काठमाडौं ८ मा विवेकशील अभियानको बिउ टुसायो

काठमाडौं ८ मा विवेकशील अभियानको बिउ टुसायो

काठमाडौं : नेवार समुदायको संस्कृतिको अपमान गरेको भन्दै कमेडियन अपूर्व सिंह प्रहरी हिरासतमा रहँदा वैकल्पिक राजनीतिको अभ्यास गरिरहेका सुमन सायमी अनि बिराज भक्त श्रेष्ठको भनाइ भाइरल भयो। श्रेष्ठ सिंहको पक्षमा उभिए। सायमी विपक्षमा।

'गल्ती र अपराध छुट्ट्याउनु पर्छ। कसैले पनि साम्प्रदायिक मुद्दा बोकेर चुनावी मुद्दा बनाउन हुँदैन' बिराजले भनेका थिए, 'झगडा लगाउन धेरै सजिलो छ।'

उता सायमी सिंहको डिजिटल प्रहसनले नेवार समुदायको संस्कृतिको अपमान गरेको दाबी गर्नेहरूको पक्षमा उभिए। रोचक के भने यी दुवै युवा नेता प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं-८ मा प्रतिस्पर्धी भए। र जित निकाले बिराजले। उनी काठमाडौं-८ बाट जनप्रतिनिधि चुनिए लगत्तै अहिले बिराजको त्यही भिडियो क्लिप सामाजिक सञ्जालमा पुन: भाइरल भइरहेको छ।

यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका श्रेष्ठले चुनावी अभियानभरी कतै कन्सर्ट गरेर चुनावप्रचार गरे त कतै घरदैलो गरे। स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर १३ हजार भोट ल्याएका सुमन उनीमाथि भारी हुने धेरैको आँकलन थियाे। तर, आँकलन गलत भयो। उनी प्रतिस्पर्धीभन्दा ६ हजार बढि मत ल्याएर विजयी भए।

विवेकशीलको बिउ

नेपालमा वैकल्पिक राजनीतिको बिउ रोप्ने काम विवेकशील अभियानले सुरु गरेकोमा कसैको अर्को मत हुन सक्दैन। नेपाल बन्द अभियानविरुद्ध सुरु भएको युवाहरूको स्वतःस्फूर्त अभियान महिला हिंसाविरुद्धको अभियान हुँदै विभिन्न सामाजिक अभियानसँग जोडियो र युवामाझ लोकप्रिय पनि भए।

तर, वैकल्पिक राजनीतिक शक्ति बन्ने भन्दै खुलेको साझा पार्टीमा विवेकशील नेपाली दल मिसिएर विवेकशील साझा भएसँगै यो अभियान धरमरायो। रवीन्द्र मिश्रले आफ्नो व्यक्तिगत स्वार्थका लागि युवाहरूले बढो मिहिनेत गरेर रोपेको बिउको मूल डाँठै भाँच्ने प्रयास गरे।

विवेकशील अभियानका संस्थापक उज्जवलसँग बिराजको सेल्फी

तर. त्यही बिउका एक पालुवा बिराज भक्तले भने आफूलाई सम्हाल्दै पातहरू फैलाउँदै लगे। उनको परिवारमा राजनीतिक माहाेल थियो नै। उनको बुवा विकास भक्त श्रेष्ठ नेपाली कांग्रेसमा आबद्ध थिए र वडाध्यक्ष समेत भइसकेका थिए।

तर, उनी बाबु संलग्न पार्टीतिर लागेनन्। नयाँ अभियानमा जोडिए। उनी विवेकशील अभियानका संस्थापक उज्ज्वल थापासँग जोडिएर सामाजिक अभियानहरूमा सहभागी भए।

२०७२ सालको महाभूकम्पपछि उनी राहत अनि उद्धार अभियानमा संलग्न भए। स्वयंसेवक टोलीको नेतृत्व गरे। उद्धार अभियान चलाउँदै मुस्ताङ र बर्दिबासमा पुगे।

उनी ‘फोर्स नेपाल’ संस्था मार्फत वृक्षारोपणको लागि ‘वान ट्री–मेरो जिम्मेवारी’ अभियान पनि चलाइरहेका थिए। नेपाल तेक्वान्दो सङ्घ, काष्ठमण्डप पुनर्निर्माण समिति अनि हनुमानढोका दरबार क्षेत्र व्यवस्थापन कार्यदलमा रहेर उनी सम्पदा संरक्षणमा समेत सक्रिय थिए।

स्नातक अध्ययन गरेका अनि काठमाडौँ इन्द्रचोकका स्थानीय उनी साझा र विवेकशीलबिच एकीकरण भएपछि बनेको विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य भए अनि २०७४ को प्रदेश सभाको निर्वाचनमा उनी समानुपातिकतिर परे।

प्रतिनिधि सभा अनि प्रदेश सभा दुबैतिर प्रत्यक्षमा एक जना प्रतिनिधि पनि निर्वाचित नभए पनि बागमतीमा प्रदेशतर्फ तीन सांसद बनाउने मत पाएपछि विवेकशीलले उनीसहित रमेश पौड्याल र शोभा शाक्यलाई प्रदेशमा पठायो।

