एमालेका उम्मेदवारलाई भोट मागेको आरोपमा गण्डकीका ऊर्जा मन्त्री आचार्य बर्खास्त

एमालेका उम्मेदवारलाई भोट मागेको आरोपमा गण्डकीका ऊर्जा मन्त्री आचार्य बर्खास्त

पोखरा : गोरखा-२ मा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका पुष्पकमल दाहाल प्रचण्डको विरोधमा एमालेका उम्मेदवारको मत मागेको आरोपमा गण्डकीका ऊर्जा मन्त्री हरिशरण आचार्य बर्खास्त भएका छन्।

गोरखामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग प्रतिस्पर्धामा रहेका एमालेका उम्मेदवार अब्दुस मियाँको भोट मागेको सूचनाको आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई हटाउन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सोमबार निर्देशन दिएका थिए।

मुख्यमन्त्री पोखरेल सोमबार पोखराबाहिर रहेकाले उनले निर्णय गरेका थिएनन्। मङ्गलवार उनी पोखरा फर्किएर आचार्यलाई हटाउन प्रदेश प्रमुखसमक्ष पत्र पठाएका हुन्।

गोरखा–२ घर भएका आचार्य २०७४ सालमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट निर्वाचित भएका थिए।

यस पटकको निर्वाचनमा पनि उनी गोरखा २ को ‘क’बाट उम्मेदवारको आकाङ्क्षी थिए। तर नेपाल समाजवादी पार्टीले उनलाई टिकट नदिएर फणीन्द्र देवकोटालाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाएपछि आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

पार्टीको दबाबमा उनले अन्तिममा उम्मेदवारी फिर्ता लिएका उनी पछिल्लो समय एमालेले आयोजना गरेको चुनावी कार्यक्रमहरूमा सहभागी हुने गरेका थिए।  

२२ कात्तिक, २०७९, १५:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।