काठमाडौं–१० : प्रचण्ड हराएर सांसद बनेका राजन नेतृत्त्वमा सधैं कमजोर, एमालेका हिमेशको सम्भावना कति ?

काठमाडौं–१० : प्रचण्ड हराएर सांसद बनेका राजन नेतृत्त्वमा सधैं कमजोर, एमालेका हिमेशको सम्भावना कति ?

काठमाडौं : २०६४ को संविधान सभाको चुनावको रापतापै अर्कै थियो। नयाँ शक्तिको रूपमा उदाएको माओवादी भर्सेज पूराना संसदवादी दल।

त्यतिबेला माओवादीले गाउँ–गाउँ मा भन्थे ‘हामीले हार्यौं भने फेरि तपाईंहरूलाई दुःख दिन्छौं। तपाईंहरूले कहाँ मत हाल्नुहुन्छ हामी देख्छौं। हामीलाई नहाले कुन हविगत हुन्छ हेर्नुहोला।’

नागरिकलाई त्रासमै राखेर चुनाव जित्ने रणनीति थियो माओवादीको। नागरिकहरू भन्थे, ‘यसपाली माओवादीलाई जिताइदिन पाए उतै काठमाडौंतिर भुल्छन्, हामीलाई सताउँदैनन्।’ अर्का थरिको भनाइमा थोरै आशा पनि मिसिएको थियो, ‘पूराना दलले केही गरेनन्, माओवादीले गर्छ कि!’

आशा, भरोशा, डर, त्रासकाबीच भएको निर्वाचनमा माओवादीले जित्यो पनि। पहिलो दल भयो। माओवादी अध्यक्ष प्रचण्डको क्रेज यस्तो थियो कि रोल्पा र काठमाडौं–१० दुवै ठाउँबाट भारी मतान्तरले जिते उनले। पूराना संसदवादी दलहरू नराम्रोसँग हारे। कांग्रेसले जसोतसो नतिजा स्वीकार्दा एमालेले पछिसम्मै नतिजा स्वीकारेन।

पहिलो संविधान सभाले संविधान बनाउन सकेन। दलहरूबीच यति लफडा भयो कि दोस्रो संविधान सभाको चुनाव गर्न पर्ने भयो। २०७० सालमा भएको चुनावमा माओवादीको रापताप सेलाइसकेको थियो। माओवादीबाट चोइटिएर बनेको वैद्य नेतृत्त्वको माओवादीले सकेसम्म चुनावै हुन नदिने र भएको खण्डमा पनि माओवादीलाई भोट नदिने घोषणा गरेको थियो।

गाउँतिर वैद्य नेतृत्त्वको माओ्वादीले भनेको थियो, ‘अरु जसलाई दिए पनि हुन्छ माओवादीलाई नदिनू।’

६ वर्षअघिको चुनावमा झण्डै दुई तिहाइ ल्याएको माओवादीले २०७० सालमा तेस्रो पार्टीमा खुम्चियो। माओवादी अध्यक्ष प्रचण्डले काठमाडौं–१० र सिरहा-५बाट निवार्चनमा उम्मेदवारी दिए। तर, काठमाडौंमा पराजित भए। कांग्रेसका राजन केसी विजयी भए।

प्रचण्डसँग मैदानमा भिड्न जुटेका राजन केसीले २० हजार ३९२ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी प्रचण्ड नभएर एमालेका सुरेश मानन्धर बन्न पुगे। जसले १३ हजार ६१५ मत ल्याउँदा तेस्रो भएका प्रचण्डले १२ हजार ८५२ मत मात्र प्राप्त गरे। सिरहामा प्रचण्डलाई जिताउन गरिएको तिकडमको अझै चर्चा हुने गर्छ।

सबै भन्दा ठूलो दल बन्यो कांग्रेस। माओवादीलाई चुनावी परिणाम स्वीकार्न गाह्रो भयो। देशैभरी माओवादीको माहोल भएको ६४ सालको चुनावबाट कांग्रेस–एमाले माहोल भएको ७० को चुनावी नतिजा माओवादीले जेनतेन स्वीकार्यो।

काठमाडौं–१० मा प्रचण्डलाई हराउन सफल भएका केसीको देशभर चर्चा भयो। प्रचण्डलाई हराउन सफल भएरै हुन सक्छ ७४ मा पनि उनैले टिकट पाए। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका केसी २४ हजार १९० मतसहित निर्वाचित भए।

