पङ्क्तिकारले कुराकानी गरेका कतिपय मतदाताले क्यामरामा ‘अनुहार नदेखाउन र नाम लुकाउन’ आग्रह गरे। यस क्षेत्रका करिब ८० बढी मतदातालाई भेट्दा ६० प्रतिशत मतदाता गोकर्णको पक्षमा देखिए भने ४० प्रतिशत झाँक्रीको।
यस क्षेत्रबाट विष्ट तीन पटक निर्वाचित भइसकेका छन्।
गुल्मी मालिका गाउँपालिका वडा नं. ६ फूलबारीकी तारा महतका अनुसार गाउँमा विकास आएको छ। ‘हिजको दिनमा यहाँ के थियो? सडक धुलाम्मे र हिलाम्मे थियो। बत्ती थिएन। खानेपानीका लागि कहिले खोलामा पुगियो, कहिले कुमालपँधेरा पुगियो। तर अहिले सडक कालोपत्रे भएको छ। घरघरमा धारा आएको छ। हेर्नुस् त अहिले घरघरमा वाइफाई समेत आउने भयो। यसलाई विकास भएन भनेर भन्ने?’, उनले भनिन्।

झाँक्रीको नाम र चर्चा सुनिए पनि विष्टप्रति जनताले अझै आशा गरेको उनले सुनाइन्। उनले झाँक्री सांसद भएको कुरा पनि पार्टी फुटाएपछि थाहा पाएको बताइन्। साथै मन्त्री बनेर पनि केही नगरेको, नयाँ योजना नल्याएको उनको दावी थियो।
विष्टले भने विकास निर्माण, खानेपानी, सडक विस्तार, विद्यालय भवन, मठमन्दिर, सिँचाईका लागि कुलोको योजना तथा फुसको छाना विस्थापित गरेर टिन लगाइदिएका कारण पनि उनीप्रति अझै जनता आशावादी रहेको उनले बताइन्।
रेसुंगा नगरपालिका- ३ की सुमित्रा परियारले सो क्षेत्रमा विष्टको चर्चा सुनिएको बताउँछिन्।
‘हामी साँझ बिहान काम गरेर पेट पाल्ने हो। कति नेता आए, के गरे? हामीलाई खै के दिए? त्यसैले मलाई वास्तै छैन्’, उनले भनिन्।
‘त्यसो भए मतदान गर्न नजाने?’ उनलाई सोधियो। जवाफमा सुमित्राले भनिन्, ‘मतदान गर्ने अधिकार खेर नफाल्ने तर मत खेर जाने ठाउँमा पनि नराख्ने।’
सोही ठाउँकी उषा परियार जिल्लामा झाँक्रीको चर्चा कम सुनिएको बताउँछिन्। ‘हामीले जति आशा र अपेक्षा गरेका छौँ। त्योअनुसार काम भएको छैन। तर विकासप्रेमी नेतालाई नै भोट गर्ने हो’, उनले भनिन्।
तम्घास बाघमारेका सूर्यबहादुर नेपालीले कुराकानीको क्रममा विष्टको विकल्प अरू नभएको बताए। विष्टले विगतदेखि नै राम्रो काम गरेकोले अहिलेको निर्वाचनमा पनि उनको माहोल उस्तै रहेको बताए।
नेपालीले भने, ‘विजुली, बाटोघाटो, पुल पुलेसादेखि तम्घास पश्चिमको विकासमा विष्टको ठूलो देन छ। उहाँप्रति हाम्रो सहानुभूति छ।’

