तनहुँमा रामचन्द्र र गोविन्दराजको पौँठेजोरी: शक्ति मापन गर्न उम्मेदवार बनेका जोशीको पल्ला कति भारी ?

तनहुँमा रामचन्द्र र गोविन्दराजको पौँठेजोरी: शक्ति मापन गर्न उम्मेदवार बनेका जोशीको पल्ला कति भारी ?

तनहुँ: केन्द्रीय राजनीतिमा शीर्ष तहमा रहेका कांग्रेसका रामचन्द्र पौडेल, प्रदीप पौडेल, शंकर भण्डारी, ध्रुव वाग्ले, गोविन्द भट्टराई तथा वामपन्थी नेता किसन श्रेष्ठ, किरण गुरुङ लगायतको गृहजिल्ला तनहुँमा चुनावी सरगर्मी बढेको छ।

तनहुँमा प्रजातन्त्र स्थापनाको साढे दुई दशकसम्म कांग्रेसले एकछत्र निर्वाचन जित्दै आएको थियो। २०७४ मा भने संघ र प्रदेशको सबै सिट वाम गठबन्धनको पोल्टोमा पुग्यो।

त्यसबेला वाम गठबन्धनका तर्फबाट संघीय निर्वाचनमा तत्कालिन नेकपा (एमाले) का कृष्णकुमार (किसन) श्रेष्ठ र केदार सिग्देल विजयी भएका थिए।

प्रदेश सभा निर्वाचनमा पनि वाम गठबन्धनका तर्फबाट किरण गुरुङ, रामबहादुर गुरुङ, हरिबहादुर चुमान र आशा कोइराला निर्वाचित भएका थिए। 

नेकपा विभाजनपछि किरण र रामबहादुर एमालेमा लागे। चुमान र कोइराला माओवादी केन्द्रमा लागे।

तनहुँमा प्रतिनिधि सभाका दुईसहित प्रदेश सभाका चार सिटका लागि आगामी मंसिर ४ मा हुने निर्वाचनमा गठबन्धन र एमालेका सहित ५७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँको क्षेत्र नम्बर– १ बाट प्रतिनिधि सभा सदस्यका लागि सातौँ पटक चुनावी मैदानमा छन्। २०४८ सालमा पहिलो पटक चुनाव लडेका उनी लगातार ६ पटकसम्म विजयी भएका थिए।

२०७४ को निर्वाचनमा भने नेता पौडेल एमालेका उमेदवार कृष्णकुमार (किसन) श्रेष्ठसँग पहिलो पटक पराजय भएका थिए।

लामो समयदेखि केन्द्रीय राजनीतिमा प्रभाव जमाएका पौडेलको प्रतिस्पर्धा एउटै पार्टीमा रहेर राजनीति गरेका सहकर्मी गोविन्दराज जोशी र एमालेका एकबहादुर रानासँग हुँदैछ। जोशीले त पौडेललाई हराउनकै लागि भनेर उम्मेदवारी दिएका छन्।

गोविन्दराजको पौडेलसँग पौँठेजोरी 
भ्रष्टाचारको मुद्दा अदालतमा विचाराधीन रहेका जोशीले विगतको दुस्मनी साँध्नका ०७४ को निर्वाचनमा समेत पौडेलविरुद्ध उम्मेदवारी दर्ता गराएका थिए। तर भ्रष्टचारको मुद्दा अदालतमा विचाराधीन रहेकाले उम्मेदवार बन्न नपाउने भन्दै पौडेलले उजुरी दिएपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो। 

यद्यपि किसन श्रेष्ठसँग पौडेल पराजित भए।

तनहुँबाट पछिल्लो समय केन्द्रीय राजनीतिमा आफ्नो प्रभाव जमाउँदै आएका प्रदीप पौडेल, ध्रुव वाग्ले, शंकर भण्डारी, गोविन्द भट्टराई लगायतका नेताहरूले जिल्लामा कांग्रेसको संगठन निर्माणमा भन्दा गुट उपगुटको राजनीति चलाइरहेका छन्। उनीहरू केवल पौडेललाई कसरी कमजोर बनाउन सकिन्छ भन्ने खेलमै सीमित भएको देखिन्छ। पछिल्लो समय उनीहरूको केन्द्रमा प्रभाव बढ्दा समेत जिल्लाको पार्टी संगठन अस्तव्यस्त छ। 

