इन्गेजमेन्ट तोडिएको रात के भयो, जसले पुष्पालाई आत्महत्यासम्म पुर्‍यायाे

इन्गेजमेन्ट तोडिएको रात के भयो, जसले पुष्पालाई आत्महत्यासम्म पुर्‍यायाे
तस्बिर पुजा न्याैपानेकाे फेसबुकबाट लिइएकाे हाे।

काठमाडौं : विवाह गर्ने पक्कापक्की गरेका सुधन संग्रौलाको परिवार शानिबार पुष्पा न्यौपाने परिवारको घरमा सुपारी लगायतका सगुनका सामान बोकेर गए। दुवैबीच विवाहको टुङ्गो लागे पनि खै बीचमा के भयो। सुधन विवाह नगर्ने निर्णयमा पुगे।

दुवै परिवारका अग्रजहरू पटक-पटक बसेर छलफल गरे। सुधनले 'हाम्रो स्वभावै मिलेन। विवाह गरेर छुट्टिनुभन्दा विवाहसम्म नपुग्नु राम्रो' भने। पुष्पा मौन थिइन्।

सुधन इन्गेजमेन्ट तोड्न अडिग देखिएपछि उनी पनि सहमतिमा आइन्। सुधनको परिवारले इन्गेजमेन्टका सगुनसहितका सामान बुझाएर फर्किदै थिए। पुष्पा तल ओर्लिइन्।

'इन्गेजमेन्ट तोड्न दुवै परिवारका सदस्यहरू राजी भएपछि पुष्पा सुधनलाई बिदा गर्न तल ओर्लिएकी थिइन्,' जानकार स्रोतले भन्यो, 'दुवैले अंकमाल गरे। पुष्पाले जे भयो भयो अब तपाईं पनि आफूले चाहेकोसँग विवाह गर्नु म पनि तपाईंभन्दा राम्रो केटासँग विवाह गर्छु भनेर फर्किएकोसम्म खुलेको छ।'

उनै पुष्पा आइतबार बेलुका धुम्बाराहीमा रहेको संग्रौला परिवारको घर अगाडि जलेर गम्भीर घाइते भइन्। उनलाई उपचारका लागि कीर्तिपुरको बर्न अस्पतालमा पूर्यासए पनि ज्यान जोगिन सकेन।

पुष्पाको परिवारले विनाकारण इन्गेजमेन्ट तोड्दा घटना भएको भन्दै संग्रौला परिवारका सदस्यहरूलाई नै कारबाही गर्नुपर्ने मागमा छन्। उता संग्रौला परिवारका सदस्यहरू भने केटा र केटीबीच सहमतिमै इन्गेजमेन्ट तोडिएकाले आफ्नो घर अगाडि आफैँलाई आगो लगाएकै आधारमा दोषी नहुने तर्क गरिरहेका छन्।

आत्महत्या दुरुत्साहनको आरोपमा पुष्पाको परिवारले सुधनसहित मधु संग्रौला, दिनेश संग्रौला, बिन्दु संग्रौलासहित ४ जनाविरुद्ध जाहेरी दिए प्रहरी वृत्त महाराजगञ्जमा। अहिले सुधन मात्रै प्रहरी हिरासतमा छन्।

'आत्महत्या दुरुत्साहनको आरोपमा छ जनाविरुद्ध जाहेरी आएपछि हामीले म्याद थप गर्न लगेका थियौँ,' महाराजगञ्ज वृत्तका प्रमुख डिएसपी अंगुर जिसीले उकेरासँग भने, 'म्याद थपिएको एक जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। अहिले नै घटनाको कारण यही हो भन्नसक्ने चरणमा अनुसन्धान पुगेको छैन।'

दरबारमार्गमा टुसाएको प्रेम
चीनबाट बालबालिकाको खेलौना लगायतका सामग्री आयात गरेर बिक्री गर्थे सुधन। पुष्पा दरबारमार्गको केल्मी नेपालको स्टोरमा काम गर्थिन्। केल्मीको स्टोरमा सामान किन्न जाने क्रममा सुधन र पुष्पाको भेट भएको थियो।

यी दुवैबीच विस्तारै हिमचिम बढ्दै गयो। सामाजिक सञ्जालमा जोडिए। अनि मोबाइल नम्बर साटासाटसम्म पुग्यो। दुवै नजिक हुँदै गएपछि आफ्ना विगत खोल्न थाले। जानकार स्रोतका अनुसार सुधनले आफ्नो पूर्व प्रेम सम्बन्ध खुलाएका थिए। तर पुष्पाले खुलाइनन्। १० महिनाको निकटतापछि दुवै विवाह गर्ने निर्णयमा पुगे।

त्यही बेला सुधनले पुष्पाको पुरानो प्रेमीबारे थाहा पाए। पुष्पाले सबै बताएर ब्रेकअप भएको बताएपछि सुधन 'विगतको कुरा छाडौँ' भन्दै इन्गेजमेन्टका लागि सहमत भए। एक वर्षभित्र बिहे गर्ने गरी भदौ १८ मा इन्गेजमेन्ट भयो।