प्रदेश सभामा रहँदा उनले नेपाल भाषा र तामाङ भाषालाई बागमती प्रदेश सरकारको कामकाजको भाषा बनाउने कानुन पारित गराउन महत्त्वपूर्ण भूमिका निभाए। उनले हरेक वर्ष आफूले प्रदेश सांसदको रूपमा गरेको कामबारे प्रतिवेदन सार्वजनिक गरिरहे।

यता केन्द्रमा सङ्घीय सरकारले गुठी विधेयक संसद्मा पेस गरेपछि काठमाडौँमा नेवार समुदाय विरोधमा उत्रँदा उनी सडक अनि सदन दुबैतिर सक्रिय भएका थिए।

पार्टी विवादमा मौन

विवेकशील साझामा फुट्ने र जुट्ने अभियान चलिरह्यो। उज्ज्वल थापा समूह साझाबाट अलग भयो। विवेकसील पार्टीको नेतृत्वमा मिलन पाण्डे आएपछि उनीहरूले बहुमतबाट निर्णय गराएर पुन साझा पार्टीमा फर्किए। प्रदेश सांसदहरू कहिले यता अनि कहिले उता खुल्दा पनि बिराज कुनै समूहमा सार्वजनिक रूपमा देखिएनन्।

उज्ज्वलको समूह साझामा नफर्किई विवेकशील अभियान ब्युँताउने अभियानमा सक्रिय रहेकै बेला उनको निधन भयो। यता विवेकशील साझामा मिश्रले ल्याएको पश्चगामी राजनीतिक लाइनले पार्टी ध्वस्त भयो। बिराज प्रदेश सांसदकै रूपमा सक्रिय रहे।

मिश्र आफ्नो समूहसहित राप्रपामा प्रवेश गरे। तर बिराज न मिश्रसँग नै गए न विवेकशील साझामा नै बसे। कर्मा तामाङहरुले नेपाल विवेकशील पार्टी दर्ता गरेका थिए। तर उनी त्यता पनि लागेनन्। 

उनी  निर्वाचन अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ-८ बाट उम्मेदवार बने। उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा लागे पनि शैली र अजेण्डा भने विवेकशील अभियानकै अगाडि बढाए। विवेकशील शैलीमा आफ्नो चुनावी प्रचार गरे। उनका काम राष्ट्रिय रूपमा चर्चामा त आएन तर उनी आफ्नो समुदायसँग भने जोडिइनै रहेका थिए। त्यसैको प्रतिफल पाए २०७९ को निर्वाचनमा।

यो निर्वाचनमा विवेकशील अभियानसँग जोडिएका मिलन पाण्डे, पुकार बम अनी रञ्जु दर्शनाहरु पनि विभिन्न दलबाट उम्मेदवार बनेका थिए। तर उनीहरुमा विवेकशील अभियानको साख देखिएन। तीनै जना पराजित भए। २०७० को स्थानीय तहको निर्वाचनमा शानदार मत ल्याएकी अनी विवेकशील अभियानका संस्थापक उज्जवलले सधै सम्मानजनक मत ल्याएको काठमाडौं-५ मा स्वतन्त्र उम्मेदवार बनेकी रञ्जुको त जमानत जोगिने मत पनि आएन।

तर त्यही अभियानबाट बैकल्पिक राजनीतिमा बामे सरेका बिराज शानदार मतका साथ प्रतिनिधी सभामा चुनिए। विवेकशील अभियानले रोपेको बिउ प्रतिनिधिसभासम्म पुग्यो।

'देशका लागि काम गरोस्'

उनको जितले काठमाडौँ ८ का स्थानीय खुसी देखिए। बुधवार धिमे बाजा सहित रमाइरहेका थिए उनीहरू। त्यही भिडमा भेटिए बिराजका बुबा विकास।

छोराले जित्दा कस्तो लागिरहेको भनेर सोध्दा उनले भने' मेरो छोराले भन्दा पनि देशको छोराले जितेको हो। दुई पटक नेपाली काङ्ग्रेसबाट वडाध्यक्ष भएका उनले भने' पहिला त म कांग्रेसका हो। तर अहिले कतै छैन है। अन्याय-अत्याचारविरुद्ध जितेको हो। देशको हितमा राम्रो काम गर्ला भन्ने आस छ।'

आफ्नो शुभेच्छुकहरूबाट घेरिएका बिराजले अब परिवर्तन आयो भन्ने सन्देश आएको भन्दै उनले भने' म यही जन्मिएको हो। यही हुर्किएको हो। मैले काम गर्ने यही हो। म मर्ने यही हो।'

उनले अब कसैले पनि स्थानीयको भावना विपरीत काम गर्न सम्भव नभएको र संसद्मा स्थानीयहरूको भावना सम्बोधन गर्न जाने भन्दै भने' अब नेताले चाहेको विकास हैन। जनताले चाहेको विकास हुनुपर्छ।'

७ मंसिर, २०७९, १५:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।