बालकोटको बार्दलीले १८ महिनामा बदलेको राजनीतिको रोचक दृश्य

बालकोटको बार्दलीले १८ महिनामा बदलेको राजनीतिको रोचक दृश्य

१८ महिना अगाडि १०७८ असार ३० को बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासको बार्दलीको दृश्य अनि २०७९ पुस १० को त्यही बार्दलीको दृश्य नै काफी छ राजनीतिमा कोही स्थायी शत्रु अनि स्थायी मित्र हुन्न भन्ने पुष्टिका लागि।

स्थायी मित्र हुने भए तालमेल मात्रै हैन पार्टी नै एक बनाएर लामो समय नेपालको सत्ताको नेतृत्व गर्न एमाले र माओवादी केन्द्रबाट नेकपा बनिसक्दा पनि एकै दलका नेताहरू तँ-तँ र म-म गर्दै घृणायुक्त अभिव्यक्तिका साथ किन अलग हुन्थे र!

स्थायी शत्रु हुने भए १८ महिना अगाडि एमालेकै केही सांसदहरूको साथ लिएर जसको सरकार ढाले उनैको सहयोगमा आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको दाबी गर्न राष्ट्रपति निवास पुग्न कसरी सम्भव हुन्थ्यो र!

अनि १८ महिना अगाडि पराजित नेताको रूपमा अहङ्कार र आक्रोश बोकेर बालकोटको आफ्नो घरको बार्दलीबाट ओलीले जसरी आफ्नै दलका नेताविरुद्ध घृणा ओकलेका थिए त्यही बार्दलीमा त्यो आक्रोशको मुख्य कारक उनै प्रचण्डलाई सँगै उभ्याएर विजयी भावमा उनै ओलीले हात हल्लाउन कहाँ सम्भव हुन्थ्यो र!

 

जुन दृश्यलाई राजनीतिमा सामान्य चासो राख्नेहरूले मात्रै हैन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत असम्भव दृश्य मानेर पहिलो चरणको प्रधानमन्त्री प्रचण्डलाई दिन मानेनन् त्यही दृश्य सम्भव भयो आइतबार।

सत्ता देउवाका लागि कति महत्त्वपूर्ण हो भन्ने त नेपाली काँग्रेसको संसदीय दलको नेताको निर्वाचनको अघिल्लो दिन अनि निर्वाचनको समयका दृश्यले नै देखाएको नै थियो। प्रचण्डलाई दिन्न भन्दा आफ्नो थालमा आइसकेको सत्ता पनि गुम्छ भन्नेमा देउवा सामान्य शङ्का मात्रै लागेको भए पनि आइतबार बालकोटको बार्दलीमा जे दृश्य देखियो त्यो सम्भव थिएन।

यिनी कहाँ जान्छन् र घुर्की लगाएका त हुन् भन्नेमा देउवा ढुक्कै देखिए। प्रचण्डले धोका दिए एमालेसँग मिलेर सरकार बनाउने दोस्रो विकल्प बलियो बनाउन उनले शनिवार बेलुकै बिमलेन्द्र निधिलाई बालकोट पठाएर पक्कापक्की गराएकै थिए।

त्यसैले उनी सकेसम्म प्रचण्डको बाध्यतामा खेलेर गलाएर पहिलो चरणको प्रधानमन्त्री र राष्ट्रपति आफ्नै दलले लिने अनि प्रचण्डले धोका दिए एमालेसँग मिलेर सरकार बनाउने रणनीतिमा लागे। उनी यी दुईमध्ये एक रणनीति सफल हुनेमा ढुक्कै देखिए।

उता नेकपामा रहँदा त्यस्तो शत्रुतापूर्ण व्यवहार गरेको अनि अपमान बेहोरेको प्रचण्ड एमालेको अध्यक्ष ‌ओली रहेसम्म उनी गठबन्धन तोडेर जाँदैनन् भन्नेमा माधव नेपाल पनि ढुक्कै देखिए। त्यसैले त उनले आइतबार सहरीकरणतिर भन्दा' तिमिहरू दुबैबिच कुरा नमिले पहिलो चरण मलाई लेउ' भन्ने प्रस्ताव राखेका थिए।

बालुवाटारबाट निस्किएर प्रचण्ड बालकोट पुगे माओवादी केन्द्रका अध्यक्षको रूपमा हैन एमालेको समर्थनमा प्रधानमन्त्रीको रूपमा मात्र फर्कनेछन् भन्ने सामान्य आभास मात्र भएको भए नेपालले आफ्नो समन्वयकारी क्षमताको उपयोग गरेर सहमति नभएसम्म न प्रचण्डलाई बालुवाटारबाट निस्कने वातावरण बन्नबाट रोक्न सक्थे नै।

प्रचण्डका लागि एमाले विभाजन गरेर सक्रिय राजनीतिको अन्तिम प्रहरमा जोखिमपूर्ण निर्णय गरेकाले पनि धोका हुन्न भन्नेमा उनी ढुक्कै भएको हुनसक्छ।

यत्रो लामो समय राजनीति गरेका उनले राजनीतिमा भावना हैन परिस्थिति र अङ्कगणितको मात्र महत्त्व हुन्छ भन्ने हेक्का राख्न चुके।