२०७६ साउन १० मा नेपाली कांग्रेसको अनुशासन समितिले नेता पौडललाई तनहुँ- १ बाट हराउन भूमिका खेलेको आरोप लगाउदै जोशीलाई पार्टीको सदस्य समेत नरहने गरी पाँच वर्षका लागि कारबाही गरेको थियो। 

यसपटक पनि जोशीको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्चमा रिट परेको थियो। तर, त्यसलाई सर्वोच्चले खारेज गरिदिएसँगै पौडेलविरुद्ध आमने सामने भएर चुनाव लड्ने जोशीको इच्छा पूरा हुँदैछ।

यसपटक जोशीले पौडेलसँग पौँठेजोरी खोजिरहँदा एमालेका उम्मेदवारले पनि चुनौती दिइरहेका छन्।

पछिल्लो समय पौडेलविरुद्ध तनहुँमा नेतादेखि कार्यकर्तासम्मले मार्चाबन्दी गर्दै आएका छन्। जोशीले पौडेलविरुद्धको मोर्चाबन्दीको अगुवाइ गरिरहेका छन्।

कांग्रेसबाट निर्वाचन जितेर शिक्षा, गृह लगायतका मन्त्रालयको जिम्मेवारी सम्हालेका जोशीले केही वर्षयता पौडेलसहित, कांग्रेस पार्टीका अन्य उम्मेदवारविरुद्ध समेत विभिन्न तिकडम गर्दे आएका छन्।

जोशीले वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि एमालेसँग मिलेर आफ्नो गृहनगर व्यास नगरपालिकाको मेयरमा छोरा दीपकराज जोशीलाई कांग्रेसका उम्मेदवार बैकुन्ठ न्यौपानेविरुद्ध उम्मेदवार बनाएका थिए। तर, उनले छोरा दीपकराजलाई चुनाव जिताउन भने सकेनन्।

पौडेलसँग राजनीतिक प्रतिशोध साँध्न जोशीले अमेरिकामा रहेका छोरा दीपकराजलाई डाकेर नगरको मेयरमा चुनाव लडाएका थिए।

जोशीकै योजनामा अहिले कांग्रेसका एकथरी नेताहरू प्रयोग भइरहेको देखिन्छ। बाहिर कांग्रेसको चिन्ता गर्ने र भित्रभित्रै जोशीलाई सघाउने काम गर्दै आएको तनहुँ कांग्रेसका नेता कार्यकर्ता बताउँछन्।

पौडेलविरुद्ध जिल्लामा अन्य नेताहरूले समेत राजनीतिक मार्चाबन्दी गर्दै आएका छन्। यसअघि कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराइले पनि पौडेलेविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका थिए। पौडेलले अन्य ठाउँमा स्थान दिन सघाउने सहमति भएपछि उनले उम्मेदवारी फिर्ता लिएका थिए।

तनहुँबाट पछिल्लो समय केन्द्रीय राजनीतिमा आफ्नो प्रभाव जमाउँदै आएका प्रदीप पौडेल, ध्रुव वाग्ले, शंकर भण्डारी, गोविन्द भट्टराई लगायतका नेताहरूले जिल्लामा कांग्रेसको संगठन निर्माणमा भन्दा गुट उपगुटको राजनीति चलाइरहेका छन्। उनीहरू केवल पौडेललाई कसरी कमजोर बनाउन सकिन्छ भन्ने खेलमै सीमित भएको देखिन्छ। पछिल्लो समय उनीहरूको केन्द्रमा प्रभाव बढ्दा समेत जिल्लाको पार्टी संगठन अस्तव्यस्त छ। 

