चार ठाउँमा ‘घण्टी’ बज्दा पाँच ठाउँमा कांग्रेस विजयी, कृष्णगोपालले जोगाए एमालेको बिउ

चार ठाउँमा ‘घण्टी’ बज्दा पाँच ठाउँमा कांग्रेस विजयी, कृष्णगोपालले जोगाए एमालेको बिउ

काठमाडौं : काठमाडौंको दश वटै निर्वाचन क्षेत्रको चुनावी मतपरिणाम सार्वजनिक भइसकेको छ।

सार्वजनिक मतपरिणाम अनुसार काठमाडौंका पाँच क्षेत्रमा नेपाली कांग्रेस, चार क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी र एउटामा एमालेमा उम्मेदवार निर्वाचित भएका छन्।

केन्द्रीय राजधानीसमेत रहेको काठमाडौंमा यसपटक नयाँ पार्टीका नयाँ नेताहरूले पकड बनाउँदा ठूला पार्टी भनिएको एमाले गुमनाम झैँ देखियो। ०७४ को निर्वाचनमा काठमाडौंका ६ वटा क्षेत्रमा पकड जमाएको एमाले यसपटक क्षेत्र नम्बर ९ मा मात्र सीमित बन्यो।

कुनै उम्मेदवारले पटक–पटक जितेर ह्याट्रिक गर्दा महिला भने एक जनामात्र निर्वाचित भइन्।

क्षेत्र नम्बर १ मा दोहोरिए प्रकाशमान
देशकै सबैभन्दा धेरै उम्मेदवार ३२ जना मैदनमा रहेको यस क्षेत्रमा कांग्रेसका प्रकाशमान सिंह १३२ मतान्तरले विजयी भए। उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रवीन्द्र मिश्रले उनलाई टक्कर दिए। सिंहले ७ हजार १४३ मत ल्याए।

अन्य दल र उम्मेदवारहरूबीच भोट बाँडिदा उनले यसपटक अघिल्लो निर्वाचनमा पाएको भन्दा ३ हजार मत कम पाए। उनीहरूबीचको कडा टक्कर भएको यो दोस्रोपटक हो। अघिल्लो चुनावमा उनीहरूबीचको मतान्तर ८१८ थियो।

यहाँबाट प्रतिस्पर्धामा उत्रिएका अन्य उम्मेदवारहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पुकार बमले ४ हजार ११२, एमालेका किरण पौडेलले ३ हजार ५०८ र नेपाल सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२१ मत भने ल्याए।

क्षेत्र नम्बर २ मा २७ वर्षीया सोविता
यस क्षेत्रबाट रास्वपाबाट २७ वर्षीय सोविता गौतमले १५ हजार २२९ मत ल्याएर जित निकालिन्।

चुनावअघि नै तीन महिलाबीच प्रतिस्पर्धाका हुने भएकाले चर्चामा रहेको यो क्षेत्रबाट उनी जिल्लाबाटै निर्वाचित एक्ली महिला हुन्। सञ्चारकर्मी, अधिवक्ता र युवा अभियन्ताको छवि बनाएकी उनले एमालेका मणिराम फुयाँललाई ३ हजार ६७४ मतान्तरले हराइन्।

११ हजार ५५५ मत ल्याएर फुयाँलले दोश्रो स्थान ओगटे। एमालेका बागमती प्रदेश कमिटी सदस्यसमेत भइसकेका उनी मूलपानीमा रहेको सरकारी विद्यालय राष्ट्रिय माविको प्रधानाध्यापक भइसकेका स्थानीय हुन्।

यसै क्षेत्रबाट राप्रपाकी उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ मत प्राप्त गर्दा सत्ता गठबन्धनकी साझा उम्मेदवार पूर्वसभामुख ओनसरी ९ हजार ४४९ मत ल्याएर चौथो भइन्।

क्षेत्र नम्बर ३ मा पुर्व प्रमुख चालिसेको पल्लाभारी
स्थानीय तहको निर्वाचनमा कांग्रेसको बलियो पकड देखिएसँगै यस क्षेत्र निर्वाचित भए गोकर्णेश्वरका निवर्तमान प्रमुख सन्तोष चालिसे। कांग्रेसका तर्फबाट उम्मेदवार भएका उनले १५ हजार २२९ मत ल्याएर जिते। चालिसेलाई यसअघि अवैध उत्खननको मतियार रहेको आरोप लागेको थियो।
 
