कांग्रेसले ठगेको काठमाडौं–६ मा पुनः प्रधानकै उम्मेदवारी, पहिलोपटक संसद छिर्ने दाउमा खनाल

कांग्रेसले ठगेको काठमाडौं–६ मा पुनः प्रधानकै उम्मेदवारी, पहिलोपटक संसद छिर्ने दाउमा खनाल

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ६ बाट निरन्तर जित्दै आएको सांसद हुन् भिमसेनदास प्रधान। २०७० सालको संविधान सभा सदस्य भएका उनी २०७४ सालको प्रतिनिधि सभा निवार्चनमा पनि विजयी भए। अहिले तेस्रो पटक पनि प्रधानले नै टिकट पाएका छन्।

२०७० मा एमालेका युवा नेता योगेश भट्टराईलाई हराएका प्रधानले ७४ मा वाम गठबन्धनका उम्मेदवार झक्कुप्रसाद सुवेदीलाई पराजित गरे। अवसर पाउने मामिलामा ‘भाग्यमानी’ प्रधान कांग्रेसको सिटौला पक्षधर हुन्।

सिटौला पक्षधर भएकै कारण रक्षामन्त्रीसमेत भएका उनले यो क्षेत्रबाट तीनपटक टिकट पाए पनि राष्ट्रिय राजनीतिमा खासै प्रभाव पार्न सकेका छैनन्। पार्टीमा पनि उनको काम सिटौला गुटको पक्षलाई सहयोग गर्नुबाहेक अर्को देखिँदैन। एक हिसाबले भन्दा यो क्षेत्रलाई कांग्रेसबाट ठगिएको क्षेत्र भन्दा फरक पर्दैन।

यस क्षेत्रबाट काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँ (सबुज) को नाम पनि सिफारिस भएको थियो। बानियाँ प्रकाशमान सिंह निकट मानिने र प्रधान सिटौला निकट मानिने भएकाले पनि दुई नेताबीचको आन्तरिक किचलो चर्को छ।

चुनाव जित्न प्रधानलाई त्यती सकस त पर्ने देखिँदैन तर अन्य क्षेत्रमा एकै उम्मेदवार कति पटक भनेर प्रश्न उठेको सन्दर्भमा प्रधानलाई आफ्नो उम्मेदवारीको औचित्य मतदातामाझ बुझाउने चुनौती देखिन्छ। 

एमालेका सर्वेन्द्र खनालको चुनौती

विध्यार्थीकालमा नेपाली कांग्रेसबाट राजनीति गरे पनि पछि नेपाल प्रहरीमा प्रवेश गरेर संगठन प्रमुख भएर अवकाश पाए सर्बेन्द्र खनालले। प्रहरी सँगठनमा हुँदा कहिले कांग्रेस त कहिले माओवादी केन्द्रको साथले आफ्नो प्रहरी यात्रा अगाडि बढाएका उनले राजनीतिक यात्रा भने एमालेबाट शुरु गरे।

रोचक के भने खनालले एसएसपीसम्मको यात्रा कांग्रेसको जोडबलमा सहजताका साथ पुरा गरेका थिए। पहिलो नम्बरमा डिआइजीमा बढुवाहुँदै आइजिपी हुनुमा भने मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ रह्यो। यदी एमाले-माओवादी केन्द्रविच एकता भएर नेकपा नबनेको भए र नेकपा सरकारमा रहेको बेलामा सो ब्याचको बढ्वा ननिस्किएको भए खनाललाई आइजिपी हुन कठिन थियो।

कांग्रेस कमजोर प्रतिपक्षमा रहेको र एमाले अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली खनालको विपक्षमा थिए। त्यो बेलामा प्रचण्डकै जोडबलमा उनी प्रहरी महानिरिक्षक भए पनि ओलीको प्रधानमन्त्री कालमा आफ्नो कार्यकाल पुरा गर्न खनाललाई निकै कठिन भयो।

तत्कालिन प्रधानमन्त्री ओलीले पटक-पटक उनलाई विचैमा अवकाशमा पठाउन खोज्दा उनको कार्यकालै टिक्नमै केन्द्रित भयो र एसएसपीसम्म काम गरेर बनाएको अब्बल प्रहरीको साख अवकाश पाउँदा कमजोर प्रहरी महानिरिक्षकको बनाएर बिदा भए। 

अवकाशकालमा एमाले नेता महेश बस्नेत र हालका एकिकृत समाजवादीका नेता किसन श्रेष्ठ निकट भएका उनी केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला अविश्वासको प्रस्ताव आउने डर भएपछि तत्कालीन जसपाका सांसद डा. सुरेश यादवलाई अपहरणको घटनामा मुछिए। 

आरोप लागेसँगै लामो समय निस्क्रिय बसेका खनाल निर्वाचन अगाडि एकाएक एमालेमा प्रवेश गरे। तर एमालेबाट उम्मेदवार बनेर २ पटक योगेश भट्टराई पराजित भएको सो क्षेत्रमा उनी कांग्रेसलाई चुनौती दिने नेताका रूपमा भने देखिएका छैनन्। 

२४ जना उम्मेदवार

विभिन्न दल र स्वतन्त्र गरी काठमाडौं–६ मा २४ जनाको उम्मेदवारी परेको छ। यस क्षेत्रमा एमालेले सर्बेन्द्र खनाल, सत्तारूढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले भिमसेन दास प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टीले विष्णु प्रसाद आचार्य, विवेकशील साझा पार्टीले अजित खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीले शिशिर खनाललाई उम्मेदवार बनाएको छ। त्यस्तै निर्देश सिलवाल पनि यसै क्षेत्रबाट उम्मेदवार बनेका छन्।

काठमाडौं महानगरपालिकाका २६, २७ र २८ नम्बर वडा, तारकेश्वर नगरपालिकाका १, २, ६, ७, ८, ९, १० र ११ नम्बर वडा तथा टोखा नगरपालिाकाका १, ८, ९, १० र ११ नम्बर वडाहरू समावेश काठमाडौं–६ नेपाली कांग्रेसले सहजै जित निकाल्ने क्षेत्र हो।

वैशाखमा भएको स्थानीय तहको चुनावले पनि कांग्रेसनै बलियो रहेको देखाइसकेको छ। उक्त निर्वाचनमा कांग्रेसको पक्षमा १४ हजार ४०३ र एमालेको पक्षमा १२ हजार ६६५ मत खसेको छ यहाँ।

गत प्रतिनिधि सभा निर्वाचनमा यहाँबाट कांग्रेसका प्रधान १६ हजार ७८५ मत पाएर विजयी हुँदा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले १५ हजार ४८५ मत पाएका थिए। तेस्रो भएका विवेकशील साझाका उम्मेवार रमेश चिलुवालले ४ हजार २२५ मत ल्याएका थिए।

३ कात्तिक, २०७९, १५:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।