प्रचण्ड र राजन केसीलाई सांसद बनाएर मुहार फेरिदिएको थैसीका मतदाताको उपलब्धि, १५ वर्षमा एक लेन कच्ची सडक

प्रचण्ड र राजन केसीलाई सांसद बनाएर मुहार फेरिदिएको थैसीका मतदाताको उपलब्धि, १५ वर्षमा एक लेन कच्ची सडक

काठमाडौं : निजी विद्यालयको पोशाकमा सजिएर बसेकी थिइन् ६ वर्षीया रोजिना बलामी। प्वाल परेका चप्पल हातमा बोकेकी उनी विद्यालय जान भने पाइनन्। विद्यालय जान नपाउनुको कारण हो, उनीसँगै जाने साथी बिरामी हुनु।

‘हिँडेर जान आधा घण्टा लाग्छ। गाडी त आउँछ तर हामी गाडीमा पठाउन सक्दैनौं,’ रोजिनाकी आमाले भनिन्, ‘दुई जना सँगै जान्थे, अर्को साथी बिरामी भएपछि छोरी एक्लै परी। एक्लै पठाउन मनले मानेन। हाम्रो पनि मेला जाने बेला भइगो।’

गाउँमै एक सामुदायिक विद्यालय भए पनि पढाइ राम्रो नभएकाले सकिनसकी निजी विद्यालयमा भर्ना गरिएको उनले बताइन्। 

यो सुदूर गाउँको अवस्था होइन, काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नम्बर १० मा पर्ने दक्षिणकाली नगरपालिका वडा नम्बर–८ थैसीको हो।

चुनाव नजिकिँदै गर्दा माहोल बुझ्न उकेराकर्मी काठमाडौं क्षेत्र नम्बर १० को पहाडी क्षेत्र खोज्दै हिँडेको थियो। सोहि क्रममा थैसी पुग्दा स्थानीय बासिन्दाका समस्या ब्रेगल्ती भेटिए।

नजिक विद्यालय नहुनु, डोजरले बाटो फराकिलो बनाउँदा खसेका पहिरो र ती पहिरोले जोखिममा परेका बस्ती। कच्ची बाटो पक्की हुन नसक्दा धुलै धुलो। उब्जाउ गरेको तरकारी फलफूल, मासु बिक्री गर्दा विचौलिया हावी भएको गुनासो।

जीविकोपार्जनका लागि मुस्किल बस्तीहरू। देशको राजधानीमा बस्ने स्थानीयको समस्या उकेराले नजिकबाट देख्यो, स्थानीयको कुरा सुन्यो पनि।

OOO

२०६४ को संविधान सभा निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल काठमाडौँ-१० बाट उम्मेदवार बनेपछि सहरी बस्तीसँगै फर्पिङ, दक्षिणकाली, बलामीहरूको बाक्ली बस्ती रहेको थैसी, छैमले, बलामी गाउँ, डाँडा गाउँ, छेउकल गाउँ, बस्नेत टोल, भट्टराई टोलले मन खोलेर उनलाई मत दिए।

उनले त्यो बेलामा रोल्पामा पनि जितेका थिए। तर रोल्पाको निर्वाचन क्षेत्र छाडेर काठमाडौं-१० कै सांसद बने। उनी सांसद मात्र भएनन्। त्यहीका जनताले सांसद बनाएर पठाएकैले उनी प्रधानमन्त्री समेत बने। १० वर्ष सशस्त्र सङ्घर्षको नेतृत्व गरेर आएका नेताले पक्कै पनि आफ्ना मतदातालाई हेर्छन् भन्ने आसमा थिए उनीहरू। तर उनी फर्किएर पनि गएनन् आफ्ना मतदातासमक्ष।

प्रधानमन्त्रीमा निर्वाचित भएपछिका प्रचण्ड। तस्बिर : हिमालखवर।

त्यसपछिको निर्वाचनमा काठमाडौँ-१० का मतदाताले मतबाट विद्रोह गरेर २०७० को निर्वाचनमा राजन केसीलाई जिताउँदा यी क्षेत्रका मतदाता पनि सहभागी थिए। प्रचण्डलाई हराएर सांसद बन्दा केसी रातारात स्टार बने। तर उनको पारा पनि उस्तै।