उनका प्रतिस्पर्धी तथा यसअघि सोहि क्षेत्रबाट निर्वाचित भएका एमालेका कृष्णबहादुर राई भने यसपटक ११ हजार १९६ मत ल्याएर दोस्रोमै सीमित भए। अघिल्लो चुनावमा उनले यहाँबाट १९ हजार १६९ ल्याएर जितेका थिए।
त्यस्तै, रास्वपाकी उम्मेदवार दुर्गाविक्रम थापा क्षेत्रीले ४ हजार ८६५ मत प्राप्त गरेर तेस्रो भइन्। पश्मिना व्यापारी थापा निर्यात व्यवसायी महासंघको उपाध्यक्ष समेत हुन्।

क्षेत्र नम्बर ४ मा गगनको ह्याट्रिक 
तेस्रो पटक जित निकाल्दै क्षेत्र नम्बर ४ मा कांग्रेस महामन्त्री गगन थापाले यसवपाली ह्याट्रिक गरे। चुनाव अघिनै भावी प्रधानमन्त्रीको रूपमा आफूलाई अगाडि सारेका उनले चुनावपछि पनि आफ्नो अडानबाट पछि हटेका छैनन्।

अघिल्लो चुनावमा ३ हजार ४ सय १८ मतान्तरले पराजित भएका भट्टराई यसपटक भने ७ हजार ३९२ मतान्तरले पराजित भए। २१ हजार २९३ मत ल्याएर उनी विजयी हुँदा एमालेका राजन भट्टराई फेरि पनि दोस्रो भए। उनले १३ हजार ८३७ मत ल्याए।

यसक्षेत्र भित्रको स्थानीय तहको निर्वाचन हेर्दा भट्टराईलाई त्यति कमजोर प्रतिस्पर्धीको रूपमा भने देखिएको थिएन। जिल्लाको सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाएको रास्वपाले यहाँ आफ्नो उम्मेदवार उठाएको थिएन।

क्षेत्र नम्बर ५ कांग्रेसका प्रदीप
पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेर पराजित भएका कांग्रेसका प्रदीप पौडेलले यस क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनको पहिलो अनुभवमै जित निकाले।

बौद्धिक युवा नेताको छवि बनाएका पौडेल अहिलेसम्म विवादमा नपरेका नेताका रूपमा चिनिन्छन्। तनहुँबाट उम्मेदवार बन्ने लक्ष्य राखे पनि वरिष्ठ नेता रामचन्द्र पौडेलललाई ठाउँ छोडेर यहाँ आइपुगेका उनलाई मतदाताले पनि स्वीकारे।

यहाँबाट १५ हजार २३७ मत ल्याएर पौडेल विजयी हुँदा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल १० हजार १७५ मत ल्याएर दोस्रो भए। पोखरेलले यसअघिको निर्वाचनमा यहाँबाट २३ हजार २९ मत ल्याएर विजयी भएका थिए।

क्षेत्र नम्बर ६ मा रास्वपाका शिशिर
शिक्षा र स्वास्थ्य मामिलामा राम्रो जानकारी भएका टिच फर नेपालका संस्थापकमध्येका एक शिशिर खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट यस क्षेत्रमा जित निकाले।

यस क्षेत्रबाट कांग्रेसका भीमसेनदास प्रधान र पूर्वआईजीपी एमालेका सर्वेन्द्र खनाललाई मुख्य प्रतिष्पर्धी मानिँदै आए पनि उनले १४ हजार २०४ मत ल्याएर जित निकाले।

उम्मेदवार दर्ता गर्नु केही दिनअघि मात्र एमाले प्रवेश गरेका खनालल ८ हजार ९११ मत ल्याए भने यसै क्षेत्रका पूर्वसांसद समेत रहेका प्रधानले ८ हजार ८०५ मत ल्याए।