जनताको आधारभूत आवश्यकता पूरा भए पुग्ने र सो आवश्यकताको काम विष्टले गर्दै गरेको उनको दावी छ।
मालिका गाउँपालिका वडा नं ७ सिमलटारीका सञ्जय जिसीले कुराकानीका क्रममा आफूलाई त्यति धेरै वास्ता नभएको बताए। उनले विष्ट र झाँक्री दुवैको चर्चा उस्तै सुनेको बताए। उनको नजरमा दुवै जना उम्मेदवार विकासप्रेमी, सरल र युवा भएकोले कसलाई भोट दिने भन्ने दोधारमा छन् उनी।
‘गोकर्ण विष्टले पनि राम्रो काम गर्नुभएको छ। रामकुमारी पनि राम्रो गर्छु भनेर आउनुभएको छ। हेरौँ के हुन्छ’, जिसी भन्छन्।
तम्घास भण्डारी टोलका चोमप्रसाद भण्डारी प्रतिस्पर्धाका हिसाबले दुवै नेता बराबर देख्छन्।
‘विकासमा गोकर्णको नाम जोडिए पनि झाँक्रीप्रति पनि धेरैको आशा छ। नेताहरू काठमाडौंमुखी भए जिल्ला गाउँमा फर्किएनन्’, भण्डारीको आफ्नै गुनासो थियो।
विष्टको चर्चाको कारण
सरल र शालीन स्वभावका विष्टले विपक्षीको आलोचना नगरी आफूले विगतमा गरेका प्रयास र अबको रोडम्यापबारे जनतालाई बुझाउँदै घरदैलो गरिरहेका छन्।
भौगोलिकरूपमा विकट र टाढा–टाढासम्म छरिएका गाउँलाई सडक, सञ्चार, विद्युत तथा शिक्षा लगायतका योजनाले जोड्ने काममा विष्टले महत्त्वपूर्ण योगदान गरेका छन्। यही क्षेत्र हुँदै मध्यपहाडी लोकमार्ग बनेको छ। जसले गर्दा गुल्मीका ग्रामीण बस्तीको अनुहार बदलिएर शहरोन्मुख बनेका छन्।

यो क्षेत्रका नागरिक राजमार्ग हुँदै व्यापार, उपचार र बुटवल-काठमाडौं आउजाउ गर्न समेत अर्घाखाँची र प्युठान हुँदै जान थालेका छन्। यो राजमार्ग सुरुमा चुरेको किनारै किनार निर्माण गर्ने योजना थियो। आफ्नै पहलमा राजमार्ग गुल्मी आएको विष्टको दावी छ।
‘म यो क्षेत्रमा निर्वाचित हुँदा कहीँ पनि मोटरबाटो थिएन। आज राष्ट्रिय राजमार्ग निर्माण गरेका छौँ। सालझण्डी-ढोरपाटन सडकमा दुई अर्ब बढी खर्च भइसकेको छ। रिडी–रुद्रवेनी, वामीटक्सारसहित सात वटा सडक कालोपत्रेका लागि टेण्डर भएको छ। त्यसैगरी यस क्षेत्रमा मेरो कार्यकालमा ४२ सय किलोमिटरभन्दा बढी ट्र्याक खुलाउने काम भएको छ', विष्टले भने।
यस्ते अनकन्टार भीरहरूमा पनि सडक निर्माण गरेर सेवा पुर्याएको र अब त्यस्ता सडकको स्तरोन्नति गर्न बाँकी रहेको पनि उनको भनाइ छ।
'प्रत्येक वडालाई कालोपत्रे सडकले जोड्ने मेरो लक्ष्य छ। सडक निर्माणसँगै ती क्षेत्रमा पर्ने विभिन्न ठाउँमा ५९ वडा सडक पुलका योजना समावेश गरेर अघि बढाएकोमा २८ वटा पुल सम्पन्न भइसकेका छन् भने केही निर्माणको चरणमा, केही टेण्डर प्रक्रियाको चरण्मा छन्। यी योजनाहरूलाई सम्पन्न गर्ने मरो प्रतिबद्धता छ’, उनले भने।
त्यस्तै अर्की उम्मेदवार रामकुमारी झाँक्रीले एकीकृत योजनाबद्ध भौतिक पूर्वाधारको निर्माणको लागि आफूले जित निकाल्नुपर्ने बताइन्।