लामो समयदेखि कांग्रेसका खम्बा बनेर लागेका नेता कार्यकर्ताहरू पछिल्लो समय नेतापिच्छेका गुट देखिन थालेसँगै पार्टीबाट अलगिन थालेका छन्।

पार्टीका केन्द्रीय सदस्य बनेका पौडेल, भट्टराई, भण्डारी, वाग्ले लगायतका नेताहरू पनि पछिल्लो समय जिल्लामा पार्टीको संगठन निर्माणमा खासै भूमिका खेल्न सकेका छैनन्। उनीहरू पार्टीपङ्क्तिका सीमित नेता कार्यकर्ताका घेरामा मात्र रमाउने गरेका छन्।

जनताका प्रमुख समस्याहरूको सामाधानका लागि सहजीकरण गर्ने, पार्टीको संगठनलाई प्राथमिकता दिने, विकास निर्माणका योजनाको अनुगमन र प्रभावकारी कार्यान्वयका लागि आवश्यक पहल गर्नुको सट्टा जिल्लामा आफू निकटका सानो झुण्डसहित संचारकर्मी डाकेर तामझाम देखाउनमै सीमित भएको देखिन्छ।

भ्रष्टाचार मुद्दा लाग्नुअघि गिरिजाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा जोशी दुई पटकसम्म मन्त्री बने। योसँगै तनहुँको राजनीतिमा उनी हावी भए। जोशीले गृहमन्त्री हुँदा प्रहरी जवानदेखि निरीक्षकसम्म र अनुसन्धान विभागमा समेत ठूलो संख्यामा आफ्नालाई भर्ती गराएका थिए। शिक्षामन्त्री हुँदा समेत तनहुँका धेरैलाई जागिर खुवाएका थिए। 

स्थानीय तहको निर्वाचनमा पनि उनीहरूको भूमिकालाई लिएर नेता कार्यकर्ताले प्रश्न उठाएका थिए। ध्रुव वाग्ले लगायतका केही नेताहरूले पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै पार्टीले कारबाही समेत गरेको थियो।

विगतको विरासत
२०४८, ०५१, ०५६, ०६४ र ०७० सालको निर्वाचन तनहुँबाट जितेका पौडेल छैटौँ पटक भने एमालेका कृष्णकुमार श्रेष्ठ (किसान) सँग ६ हजार मतान्तरले पराजित भए।

श्रेष्ठ हाल एकीकृत समाजवादीमा छन्। उनी सत्ता गठबन्धनबाट बारा–४ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन्। त्यसबेला जोशीले श्रेष्ठलाई जिताउन खुलेरै लागेका थिए।

मुलुक संघीयतामा गएसँगै तनहुँमा दुई वटा प्रतिनिधि सभा क्षेत्र भएपछि नेताहरूको व्यवस्थापनमा समस्या देखिएको छ। त्यसैको व्यवस्थापन गर्न शंकर भण्डारीका लागि सिट सुरक्षित गर्न पौडेलले प्रदीप पौडेललाई काठमाडौं– ५ मा पुर्याए। भण्डारीले तनहुँ- १ मा दावी गरेका थिए।

आन्तरिकरूपमा पौडेलले व्यवस्थापन गरे पनि पौडेलका लागि यसपटक गोविन्दराज जोशी बाधक हुनेछन्।

कस्तो छ जोशीको शक्ति ?
भ्रष्टाचार मुद्दा लाग्नुअघि गिरिजाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा जोशी दुई पटकसम्म मन्त्री बने। योसँगै तनहुँको राजनीतिमा उनी हावी भए। जोशीले गृहमन्त्री हुँदा प्रहरी जवानदेखि निरीक्षकसम्म र अनुसन्धान विभागमा समेत ठूलो संख्यामा आफ्नालाई भर्ती गराएका थिए। शिक्षामन्त्री हुँदा समेत तनहुँका धेरैलाई जागिर खुवाएका थिए। 