पहिलो पटक सांसद बनेका केसीले बुझेनन् होला भनेर एमाले र माओवादीको तालमेलहुँदा पनि त्यस क्षेत्रका मतदाताले केसीलाई नै साथ दिए। केसीको दोस्रो कार्यकाल पनि उस्तै रह्यो।

त्यहीका मतदाताको मतका आधारमा प्रचण्ड अनि केसी दुवैको राजनीतिक यात्रा फेरियो। तर मतदाताको दुखको यात्रा भने फेरिएको देखिएन।

सांसद निर्वाचित भएपछिका केसी।

२०७९ को निर्वाचनमा निर्वाचन क्षेत्र चहार्दै प्रचण्ड गोरखा पुगिसके। केसी भने तेस्रो पटक सांसद बन्न यही क्षेत्रबाट उम्मेदवार बनेका छन्। तर स्थानीय मतदातामा आफ्ना सांसदप्रति ठुलो गुनासो छैन। उनीहरु जित्छन् अनी आफ्नै काम गर्छन्, हामी आफ्नै काम गर्छौँ भन्छन् उनीहरु। कति सरल !

OOO

झण्डै ४० दशकदेखि भोट हालेर नेता चुन्दै आएकी ७६ वर्षीया सुकुमाया बलामीका अनुसार थैसीमा एक लेनको कच्ची सडक पुग्नुबाहेक अरु केहि परिवर्तन भएको छैन।

अब त स्थानीयले पनि स्वीकार गरिसके, चुनाव जित्न मात्रै नेता घर–घर छिर्ने हुन्। स्वार्थ छउन्जेल मात्रै मिठो मुस्कान सहित दुई हात जोड्ने हुन्।

दक्षिणकाली वडा नम्बर ८ छैमेलकी रञ्जु खत्रीले ठट्यौलो पारामा भनिन्, ‘जितेका नेता त किन आउनु र? हारेका पो आउँछन् बरु अर्को पटक जिताइदिन्छन् कि भनेर।’

खत्रीका अनुसार उनीहरू पाटनका हुन्। उनका बुढाससुरा मकै र भटमास फल्ने भएकाले छैमेल गाउँ गएका थिए रे। अहिले उनीहरूको पेशा कृषि नै हो। तरकारी र कुखुरापालनबाट जीविकोपार्जन गरिरहेका उनीहरूलाई व्यावसायिक कृषिको काम गर्न मन नलागेको कहाँ हो र, तर यसमा विचौलियाको बिगबिगी भयो।

रन्जुले भनिन्, ‘हामीले व्यावसायिक कुखुरापालन गरेका थियौं। दाना, चल्ला उस्तै महंगो तर जिउँदो कुखुरा सस्तोमा विचौलियालाई बेच्नुपर्ने।’

‘आफैँ काटेर बेच्न शहर लैजाउँ, चेकिङको झमेला, जिउँदोमा फाइदै हुँदैन। सधैं घाटा बेहोर्न सकिँदैन,’ उनले उकेरालाई सुनाइन्।

बाहिरी जिल्ला जाने नाका समेत त्यहि बाटोमा पर्ने भएकाले फर्पिङमा चेकपोष्ट छ। त्यसैले त्यहाँबाट आफैँ कारोबार गर्न समस्या पर्छ।

रञ्जुको जस्तै समस्या छ, दिनेश बलामीको पनि। व्यावसायिक रूपमा कुखुरा पाल्दै आएका उनी नगरपालिकाबाट कुनै सहयोग नपाएको बताउँछन्।

‘हाम्रो यहाँ खेती भन्दा पशुपालनका लागि रामो छ। खेत त प्लटिङ्गले सकि नै हाल्यो। हुने भनेको फलफूल नै हो। यो वर्ष नास्पाती पनि फलेन, किन फलेन थाहा छैन,’ उनले निराश हुँदै भने, ‘मैले पनि कुखुरापालन गरेको छु, तर यसपाली चिसोले धेरै चल्ला मर्यो। अन्त त नगरपालिकाले अनुदान दिने गरेको सुनेको छु। मैले अहिलेसम्म अनुदान पाएको छैन।’

