काठमाडौं–१ मा रवीन्द्र मिश्रको दल तेस्रो, कांग्रेस र एमालेबीचको मतान्तर ३५४ मात्र

काठमाडौं–१ मा रवीन्द्र मिश्रको दल तेस्रो, कांग्रेस र एमालेबीचको मतान्तर ३५४ मात्र

काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १ मा को प्रतिनिधि सभातर्फ देशभरकै धेरै उम्मेदवार ३२ जना चुनावी मैदानमा छन्। २१ वटा राजनीतिक दलबाट उम्मेदवारी दर्ता हुँदा ११ जना स्वतन्त्रले उम्मेदवारी दिएका छन्।

यो क्षेत्रमा विशेषगरी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रवीन्द्र मिश्र, एमालेका किरण पौडेल र नेपाल सुशासन पार्टीका रमेश प्रसाद खरेलबीच मुख्य चुनावी भिडन्त हुने देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार पुकार बम पनि यही क्षेत्रका उम्मेदवार हुन्।

यसपालीको पनि कांग्रेस नेता सिंहका मुख्य प्रतिस्पर्धी मिश्र नै देखिएका छन्। २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेसका सिंहसँग ८१८ मतान्तरले पराजित भएका मिश्र यसपाली बदला लिन चाहन्छन्। सिंहले दश हजार ९३६ मत ल्याउँदा मिश्रले दश हजार ११८ मत ल्याएका थिए।

कांग्रेसका सिंह भने पुनः यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा विजय हुने मनोबलमा देखिएका छन्। उनी २०६४ र २०७० को निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।

अघिल्लो चुनावमा मिश्रले विवेकशील साझा पार्टीको तर्फबाट यस क्षेत्रमा प्रतिनिधि सभा सदस्य चुनाव उठेका थिए। वैकल्पिक राजनीतिको मुद्दा छोडेर मिश्र अहिले राजा ल्याउँछु भन्दै राप्रपा प्रवेश गरेका छन्।

सिंहका लागि जित निकाल्न त्यति सहज छैन यो पटक। अन्य दलका उम्मेदवारबिच भोट बाँडिएर गठबन्धन दलको मत एकीकृत गराउनु उनको चुनौती हो।

यस अगाडि राप्रपाको बलियो उम्मेदवार नहुँदा सिंहले राप्रपाको मतदाताको साथ पाउने गरेका थिए। तर यो पटक त्यो सम्भव देखिन्न। तर माओवादी र एकीकृत समाजवादीका मतदाताले मत दिए त्यो भर्ताल हुनसक्छ।

एमालेका पौडेल पनि सिंहका लागि चुनौती छँदैछन्। पौडेल सामु ठुलो चुनौती आफ्नै दलको मत जोगाउने देखिन्छ।

उनी अहिले चुनावी प्रचारमा भन्दा पनि पार्टीगत भोट जोगाउन बढी केन्द्रित देखिन्छन्। मिश्रलाई जिताउन उनलाई एमालेले औपचारिकता निभाउन मात्र उम्मेदवार बनाएको आङ्कलन चिर्ने अर्को चुनौती देखिन्छ उनमा।

नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल पहिलो पटक संसदीय राजनीतिमा हाम फालेका छन्।
उनको यो पहिलो निर्वाचन भएकाले मतको आङ्कलन सम्भव छैन। तर उनको चुनावी अभियान निकै प्रभावकारी देखिन्छ।

अन्य दलका उम्मेदवार आन्तरिक रणनीति निर्माण र समूहगत छलफलमा केन्द्रित हुँदा खरेल मतदाताको घर-घर पुगिसके।

उनी सामान्य रूपमा चुनाव प्रचारमा हिँडिरहेका छन्। आफ्नो उम्मेदवारीको कारण खुलाउने सानो पर्चा बोकेर हिँड्ने उनको साथमा तीन-चार जना मात्र सहयोगी हुन्छन्।

उनी जुन क्षेत्रको घरदैलोमा जान्छन् त्यहीको स्थानीयलाई साथमा लिन्छन्। मतदातासँग सम्पर्क नम्बर साटासाट गर्छन्।

मिश्र राप्रपा, दरबारिया लगायतको भोटको बलमा यस क्षेत्रमा चुनाव जित्ने दाउमा देखिन्छन्। यो उनको दोस्रो निर्वाचन हो। पहिलो निर्वाचनमा वैकल्पिक राजनीति भन्दै हिँडेका उनी अहिले राजतन्त्र भन्दै हिँडिरहेकाले मतदाताको मुड ठम्याउन कठिन छ।

पुरानो भोट जोगाउन उनका लागि खरेल र बम मुख्य चुनौती देखिन्छन्। स्वतन्त्र भन्दै घण्टी चिन्हको उम्मेदवार बनेका पुकार बमका लागि सम्मानजनक मत आउनु नै जित बराबर देखिन्छ। 

स्थानीय निर्वाचनमा राप्रपा तेस्रो
काठमाडौं–१ मा पर्ने काठमाडौं महानगरपालिकाका चार वडामध्ये १०, ११ र २९ मा कांग्रेस र ३१ नम्बर वडामा एमालेले जितेको थियो। 

