारागारमा राख्न आदेश दिएको हो। बिहीबार आएको आदेशपछि उनी पुर्पक्षका लागि कारागार चलान भएका छन्।

प्रेम सम्बन्धमा रहेका यी दुवै विवाह गर्न राजी भएर इन्गेजमेन्ट समेत भएको थियो। पछि सुधनले इन्गेजमेन्ट तोडेका थिए। इन्गेजमेन्ट तोडिएको दोस्रो दिन सुधनको घर अगाडि पुष्पाले सुधनको घर अगाडि पेट्रोल खन्याएर आत्महत्या गरेकी थिइन्।

सुधनको घर अगाडि नै आत्महत्या गर्नुले उनलाई आत्महत्या गर्न बाध्य पार्ने काम सङ्ग्रौला परिवारले नै गराएको र करिब पाँच घण्टा उनीहरूको घर अगाडि बसेको, ढोका ढकढक्याएर भेट्न खोज्दा समेत नभेटी आत्महत्या गर्न बाध्य बनाएको भन्ने तर्कको आधारमा उनलाई पुर्पक्षका पठाएको देखिन्छ।

सुधनले प्रहरी बयानमा अन्य केटासँगको सम्बन्धबारे भनेका कारण आफूले जनै सुपारी फिर्ता गरेको बताएका थिए।

सङ्ग्रौलाले बयानमा भनेका छन्,‘पुष्पाले पूर्व प्रेमीलाई भेट्छु भनिन्। उनको मोबाइलको कभरमा पनि पूर्व प्रेमीको फोटो थियो।'

पुष्पाले धेरै केटासँग शारीरिक सम्पर्क गरेको र पुष्पा परिवारकै मान्छेले समेत बलात्कार गरेको खुलेपछि आफूहरूले यस्तो कुरा सुन्न नसकेर छाडेको उनले दाबी गरेका थिए।

सङ्ग्रौलाको बयानको सम्पादित अंश

पुष्पासँग मेरो ७ महिना पहिले देखि चिनजान रहेको भएको हो। उनीसँग मेरो विवाह सन्दर्भमा कुराकानी चलेको हुँदा सोही विषयमा सामान्य आपसी मतभेद मात्र थियो। कुनै रिसिइबी थिएन।

म २० वर्ष पहिलेदेखि काठमाडौँ जिल्ला न्युरोडमा कपडाको होलसेल व्यापार गर्दै आएको छु। सोही सिलसिलामा न्युरोडमा नै जुत्ताको होलसेल व्यापार गर्दै आएका उत्तम न्यौपानेसँग चिनजान भयो । मलाई उत्तमले केपी स्पोर्टस ब्रान्डको पसल समेत सञ्चालन गर्ने गरेको थाहा भयो।

दरबारमार्गमा बच्चाहरूको कपडाको स्वरुम राख्ने मेरो इच्छा थियो। २०७९ जेठ १४ गते म दरबारमार्ग गएको थिएँ। मलाई स्थान उपयुक्त नलागेकाले कुरा अघि बढेन।

केल्मी  कम्पनीको लुगा कपडाहरू राम्रो छ भन्ने सुनेकाले अर्को दिन हामी दुई जना दाजुभाइ न्यौपानेले सञ्चालन गरेको केल्मी स्वरूपबाट टिसर्टहरू किन्न गयौँ।

टिसर्ट किन्ने क्रममा पुष्पा न्यौपानेसँग भेट भयो। पुष्पाले तपाईँहरू दुई जना जुम्ल्याहा हो भनी सोधिन्।  मैले हो भनी जवाफ दिएँ । उनले हामीहरूको नाम सोधिन र परिचय भयो।

पुष्पाको फ्रेण्ड रिक्वेस्ट

सोही दिन राती  पुष्पाले मलाई फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाइन र मैले स्वीकार गरे। त्यसपछि हामी दुई जनाबिच सामान्य कुराकानी हुन थाल्यो। फोनबाट समेत कुराकानी हुँदै गयो। 