दिनेशले थपे, ‘अनुदान तथा राहतका कार्यक्रम नेताका आसेपासेले मात्रै पाउने रहेछन्, हामीजस्ता नेताको नजिक नहुनेले त के पाउनु,’ एकछिन गमेर आफैँले उत्तर दिए, ‘हामीले पाउने त उहि चुनाव आउने समयमा नमस्कार मात्रै हो।’
चुनावको रौनक छिर्या छैन गाउँमा

मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको चुनावी तामझाम राजधानीलाई लाइसक्यो। सरकार र निर्वाचन आयोगलाई चुनावले फुर्सद छैन। राजनीतिक दलहरू चुनावी घोषणापत्र बनाउनेदेखि देश दौडाहा अभियानमा लाग्न तयारी गरिरहेका छन्। सबै दल र उम्मेदवारले चुनाव आफैँले जितुँलाजस्तो माहोल बनाएका छन्। अझ भनौं उनीहरू प्रचारबाजी गरिरहेका छन्। 

तर, राजधानीमै रहेको दक्षिणकालीको बलामी गाउँ, डाँडा गाउँ, छेउकल गाउँ, बस्नेत टोल, भट्टराई टोल लगायतका ठाउँतिर चुनाव लागेको छैन। उकेराकर्मी ती ठाउँमा पुग्दा चुनावको कुनै रौनक देखिएन।

स्थानीय भने ढुक्क थिए नेता गाउँ आउनेमा। भोट माग्न आउने हुन्, नमस्कार भन्दै पक्कै आउनेछन्। यो बाहेक न उनीहरूलाई दलको घोषणा पत्रबारे चासो छ, न त नेताहरू प्रति विश्वास नै। यति मात्रै होइन युवा पुस्तालाई भोट हाल्न मन समेत नभएको पाइयो। 

२० वर्षीय सन्देश तामाङले मतदातामा नाम दर्ता गराएका छन्। तर उनलाई भोट हाल्न मनै छैन। उनले स्थानीय तहको निर्वाचनमा पनि भोट हालेनन्।

‘भोटर कार्ड (मतदाता परिचयपत्र) त मेरो पनि बनेको छ। यो भन्दा अघिल्लो चुनाव (स्थानीय तह)मा हाम्रो घरमा पनि भोट माग्न नेताहरू आएका थिए। घरका सबै भोट हाल्न जानुभयो तर म गइन,’ एक हातमा स्मार्ट फोन बोकेका सन्देशले अनुहार बिगार्दै भने, ‘भोट हालेर के नै पो हुन्छ र? मलाई त मतलबै लाग्दैन।’ 

प्लस टु पास गरेको दुई वर्ष भयो सन्देशले। उनलाई अब पढ्न पुग्यो जस्तो लाग्छ। उनले भने, ‘मलाई इ–स्पोस्ट्समा इन्ट्रेष्ट छ, महंगो मोबाइल किनेर गेम पनि खेल्छु, तर प्रोफेसनल हुन परिवारको साथ छैन।’

यहाँ बसेर केही उपलब्धी नहुने भन्दै विदेश जाने तयारीमा लागेका छन् उनी। 

त्यसै गाउँकी गीता तामाङलाई पनि चुनाव लागेको छैन। १०-१२ वटा बाख्रा लिएर जंगल लिएर चराउन हिँडेकी उनले २०६४ सालदेखि मत दिँदै आएकी छन्। तर, उनलाई चुनाव आउनु र नआउनुले न पहिले फरक पारेको थियो, न अब पार्ला जस्तो लाग्छ।

उकेराकर्मी गीता बस्ने डाँडा गाउँ पुग्दा सुरूमा त उनी झुक्किइन्। मतदाता शिक्षा दिन आएका हुन् कि भनेर। त्यसैले हामीलाई देख्ने बित्तिकै भनिन्, ‘हाम्रै घरमा स्वयंसेविका हुनुहुन्छ, मेरो जेठानी दिदी। उहाँले भोट कहाँ, कसरी हाल्ने भनेर सिकाउनुहुन्छ।’

जब हामी पत्रकार भन्ने थाहा पाइन्, तब मात्रै भोट दिए पनि भनेजसरी नेताले काम नगरेको गुनासो गरिन्। भोट हाल्नु कर्तव्य मात्र बनेको गीताको बुझाइ छ।

भन्छिन्, ‘खेती नहुने डाँडामा सानो घर छ, त्यो पनि बाटोको छेउमै पर्छ, फराकिलो बनाउने हो अब भत्काउँछौं भनेर डर देखाइरहन्छन्।’

