लुम्बिनीका चार निर्वाचन क्षेत्रमा निवर्तमान सांसदबीच नै प्रतिस्पर्धा, २३ जना फेरि सांसद बन्ने दौडमा

लुम्बिनीका चार निर्वाचन क्षेत्रमा निवर्तमान सांसदबीच नै प्रतिस्पर्धा, २३ जना फेरि सांसद बन्ने दौडमा

बुटवल: लुम्बिनी प्रदेशमा २०७४ सालको निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिकबाट सांसद बनेका २३ जना अहिले फेरि चुनावी मैदानमा उत्रिएका छन्। यीमध्ये प्रदेशका चार वटा निर्वाचन क्षेत्रमा निवर्तमान सांसदबीच नै प्रतिस्पर्धा हुँदैछ। 

गुल्मी क्षेत्र नं. २, दाङ क्षेत्र नं. १, नवलपरासी पश्चिम क्षेत्र नं. १ र रुपन्देही क्षेत्र नं. १ मा निवर्तमान सांसदबीच नै प्रतिस्पर्धा हुँदैछ।

दाङ- १, वर्तमान एमालेविरुद्ध पूर्वएमाले
सबैभन्दा धेरै दाङ- १ मा तीन जना पूर्व सांसदबीच प्रतिस्पर्धा हुँदैछ। अघिल्लो पटक दाङ- १ बाट निर्वाचित मेटमणि चौधरी, गंगा चौधरी र शान्ता चौधरी बीच प्रतिस्पर्धा हुँदैछ। ०७४ सालमा एमालेबाट विजयी भएका मेटमणी चौधरी अहिले एकीकृत समाजवादीबाट उम्मेदवार छन्।

चौधरीले त्यसबेला ३७ हजार ९०८ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुशीला चौधरीले २४ हजार ७० मत प्राप्त गरेकी थिइन्।

एमालेबाट समानुपातिक सांसद बनेकी गंगा चौधरी यसपटक हाम्रो नेपाली पार्टीबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेकी छिन्। त्यस्तै समानुपातिकबाटै उम्मेदवार बनेकी शान्ता चौधरी पनि यसपटक एमालेबाट प्रत्यक्ष उम्मेदवार बनेकी छिन्। 

दुई पूर्वएमाले र एक वर्तमान एमाले उम्मेदवारबीच दाङ- १ मा चुनावी भिडन्त रोचक हुने आकलन गरिएको छ।

गुल्मी- २
गुल्मी क्षेत्र नं. २ मा एमालेबाट गोकर्ण विष्ट र एकीकृत समाजवादीबाट रामकुमारी झाँक्री निर्वाचनमा आमने सामने हुँदैछन्। ०७४ सालको निर्वाचनमा गोकर्ण विष्ट प्रत्यक्ष निर्वाचनमा विजयी भएका थिए। झाँक्री एमालेबाट सामानुपातिक सांसद बनेकी थिइन्। 

गोकर्ण विष्टले कांग्रेस उम्मेदवार चन्द्रबहादुर केसीलाई १४ हजार ४६१ मतान्तरले हराएका थिए। विष्टले ३४ हजार ६१८ मत प्राप्त गरेका थिए भने केसीले २० हजार १५७ मत पाएका थिए। 

नवलपरासी- १
यसैगरी नवलपरासी क्षेत्र नं. १ मा कांग्रेसबाट खर्बपति उम्मेदवार विनोद चौधरीले जनता प्रगतिशील पार्टीका हृदेयश त्रिपाठीसँग प्रतिस्पर्धा गर्दैछन्।

०७४ सालको निर्वाचनमा चौधरी समानुपातिकबाट सांसद बनेका थिए। त्रिपाठी भने सूर्य चिह्नबाट निर्वाचन लडेर विजयी भएका थिए। 

त्रिपाठीले नेपाली कांग्रेसका उम्मदेवार देवकरण कलवारलाई पराजित गरेका थिए। त्रिपाठीले ३८ हजार ५ सय ९२ मत प्राप्त गरेका थिए।

