आफ्नै आइडोलोजी नदेखिएकी मानुषीलाई भोट देलान् त काठमाडौं ७ का मतदाताले !

आफ्नै आइडोलोजी नदेखिएकी मानुषीलाई भोट देलान् त काठमाडौं ७ का मतदाताले !

काठमाडौं : युवामाझ फरक छवी बनाउन प्रयास गरे पनि मानुसी यमी भट्टराईलाई सधै आफ्ना बाबु डा. बाबुराम भट्टराईको छविले छोपिरह्यो। सशस्त्र संघर्षमा उनको योगदान भनेको डा. बाबुराम अनि हिसिला यमीको छोरी हुनु मात्र हो। अनी उनको राजनीतिक परिचय पनि उही राजनीतिक परिवारको सदस्य।

उनका सम्बोधन निकै प्रगतिशील देखिन्छन्। तर, उनको कुनै स्वतन्त्र राजनीतिक प्रतिवद्धता देखिएन। जता-जता उनको अभिभावक उनि त्यतै-त्यतै लागिन्। डा. बाबुराम र हिसिलाले अब कम्युनिष्ट पार्टी काम छैन भन्दै वैकल्पिक राजनीतिको प्रारम्भ गर्ने भन्दै नयाँ शक्ति नेपालको गठन गर्दा मानुसीले प्रतिवाद गरेर छ भन्ने हिम्मत गर्न सकिनन्। उनी पनि अभिभावककै पछि लागेर अब कम्युनिष्ट काम छैन भन्ने बाबुकै लाइनमा लागिन्। 

त्यो बेला बाबुरामले अब आफू कम्युनिष्ट रहिन भन्दा उनले 'म कम्युनिष्ट विचारधारामै छु' भनेर प्रतिवाद गर्न सकिनन्। बाबुराम जनता समाजवादी हुँदा मानुषी पनि जनता समाजवादी। अनी त्यहाँ उनको बाबुको लफडा परेर समूह नै बाहिरिएपछि उनी पनि बाहिरिइन्।

नेपाल समाजवादी पार्टी गठन हुँदा उनी त्यसको केन्द्रीय सदस्य बनिन्। बाबुराम प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कम्युनिष्ट रहिन भनेर छाडेको पार्टी माओवादी केन्द्रसँग सहकार्य गर्न पुगे। गोरखामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को मोह बसेपछि बाबुरामले आफ्नो निर्वाचन क्षेत्र गुमाउनु पुगे। त्यसको बदलामा मानुषीले माओवादीको कोटामा काठमाडौं-७ बाट उम्मेदवार बन्ने मौका पाइन्।

मीठो बोल्ने, मिजासिलो स्वभाव छ उनको। उनमा नेतृत्व क्षमता पनि देखिन्छ। त्रिभुवन विश्वविध्यालयकी गोल्डमेडलिष्ट उनमा देखिएको सबैभन्दा ठूलो समस्या नै आफ्नै आइडोलोजी नहुनु नै हो।

काठमाडौं-७ को उम्मेदवारीमा मानुषीको योग्यता र सो क्षेत्रमा उनको राजनीतिक क्रियशीलता हैन उनको बाबु बाबुरामले गोरखा छाडेर प्रचण्डलाई लगाएको गुनको उपहार हो भन्ने प्रष्ट छ। यसले मानुषीलाई आज्ञाकारी छोरी त बनायो। तर, आफ्नै भिजन र राजनीतिक सोच भएको युवा नेतृ बनाउन सकेन।

दशवर्षे सशस्त्र द्वन्द्वको समयमा उनी विदेशमै हुर्किइन्। सशस्त्र द्वन्द्वमा उनको अभिभावकको संलग्नता र योगदान रह्यो नै। तर, उनको रहेन। द्वन्द्वका कारण ज्यान जोखिममा परेर विदेशिनुपर्योक भन्ने बाहेक अर्को बहाना पनि छैन उनीसँग। 

