'रेडलाइट' योजनाले विवादित गुरुङलाई जित्न कांग्रेस वीपीको भर

'रेडलाइट' योजनाले विवादित गुरुङलाई जित्न कांग्रेस वीपीको भर

काठमाडौं : लमजुङ जिल्लामा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले पुरानै अनुहारलाई निर्वाचनमा उठाएका छन्। २०७० सालमा क्षेत्र नम्बर १ बाट कांग्रेसका डा टकराज गुरुङ, एमालेबाट जमिन्द्रमान घलेबीच प्रतिस्पर्धा भएको थियो।

कांग्रेसले अन्तर्घात गरेका कारण घलेले चुनाव जिते। उता क्षेत्र नम्बर दुईमा चिरपरिचित अनुहार पृथ्वी सुब्बा गुरुङ उठे। २०४३ देखि निर्वाचनमा भाग लिए पनि गुरुङले पहिलो पटक २०६४ मा जितेका थिए।

संविधान सभा सदस्य भएपछि केही समय अशोक राई एमालेबाट चोइटिँदा उनी त्यतै लागेका थिए। गुरुङले ‘क्षेत्रीलाई फाँसी, बाहुनलाई काशी’ भनेको भनाइ निकै चर्चित थ्यो त्यो बेला जिल्लामा।

यसकै असर २०७० को चुनावमा देखियो। उनी पराजित भए। कांग्रेसका उम्मेदवार चन्द्र बहादुर कुँवरले जिते। संविधान जारी भएसँगै राज्य पुनः संरचना भयो।

लमजुङमा एक प्रतिनिधि सभाको लागि र दुई प्रदेश सभाको लागि प्रत्यक्षतर्फ जनप्रतिनिधि चुनिने भए। २०७४ मा भएको चुनावमा एमालेको समर्थनमा माओवादीका नेता देव प्रसाद गुरुङले प्रतिनिधि सभा जिते कांग्रेसका दिल बहादुर घर्तीले नराम्रोसँग हारे।

प्रदेश सभामा दुवैतर्फ एमालेले जित्यो। ‘क’ मा कांग्रेसका गर्जबहादुर गुरुङलाई एमालेका धनञ्जय दवाडीले हराए। ‘ख’ मा पृथ्वी सुब्बा गुरुङ विजयी भए। कांग्रेसका कृष्ण कोइराला पराजित भए।

चुनावमा जित र हारको शृङ्खला स्वाभाविक हुन्। तर, कसैको जितले आम नागरिकलाई के प्रभाव पर्यो ? कस्तो नीति बनाउनाले दूरगामी प्रभाव के पर्यो ? ऐन नियम बनाउँदा कुनै सांसदले विधायिका बनाउँदा कुनै अमुक दलालीको पक्षमा लागेकी देशको हितमा  यो नै महत्त्वपूर्ण हुने गर्छ।

समग्र देशकै चुनाव कसले जित्छ र हार्छ भन्नेमै सीमित छ। लमजुङमा पनि जुनसुकै दलका नेताले जिते पनि नागरिकले परिवर्तन हुने गरी केही महसुस गर्न पाएका छैनन्। राष्ट्रिय मुद्दामा पनि लमजुङका नेताले प्रभाव पार्न सकेको देखिँदैन।

कांग्रेसको त १४औं महाधिवेशनपछि केन्द्रीय सदस्य समेत भएनन् जिल्लाबाट। माओवादीले महासचिव र एमालेले उप-महासचिव पाए। राष्ट्रिय तहमा हस्तक्षेप गर्न सक्ने भए पनि जिल्लाको सर्वोपरि हितलाई ध्यानमा राखेर काम गरेको देखिँदैन। मिसन र भिजनमा समस्या देखिन्छ लमजुङे नेतामा पनि। 