भुकम्पपीडितले घर बनाउने पैसा अझै पाएनन्

२०७२ को भुकम्पले भत्काएको सार्वजनिक अनी निजी घर बनाउन बनेको पूनर्निर्माण प्राधिकरण खारेजै भइसक्यो। उसको प्रतिवेदन हेर्ने हो भने घर बनाउन अनुदान नपाएका कुनै भुकम्प पीडित छैनन्। तर उकेराकर्मीले भेट्यो पीडित।

सुकमाया बलामीको घर २०७२ सालको भूकम्पले बस्नै नमिल्ने गरि भत्कायो। जेठो र कान्छो छोरो नयाँ घरमा सरे। उनी भने पुराना यादले अन्त जान सकिनन्। चर्किएको घरमा माइलो छोरासँगै बस्छिन्।

भूकम्पपीडितका लागि सरकारले तीन लाख रूपैयाँ दिने घोषणा गर्यो। तर उनलाई त्यो पनि जानकारी छैन। उनी २ लाख भन्दै थिइन्। सुरुमा दिएको ५० हजार राहतले पुरानो घर नजिकै अर्को सानो घर बनाइन् उनले। 

‘२ लाख दिने कुरा थियो। ५० हजार आएपछि घर बनाउन सुरु गर्यौं। सुरु गरिसकेपछि बीचमा के रोक्नु भनेर ऋणधन गरेर भए पनि नयाँ घर त बन्यो तर बाँकी किस्ता रकम अहिलेसम्म आएन,’ उनले भनिन्, ‘त्यसपछि पनि दुईवटा चुनाव भइसक्यो सरकारले दिन्छु भनेको पैसा दिएन।’

सुकमायाका माइला छोरा दिनेश बलामी, जुन सुकै नेता आए पनि आफ्नो समस्या सामाधान नगरेको बताउँछन्।

‘हामीले नगरपालिकामा आवश्यक कागजातको लागि पनि प्रक्रिया अघि बढाएका हौं,’ उनले भने, ‘खै किन हो हाम्रो रकम भने निकासा भएन।’

कर्मकाण्डमा सिमित चुनाब

ठेसी गाउँका भाइकाजी बलामी कुनै पनि नेताले ‘अब के–के गर्ने ?’ भनेर जनतासँग सल्लाह नगरेको बताउँछन्।

उनले भने, ‘अब केही दिनमा घरदैलो सुरुवात गर्छन्। त्यो बेला ‘भोट हाल्नु है’ बाहेक केही भन्दैनन्। उनीहरू किन उठेका हुन्? एजेण्डा के हो? हामीलाई कहिल्यै पनि भन्दैनन्।’

तीन गाउँको करिब ४५ घर डुल्दा भेटिएका अधिकांश स्थानीयले आफूले मत दिने पार्टी निश्चित भइसकेको बताए। दक्षिणकाली मन्दिर जाने मुखैमा पूजा सामग्री बेच्ने राम बलामी तीनै गाउँबाट कांग्रेसलाई भोट जाने बताउँछन्।
उनले भने, ‘वडा नम्बर आठ पनि कांग्रेसको किल्ला हो। स्थानीय गठबन्धन भएकाले माओवादीको भाग परेको थियो। हसियाँ हथौडामा भोट हाल्दैनन् भनेर रुख चिन्हमा माओवादी उठे र जिते पनि।’

रामका अनुसार बाटो बनाउने पानीको व्यवस्थापन गर्ने, मन्दिर व्यवस्थित गर्ने काममा राजन केसी नै अघि भएकाले यो चुनाव पनि उनैले जित्छन्।

राम बलामी राजनले राम्रो काम गरेको बताउँछन् भने अर्का स्थानीय भाइकाजी बलामीलाई भने काम भएजस्तो लाग्दैन।

उनका अनुसार, गाउँमा नजिकै प्राथामिक तहको सरकारी विद्यालय भए पनि पढाइ गतिलो नभएकाले अधिकांश विद्यार्थी आधा घण्टा टाढा जान्छन्।