पुष्पालाई उत्तम न्यौपानेले मेरो बारेमा पहिले नै असल घरपरिवार तथा स्थापित व्यवसायी हो भनी परिचय गराएका रहेछन्। मलाई पुष्पाले काकाले तपाईँको बारेमा सबै कुरा बताएको छ, तपाईंहरुसंग भेट हुँदा मलाई गर्व लाग्छ भन्ने गर्थिन्।

मैले उत्तमलाई पुष्पासँग मेरो फेसबुक म्यासेन्जरमा कुरा हुने गरेको छ, पुष्पा कस्तो केटो हो भनेर सोध्दा मेरो दाइको छोरी हो भने।  अलि चकचके छ तर राम्री छ। केल्मी कम्पनीलाई हाँक्ने उनै हो भने।

इन्गेजमेन्ट तोडिएको रात के भयो, जसले पुष्पालाई आत्महत्यासम्म पुर्यायाे

मैले पनि पुष्पाबारे राम्रो नै सुनेको हुँदा आफ्नो व्यक्तिगत कुराहरू समेत बताउँदै गए। सँगै खाना खाने सल्लाह अनुसार झम्सिखेलको भिभान्ता होटेलमा हामी दुई भाइ (मधुसूदन), पुष्पा अनि उनीसहित चारै जनाले खाना खायौँ। मैले पुष्पालाई पुर्याइदिए।

असार  १२ गते हामी जुम्ल्याहाको जन्म दिनमा पुष्पाले गिफ्ट दिएकी थिइन्। जन्मदिन दरबारमार्गको हाईड्रफ नामको रेस्टुरेन्टमा मनाएका थियौ। यसरी हामीहरूको सम्बन्ध नजिकिँदै गएपछि आ-आफ्नो घर परिवार समेतलाई जानकारी दियौ।

त्यसपछि हामी दुई जनाले विवाह गर्ने भन्ने कुरामा सहमति जनाई गत भदौ १८ गते मेरो घरपरिवार पुष्पाको घरमा हिन्दु परम्परा अनुसार जनै सुपारी बुझाउन गयौँ।

पूर्व प्रेमीलाई भेट्न चाहन्छु भनिन्

जनै सुपारी बुझाई सकेपछि हामीहरू बिचको सम्बन्ध अझै नजिक हुन गयो । घरका अभिभावकहरूले समेत चिन्न थाले। एक अर्काको घरमा समेत आवतजावत गर्न थाल्यौ।

जनै सुपारी आदान प्रदान भई सकेपछि हामीहरू नियमित भेटघाट गर्न थाल्यौ। एक दिन पुष्पाले मसँग मेरो एक जना पूर्व प्रेमी छ, अन्तिम पटक उसलाई भेट गर्न चाहन्छु भनिन्।

मैले निज पुष्पालाई तिमीले हामीहरूको सम्बन्ध राम्रो होस भन्ने चाहेको हो कि के हो ? किन यस्तो कुरा गरेको भन्दा उनले मलाई आइन्दा यस्तो गर्दैन भनी माफी मागिन र मैले पनि ठिकै छ भनी पुनः सम्बन्धलाई जोड्दै गए।

अर्को दिन पनि पुष्पालाई मैले किनेर ल्याई दिएको मोबाइलको कभर भित्र एउटा केटाको चिठी देखेँ। कसको चिठी हो भनी सोध्दा पूर्व प्रेमीको रहेछ। मेरो मन पुष्पासँग टाढिँदै गयो।

मैले पुष्पासँग यस्ता कुराहरू असह्य हुन्छन्, म तिम्रो काकासँग कुरा गर्छु अब यो सम्बन्ध अगाडी बढाउने काम छैन भने। उनले मेरो घरमा यो कुरा नगरिदिनु भनिन्। अनि मैले एक जनासँग सम्बन्ध कायम गर्न खोज्नु र आफ्नो विगतको केटा साथीहरूलाई बिर्सिन नसक्नुले हाम्रो सम्बन्ध अगाडी बढ्न सक्दैन भने।

दोस्रो पल्ट समेत पुष्पाले माफी मागिन्। स्वीकार गरे। हामी दुवै जनाबिच जे जस्तो कुराकानी भए पनि हामीहरूको घर परिवारको सम्बन्ध भने दुवै जनासँग राम्रै थियो।

