उम्मेदवारलाई ‘डिस’ हाने मझुवागाउँका मतदाताले, भन्छन्– ‘कति हेर्नु उस्तै अनुहार !’

उम्मेदवारलाई ‘डिस’ हाने मझुवागाउँका मतदाताले, भन्छन्– ‘कति हेर्नु उस्तै अनुहार !’

काठमाडौं : विहानको करिब ९ बजे। पारिलो डाँडामा रहेको मझुवागाउँ। ३४ वर्षीया मैयाँ तामाङ घाममा बसेर मोबाइल हेरिरहेकी थिइन्। एक हुल नयाँ मानिस उनको अगाडि ह्वारह्वार्ती आए।

पुरुष कार्यकर्ताको भिडमा थिइन्, त्यस क्षेत्रकी उम्मेदवार कल्पना धमला। सेतो बुट्टे कुर्ता सलवारमा माथिबाट कोट हालेकी उनी मैयाँको अगाडी पुगिन् र दुई हात जोडिन्।

उनीसँगै गएका अर्का पुरुषले नमूना मतपत्र दिँदै भोट गर्ने तरिका सिकाउन थाले। तर, मैयाँले उनीहरूलाई पूर्ण रूपमा वेवास्था गरिन्।

जतिनै जोडबल गरे पनि मैयाँले उनीहरूतिर हेर्दै हेर्दिनन्। हातमा भएको स्मार्ट फोनमै एकोहोरो हेरिरहिन्। महिलाले महिलालाई माया गर्नुपर्ने भन्दै त्यहाँ उपस्थितहरूले करबल लगाए।

कल्पनाले दाँत ङिच्च बनाउँदै हेर्नै नमानेको गुनासो गरिन्। जति नै फकाए पनि मैयाँले कल्पनाको अनुहारतिर हेर्न मानिनन्। केहि जोड नचलेपछि कल्पना हाँस्दै उकालो लागिन्। बल्ल मैयाँले उनी गएतिर फर्केर भनिन्, ‘कति हेर्नु उस्तै अनुहार !’

०००

उकेराका लागि काठमाडौंको काँठ क्षेत्रमा कत्तिको चुनाव लागेको छ बुझ्न हिँडेका थियौं हामी। संयोग, नागर्जुन नगरपालिका–८ स्थित भिमढुङगाको मझुवा गाउँ पुग्दा त्यस क्षेत्रकी उम्मेदवार कल्पना धमला परिचयात्मक कार्यक्रमका लागि भन्दै गाडीबाट ओर्लिइन्। हामी पछि लाग्यौं। त्यहाँको मतदातामा भएको नैराश्यता र उम्मेदवारलाई गरेको वेवास्था प्रत्यक्ष देख्न पायौं।

विद्यालय पुगिसकेको बालक भागेर फेरि घर फर्किएका रहेछन्। स्कुल नगएपछि आमाको रिसमा परेका ती बालकले उकेराकर्मीकै अगाडि भक्कु कुटाइ खाए।

गठबन्धनका माओवादी र कांग्रेस उम्मेदवारसँगै भोट माग्न गाडीबाट झरेका थिए। तर, भोट माग्न भने कांग्रेसको टोली छुट्टै र माओवादीको टोली छुट्टै हिड्यो। कांग्रेसलाई सहकर्मी प्रजु पन्तले पछ्याइन्, माओवादीलाई पंक्तिकारले।

पछि प्रजुले सुनाइन्, ‘माओवादी र कांग्रेसका उम्मेदवार सँगै हिड्दा भोट काटिने डर भएछ।’

प्रजुले एक कार्यकर्तासँग गरेको कुराकानीमा उनले भनेछन्, ‘यो गाउँमा हाम्रो ८० भोट छ। माओवादीसँगै हिँडे हाम्रो त्यहि भोट पनि काटिने डर भयो।’

कल्पनाले के समस्या छ गाउँमा भनेर सोध्न सकिनन्। ‘नमस्कार म कल्पना धमला’ बाहेक उनको मुखबाट अरु केहि निस्केन। निराश अनुहार लिएर उनको समूहले झण्डै २० मिनेट त्यो गाउँमा बितायो।

पुरुषहरू थिएनन् घरमा। उनीहरू ज्यालादारी गर्न झिसमिसेमै हिँडिसकेका थिए। गाउँमा प्रायः वृद्धवृद्धा र महिलामात्रै थिए। बालबालिका विद्यालय जाने हतारमा थिए।