उनले चुनावमा अघि-पछि खट्ने र आर्थिक सहयोग गर्नेलाई समेत ठूलाठूला ठेक्का पट्टाको अवसर दिएको बेलाबखत चर्चा हुने गर्दछ। आज आफू शक्तिमा हुँदा सहयोग गरेका तिनै कार्यकर्ताको आडमा जोशीले राजनीति गरेका छन्।

पार्टीमा अनुशासन उल्लंघन गरेर कारबाहीमा पर्दा समेत शक्तिमा छँदा संरक्षण गरेका नेता कार्यकर्ताबाट सबै किसिमको सहयोग पाएका छन्। 

शक्तिको आडमा आफूलाई सधैँ अब्बल ठान्ने जोशी गत स्थानीय तह निर्वाचनमा छोरा दीपकराजले व्यासको मेयरमा पराजय भोगेपछि पुनः तनहुँमा आफ्नो राजनीतिक हैसियत नाप्दै छन्।

शक्ति मापन गर्न पहिले छोरा, अहिले आफू उम्मेदवार
पौडेलभन्दा आफू भूगोलमा बलियो रहेको ठान्ने जोशीले यसपटकको निर्वाचनमार्फत राजनीतिक शक्ति मापन गर्नेछन्। जोशीले गत स्थानीय निर्वाचनमा व्यासमा आफ्नो शक्ति मापन गर्न छोरा दीपकराजलाई एमालेको समर्थनमा मेयर पदमा उम्मेदवार बनाएका थिए। 

मेयरमा पौडेलनिकट वैकुण्ठ न्यौपानले दीपकलाई २५२ मतको अन्तरले पराजित गरेका थिए। वैकुन्ठले १२ हजार ७८ मत पाएका थिए भने दीपकराजले ११ हजार ८ सय २६ मत प्राप्त गरेका थिए। 

यदि जोशीले पौडेलविरुद्ध आफ्नो शक्ति मापन नगरेको भए स्थानीय तहमा आफ्नो समर्थनमा निकटका व्यक्तिलाई उठाएर समर्थन गर्ने थिए। आफू चुनाव लड्नु र छोरा दीपकराज लड्दा जनताले कत्तिको समर्थन गर्दछन् भनेर जोशीले आफ्नो शक्ति मापन गरेको प्रष्ट हुन्छ।

व्यासमा दीपकराजले ११ हजार ८ सय मत पाएपछि जोशीको आफ्नै गृहनगर भानु नगरपालिकामा समेत झण्डै पाँच, सात हजार मत पाउने र आँबुखैरनी, बन्दीपुर लगायतका ठाउँमा पनि राम्रो मत पाउने जोशीनिकटको ठम्याइ छ। 

स्थानीय तहको निर्वाचनमा जोशीनिकटका उम्मेदवारले स्वतन्त्रबाट भानुको वडा सदस्यमा चुनाव जितेका छन्। जोशी निकटको ठम्याइ अनुसार व्यास र भानु नगरपालिकाबाट मात्र झण्डै १०, १२ हजार मत पाउने अनुमान छ। 

त्यस्तै आँबुखैरनी, बन्दीपुर लगायतका पालिकाबाट पाँच हजार मत पाएको अवस्थामा चुनाव जित्ने अनुमान उनीहरूको छ।

स्थानीय तहको अंकगणित
स्थानीय तह निर्वाचनमा वडागत मतको आधारमा कांग्रेसले ३३ हजार १ सय ६ मत प्राप्त गरेको छ। नेकपा एमालेले २६ हजार २ सय १० मत प्राप्त गरेको छ। 

माओवादीले ८ हजार ४ सय ७४ र एकीकृत समाजवादीले ९८२ मत प्राप्त गरेको छ। 

गठबन्धनका दलको भोट एमालेको भन्दा झण्डै १६ हजार बढी छ। यही गठबन्धनको भोटको बलमा यसपटकको निर्वाचनमा चुनाव जित्ने दाउमा पौडेल देखिन्छन्। 