पुष्पालाई मेरो आमा बुवा समेतले मन पराएर परिवारको सदस्यको रूपमा स्वीकार गरी सकेका थिए। हामीहरूबिच चिनजान भेटघाट कुराकानी हुँदै घनिष्ठताको अवस्थासम्म सम्बन्ध पुगेकाले आफ्नो विगतका कुरा समेत आपसमा बताउँदै पनि गरेका थियौ। उनले मलाई तपाईँको कुनै पूर्व केटी साथी थियो की भनेर सोध्दा कलेजमा पढ्दा ७ वर्ष अघि एउटा केटी साथी थिइन तर अहिले छैनन् भने।

घरकैले बलात्कार गरेको बताइन्

उनको बारेमा सोध्दा केटाहरूसँग हिँडे घुमेको र शारीरिक सम्पर्क समेत राखेको बताएकी थिइन्। कुराकानी कै क्रममा तेस्रो पल्ट एक दिन म्यासेन्जरमा तपाईँलाई म एउटा आफ्नो अतीतको कुराबारे भन्छु तर तपाईँले यो कुरा अरूलाई नभन्नु भनिन्।

 मैले कसैलाई भन्दिन भनी वाचा गरे। त्यसपछि उनले 'हुन त मैले तपाईँलाई यो कुराको बारेमा जानकारी गराएमा तपाई मलाई मन पराउनु हुन्न होला । तपाईँलाई मप्रति घिन लाग्छ होला' भनिन।

मेलै मलाई विश्वास गर्नु भनेपछि उनले 'मेरो अतीत कालो छ, कसैले मलाई बलपूर्वक आजभन्दा केही वर्ष पहिले करणी भएको थियो र मैले सो कुरा परिवारका सदस्यहरूलाई समेत बताएकी थिएँ' भनिन्।

उनले त्यो बेलामा कुनै सुनुवाइ नै नभएको, पारिवारिक रूपमा नै यौन हिंसामा परेको र अहिले पनि घर परिवारको मान्छेहरूबाट अपहेलित भई राखेको बताइन्।

उनले'तपाईँले मलाई छोडे पनि छोड्नु. तपाई जस्तो केटालाई मैले कुराहरू लुकाएर राख्न नसकेकी हुँदा बताएकी हुँ। म विगतमा नै आत्महत्या गर्न खोजेकी थिएँ' समेत भनिन्।  

जब आफूले पैसा कमाउन थालेको अनि तपाईँसँग समेत नजिक भएपछि मात्र मेरो परिवारले मलाई माया गर्न थालेका हुन भनेकी थिइन्।

पुष्पाले अन्य केटाहरूसँग समेत शारीरिक सम्बन्ध भएको भनी म्यासेन्जरमा लेखेर पठाउने गरेकाले पटक पटक गर्ने गरेका यस्तै कुराहरूले असह्य पीडा भएर परिवारका सदस्यलाई जानकारी गराएँ।

विश्वास गरेर विवाह गर्ने तयारी गरेकी केटीले विवाह गर्नु अगाडि नै यस्तो खालको कुरा गर्न थालेपछि पुष्पासँग फोन तथा सामाजिक सञ्जालमा बोलचाल बन्द गरेँ। बोलचाल बन्द गरेपछि र फोन नउठाएपछि उनले मेरो दाइ मधुलाई फोन गरेर सुधन मसँग बोल्दैन, मलाई तनाव भएको छ, उस्तै परे केल्मीको अफिसको बार्दलीबाट सडकमा हामफाली आत्महत्या गरिदिऊँ की झैँ लागेको छ' भनेकी रहिछिन्।

उनले मैले दशा लागेर तपाईँसँग गर्न नहुने कुरा गरे माफ गरी दिनु भनेर पटक-पटक आत्मालोचना गरेको जस्तो गर्न थालिन। मलाई एकोहोरो रूपमा म्यासेजहरू पठाउने र मैले के कुन मुडमा सो कुरा गरे मलाई माफ गरी देऊ भनी पटक पटक म्यासेज गर्न थालिन।

ढाँट्ने अनि कुरा लुकाएर बोल्ने गरेको महसुस हुन थालेपछि २ महिना पहिलेदेखि उनीसँग सम्बन्ध राख्न छोडेको थिए। एक दिन मलाइ घरमा नै आएर भेटी एक चोटिको लागी माफी देऊ भनिन्।