कल्पना उकालो लाग्दै गर्दा एक बालक विद्यालय पोशाकमा दगुर्दै ओरालो झरे। पछि–पछि एक महिला सिम्कनो लौरो बोकेर दगुर्दै थिइन्। ती महिलाको अनुहार रिसले रातो बनेको थियो। कल्पनाले बाटैबाट रिसालु महिलालाई नमस्कार गरिन् तर उनले फर्काइनन्।

ती बालक दगुरेर केहि तल पुगे र एक घरमा छिरे। त्यो उनकै घर रहेछ। विद्यालय पुगिसकेको बालक भागेर फेरि घर फर्किएका रहेछन्। स्कुल नगएपछि आमाको रिसमा परेका ती बालकले उकेराकर्मीकै अगाडि भक्कु कुटाइ खाए।

केहि समयपछि सुन्निएका आँखा लिएर बसेका बालकसँग कुरा गर्दा पो थाहा भयो, विद्यालयमा सबैले उनलाई जिस्काउने रहेछन्।

कोहि साथी नबनेकाले स्कुल जान मन नलागेको उनले सुनाए। बालकको पछि–पछि लौरो बोकेर हिँडेकी महिलालाई कल्पनाले बच्चा पिट्न हुन्न समेत भन्न सकिनन्, भनिनन्।

अनि नकुटेर हुन्छ त !
बालबालिकालाई कुटपिट गर्न पाइँदैन। न विद्यालयमा न घरमा। एक हुल महिलाहरूको समूहमा उकेराकर्मीले कुरा सुरु गर्यो।

समूहमा रहेकी एक केशरी तामाङले भनिन्, ‘मेरो छोरो अहिले १२ पढ्छ, उसलाई त बेलामौका मैले पिट्न छाडेकी छैन।’

कारण सोध्दा उनले भनिन्, ‘यहाँ धेरै पढ्ने भनेको १२ सम्म हो। त्यसपछि पढ्दैनन्। ८ कक्षा पढेदेखि केटाहरू गाँजा र चुरोट खान थाल्छन्। भनेको मान्दैनन्।’

केशरीले अघिल्लो दिनमात्रै छोरो कुटेको बेलिबिस्तार लगाउँदै भनिन्, ‘कलेज जाने बेला भएन भनेर राम्रै मुखले सोधें। झर्केर तिमी जाने कि म जाने। जाँदैछु त भन्यो। त्यस्तो भन्ने हो त! अनि लौरी–लौरीले कुटेँ।’

विकास आयो तर धारामा पानी भने कहिलेकाहिँ मात्र आउँछ, चुनाव आउने समयमा गाउँ पसेका नेताजस्तै।

केशरीकै कुरामा समूहका सबै महिलाले सहमति जनाए र भने, ‘यहाँ किशोरावस्थादेखि नै बिग्रन थालेका छन् छोराछोरीहरू।’

जाँड रक्सी खाने, गाँजा तान्ने, सामुहिक झगडा गर्ने, घरमा नआउने समस्या भएको उनीहरूले बताए। सबैले एकै स्वरमा भने, ‘अनि नकुटेर हुन्छ त!’

रोजगारी नै छैन
उकेराकर्मी त्यहाँ पुग्दा प्रायः महिला मात्रै थिए। छोराछोरी विद्यालय पठाएर उनीहरू एकछिन कात्तिके घाममा सुस्ताए। तर, अनुहारमा भने हतारो देखिन्थ्यो।

अब कोहि गोठालो जान्छन्, कोहि घाँस काट्न त कोहि बारीमा। घाममा परेको अनुहार छेक्दै कमला तामाङले भनिन्, ‘यी कामहरू सबै बालुवामा पानी जस्तै हो। पैसा कमाउने कामै छैन।’

गाउँमा अधिकांश युवाहरू बेरोजगार रहेको कमलाको भनाइ छ। उनले भनिन्, ‘जग्गामा चामल फल्दैन, नुन, मसला फल्दैन। सबै किन्नुपर्छ। तर, किन्नका लागि पैसा कमाउने व्यवसाय भएन।’

‘केही युवाहरू वैदेशिक रोजगारीका लागि गएका छन्, अधिकांश फाट्ट–फुट्ट ज्यालादारी काम गरेर जीविका चलाइरहेका छन्’, कमलाले अनुहार खुम्च्याउँदै भनिन्।