माओवादी शान्ति प्रक्रियामा आएसँगै मानुषीले नेपालमा फर्किइन्। २०६५ मा भएको त्रिविको स्ववियू निर्वाचनमा सचिव पदमा उनले लोकप्रिय मत पाएर विजय भइन्। तर, निर्वाचन जित्न फर्जी विद्यार्थी भर्ना गरेको गम्भीर आरोप लाग्यो। 

विद्यार्थी राजनीतिमा आमुल सुधार गर्ने, वैज्ञानिक शिक्षा लागू गर्ने माओवादीको नारा थियो। तर, संघियतापछि संघीय शिक्षा ऐन आउन सकेन। गणतन्त्रपछि माओवादीको नेतृत्व र मानुषी आबद्ध पार्टी पटक-पटक सरकारमा गयो। उनको बाबु बाबुराम एक पटक प्रधानमन्त्री नै बने।

तर, शैक्षिक मुद्दामा उनी सक्रिय देखिइनन् त्यो बेला। २०६५ अघि निरन्तर भइरहेको स्ववियू चुनाव त्यसपछि निरन्तर हुन सकेन। केही क्याम्पसमा २०७३ मा निर्वाचन भयो। तर, प्रमुख क्याम्पसमा अझै भएको छैन। विध्यार्थी नेतृको रूपमा यसको अपजस उनको भागमा पनि पर्छ नै।

पढाइमा उत्कृष्ट, त्रिभुवन विश्वविद्यालयको गोल्ड मेडलिष्ट 
बौद्धिक छविका बाबुराम र हक्की स्वभावकी हिसिलाकी एक्ली छोरी उनका बाबु अर्थमन्त्री र प्रधानमन्त्री समेत भए। आमा पर्यटनमन्त्री बनिन्। तर, पनि उनले बाबुआमाको पदको दुरुपयोग गरेको तथ्य बाहिरिएनन्। बाबुराम प्रधानमन्त्री हुँदा उनको आमा हिसिला गम्भीर आर्थिक अपचलनका घटनामा विवादमा आइन्। तर, मानुषी जोगिइन्। अन्य नेता पदमा पुग्दा देखिने सन्तानको रवाफ र चलखेल उनमा देखिएन।

मीठो बोल्ने, मिजासिलो स्वभाव छ उनको। उनमा नेतृत्व क्षमता पनि देखिन्छ। त्रिभुवन विश्वविध्यालयकी गोल्डमेडलिष्ट उनमा देखिएको सबैभन्दा ठूलो समस्या नै आफ्नै आइडोलोजी नहुनु नै हो। आफैँले सार्वजनिक कार्यक्रमहरूमा अभिव्यक्त गर्ने महिला हिंसाका घटनामा समेत उनको चरित्र दोधारे देखायो एक घटनाले।

पार्टीले टिकट नदिएपछि सोही क्षेत्रबाट २०७४ मा एमालेबाट सांसद जितेका रामवीर मानन्धर स्वतन्त्र उम्मेद्वार बनेका छन्। यसले श्यामकुमारको भोट काटिँदा मानुषीलाई फाइदा हुने देखिन्छ। 

मानुषी परिचित एक युवा कवीले एक कवयित्रीमाथि यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक हुँदा उनको दोधारे चरित्र समेत उदांगियो। उनले सार्वजनिक मञ्चबाट न हैन भन्न सकिन् न पीडित कवियित्रीको पक्षमा नै उभिन सकिन्। बाबुराम र हिसिलाको छोरी हुनु नै सबैभन्दा ठूलो राजनीतिक योग्यता भएको दम्भ बेलाबखत उनमा देखिन्छ नै।

यस्ता छन् मानुषीका प्रतिस्पर्धी
काठमाडौं-७ बाट प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि प्रतिनिधि सभामा १६ स्वतन्त्र र १३ राजनीतिक दलका उम्मेदवारले उम्मेद्वारी दिएका छन्।

मानुषी उम्मेदवार बनेको क्षेत्रबाट उनको आमा हिसिला एक पटक सांसद भइसकेकी छिन्। सो क्षेत्र एमाले र कांग्रेसको बलियो पकड भएको क्षेत्र मानिन्छ। माओवादीले आफ्नो कोटामा मानुषीलाई उम्मेदवार बनाएको छ भने कांग्रेसहितका चार दलले समर्थन छ।