१२ घन्टामा के भयो ?
सानैमा आमाको मृत्यु भएपछि पुष्पाको बुवाले दोस्रो विवाह गरेका थिए। उनी अध्ययनमा तीक्ष्ण थिइन्। उनका काकाहरू केल्मीको आधिकारिक विक्रेता थिए। उनी त्यसैको शोरुममा व्यवस्थापनको काममा संलग्न भइन्। चाँडै घुलमिल हुनसक्ने पुष्पाको स्वभावका कारण केल्मीका ग्राहकहरू बढ्न थाले।

'पिआरमा उनको दख्खल राम्रो थियो,' पुष्पाबारे जानकार स्रोतले भन्यो, 'ग्राहकलाई सामानबारे बुझाएर किन्न अभिप्रेरित गर्ने उनको कला गजबको थियो।'

रमाइरहनुपर्ने स्वभावकी पुष्पाको नयाँ जीवन शुरू हुँदै थियो। तर, इन्गेजमेन्टको चरणमा पुगेपछि भने त्यो सम्बन्ध कसिनुको साटो दरार आउन थाल्यो। पुष्पाले इन्गेजमेन्टको फोटो, भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने प्रयास गर्दा सुधनले नगर भनेको परिवारका सदस्यहरूले प्रहरीसँग दाबी गरेका छन्।

दुवैबीचको सम्बन्ध बिग्रँदै गयो। सुधननिकट स्रोत भने पुष्पाले बेलाबखत अस्वाभाविक व्यवहार देखाउने गरेको दाबी गर्छन्।

'एक पटक सुधनको फोन नउठ्दा उनले परिवारको अर्को सदस्यलाई फोन गरेर सुधनलाई सम्पर्कमा ल्याउने कि दरवारमार्गको केल्मीको शोरुम भएको घरको छतमा गएर हामफालौँ भनिन्,' स्रोत भन्छ, 'त्यसलाई झगडा भएकाले आवेगमा भनेको होला भनेर कसैले गम्भीर रूपमा लिएन। तर यस्तो भइदियो।'

अनुसन्धानमा संलग्न स्रोतका अनुसार पुष्पाको स्वभाव र व्यवहार आफ्नोभन्दा भिन्न देखिएपछि विवाह गरे पनि लामो समय टिक्न नसक्ने देखेपछि इन्गेजमेन्ट तोड्ने निर्णयमा पुगेको सुधनले दाबी गर्ने गरेका छन्। इन्गेजमेन्ट अगाडि नदेखिएको पुष्पाको कुन व्यवहार उनलाई आफ्नो स्वभावभन्दा उल्टो लाग्यो, त्यो भने खुलाएका छैनन्।

एक वर्षमा विवाह गर्ने भनेका दुवैको इन्गेजमेन्ट मंसिर १७ मा तोडियो। जाहेरीमा उल्लेख भएअनुसार सुधनको परिवार पुष्पाको बुद्धनगरमा रहेको घरमा आएर 'हामी विवाह गर्न सक्दैनौँ, विवाह क्यान्सिल गरौँ' भने।

सुधनको परिवारले इन्गेजमेन्ट कार्यक्रममा लिएको दक्षिणा एवं गहना फिर्ता गरेर मानसिक यातना दिएको जाहेरीमा उल्लेख छ।

उता सुधनको परिवारले प्रहरीसँग छलफलका लागि पुष्पाको घरमा गएर दुवैजनालाई सम्झाएको तर विवाह हुन नसक्नेमा सुधन अडिएपछि केटीको परिवारलाई इन्गेजमेन्टका सबै सामान फिर्ता दिएर सहमतिमै तोडिएको दाबी गरेका छन्।

'हामी हिँड्ने बेलामा पुष्पा तल आएर गाडिमा चढ्न लागेका सुधनसँग अंकमाल गरेर जे भयो भयो अब आ-आफ्नो नयाँ जीवन शुरु गरौँ भनेकी थिइन्। त्यसपछिको के भएर उनी हाम्रो घर अगाडि आएर आगो लगाइन् हामीलाई थाहै भएन' सुधनको परिवारको भनाई उदृत गर्दै स्रोतले भन्यो।

पुष्पाको परिवारले मंसिरमा धुम्बाराहीको घरमा बोलाएर मानसिक यातना दिएको र शरीरमा पेट्रोल खन्याएर आत्महत्या गर्नलाग्दा समेत नरोकी उल्टै आत्महत्या दुरुत्साहन गरेको देखिएको जाहेरीमा उल्लेख गरेका छन्।

सुधनसहित उनका अन्य परिवारका सदस्यहरूले पुष्षालाई शारीरिक यातना दिएको पनि पीडित पक्षको आरोप छ। पटक-पटक पुष्पालाई कहिले घरमा बोलाएर र कहिले घरमै आएर पनि मानसिक यातना दिने गरेको पीडीत पक्षको आरोप छ। 

इन्गेजमेन्ट तोडिएपछिको रातमा कुनै घटना भएकाले नै पुष्पा आत्महत्याको निर्णयमा पुगेको अनुसन्धानमा संलग्न अधिकारीको आशंका छ। अहिले प्रहरी पुष्पाको परिवार अनि सुधनको परिवारको दाबीको सत्यतासँगै इन्गेजमेन्ट तोडिएपछि पुष्पाको कोसँग सम्पर्क भयो र के कुरा भयो अनि उनलाई आत्महत्याका लागि केले प्रोत्साहित गर्यो त्यसैको खोजी गरिरहेको छ।

२२ मंसिर, २०७९, २०:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।