जोशी भने कांग्रेसको ३३ हजारमध्ये बहुमत भोट आफूलाई आउने र बाँकी एमाले, समाजवादी, माओवादीको मत क्रश गराएर चुनाव जित्ने दाउमा छन्।

स्थानीय तहको निर्वाचनमा सीमित ठाउँमा मात्र उम्मेदवार उठाएकाले थोरै मत आएको नेकपा समाजवादी अहिले तनहुँको गठबन्धनमा सहभागी नभएकाले उसको झण्डै तीन हजार मत कसलाई जान्छ भन्ने निश्चित भएको छैन।

तनहुँ– १ मा स्थानीय तहको निर्वाचनमा एमालेले २६ हजार २१० मत पाएको थियो। अहिले एमालेले एकबहादुर राना मगरलाई त्यस क्षेत्रको उम्मेदवार बनाएको छ। 

राना त्यस क्षेत्रको लोकप्रिय उम्मेदवार हुन्। उनी यसअघि तत्कालीन कांग्रेसका उम्मेदवार गोविन्दराज जोशीसँग तीन पटकसम्म चुनावमा पराजित भएका थिए। 

तनहुँ क्षेत्र नं १ को स्थानीय तहमा कांग्रेस, एमाले र स्वतन्त्रका उम्मेदवारले पाएको मतलाई आँकलन गर्दा पौडेल, राना र जोशीबीच त्रिपक्षीय भिडन्त हुने निश्चित देखिन्छ। 

तर, पौडेल गठबन्धनका तर्फबाट साझा उम्मेदवार भएकाले सहयात्री दलकै मतको बलमा चुनाव जित्ने सम्भावना अधिक छ।

प्रदेश सभातर्फ
तनहुँ १ को ‘क’ मा गठबन्धनका तर्फबाट कांग्रेसले अशोककुमार श्रेष्ठ र एमालेका रामबहादुर गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ। श्रेष्ठ यस क्षेत्रको लोकप्रिय र इमान्दार नेताका रूपमा परिचित छन्।

वर्षौँदेखि राजनीतिमा सक्रिय श्रेष्ठ संसदीय राजनीतिमा भने नयाँ अनुहार हुन्। व्यवसायसँगै राजनीतिमा आएका श्रेष्ठ सामाजिक क्षेत्रमा पनि सक्रिय छन्। 

उनी लायन्स क्लब अन्तराष्ट्रिय, ३२५ बी १ नेपालको पूर्व डिष्ट्रिक गभर्नर समेत हुन्।

यसैगरी एमालले यस क्षेत्रमा रामबहादुर गुरुङलाई उम्मेदवार बनाएको छ। उम्मेदवार गुरुङ पनि यस क्षेत्रको नयाँ अनुहार हुन्। यसअघि उनले पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन्।

त्यसैगरी जनता समाजवादी पार्टी नेपालका अर्जुन गुरुङ, मौलिक जरोकिलो पार्टीका चिजकुमार श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका विजयकुमार शाही, मङ्गोल नेशनल अर्गनाइजेशनका भीमबहादुर लामा, नेकपा एकीकृत समाजवादीका विद्यानाथ ढकाल, राप्रपाका विवेक न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीका भुवनसिं थापा, स्वतन्त्र हरिराज जोशी र रामबहादुर थापा चुनावी प्रतिस्पर्धामा छन्। 

त्यस्तै तनहुँ क्षेत्र नं १ प्रदेश (ख) तर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान र एमालेका पूर्णबहादुर गुरुङबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।

चुमान यसअघि गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री बनेका थिए। उनी २०७४ को निर्वाचनमा यही क्षेत्रबाट १५ हजार ३६० मत पाएर माओवादीका तर्फबाट निर्वाचित भएका थिए। 

एमालेका गुरुङ लामो समय नेपाली कांग्रेसमा सक्रिय राजनीति गरे पनि पार्टीको आन्तरिक गुटका कारण गत असोजमा एमाले प्रवेश गरेका थिए। 