रुपन्देही- १
यसैगरी रुपन्देही क्षेत्र नं. १ मा पनि निवर्तमान सांसदबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। स्वतन्त्र बाम उम्मेदवारको रूपमा घनश्याम भुसाल एमालेका छविलाल विश्वकर्मासँग चुनावी प्रतिस्पर्धामा छन्। एमालेबाट टिकट नपाएपछि पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका भुसाललाई यस क्षेत्रमा गठबन्धनले साथ दिएको छ। 

०७४ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नं. ३ बाट भुसाल सांसद बनेका थिए। उनले राप्रपाका दीपक बोहोरालाई पराजित गरेका थिए। भुसालले ३२ हजार ८६६ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा विजयी हुँदा बोहोराले २७ हजार ४२२ मत ल्याएका थिए। 

बोहोरा अहिले एमाले-राप्रपाको तालमेलमा रुपन्देही क्षेत्र नं. ३ बाट कांग्रेसका नेता बालकृष्ण खाँणसँग प्रतिस्पर्धा गर्दैछन्।

एमालेका छविलाल विश्वकर्मा भने सोही निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचनमा विजयी भएका थिए। उनले ३४ हजार १५१ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका अब्दुल रज्जाकले २६ हजार ७७१ मत प्राप्त गरेका थिए। 

रज्जाक अहिले प्रदेश सभामा उम्मेदवार बनेका छन्।

यी हुन् फेरि सांसद बन्न खोज्ने निवर्तमान सांसद
लुम्बिनी प्रदेशमा अन्य १५ जना निवर्तमान सांसद पुनः चुनावी मैदानमा छन्। नवलपरासी पश्चिम- २ बाट कांग्रेसका देवेन्द्रराज कँडेल फेरि सांसद बन्न प्रत्यक्ष निर्वाचनमा होमिएका छन्। त्यहाँ एमालेका दीपेन्द्र अधिकारी चुनावी मैदानमा छन्।

यसैगरी कपिलवस्तु क्षेत्र नं. १ मा माओवादीका चक्रमणि खनाल चुनावी मैदानमा छन्। सो क्षेत्रबाट एमालेका बलराम अधिकारी चुनावी मैदानमा छन्।

क्षेत्र नं. २ बाट एमालेका बृजेश गुप्ता र क्षेत्र नं. ३ बाट कांग्रेसका अभिषेक प्रताप शाह चुनावी मैदानमा छन्। शाहसँग एमालेका मङ्गल गुप्ताले प्रतिस्पर्धा गर्दैछन्। 

गुल्मी क्षेत्र नं. १ बाट प्रदीप ज्ञवाली चुनावी मैदानमा छन्। उनलाई कांग्रेसका चन्द्र भण्डारीले टक्कर दिँदैछन्।

दाङ क्षेत्र नं. २ बाट निवर्तमान सांसद माओवादीकी रेशा शर्मा चुनावी मैदानमा छिन्। उनलाई शंकर पोखरेलले टक्कर दिँदैछन्। 

पाल्पा- २ मा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डे, प्युठानमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल पनि पुनः सांसद बन्न चुनावी मैदानमा छन्। पाण्डेसँग एमालेका ठाकुर गैरे तथा पौडेलसँग एमालेकै सूर्य थापा प्रतिस्पर्धामा छन्।

बाँके निर्वाचन क्षेत्र नं. १ मा माओवादीका महेश्वरजङ्ग गहतराज, ३ मा कांग्रेसका किशोरसिंह राठोर पनि चुनावी प्रतिस्पर्धामा छन्। 

रुपन्देही क्षेत्र नं. २ मा विष्णु पौडेल, ३ मा बालकृष्ण खाँण, ५ मा भरतकुमार शाह निर्वाचनमा होमिएका छन्। पौडेलसँग राष्ट्रिय जनमुक्ति पार्टीका केशव थापा, खाँणसँग दीपक बोहोरा र शाहसँग एमालेका बासु घिमिरे चुनावी मैदानमा छन्। 

यसैगरी रोल्पामा वर्षमान पुन र अर्घाखाँचीमा टोपबहादुर रायमाझी चुनावी मैदानमा छन्।

१७ कात्तिक, २०७९, ०९:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।