अनि देउवासँगै उनी पनि प्रचण्ड आइतबार बिहान' अब गठबन्धनको अर्थ छैन' भनेर बालुवाटारबाट बाहिरिए पनि' बालकोटको छलफल सक्काएपछि 'नदिने नै हो त' भन्न पक्कै फर्किएर आउँछन् भन्ने आसमा बालुवाटारमै बसे।

तर बालकोट गएका प्रचण्ड पुन छलफल गर्न बालुवाटार फर्किएनन्। साढे २ वर्ष आफ्नो नेतृत्वमा सरकार बनाउने पक्का गरेर उनी एमाले अध्यक्ष केपी ओलीसँगै उनको बार्दलीमा झुल्किए। अनि उनकै नक्कल गर्दै तल आँगनमा बसेकाहरूतिर प्रफुल्ल मुद्रामा हात हल्लाउँदै अभिवादन गर्दै काँग्रेससहितको गठबन्धन टुटेको पुष्टि गरे।

बालकोटको बाल्कोनीमा देखिएको ओलीका दश पोज

सरकार कसको नेतृत्वमा भन्ने टुङ्गो लागे पनि सरकारको आकार र शक्ति बाँडफाँडबारे खाका बनिसकेको थिएन। उता सरकार बनाउन दाबी गर्न दिएको समय घर्किँदै थियो।

सरकार कस्तो अनि कुन दललाई कुन मन्त्रालय टुङ्ग्याउन राष्ट्रपतिसँग समय थप्न आग्रह गर्न सक्थे उनीहरूले। तर प्रचण्ड र ओली अलमल गरेर अग्राख पलाउन दिने पक्षमा देखिएनन्। सिधै शीतल निवास गएर सरकार बनाउने दाबी गरे र आजै प्रधानमन्त्रीमा नियुक्त पनि भए।

बालुवाटारमा प्रचण्ड कुरेर बसेका देउवा र नेपाल कुरेको कुर्यै भए।

प्रचण्डलाई झुकाए, माधवलाई देखाए

१०७८ असार २९ मा प्रधानमन्त्रीको रूपमा देउवाले शपथ खाए। भोलिपल्ट झमझम पानी परे पनि ओली सरकारी निवास बालुवाटारबाट महेश बस्नेतको अगुवाइमा युवा सङ्घको स्कटिङमा आफ्नै निवास बालकोट पुगेर घरको बल्कोनीमा निस्किएका थिए। त्यही बेलादेखि हो बालकोटको बल्कोनीको चर्चा भएको।

बल्कोनीमा निस्किएका ओलीले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै छिन्नभिन्न पोज दिएका थिए। बल्कोनीमा उनी दोस्रो पटक संसद् ब्युँताउने सर्वोच्च अदालतका न्यायाधीश अनि माधव नेपालप्रति निकै आक्रामक देखिएका थिए।

उनले भनेका थिए ‘हाम्रो साथीहरू बिकाऊ माल बने, विरोधीलाई अदालतबाट सत्ता बुझाए, ती बिकाऊ मालको अवस्था भविष्यले निर्धारण गर्ला। अरू साथीहरूको हकमा पार्टीमा सँगै काम गर्न सकिएला तर माधव नेपालको हकमा एमालेमा स्विकार्ने कुनै ठाउँ बाँकी छैन।’

माओवादी केन्द्रसँग एकीकरण गर्दा एमाले अध्यक्ष ओलीको रणनीति थियो माधव नेपाल र प्रचण्डलाई एकै ठाउँ उभिन नदिने। त्यसमा उनी जबसम्म सफल भए निर्बाध प्रधानमन्त्री र अध्यक्ष भए।

जब यी नेताको मिलन भयो अनि उनी कमजोर हुँदै गए। काँग्रेससँगको गठबन्धनमा पुगेको माओवादीलाई आफूसँग ल्याउन निर्वाचन अगाडि उनले मिहिनेत गरेकै थिए। तर सफल भएनन्।

निर्वाचनको परिणाम गठबन्धनले सोचेजस्तो उत्साहजनक आएन। एमालेको रणनीति पनि सफल भएन। एक विषयमा भने उनको भविष्यवाणी सफल भयो एकीकृत समाजवादी राष्ट्रिय दल बन्दैन भन्ने।

प्रत्यक्षतर्फ १ सिट जित्ने दल पनि राष्ट्रिय दल बन्न सफल हुँदा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सिट जित्दा पनि राष्ट्रिय दलका लागि आवश्यक मत ल्याउन सकेन। ओलीको भविष्यवाणी सफल भयो।

उनी एकीकृत समाजवादीलाई सत्ता बाहिर राख्न चाहन्थे। त्यो मौका माओवादीले दियो।

काउन्टर गठबन्धन निर्माणमा चुक

निर्वाचनको परिणामसँगै गैर वामपन्थी गठबन्धन र वामपन्थी गठबन्धनको चर्चा नभएको हैन। तर यसमा कांग्रेसले त्यति चासो देखाएन।