रोग लागे उपचारको लागि क्लिनिक तथा ठूलो रोग लागे काठमाडौं नै जानुपर्ने बाध्यता छ। गाउँको प्रमुख समस्या रोजगारीको भए पनि कुनै पनि नेताहरूले यसतर्फ ध्यान दिएका छैनन्।

‘यस गाउँमा ७-८ जना खाडी मुलुक गएका छन्, त कसैले निवार्हमुखी कृषि काम गरिरहेका छन्,’ भाइकाजीले आक्रोशित हुँदै भने, ‘राजन केसीले दुईपटक जित्नुभयो तर रोजगारीको लागि कुनै पहल गर्नु भएन। जीविकाको लागि  समस्या त छैन तर सधैँ यसरी हाम्रो आर्थिक उन्नत्ति पनि त नहोला नि!’

फर्पिङको चिया पसलमा भेटिएका हरिओम अर्यालले पनि हाँस्दै भने, ‘यहाँको मान्छेले कुन पार्टीका कुन नेतालाई भोट हाल्छ भन्ने पहिल्यै थाहा हुन्छ। त्यसैले जसले भोट दिन्छ उसको घरमा एकपटक नमस्कार गर्न गए पुग्छ। नभ्याएको खण्डमा त्यहि पनि गर्न पर्दैन।’

निर्वाचनको अर्थ कुन राजनीतिक दलले जित्छन्, कस्ले सरकार बनाउँछ भन्नुमा मात्र सीमित होइन। सरकार बनाएपछि आर्थिक विकास कसरी हुन्छ कुन स्तरमा पुग्छ भन्नु पनि हो। तर यतातिर न त राजनीतिक दलको ध्यान गएको छ न त जनतालाई आशा नै।

हरिओम आचार्यले पञ्चायतकालमा बहुदल र बहुदल आएपछि कांग्रेसलाई भोट हाल्दै आएका हुन्। उनलाई कांग्रेससँग न कुनै गुनासो छ न त आशा नै।

‘हामीहरूले भोट हालेका छौं, उनीहरूले सरकार चलाएका छन्,’ उनले भने, ‘हामीले आफ्नै काम गरेर खाएका छौं, उनीहरूसँग न त केही गुनासो छ न आशा नै।’

छैमल गाउँ, ठेसी र डाँडागाउँका महिलाहरूलाई उकेराकर्मीले बाटैमा फेला पारेको थियो। उनीहरू फर्पिङमा पढ्ने आफ्ना बच्चा पुर्याउन सडक बाटोसम्म झरेका थिए। 

उकेराकर्मी उनीहरूसँग गफ गर्दै माथि जाँदा उनीहरूमा पनि चुनावको चासो भएको पाइएन। ‘भोट माग्न त नेताहरू गाउँ आएका होलान् नि?’ भन्ने हाम्रो जिज्ञासामा महिलाहरूले भने, ‘आएका छैनन्, अब आउलान् नि!’
‘उनीहरूले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ?’ भन्ने उकेराको जिज्ञासामा उनीहरूले भने, ‘हामीले जे भने पनि उनीहरूले गर्ने होइनन्, यस्ता कुरामा चासो पनि राख्दैनौँ।’
०००
जनताले निर्वाचित गरेपछि नागरिकले के काम भयो प्रश्न सोध्नुपर्ने हो। नेताले पनि आफूले के काम गरेँ नागरिकबाट किन अनुमोदन हुने भन्नेमा प्रष्ट हुनुपर्ने हो। तर, काठमाडौं कै केही काँठ क्षेत्रमा पुग्दा भने चुनाव कर्मकाण्डमा सीमित हुँदै गएको पाइयो।

चुनाव कर्मकाण्डमा सीमित हुँदै जानु पक्कै पनि लोकतन्त्रको लागि राम्रो होइन। तर, जसरी राजनीतिक दलले प्रचार गरेका छन् नागरिकले त्यसरी नै बुझेका छन्। यसको जिम्मेवार राजनीतिक दल नै हुन्। नीति र सिद्धान्तभन्दा पर गएर सत्ताको लागि भएको चुनावमा कुन पार्टीको के एजेण्डा त्यसले प्राथामिकता पाउनुपर्ने हो, तर सो भएको देखिँदैन। त्यसैले त त्यहाँका महिलाले भने, ‘माओवादी र कांग्रेस एकै होइन र?’
 

१७ कात्तिक, २०७९, २०:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।