एमालेमा प्रवेश गरेलगत्तै उनलाई पार्टीले तनहुँ–१ ‘ख’ बाट प्रदेश सभाका लागि उम्मेदवार बनाएको हो। उनी यसअघि तनहुँ कांग्रेसमा जोशीनिकट नेताका रूपमा चिनिन्थे।

त्यस्तै यस क्षेत्रबाट जनता समाजवादी पार्टी नेपालका किसन भुजेल, मङ्गोल नेशनल अर्गनाइजेशनका रनबहादुर खवास, राप्रपाका राजु गोतामे र राष्ट्रिय जनमुक्ति पार्टीका खेमबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन्।

क्षेत्र नम्बर दुई हेभिवेट
तनहुँको क्षेत्र नं २ मा हेभिवेट उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। यस क्षेत्रमा गठबन्धनका तर्फबाट कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी र एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङबीच प्रतिस्पर्धा हुँदैछ।

नेता भण्डारी र गुरुङ दुवै पूर्वमन्त्री हुन्। नेता भण्डारी पुष्पकमल दाहाल (प्रचण्ड) दोस्रो पटक प्रधानमन्त्री भएको बेला २०७३ सालमा वनमन्त्री भएका थिए। 

उनी तनहुँ क्षेत्र नं १ बाट २०७० मा प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएका थिए। २०७४ को निर्वाचनमा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका भण्डारी एमालेका केदार सिग्देलसँग पराजित भएका थिए। 

त्यस क्षेत्रबाट एमालेका उम्मेदवार केदार सिग्देलले ३२ हजार ९२४ मत पाएर विजयी भएका थिए भने नेता भण्डारीले २९ हजार ६४५ मत पाएर पराजित भएका थिए। 

भण्डारी क्षेत्र नम्बर १ अन्तर्गत पर्ने भानु नगरपालिका–९ का स्थायी बासिन्दा हुन्। उनको र नेता पौडेलको चुनाव क्षेत्र एउटै पर्ने भएकाले विगतको निर्वाचनदेखि उनी क्षेत्र नं २ बाट चुनाव लड्दै आएका छन्।

त्यसैगरी एमालेका प्रतिस्पर्धी गुरुङ तनहुँबाट प्रतिनिधि सभामा दुई र प्रदेश सभामा एक कार्यकालका लागि निर्वाचित भएका थिए। उनी २०६४ को पहिलो संविधान सभा निर्वाचनपछि प्रचण्ड प्रधानमन्त्री भएको बेला वन तथा वातावरणमन्त्री बनेका थिए। 

गुरुङ क्षेत्र नम्बर २ अन्तर्गत पर्ने भिमाद नगरपालिका–९ का स्थायी बासिन्दा हुन्।

गुरुङ विसं २०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ प्रदेश ‘ख’ बाट प्रदेश सभामा निर्वाचित भएका थिए। प्रदेश सभामा निर्वाचन जितेलगत्तै गण्डकीको मुख्यमन्त्रीको दावी गरेका उनी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्त्वको सरकामा प्रदेशको अर्थमन्त्री बनेका थिए।

त्यसैगरी प्रतिनिधि सभा सदस्यका लागि यस क्षेत्रमा राप्रपाका नरेन्द्र प्रताप महत, नेपाल मजदूर किसान पार्टीका रामहरि गोरा, हाम्रो नेपाली पार्टीका विष्णु पराजुली, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रवीना थापा मगर, राष्ट्रिय जनमुक्ति पार्टीका लालबहादुर सार्की गोतामे, नेपाली कांग्रेस (बिपी) का पुष्पराज पराजुली, जनसमाजवादी पार्टी नेपालका खड्कबहादुर बिक र राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशी प्रतिस्पर्धामा रहेका छन्।

प्रदेश सभातर्फ 
तनहुँ क्षेत्र नं २ अन्तर्गतको प्रदेश सभा ‘क’मा गठबन्धनका तर्फबाट माओवादीका राजेन्द्रकेशरी न्यौपाने उमेदवार बनेका छन्। लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय न्यौपाने पहिलो पटक संसदीय निर्वाचन लड्दै छन्।

उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन्। सरल मृदुभाषी नेताको परिचय बनाएका न्यौपाने लामो समयसम्म राजनीतिक क्षेत्रमा बिताए पनि अहिलेसम्म राजकीय पदको अवसर नपाएका नेता हुन्।

स्थायी जागिर छाडेर जनयुद्वमा होमिएका न्यौपाने २०४० देखि २०५८ सम्म विभिन्न विद्यालयहरूमा शिक्षण पेशामा संलग्न थिए। 

२०५८ मंसिरबाट शिक्षण पेशा छोडी नेकपा माओवादीको पूर्णकालीन कार्यकर्ता र पार्टी जिल्ला सदस्यको हैसियतमा जनयुद्धमा सहभागी भएका थिए।

२०६५ मा माओवादीको तमुवान राज्य समिति सदस्य, २०६९ मा एकीकृत नेकपा माओवादी तनहुँ उपाध्यक्ष, २०७३ मा सो पार्टीकै केन्द्रीय सदस्य एवं जिल्ला संयोजकको जिम्मेवारी कुसलतापूर्वक निभ्याएका छन्।

त्यसैगरी एमालेले यस क्षेत्रबाट श्यामराजा महतलाई उम्मेदवार बनाएको छ। उनी पनि एमालेको जिल्ला तहमा रहेर राजनीतिमा सक्रिय रहँदै आएका थिए।

त्यस्तै मौलिक जरोकिलो पार्टीका टोलराज वाग्ले, मङ्गोल नेशनल अर्गनाइजेशनका सुमन थापा मगर, एकीकृत समाजवादीका दुर्गाकुमार श्रेष्ठ, राप्रपाका रेशमराज अधिकारी, राष्ट्रिय जनमुक्ति पार्टीका नेत्रबहादुर थापा, जनसमाजवादी पार्टी नेपालका रामबहादुर विश्वकर्मा चुनावी प्रतिस्पर्धामा छन्।

त्यसैगरी प्रदेश सभा ‘ख’ मा गठबन्धनका तर्फबाट कांग्रेसका जितप्रकाश आले मगरलाई उम्मेदवार बनाएको छ। उनी तनहुँ कांग्रेसको जिल्ला सभापति समेत हुन्। 

उनले यसअघिका तत्कालीन जिल्ला सभापति वैकुन्ठ न्यौपाने २०७४ मा व्यास नगरको मेयरमा निर्वाचित भएपछि तनहुँ कांग्रेसका कार्यवाहक सभापति समेत बनेका थिए। 

लामो समयदेखि पौडेलनिकट राना गत अधिवेशनमा पौडेलनिकट वैकुन्ठ न्यौपानेविरुद्ध उम्मेदवार बनेर पार्टी सभापतिमा निर्वाचित भएका थिए। केही समय पौडेलको साथ छाडेका रानी अहिले फेरि पौडेलनिकट आएका छन्। 

त्यसैगरी एमालेका यस क्षेत्रबाट केदार सिग्देललाई उम्मेदवार बनाएको छ। जिल्लामा पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका सिग्देललाई पार्टीले प्रदेश सभा सदस्यमा उम्मेदवार बनाएको छ।

उनी २०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। अहिले उनी फेरि प्रदेश सभातर्फ उम्मेदवार बनेका छन्। 

२०७४ को प्रदेशसभा ‘ख’ बाट निर्वाचित भएका किरण गुरुङ प्रतिनिधि सभामा उठेपछि सिग्देल प्रदेश सभातर्फ लागेका हुन्।

त्यसैगरी यस क्षेत्रबाट मङ्गोल नेशनल अर्गनाइजेशनका नमबहादुर राना, नेकपा एकीकृत समाजवादीका प्रतापलाल श्रेष्ठ, राप्रपाका श्यामकुमारी राई, राष्ट्रिय जनमुक्ति पार्टीका धनबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन्।

१७ कात्तिक, २०७९, १३:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।