काठमाडौं–९ मा एमाले र कांग्रेसको मतान्तर जम्मा ७०, मिलन पाण्डेलाई प्रतिस्पर्धी नै मान्दैनन् श्रेष्ठ र धमला

काठमाडौं–९ मा एमाले र कांग्रेसको मतान्तर जम्मा ७०, मिलन पाण्डेलाई प्रतिस्पर्धी नै मान्दैनन् श्रेष्ठ र धमला

काठमाडौं : २०७४ को प्रतिनिधि सभा निर्वाचनमा ४ हजार ९ सय ४९ मत ल्याएर तेस्रो भएका विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डेले यसपटक पनि काठमाडौं क्षेत्र नं. ९ बाटै उम्मेदवारी दर्ता गराए।

अघिल्लो निर्वाचनदेखि अहिलेसम्म आइपुग्दा उनको राजनीतिक जीवनमा धेरै उचारचढाव आयो। पार्टी विभाजित भयो। पार्टीबाट कारबाहीमा परे। अध्यक्षविरुद्ध निर्वाचन आयोग र सर्वोच्च अदालतमा रिट दिए। अनि आफ्ना निकट युवाहरूमार्फत ‘साझा पार्टी नेपाल’ नामक दल दर्ता गराए।

स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार उठाएर निर्वाचनमा होमिए पनि पुरानो शाख फर्काउन भने पाण्डेलाई गाह्रो पर्यो। यसपटक जित्ने गरी तयारी गरिएको र पहिलाको भन्दा अझ परिपक्व भएको उनी भन्ने गर्छन्। अझै पनि उनी मतदाताले विकल्प खोजेको अडानमै कायम छन्।

‘कालो मन र कालो धन’ हारोस् भन्दै पाण्डेले चुनावी खर्चका लागि सहयोग गर्न सर्वसाधारणलाई अपील गरेका छन्। ‘चोक–चोकमा स्थानीयहरूसँग संवाद’ भन्दै घरदैलो कार्यक्रममा पनि निस्किसकेका उनको जित यसपटक भने सहज छैन। अघिल्लो चुनावमा २२ हजार ८ सय ५२ मत ल्याएर निर्वाचित भएका एमालेका कृष्णगोपाल श्रेष्ठले पुनः उनका चुनौती बन्नेछन्।

त्यतिखेर श्रेष्ठलाई टक्कर दिँदै कांग्रेसका तर्फबाट प्रतिस्पर्धी ध्यानगोविन्द रञ्जितले १४ हजार ८०२ मत ल्याएका थिए। तर, यसपटक भने रञ्जितले उम्मेदवारी दिएका छैनन्। रञ्जितको सट्टा सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य कल्पना धमलाको उम्मेदवारी छ।

यस क्षेत्रका मुख्य प्रतिद्वन्द्वी मानिएका श्रेष्ठ र धमलाले पाण्डेलाई आफ्नो प्रतिस्पर्धी नै मानेका छैनन्। सार्वजनिक भाषणमा उनीहरू खुलेरै एक अर्कालाई मात्र प्रतिस्पर्धी भनिरहेका छन्। यस बाहेक क्षेत्र नं ९ मा १० जना स्वतन्त्र गरेर जम्मा २२ जनाको उम्मेदवारी परेको छ।

कमजोर स्थानमा माओवादीको उम्मेदवार
यस क्षेत्रमा काठमाडौं महानगरपालिकाका वडा नम्बर १२, १४, २१, २२, नागार्जुन नगरपालिकाका वडा नम्बर ६, ७, ८, ९ , १० र चन्द्रागिरि नगरपालिकाका वडा नम्बर १, १२, १३, १४ र १५ समावेश छन्। जसमध्ये महानगरमा नगरप्रमुख स्वतन्त्र बाट निर्वाचित भए पनि अन्य दुई पालिकाको नगर प्रमुखमा कांग्रेसले बाजी मारेको थियो।

महानगर प्रमुख बालेन्द्र शाहले स्थानीय चुनावमा ५ हजार ९४८ मत आफ्नो पोल्टामा पर्दै यस क्षेत्रमा तेस्रो भएका थिए। प्रतिनिधि सभाका लागि यस क्षेत्रबाट स्वतन्त्र उम्मेदवारको संख्या धेरै रहेकाले मत यताउता हुनेमा कुनै शंका छैन। तर, स्वतन्त्रको प्रभाव भने अहिलेसम्म त्यत्ति देखिएको छैन।

महानगरको चारवटा वडामध्ये वडा नं. १२ र १४ मा कांग्रेसका वडाध्यक्ष छन् भने वडा नं. २१ र २२ मा एमालेका वडाध्यक्ष छन्। त्यसैगरी नागार्जुन नगरपालिकाको वडा नं. ६, ९ र १० मा कांग्रेस र वडा नं. ७ र ८ मा एमालेका वडाध्यक्ष छन्। चन्द्रागिरी नगरपालिकाको १, १३ र १५ नम्बर वडामा कांग्रेस तथा वडा नं. १२ र १४ मा एमालेका वडाध्यक्ष निर्वाचित भएका छन्।

तीन पालिकाको १४ वटा वडामध्ये दुईवटा पालिकासँगै ८ वटामा कांग्रेसको नेतृत्त्व हुँदा ६ वडामा एमाले हावी छ। तर, नगरप्रमुख र वडाध्यक्षहरूले पाएको मत हेर्दा यो क्षेत्रमा कांग्रेस र एमालेबीच ७० मतको मात्र फरक छ। 