लमजुङ जिल्लाबाट निर्वाचित पृथ्वी सुब्बा गुरुङ गण्डकीको मुख्यमन्त्री भए। अन्य प्रदेशको तुलनामा गुरुङ कम विवादित भए। सङ्घीयता कार्यान्वयन मधेस प्रदेश र गण्डकी प्रदेशले नै सङ्घीय सरकारको इकाई हैन भन्ने खुलेआम भन्न सके। प्रदेशको नामकरण र प्रदेश राजधानीमा उति सारो विवाद देखिएन गण्डकीमा। ऐन कानुनको उपलब्धि औसत नै रह्यो।

तर, गुरुङ विकास निर्माणको काममा चुके। आफ्नै जिल्लामा समेत निर्वाचन जितेको ‘ख’ मा धेरै काम गर्ने ‘क’ लाई भने पाखा पारेको देखियो। चार दशक अघिदेखि डुम्रे बेसीँशहर सडक खण्ड सिगंल वे जस्तो देखिन्छ। दुई तर्फका गाडी सहजै पास हुन सक्दैनन्। गुरुङले यो बाटो बनाउन ध्यान दिएको देखिएन।

कनिका छरेजस्तो गरी बजेट छरेर यो बाटो बन्ने देखिँदैन। बाटो मात्रै होइन उनले अन्य समावेशिता विकास गर्नबाट चुकेको देखिन्छ। गण्डकी प्रदेशलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हब बनाउन सकिन्थ्यो। गुरुङले यतातर्फ ध्यान दिएनन्।

बरु कास्कीका डाँडामा रेड लाइट एरिया घोषणा गर्ने कुराले चर्चा पायो। यौनकर्मीहरूले यो कुराको स्वागत समेत गरेका थिए। तर धेरै विवाद भएपछि  रेड लाइट एरिया घोषणा भएन।

यदि तत्कालीन नेकपा भित्र विवाद हुँदैनथ्यो भने गुरुङको पूरै कार्यकाल चल्थ्यो। त्यति बेला गुरुङले प्रदेश सभा विघटन गर्छन् भन्ने हल्ला थियो। धन्न ओलीकै लाइन समातेर उनले प्रदेश सभा विघटन गरेनन्।

पहिचानवादीको प्रतिस्पर्धा

प्रतिनिधि सभामा एक सिट मात्र रहेको लमजुङमा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र गठबन्धनको तर्फबाट माओवादीका महासचिव देव गुरुङ प्रतिस्पर्धी छन्।

पृथ्वी सुब्बा प्रदेश सभाको लागि पेस भए नि कास्कीबाट एमाले नेता खगराज अधिकारी प्रदेश सभामा उठ्ने भएपछि ओलीले सुब्बालाई प्रतिनिधि सभामा टिकट दिए।

सुब्बालाई नजिकबाट चिन्नेहरू भन्छन् सुब्बा देव गुरुङसँग लड्नै चाहेका थिएनन्। सुब्बाको सोचाइ प्रदेश सभा ख मा आफू विजयी हुने प्रतिनिधि सभामा देव गुरुङ र क बाट कांग्रेसका डा टकराज गुरुङ आउन भन्ने चाहन्थे। तर, सुब्बाले सोचे अनुरूप भएन।

प्रदेश 'क' मा डा टक राज गुरुङ र एमालेका जमिन्द्रमान घले 'ख' मा कांग्रेसका भेष बहादुर पौडेल र एमालेका कृष्ण प्रसाद अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ।

लमजुङमा  गुरुङ समुदायको बाहुल्यता रहेको हुँदा प्रदेश 'क' को चुनाव र प्रतिनिधि सभाको चुनावलाई रोचक तरिकाले हेरिएको छ। किनभने सङ्घमा पनि गुरुङहरूबीच प्रतिस्पर्धा र प्रदेश सभा 'क' मा पनि त्यही देखिएको छ।

जित कसको?