मानुषीको विरुद्ध एमालेबाट श्यामकुमार घिमिरे उम्मेदवार बनेका छन्। पार्टीले टिकट नदिएपछि सोही क्षेत्रबाट २०७४ मा एमालेबाट सांसद जितेका रामवीर मानन्धर स्वतन्त्र उम्मेद्वार बनेका छन्। यसले श्यामकुमारको भोट काटिँदा मानुषीलाई फाइदा हुने देखिन्छ। 

मानुषीले कला संस्कृति संरक्षण गर्दै पर्यटन प्रवर्द्धनबाट यो क्षेत्रको विकास गर्ने योजना अघि सारेकी छिन्। एमाले उम्मेदवार घिमिरेले भने कला संस्कृति संरक्षण र कौशीखेती प्रवर्द्धन गर्ने योजना अघि सारेका छन्। 

स्वतन्त्र उम्मेदवार मानन्धरले भने बाँकी रहेका विकासका योजना पूरा गर्न पुनःउम्मेदवारी दिएको बताउने गरेका छन्।

काठमाडौं-७ को प्रदेशसभा (क)मा चार स्वतन्त्रसहित १२ र प्रदेशसभा (ख) मा तीन स्वतन्त्रसहित नौ जनाले उम्मेदवारी दिएका छन्। कुल ६१ हजार २ सय ९१ मतदाता रहेको उक्त क्षेत्रमा प्रमुख राजनीतिक दलका नेताबीच नै प्रतिस्पर्धा हुने देखिन्छ।

काठमाडौं महानगरपालिकाको १६, १७, १८ र २५, नागार्जुन नगरपालिकाको १, २ र ३ वडाका साथै तारकेश्वर नगरपालिकाको ३, ४ र ५ वडा उक्त क्षेत्रमा पर्छन्।

उक्त क्षेत्रमा क्षेत्रपाटी, ठमेल, बालाजु, नयाँबजार, सोह्रखुट्टे, म्हैपी, टौडोल, माछापोखरी, वनस्थली, ढल्को, धोबीचौर, ठैँटी, नरदेवी, भुरुञ्खेल, ढोकाटोल, मच्छिन्द्रटोल, न्ह्यौखा, तीनपिप्ले, पुरानो गुह्येश्वरी, भैरवथान, गोलढुङ्गा, रानीवन, ठूलो भर्याङ,  इचङ्गु,  गैरीगाउँ लगायतका क्षेत्र पर्दछन्।

सो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट धुव्र विक्रम मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली, हाम्रो नेपाल पार्टीका प्रवेन्द्र पोखरेल, नेपालकालागि नेपाली पार्टीका राम नेपाली, नेपाल मजदुर किसान पार्टीका किरण महर्जन, नेपाली कांग्रेस (विपी) की कमलाकुमारी शर्मा भुसाल, नेपालआमा पार्टीका कृष्णप्रसाद दबाडी, राप्रपा नेपालका कुमार श्रेष्ठ, जनसमाजवादी पार्टी नेपालका राजेन्द्रप्रसाद श्रेष्ठ, जनसमाजवादी पार्टीका शैलेशराज श्रेष्ठले उम्मेदवारी दिएका छन्।

यस्तै स्वतन्त्र उम्मेदवारका रूपमा रामवीर मानन्धर, यादवलाल कायस्थ, प्रशन्नकुमार अवाले, किरण केसी, रवीन्द्रकुमार श्रेष्ठ, ईश्वर अर्याल, प्रकाशकुँवर, भरत तामाङ, लक्ष्मणप्रसाद गजुरेल, लोकप्रसाद सिंखडा, रोजिना अवाले, राजकुमार कोइराला, मन्जुमाया तामाङ, सुजनरत्न बज्राचार्य, हेमबहादुर ढुङ्गेल र जानुका पौडेलले उम्मेदवारी दिएका छन्।

१५ कात्तिक, २०७९, १५:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।