माओवादीले एमालेसँग सरकार गठनबारे संवादहरू बढाइरहँदा पनि कांग्रेसका नेताहरू ढुक्क देखिए। राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी अनि जनता समाजवादी पार्टीसहितका दलहरूसँग संवाद बढाएर वामपन्थी गठबन्धनको माहौल बने काउन्टर दिन पार्टीभित्र सल्लाह नभएको हैन।

तर देउवाले त्यति रुचि देखाएनन्। उनले राप्रपा अनि रास्वपाका नेतासँग ढिला संवाद गरे त्यो पनि औपचारिक मात्र। सरकार गठनबारे उनले आफू निकट नेता अझ विशेष ज्ञानेद्रबहादुर कार्कीलाई बढी परिचालन गरेका थिए। आवश्यकता अनुसार बिमलेन्द्र निधी अनि पछिल्लो संवादमा रामचन्द्र पौडेल र प्रकाशमान सिंह मिसिएका थिए।

विश्वासको वातावरण बनाउन सक्ने महामन्त्रीद्धय गगन थापा अनि विश्वप्रकाश शर्मालाई सत्ता गठबन्धनका छलफलहरूबाट टाढै राखे। उता एमालेले सम्भावित समीकरणलाई हेर्दै काँग्रेसलाई निशर्त सरकारलाई समर्थन गर्ने प्रस्तावदेखि माओवादीलाई सरकारको नेतृत्वको प्रस्ताव समेत पठाइरहेको थियो।

एमाले-माओवादीका दोस्रो तहका नेताहरू छलफलमा थिए। एमालेका नेताहरूले माओवादीलाई मात्रै विश्वासमा लिएनन् उनीहरूले माओवादीविना पनि सरकार बन्न आवश्यक अङ्क गणित पुग्न नदिन रास्वपा अनि राप्रपासँग पनि विश्वासको वातावरण बनाइसकेका थिए।

त्यसैको प्रभाव माओवादी गठबन्धन छाडेर एमालेसँग संवाद गर्न गएको चार घण्टामै सरकार बन्न आवश्यक अङ्क पुग्यो। काङ्ग्रेस-एकीकृत समाजवादीका नेताहरूले अन्य दलहरूसँग संवाद अगाडि बढाउनु अगाडि नै बालकोटमा सहमति भयो।

स्वार्थ केन्द्रित गठबन्धन

१८ महिना अगाडि बनेको गठबन्धनलाई प्रतिगमनको विपक्ष र संविधानको रक्षाका लागि बनेको गठबन्धन नामकरण गरेका थिए दलहरूले।

त्यो भन्दा अगाडि एमाले-माओवादीको गठबन्धनले परिवर्तनका लागि स्थायी बाम सरकार नामकरण गरेका थिए। आइतबार बनेको बाम र गैर बामको गठबन्धनको नामकरण भइसकेको छैन। केही दिनमा पक्कै पक्षधर नेताहरूले केही न केही नाम जुराउन सक्छन्।

मुलत यस अगाडि जे जस्ता गठबन्धन बने ती न कुनै सिद्धान्त केन्द्रित थिए न योजनासहितको नै। ती सबै केवल सत्ता स्वार्थ केन्द्रित गठबन्धन थिए।

आइतबार पात्र बदलिएका मात्र हुन्। सत्ता नै सर्वेसर्वा नभएको भए निर्वाचन अगाडि नै बहुमत माग्दै एकीकृत कार्यक्रम नै बोकेर जनमत बोकेर आएका दलहरूबिच चार घण्टामै पक्कै बिछोड सम्भव थिएन।

शत्रुतापूर्ण रूपमा निर्वाचनमा सहभागी दलहरूबिच चार घण्टामै बनेको गठबन्धन साझा नीति तथा कार्यक्रमको आधारमा बनेको हैन लेख्न थप तथ्यहरू बटुल्न आवश्यक छैन।

राजनीतिमा शत्रु र मित्र हुने स्वार्थले हो। स्वार्थ नमिले शत्रु, स्वार्थ नमिले मित्र। १८ महिना अगाडि ओली र प्रचण्डको स्वार्थ मिलेन। त्यसमा माधवकुमार नेपाल समूह मिसिदा देउवा बलियो बने सत्ता बदले।

अहिले देउवा- प्रचण्डको स्वार्थ मिलेन। त्यसमा ‌ओली, रवि लामिछाने अनि राजेन्द्र लिङदेन मिसिए। प्रचण्ड बलियो बने सत्ता बदले।

एमाले अध्यक्ष केपी शर्मा ओली अनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिच कुनै समय देखिएको शत्रुतापूर्ण सम्बन्ध पनि स्वार्थकै टकावरको परिणाम थियो। यो मिलन पनि स्वार्थबाटै सम्भव भएको हो। जसको आयु सम्भवतः प्रचण्ड अनि ओलीलाई समेत जानकारी छैन।

गठबन्धनको यात्रा सुखद हुन्छ कि तिक्ततापूर्ण त्यो त हिजो नै पुष्टि भएको विषय हो। २ र २ जोड्दा आउने योगफल ४ नै हो।

१० पुस, २०७९, २०:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।