उनका प्रतिस्पर्धी माओवादी केन्द्रका हितमान शाक्यले २१ हजार ९०७ मत ल्याए। अहिले पनि उनै केसीले काठमाडौं १० को टिकट पाएका छन्। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका केसी बलिया उम्मेदवार मानिन्छन्। अन्य स्थानमा गठबन्धन भए पनि काठमाडौं– १० मा गठबन्धन भएको छैन। अञ्जना विशंखेले माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी छन्।

शीर्ष नेता हराउन तागत राख्नेको नेतृत्त्व किन कमजोर?
‘माओवादीले संविधान बनाउने नाममा मुलुकभर चार वर्ष जुन वितण्डा मच्चायो। र, यो क्षेत्रमा प्रचण्डले जितेर फर्केर पनि नहेरेपछि मेरो जितको कारण बन्यो,’ २०६४ मा चुनाव जितेपछि केसीले भनेका थिए, ‘मेरो क्षेत्रमा मात्र होइन्, माओवादीको आँधीबेहरी देशभरि नै बन्द भयो।’

माओवादीको आँधीबेहरी देशभरि त बन्दै भयो। २०७४ मा पनि राजन केसीले नै जित हात पारे। तर, राजधानी भइकन पनि काठमाडौं–१० भौगोलिक रूपले अत्यन्त विकट मानिन्छ। यो क्षेत्र एकातिर धादिङ र अर्कोतिर मकवानपुर जिल्लासँग जोडिएको छ। यो क्षेत्रले प्रचण्ड नेता पाए पनि विकास पाएन। केसीले हराए पनि सोचे अनरूप विकास भएन।

केसीको जन्म चोभारमा भएको हो। अर्थशास्त्रमा एमए गरेका केसीका बुवा आफैं सरकारी राइटर हुन्। परिवारका कान्छा छोरा केसी २०४६ सालको आन्दोलनसँगै पूर्णकालीन राजनीतिमा प्रवेश गरेका हुन्। २०४७ सालमा उनी नेपाली कांग्रेस चोभार गाविसको इकाइ सभापति भए।

२०४९ को स्थानीय निर्वाचनमा चोभार गाविस वडा नम्बर २ को वडाअध्यक्ष निर्वाचित भएसँगै काठमाडौं जिल्ला विकास समितिको इलाका सदस्य बने उनी। २०५४ सालको स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको नगर समिति सदस्यमा निर्वाचित भए केसी।

त्यस्तै, २०५४ सालमा कांग्रेसको क्षेत्रीय समिति सभापति निर्वाचित भए। कांग्रेस महासमिति सदस्य भएका केसी अहिले कांग्रेस केन्द्रीय सदस्य छन्। लगातार सांसद भए पनि सदनमा उनको गर्विलो प्रस्तुति देखिएन। राष्ट्रिय स्तरको मुद्दामा केसीले सदनमा हाँक दिन सक्ने गरी बोलेनन्।

प्रचण्डलाई हराएर केसी सांसद र मन्त्री त बने। तर, नेतृत्त्व दिन सकेनन्। अहिले पनि उनै केसीलाई टिकट दिएको छ कांग्रेसले। तर, तेस्रो पटक उम्मेदवारी दिइरहँदा स्पष्ट एजेण्डा भने उनीसँग भएको देखिँदैन।

को बलियो ?
काठमाडौं–१० मा कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका १० वडा (१, १२, १३, १४ र १५ बाहेक) र दक्षिणकाली नगरपालिका पर्छ। स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा यहाँ कांग्रेसको पकड बलियो देखिन्छ।

कांग्रेस २४ हजार ६७५ मतले पहिलो हुँदा एमाले १८ हजार ८३८ मतले दोस्रो छ। माओवादी केन्द्रको ४ हजार ९४२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को २ हजार ४९६ र एकीकृत समाजवादीको पक्षमा १ हजार ३४२ मत आएको देखिन्छ। 

यदि स्थानीय तहमा कांग्रेसलाई मत दिएका मतदाताको मन नबदलिए राजन केसीले जित्नेछन्। एमालेका ३९ वर्षीय युवा नेता हिमेश केसीले पनि केसीलाई उत्तिकै चुनौती दिने देखिन्छ। युवाकाे क्रेज बढिरहेकाे सन्दर्भमा यसअघिका केसीकाे मत पनि उनले तान्ने देखिन्छ।

३१ असोज, २०७९, १६:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।