चुनावका नेताजस्तै धाराको पानी
मझुवामा करिव ७० घरधुरी छन्। २०७२ सालको भूकम्पले कुनै घर उभिन दिएन, सबै ढल्यो। दिउँसोको समय भएकाले मानवीय क्षति भने भएन।

सरकारले पुनःनिर्माणका लागि दिएको रकमले बनेको घरमा बस्छन् उनीहरू।

गाउँलाई जोड्न बीचबाट सानो मोटरबाटो खनिएको छ। त्यसलाई ढलान पनि गरिएको छ। यत्तिको उपलब्धी दिलाउने काम भूकम्पले नै गरेको उनीहरू बताउँछन्

त्यहि समयमा घर–घरमा पानीको धारो पनि बन्यो। बिजुली बत्ती, ढलान गरेको सडक र पानीको धारा। विकास आयो तर धारामा पानी भने कहिलेकाहिँ मात्र आउँछ, चुनाव आउने समयमा गाउँ पसेका नेताजस्तै।

‘पहिले त खासै आउँथेन तर अहिले जंगली जनावरहरू बारीमा धेरै आउँछन्। कोदो खान मृग, तोरी खान बँदेल, मकै खान बाँदर।’

गृहणी सुनिता तामाङले भनिन्, ‘माथि जंगलमा पानी जम्मा गर्ने ट्यांकी छ। कहिले पहिरोले बिगार्छ, कहिले फोहोर परेर अड्कन्छ। हप्तामा दुई दिन त बनाउन मात्रै जानुपर्छ। अहिले पनि के अड्केर धारामा पानी आएको छैन। बनाउन गएपछि आउँछ।’

अघिल्लो चुनावमा भनेअनुसार धारा बनेको तर पानीको स्रोत दीर्घकालीन नभएको उनीहरूको गुनासो छ।

भन्छन्, ‘हामीलाई दीर्घकालीन रूपमा पानीको समस्याबाट मुक्ति चाहिएको छ।’

कोदो मृगलाई, तोरी बँदेललाई अनि मकै बाँदरलाई
काठमाडौं–८ को यो क्षेत्रमा धान खेती हुँदैन। यहाँ हुने भनेको तोरी, कोदो र मकै मात्रै हो। पाखो बारीमा फलेका ती अन्नहरू समेत नपाक्दै टिप्नुपर्ने बाध्यतामा छन् स्थानीयवासीलाई।

गाउँकै कृष्णमाया तामाङले भनिन्, ‘पहिले त खासै आउँथेन तर अहिले जंगली जनावरहरू बारीमा धेरै आउँछन्। कोदो खान मृग, तोरी खान बँदेल, मकै खान बाँदर।’

जंगली जनावरकै कारण नपाक्दै बाली भित्र्याउनुपर्ने बाध्यता भएको उनले सुनाए।

पाखो बारीमा चामल फल्दैन। यहि अलि–अलि फल्ने मकै, तोरी, कोदो समेत जनावरले सक्छन्। बेरोजगारीले सताएको छ, व्यावसायिक रूपमा पशुपालन गर्न सरकारले अनुदान दिएको छैन। जताततै समस्या मात्रै भएको कृष्णमायाले गुनासो गरिन्।

हरेक चुनावमा गाउँमा भोट माग्न नेताहरू आउँछन्। कृष्णमायाले व्यङ्ग्यात्मक शैलीमा भनिन्, ‘बुढेशकाल लाग्यो रुख चढ्न सक्दिन, हँसिया हथौडा उचाल्नै सक्दिन, सूर्यको ताप छेक्न सक्दिन भनेर फिर्ता पठाउँछु।’

‘जित्नेले भन्दा हार्नेले विकास गर्छन्’
सबै एक्कैचोटी मागेर कहाँ पाइन्छ र! लामो समय चुप बसेकी गुनीमाया तामाङ बोलिन्, ‘बिस्तारै–बिस्तारै विकास भइरहेको छ। पहिले यहाँदेखि भिमढुंगा बजार जानै कति धेरै समय लाग्थ्यो। अहिले साधन भए एक्कैछिनमा पुगेर आइन्छ। अब आउने नेताले पिच पनि गर्छु भनेका छन्। केहि त हुन्छ।’

उनको बुझाइमा चुनाव जित्नेले त केहि गर्दैनन्, तर हार्नेले विकास गर्छन्। स्वतन्त्रबाट पनि धेरै युवाहरू उठेका छन्। राम्रो काम गर्ने मानिसहरूलाई भोट दिन पाउँदा खुशी छिन् उनी।

२१ कात्तिक, २०७९, ०८:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।