२९ वर्षीय युवालाई हराउन गोरखा-२ मा प्रचण्डको दौडधुप, चुनावी गणितमा सुरक्षित तर ढुक्क छैनन्

२९ वर्षीय युवालाई हराउन गोरखा-२ मा प्रचण्डको दौडधुप, चुनावी गणितमा सुरक्षित तर ढुक्क छैनन्

गोरखा : गोरखा क्षेत्र नम्बर २ कुनै समय नेपाली कांग्रेसको गढको रूपमा परिचित थियो। माओवादी शान्ति प्रक्रियामा आउनु अगाडिसम्म सो क्षेत्रमा कांग्रेसको पकड थियो। २०४८ मा कांग्रेसकी मैयाँदेवी श्रेष्ठ अनि २०५१ र २०५६ को चुनावमा कमला पन्त त्यही क्षेत्रबाट सांसद बनेकी थिइन्।

माओवादी शान्ति प्रक्रियामा आएसँगै गोरखामा कांग्रेसको पकड तोडियो। डा.बाबुराम भट्टराई दुई पटक अनि हितराज पाण्डे एक पटक सो क्षेत्रबाट निर्वाचित भए। बाबुराम २०६४ मा सांसद बन्दा माओवादीबाट उम्मेदवार बनेका थिए। ०७० को निर्वाचनमा भट्टराई क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेपछि माओवादीकै पाण्डेले चुनाव जिते।

०७४ मा कांग्रेससँग तालमेल गरेर भट्टराई क्षेत्र नम्बर २ बाट सांसद बन्दा माओवादीबाट एमालेको समर्थनमा उम्मेदवार बनेका नारायणकाजी श्रेष्ठ पराजित भएका थिए। डा भट्टराई २०७९ मा माओवादीको चुनाव चिन्ह लिएर सोही क्षेत्रबाट उम्मेदवार बन्ने लगभग पक्कापक्की थियो। तर एकाएक राजनीतिक माहौल बदलियो।

चितवन ३ लाई माओवादीको गढ बनाउन सक्रिय पुष्पकमल दाहाल प्रचण्ड एकाएक चितवनबाट गोरखा-२ मा उम्मेदवार बन्न पुगे। बाबुरामले सक्रिय संसदीय राजनीतिबाट अवकाश लिए। आफ्नो निर्वाचन क्षेत्रलाई माओवादी गढ बनाउन छोरीलाई दोस्रो पटक पनि भरतपुर महानगरपालिकाको मेयर बनाउन सफल भएका उनी एकाएक चितवनबाट गोरखा पुग्नुमा गठबन्धनकै दलबाट घात नभए पनि जित्ने सुरक्षित स्थानको खोजी नै पहिलो कारण देखिन्छ।

चितवन-३ कांग्रेसको गढको रूपमा परिचित भए पनि प्रचण्ड एमालेको साथ लिएर २०७४ मा निर्वाचित भए। एक त आफूलाई हराउन एमाले नेतृत्व जुनसुकै तहमा जान सक्ने र कांग्रेसको केन्द्रमा समस्या नभए पनि जिल्लामा धोका हुनसक्ने आँकलन गर्दै उनी बाबुरामलाई मनाउन सफल भएर गोरखा उक्लिएर सुरक्षित उम्मेदवार बने। उता गठबन्धनमा चितवन-३ माओवादीले नै लिएको छ। तर कांग्रेसबाट बागी उम्मेदवार उठेका छन् जसलाई एमालेको समर्थन छ।

युवा र बयोबृद्धसँग प्रतिस्पर्धा

गोरखा-२ पुगेपछि अब आफू पक्का सांसद बन्नेमा प्रचण्ड ढुक्क देखिन्छन्। सार्वजनिक कार्यक्रमहरूमै उनले गोरखा आएपछि आफू फ्रेस भएको दाबी गर्ने गरेका छन्। बाबुराम र नारायणकाजीको साथ अनि स्थानीय तहको निर्वाचनको परिणामले उनी जित्नेमा पक्कापक्की देखिन्छन्।