क्षेत्र नम्बर ७ मा पनि रास्वपा नै हावी
सत्तारुढ गठबन्धनबाट नेपाल समाजवादी पार्टीकी अस्मिता सिंह (मानुषी) यमी भट्टराईको उम्मेदवारीका कारण चर्चामा रहेको यस क्षेत्रमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनै विजयी भए।

८ हजार ७४३ मत ल्याएर गणेश पराजुलीले जित निकाल्दा मानुषीले ६ हजार ६३ मत ल्याएर तेस्रो स्थानमा सीमित भइन्। यहाँ एमालेका श्यामकुमार घिमिरे ६ हजार ८०० मत ल्याएर दोस्रो भए।

०७० र ०७४ को निर्वाचनमा रामवीर मानन्धरले स्वतन्त्र उम्मेदवारी दिए पनि उनले धेरै मत ल्याउन सकेनन्।

क्षेत्र नम्बर ८ मा प्रदेशसभाबाट प्रतिनिधिसभा आइपुगे विराजभक्त 
ठूला भनिएका पार्टीका बलिया उम्मेदवार नभएको उस क्षेत्रमा स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले १० हजार १०५ मत ल्याएर निर्वाचित भए।

विवेकशील साझा पार्टीले गत संसदीय निर्वाचनमा प्रदेशमा पाएको समानुपातिक मतका आधारमा सांसद बनेका उनले यसपटक भने स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभामै जीत निकाले।

स्थानीय तहमा पाएको मत र चर्चाको आधारमा प्रतिनिधि सभाको चुनावमा होमिएका हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत ल्याउँदै दोस्रो भए। ४ हजार ८७७ मत ल्याएर सत्तारुढ गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ तेस्रो भए।

क्षेत्र नम्बर ९ मा जोगियो एमालेको बिउ
काठमाडौंमा एमालेको बिउ जोगाएर यस क्षेत्रबाट कृष्णगोपाल श्रेष्ठ विजयी भए।

निवर्तमान सांसदसमेत रहेका उनले यहाँबाट ११ हजार ९५६ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी स्वतन्त्र पार्टीका टेकबहादुर बस्नेतले १० हजार ९६१ मत ल्याए।

यहाँ सत्तारुढ गठबन्धनको समर्थनमा माओवादी केन्द्रकी कल्पना धमला, विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डे लगायत प्रतिस्पर्धामा थिए। तर, उनीहरूले यसपटक चुनावमा सम्झनलायक मत ल्याएनन्।

क्षेत्र नम्बर १० मा पनि कांग्रेसको ह्याट्रिक
यस क्षेत्रमा पनि कांग्रेसका राजेन्द्रकुमार केसीले लगातार तेस्रो जित निकाल्दै ह्याट्रिक गरेका छन्। संविधानसभा निर्वाचन २०७० मा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पराजित गरेर संसदीय यात्रा थालनी गरेका उनले यसपटक १४ हजार ४४८ मत ल्याएर जित निकाले।

०७४ को निर्वाचनमा २४ हजार १९० मतसहित निर्वाचित भएका उनले यसपटक करिब दश हजारभन्दा मत गुमाएका छन्। राजधानी भएर पनि भौगोलिक रूपले अत्यन्त विकट मानिने यो क्षेत्र एकातिर धादिङ र अर्कोतिर मकवानपुर जिल्लासँग जोडिएको छ।

अहिलेको मतान्तर र उनले गरेको काम हेर्ने हो भने उनलाई आगामी चुनावी यात्रा सहज नहुने आँकलन हुन थालिसकेको छ। एमालेबाट उनको प्रतिस्पर्धी हिमेस केसीले भने ११ हजार ७८६ मत ल्याए।

अन्य स्थानमा गठबन्धन भए पनि यहाँ भने गठबन्धन भएको थिएन। अञ्जना विशंखेले माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी थिइन्। तर, उनी तेस्रोमा पनि अटाइनन्। ७ हजार ३४७ मत ल्याएर तेस्रोमा भने स्वतन्त्र पार्टीका उम्मेदवार प्रदीप विष्ट रहे।

१० मंसिर, २०७९, १७:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।