स्याङ्जा–२ (क)मा कांग्रेसका अर्याल विजयी, एमालेका रेग्मी पराजित

स्याङ्जा–२ (क)मा कांग्रेसका अर्याल विजयी, एमालेका रेग्मी पराजित

काठमाडौं: स्याङ्जाको निर्वाचन क्षेत्र नं २ (क) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भएका छन्। आज बिहान सम्पन्न मतगणनाबाट उनी १५ हजार १६१ मत प्राप्त गरी विजयी भएका हुन्।

कांग्रेस उम्मेदवार अर्यालले आफ्ना प्रतिस्पर्धी एमालेका उम्मेदवार मोहन रेग्मीलाई दुई हजार ७३० मतान्तरले पराजित गरेका हुन्। विसं २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा विजयी भएका रेग्मीले यसपटक १२ हजार ४३१ मत प्राप्त गरे।

स्याङ्जा–२ (क) मा गल्याङ नगरपालिकाका ६ र ७, भिरकोट नगरपालिकाका ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाका १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ नं गरी १९ वडा पर्छन्। विजयी अर्याल यसअघि वालिङ गाविसको अध्यक्ष र २०५४ सालमा वालिङ नगरपालिकाको नगर प्रमुख भइसकेका छन्।

प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी छ। स्याङ्जा क्षेत्र नं २ मा कांग्रेसका धनराज गुरुङको अग्रता कायमै छ। गुरुङले १२ हजार ९५१ मत प्राप्त गरी अग्रता लिइरहेका छन्।

एमाले उम्मेदवार पद्माकुमारी अर्यालले १० हजार ६२७ मतसहित पछ्याइरहेकी छिन्। उनीहरूबीच दुई हजार ३२४ मतान्तर छ।

१६ मंसिर, २०७९, ०८:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।