गत स्थानीय निर्वाचनमा यस क्षेत्रका वडा अध्यक्षका उम्मेदवारले २२ हजार ४५४ सदर मत पाएका थिए। जसमध्ये नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारले नौ हजार ८९५ मत पाउँदा एमालेका उम्मेदवारले नौ हजार ५४१ मत पाएका थिए।

वडाध्यक्षले पाएको मत हेर्दा कांग्रेस र एमालेबीचको मतान्तर ३५४ मात्र छ। यी चार वडामा वडाध्यक्षले पाएको मत हेर्दा कांग्रेस पहिलो, एमाले दोस्रो र राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो स्थानमा देखिएको छ। यहाँ राप्रपाका वडाध्यक्षका उम्मेदवारले जम्मा एक हजार ३७६ मत पाएका थिए।

यी चार वडामा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी भन्दा पनि कमजोर देखिएको छ। चौथो भएको उसले यहाँ जम्मा एक हजार १५९ मत पाएको थियो। त्यसैगरी विवेकशील साझा पार्टीले २७३, स्वतन्त्रले १०१, जनता समाजवादी पार्टीले ५४, नेपाली जनता दलले १६, नेपाली कांग्रेस (वीपी) का वडाध्यक्षका उमेद्वारले १२ मत पाएका थिए।

स्थानीय तहमा वडाध्यक्षले पाएको मत हेर्दा एमालेको तुलनामा गठबन्धन दल कांग्रेस र माओवादीको मत बढि देखिन्छ। सत्ता गठबन्धनको एघार हजार ५४ मत हुँदा एमाले एक हजार ५१३ मतले पछाडि हुन आउँछ।

वडामा पनि कांग्रेस अगाडि
नयाँ बानेश्वर, बानेश्वर हाइट, बुद्धनगर क्षेत्र वडा नं. १० मा पर्छन्। यस क्षेत्रबाट गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारले तीन हजार ४२८, एमालेका उम्मेदवारले एक हजार ९७३, राप्रपाले ३२९ र माओवादी केन्द्रले २४३ मत पाएको थियो।

त्रिपुरेश्वर, भोटेबहाल, थापाथली, बबरमहल क्षेत्र वडा नम्बर ११ मा पर्छन्। यस क्षेत्रबाट कांग्रेसले वडाध्यक्षका लागि एक हजार ५५५, एमालेले ९५०, राप्रपाले २५२ र माओवादी केन्द्रले १६६ मत पाएको थियो।

वडा नं. २९ मा डिल्लीबजार क्षेत्र पर्छ। यस क्षेत्रमा वडाध्यक्षको लागि गत स्थानीय चुनावमा कांग्रेसले एक हजार ९२१, एमालेले एक हजार ८७१, राप्रपाले २१० र माओवादी केन्द्रले १०४ मत पाएको थियो।

वडा नं. ३१ मा पर्ने भिमसेनगोला, बानेश्वर (नयाँ), शान्तिनगर, मिनभवन, शंखमुल क्षेत्रमा एमालेले वडाध्यक्षका उम्मेदवारले चार हजार ७६७, कांग्रेसले दुई हजार ९९१, राप्रपाले ५८५, र माओवादी केन्द्रले ६४६ मत पाएको थियो।

को-को छन् मैदानमा ?
काठमाडौैं प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा एमालेका किरण पौडेल, कांग्रेसका प्रकाशमान सिंह, राप्रपाका रवीन्द्र मिश्र, नेपाल मजदुर किसान पार्टीका हरिशरण श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका प्रकाश नायजु, जनमत पार्टीका हरेन्द्र चौधरी, मौलिक जरोकिलो पार्टीका प्रकाश श्रेष्ठ चुनावी मैदानमा छन्।

त्यसैगरी हाम्रो नेपाली पार्टीका डम्वर शाहु, नेपालका लागि नेपाली पार्टीका बालकृष्ण न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका शान्तीदेवी केसी, नेपाल कम्युनिष्ट पार्टी (माले) का सुरेन्द्र प्रसाद ढकाल, संघीय लोकतान्त्रिक राष्टिय मञ्चका मन्जु राना मगर, नेश्नलिष्ट पिपल्स पार्टीका इन्द्र बहादुर थापाले पनि उम्मेदवारी दिएका छन्।

यस्तै, राष्टिय जनमुक्ति पार्टीका मान बहादुर राई, नेपाली कांग्रस (बीपी) रिषम भट्टराई,  नेपालवादका किरण कुमार शर्मा पौडेल, विवेकशील साझा पार्टीका शंकर बन्जाडे, आमुल परिवर्तन मसिह्या पार्टी नेपालका हरि कुमार घले, नेपाल सुशासन पार्टीका रमेश प्रसाद खरेल, जनसमाजवादी पार्टी नेपालका मनिता (लिगल) श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम चुनावी मैदानमा छन्। 

६ कात्तिक, २०७९, १६:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।