मलाई सम्बन्ध अगाडी बढाउन इच्छा नै नभएकोले वास्ता गरिन। उनले आत्महत्या गर्छु भनी धम्की दिन थालिन। मैले पुष्पाले मेरो चित्त दुख्ने दुईचार कुरा गरेकी छिन् जुन कुरा म सहन नसक्ने भएको छु भनेर उनको घर परिवारलाई जानकारी गराएँ।

सम्बन्ध बिग्रिएको हुँदा घर परिवारका मानिसहरूले मिल्नु पर्यो भनी सम्झाउने कोसिस गरेका थिए। एक दिन मैले पुष्पाको आमालाई समेत आफू पारिवारिक रूपमा समेत यौन हिंसामा परेकी भनेकी छिन्। यस्ता कुराहरूले गर्दा म उपरान्त मेलमिलापमा जान सक्दिन भने।

यो सम्बन्ध अगाडी नबढाउने भनेर पुष्पाको परिवारलाई दिएको जनै सुपारी फिर्ता ल्याउने निधो गर्यो । हामीहरूले दिएको जनै सुपारी फिर्ता दिनु भनेर पुष्पाको बुवा काकालाई जानकारी गराउँदा पुष्पाले बुवाले एकचोटी बोलाउन खोजेको छ भनिन्। मैले सम्बन्ध बिग्रिएपछि पुष्पाको बुवालाई भेट्दा छोरीलाई राम्रोसँग केयर गर्न सकिन, त्यो आफ्नै पाराकी छे, मैले सानै देखी होस्टेल राखेको थिए, सक्नु हुन्छ भने मिलेर अगाडी बढौँ, तपाईँलाई मैले जबरजस्ती गरेको नठान्नु, होइन भने जनै सुपारी फिर्ता लिन आउनु भन्ने कुरा गर्नुभयो।

मेरो घर परिवारलाई सम्बन्ध अगाडी नबढाउने अन्तिम निर्णय सुनाएर २०७५ मङ्सिर १७ मा मेरो बुवा, आमा, दाजु र म समेत जनै सुपारी लिन पुष्पाको घरमा गयौँ ।

दुवै परिवारका सदस्यबिच वार्तालाप भयो। पुष्पाले मलाई अन्तिम पटक एक्लै भेटेर 'मेरो कारण तपाईँलाई तनाव भयो होला मलाई माफ गर्नु' भनी अङ्गालो हाली छुट्टिइन। त्यसपछि पहिले दिएको जनै सुपारी (विभिन्न गरगहना तथा लुगा कपडाहरू) फिर्ता लिएर आफ्नो घरमा आयौँ ।

त्यसपछि पुष्पाले हामी सबै घर परिवारका सदस्यहरूलाई फेसबुक तथा अन्य सामाजिक सञ्जालहरूमा समेत ब्लक गरिन्। म सम्बन्ध बिर्सिँदै गएको थिए। मङ्सिर १८ गते दिउँसो म घरकै काम गरी बसेको थिए।  बेलुका अन्दाजी साढे पाँच बजे बुवा न्यूरोडमा जानु भएकाले बुवालाई लिन गएँ। दाइ मधु र म सङ्कटा र महाकाल मन्दिर दर्शन गर्न ६ बजे घरबाट निस्किए।

करिब साढे सात बजेको समयमा जेठो दाइ निकेश सङ्ग्रौलाले फोन गरेर पुष्पाले घरको गेट नजिकै आफैले आगो लगाई घाइते भएर अस्पताल लगेको बताए।

म आमालाई लिएर हेम्स अस्पताल गए। बुवा र मधु टिचिङ अस्पताल गए। सामान्य उपचार पश्चात् म घर फर्किएपछि प्रहरीले कार्यालयमा बोलायो। पुष्पालाई आत्महत्या गर्न कुनै किसिमले प्रेरित गरेको छैन।

मसँगको सामीप्यता छुट्दाको पीडा बोधको कारण र निजलाई आफ्नै विगतका कुराहरूको कारण मेरै घरको गेटमा आएर घटना घटाएकी हुन सक्छिन्। 

१५ पुस, २०७९, २२:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।