माओवादीको पकड कमजोर भए पनि कांग्रेसको प्रभावसँगै गठबन्धनको कारण नेतृ धमलालाई पनि नजरअन्दाज गर्न भने मिल्दैन। स्थानीय तहमा माओवादीले जम्मा ६ हजार ९०५ मत मात्रै ल्याएको थियो। यसमा कांग्रेसका वडाध्यक्षले ल्याएको मतान्तर जोड्दा ६ हजार ९७५ हुनजान्छ। कांग्रेसका मतदाताले सम्पूर्ण भोट धमलालाई दिएको खण्डमा यहाँ उनले जित्ने देखिन्छ।

कसको छवि बलियो ?
काठमाडौंको विभिन्न क्षेत्रबाट उप–निर्वाचन, आमनिर्वाचन, संविधान सभा निर्वाचन र प्रतिनिधि सभा निर्वाचन लडेर अत्यधिक चुनाव लड्ने नेताको रूपमा परिचित कृष्णगोपाल श्रेष्ठ लामो समय नेकपाको केन्द्रीय सदस्यको रूपमा रहे। एमाले अध्यक्ष ओलीका सधैंका बफादार सांसद मानिने श्रेष्ठसँग शहरी विकास मन्त्रालय र शिक्षा मन्त्रालयको नेतृत्त्वको अनुभव पनि छ।

तर, उनले सम्झिन लायक खासै केहि गरेका छैनन्। उल्टै विवादित अभिव्यक्त र जातीय विभेदको आरोपमा हिरासतमा रहेकी घरबेटीलाई लिन गएकोमा उनको चौतर्फी आलोचना भयो।

सञ्चारकर्मी रूपा सुनारले जातको आधारमा कोठा भाडामा नपाएको भन्दै बबरमहलकी सरस्वती प्रधानविरुद्ध प्रहरीकोमा उजुरी गरेसँगै मन्त्री श्रेष्ठ उनलाई निल गाडी लिएर प्रहरी कार्यालय पुगेका थिए। कोभिडको समयमा शिक्षा क्षेत्रमा ध्यान नदिएको आरोपसमेत उनीमाथि छ। यसका बावजुद नेता श्रेष्ठले कोर एरियाको भने राम्रो मत पाउँदै आएका छन्।

त्यस्तै माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य कल्पना धमलाको छोटो समय भए पनि संसदीय अनुभव छ। उनी आफूलाई ५० वर्षभन्दा मुनिको युवा भन्न रुचाउँछिन्। धमलासँग विज्ञान तथा प्रविधि मन्त्रीको नेतृत्वको अनुभव पनि छ। पहिलो संविधान सभा २०६४ की सदस्य रहेकी धमला बाबुराम भट्टराई नेतृत्त्व सरकारकी विज्ञान तथा प्रविधि मन्त्री हुन्। तर, उनको पनि आफ्नो कार्यकालमा सम्झन लायक काम गरेकी छैनन्।

समाजवादी पार्टीका सचिवालय सदस्य रहेकी धमला तीनवर्ष अघिमात्र नेकपा प्रवेश गरेकी थिइन्। २०६४ मा धादिङ–२ बाट निर्वाचित धमला यसपटक सत्ता गठबन्धनको सहयोगमा उम्मेदवार बनेकी हुन्। धादिङमा उनको अहिले पनि राम्रो प्रभाव भएकाले नागढुंगा आसपासबाट राम्रो मत पाउनेमा उनी विश्वस्त छिन्। उनी पछिल्लो समय पार्टीको स्वास्थ्य विभागमा छिन्।

यसैबीच साझा पार्टी नेपालको चुनाव चिह्नमा उम्मेदवारी दिएका मिलन पाण्डे भने यी दुई प्रतिद्वन्द्वीसामु अलि काँचै देखिन्छन्। उनीसँग न सांसद बनेको अनुभव छ न त मन्त्रीकै। तर, सिभिल इन्जिनियर पाण्डे यसपटक मतदाताले विकल्प खोजेको आफ्नो अभियानमा अडिग छन्। राजनीतिक तथा सामाजिक अभियन्ता पाण्डेले राजनीति, समाज अनि शिक्षाको बारेमा विभिन्न लेखहरू लेख्ने गर्छन्।

उनले अब संसदबाटै शिक्षा, स्वास्थ्य, युवा रोजगारका निम्ति आवाज उठाउने बताउँदै आएका छन्।

पर्खाइ मंसिर ४ को!
स्थानीय तह निर्वाचनको मत परिणामले हेर्दा कांग्रेस बलियो देखिए पनि एमालेको राम्रो प्रभाव भएको क्षेत्रमा पाण्डेले के गर्लान् भनेर हेर्न बाँकी नै छ।

शहरका अव्यवस्थित पार्किङ, ट्राफिक समस्या, नागढुंगा सुरुङ्ग मार्ग र अव्यवस्थित डेरावाला समस्या यहाँको प्रमुख समस्याहरू हुन्।

नाकाका अन्य जिल्लामा पनि राम्रो प्रभाव भएका कारण त्यहाँ बाट बसाइसराइ गरेर आएका मतदाताहरूलाई आफ्नो पक्षमा पार्नसके गठबन्धनकी उम्मेदवार धमलालाई सहज हुनेछ।

कोर एरियाको मतदाताहरू माझ आफ्नो लोकप्रिय छवि भएका कारण श्रेष्ठको पनि जित्ने आधार छ। अब यसबीचमा विभाजित मतदातामाथि पाण्डेले आफ्नो छवि र लोकप्रियता बढाउन सके केहि हदसम्म अन्य प्रतिस्पर्धीभन्दा उनको पनि सम्भावना प्रबल देखिन्छ नै। 

यसैबीच श्रेष्ठको भन्दा पाँच हजार बढी मत ल्याएर आफू विजयी हुने धमलाले बताएकी छन्।

१ कात्तिक, २०७९, १८:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।