उनी फ्रेस हुनुको अर्को कारण हो उनको प्रतिस्पर्धी पार्टी एमालेको उम्मेदवार। वैकल्पिक राजनीतिक धारबाट राजनीतिमा सक्रिय भएका अब्दुस मियाँलाई एमालेले उम्मेदवार बनाएको छ। सामाजिक सञ्जालमा एमाले अध्यक्ष केपी ‌ओलीको कटु आलोचकको छवि बनाएका उनी निर्वाचन अगाडि मात्रै उनी एमालेमा प्रवेश गरेका हुन्।

पहिलो एमालेको कमजोर सङ्गठन र २९ वर्षीय मियाँको राजनीतिबारे कच्चा ज्ञानले प्रचण्डको हौसला बढेको देखिन्छ।

मियाँ गत असोज ६ मा एमाले प्रवेश गरेका हुन्। उनी यस अगाडि विवेकशील साझा पार्टीमा संलग्न थिए। उनी काठमाडौँ–६ बाट स्वतन्त्र उम्मेदवारीको तयारीमा रहेकै बेला एमाले प्रवेश गरेर गोरखा पुगेका हुन्।

यस्तै बिपी कांग्रेसबाट उठेका छन् टिकादत्त पोखरेल। उनी लामो  समय कांग्रेसमा सक्रिय भई काम गरेका व्यक्ति हुन्। तर, गोरखा-२ मा बिपी कांग्रेसको सङ्गठन बलियो थिएन। माओवादीलाई भोटै हाल्न नसक्नेहरूको मत उनले तान्न सक्छन्। तर चितवन-३ मा जस्तो कांग्रेस जिल्ला सङ्गठनका पदाधिकारीहरू उनको पक्षमा खुलेका छैनन्।

प्रदेशमा कांग्रेसबाट राजेन्द्र बजगाईँ उम्मेदवार रहेको र प्रतिनिधि सभामा प्रचण्डलाई धोका दिँदा प्रदेश गुम्ने भएकाले पनि कांग्रेसका जिल्ला तहका प्रभावशाली नेताहरू प्रचण्डकै साथमा देखिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटी, नेपाल मजदुर किसान पार्टीका प्रह्लाद लामिछाने, राप्रपा नेपालका कुलबहादुर बस्नेत, राप्रपाबाट सुशील पन्त, मालेबाट नारायणबाबु आचार्य र हाम्रो नेपाल पार्टीबाट प्रकाश थापा लगायतका उम्मेदवार भए पनि उनीहरूले प्रचण्डलाई नै टक्कर दिएको देखिएको छैन।

बाध्यात्मक सरुवा तर भन्छन् भावनात्मक सम्बन्ध

गोरखा-२ मा जानु प्रचण्डको बाध्यात्मक सरुवा भएको घटनाक्रमले प्रस्टै देखाउँछ। तर उनी यसलाई गोरखासँगको भावनात्मक सम्बन्ध भनेर मतदातालाई सम्झाउन सक्रिय छन्।

हुन त प्रचण्ड सशस्त्र विद्रोहकालमा गोरखामै बसेर थुप्रै योजना बनाएका थिए। प्रचण्डले गोरखमै पढाएका थिए। उनले जागिरको दौरानमा २०३३ देखि २०३६ सम्म गोरखाको आरुघाटको भिमोदय माविमा अध्यापन गरेका थिए।

२०५१ फागुनमा गोरखाको धुवाकोटमा प्रचण्डको अध्यक्षतामा बसेको तत्कालीन माओवादीको तेस्रो विस्तारित बैठकले जनयुद्धको थालनी गर्ने निर्णय गरेको थियो। २०५२ फागुन १ मा माओवादीले रोल्पाको होलेरी प्रहरी चौकी, रुकुमको प्रहरी चौकी, सिन्धुलीमाढी प्रहरी चौकी र गोरखामा रहेको कृषि विकास बैङ्कमा एकै पटक आक्रमण गरेको थियो।

शान्तीप्रक्रियाहुँदै संसदीय राजनीतिमा प्रवेश गरेपछिको माओवादीले प्रदर्शन गरेको उद्दण्ड व्यवहारले भने प्रचण्डलाई पच्छ्याइरहेको छ।

शाहवंशको उद्गमस्थल हो गोरखा। गणतन्त्रको घोषणासँगै माओवादीका नेता कार्यकर्ताहरूले राजाहरूको सालिक तोड्ने अभियान सुरु गर्दै पृथ्वीनारायण शाहको अधिकांश जिल्लामा रहेको सालिक तोडफोड गरेका थिए। प्रचण्ड उनै पृथ्वीनारायण शाहको राजकाज भएको जिल्लामा पुगेपछि अहिले शाहको प्रशंसा गर्ने गरेका छन्।

उनले शाहबंशीय राजकाजको विश्लेषणमा यु टर्न लिएको प्रस्टै देखिन्छ। त्यसको असर मतदातामा कत्तिको पर्यो त्यो मङ्सिर ४ पछिको मतगणनामा देखिन्छ नै। उता गोरखा-२ को मा एमाले अनि पाँच दलीय गठबन्धनको समूहगत मत हेर्दा पनि उनलाई पृथ्वीनारायण शाहको विरोधी देखाउँदा पनि हारजितै हुने गरी मत प्रभावित हुने देखिन्न।

गोरखा- को अङ्कगणित

गोरखा नगरपालिकाका ७ वटा वडा, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट र बारपाक सुलिकोट गाउँपालिका पर्ने यस क्षेत्रमा १ लाख पाँच हजार दुई सय ४० मतदाता रहेका छन्। 

२०७४ को निर्वाचनमा गोरखा २ बाट कांग्रेससंगको तालमेलमा तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष डा.भट्टराई विजयी भएका थिए। उनले ३१ हजार आठ सय ७ मत पाएका थिए। उनका प्रतिस्पर्धी माओवादीका नारणकाजीले श्रेष्ठले २४ हजार नौ सय ३३ मत पाएका थिए।

२०७४ को निर्वाचनमा ७० हजार आठ सय २६ मतदाता रहेकामा पछिल्लो पटक यस क्षेत्रमा झन्डै ४५ हजार मतदाता थपिएका छन्।

क्षेत्रमा गत स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलका उम्मेदवारले पाएको मतको तुलनामा एमालेका उम्मेदवारले पाएको मतान्तर धेरै देखिन्छ। स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारले गोरखाका २ अन्तरगत पर्ने पालिकामा करिब ५२ हजार मत पाएका थिए। प्रतिस्पर्धी एमालेका उम्मेदवारहरूले करिब ७ हजार ९ सय मत पाएका थिए। गठबन्धनका भागमा एमालेको भन्दा साढे पैतालिस हजार मत बढी देखिन्छ।

यस क्षेत्रका वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतका आधारमा माओवादीले २२ हजार २ सय ५० मत पाएको थियो। त्यसैगरी कांग्रेसले २१ हजार १ सय ३६ मत पाएको थियो। जसपाको मत ७ हजार ५०४ रहेको थियो। प्रमुख प्रतिस्पर्धी एमालेले ७ हजार ९ मत ल्याएको थियो। 

अहिले माओवादी, कांग्रेससहित बाबुराम भट्टराई नेतृत्वको नेसपा पनि गठबन्धनमा छ। कांग्रेसबाट ठुलै धोका भएर अब्दुसले मत पाए पनि जसपाको भोट मात्रै थप्न सके भने पनि प्रचण्ड सुरक्षित नै देखिन्छन्। अङ्क गणितमा उनी सुरक्षित देखिन्छन् तर उनी ढुक्क भने छैनन्।

२१ कात्तिक, २०७९, २०:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।