माओवादीमा महासचिव को बन्ने भनेर वर्षमान पुन र जनार्दन शर्मा प्रभाकारबिच हानथाप भएपछि त्यसको फाइदा देव गुरुङलाई भयो। उनी महासचिव भए।

मनाङ जन्मथलो भए पनि लमजुङबाट दोस्रो पटक चुनाव लडेका गुरुङ 'हार्डकोर' माओवादी हुन्। नेपाली कांग्रेस वीपीले उनलाई अप्ठ्यारो पार्ने देखिन्छ। कांग्रेस नेता लक्ष्मीकान्त पौडेल प्रतिनिधि सभाका लागि उठेका छन्।

माओवादी द्वन्द्वकालमा कांग्रेस निकट भनिएका शिक्षक मुक्तिनाथ अधिकारीको माओवादीले हत्या गरेको थियो। कांग्रेस कार्यकर्तालाई अपहरण गर्नेदेखि कुटपिट गर्नेसम्ममा माओवादी सक्रिय थिए।

कांग्रेसका 'हार्डकोर' कार्यकर्ताले देव गुरुङलाई मत दिन गाह्राे देखिन्छ। वीपी कांग्रेसमा कांग्रेस कार्यकर्ताको भोट जाँदा देव गुरुङलाई घाटा पृथ्वी सुब्बा गुरुङलाई फाइदा हुने देखिन्छ। 

प्रदेश सभा ‘क’ तर्फको निर्वाचन पनि रोचक हुने देखिन्छ। गुरुङ समुदायको भोट निर्णायक मानिने गरेकोमा डा. टक राज गुरुङ र जमिन्द्रमान घलेको प्रतिस्पर्धाले गुरुङ समुदायको भोट बाँडिने देखिन्छ।

‘ख’ मा भने कांग्रेसका पौडेल र एमालेका अधिकारीबीच प्रतिस्पर्धा पनि रोचक नै हुने देखिन्छ। कांग्रेसका जिल्ला पूर्व सभापति भइसकेका पौडेल र एमालेका वर्तमान अध्यक्ष रहेका अधिकारी दुवै 'हेभीवेट' हुन् जिल्लाका लागि।

आसन्न स्थानीय तहमा एमाले बलियो

लमजुङमा कुल ८  स्थानीय तह छ। नगरपालिका ४ र गाउँपालिका ४ छन्। वैशाखमा भएको स्थानीय तहको नतिजा अनुसार कांग्रेसले ४ र एमालेले ४ स्थानमा जित हासिल गरेका छन्।

एमालेले क्व्होलासोथार गाउँपालिका, दोर्दी गाउँपालिका, बेंसीशहर नगरपालिका, मर्स्याङ्दी गाउँपालिकामा जित हासिल गरेको थियो भने  कांग्रेसले दूध पोखरी गाउँपालिका, मध्य नेपाल नगरपालिका, राइनास नगरपालिका, सुन्दरबजार नगरपालिका जितेको छ।

उपप्रमुखमा भने एमालेले ५ स्थानीय तहमा, माओवादीले २ स्थानीय तहमा र कांग्रेसले १ वटामा जितेको छ।

जिल्लामा नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षहरूले प्राप्त गरेको मत अनुसार एमालेको पक्षमा ४२ हजार सात सय २१ मत आएको छ भने गठबन्धन दलहरूका प्रमुख उम्मेदवारहरूको मत ४१ हजार ६३ रहेको छ।

स्थानीय तहको निर्वाचनमा पालिका प्रमुखहरूले प्राप्त गरेको मत अनुसार निर्वाचन क्षेत्र 'ख' मा एमालेको मत धेरै छ भने निर्वाचन क्षेत्र प्रदेश 'क' मा गठबन्धनको मत भार बढी देखिएको छ।

प्रदेश 'क' मा गठबन्धन दल चार सय २१ मतले अगाडी देखिएको थियो भने  भने प्रदेश 'ख' मा दुई हजार ७९ मत ले नेकपा एमाले अगाडी देखिएको छ।

यसरी हेर्दा प्रदेश 'क' मा कांग्रेसका डा. टक राज गुरुङ र प्रदेश 'ख' मा  एमालेका कृष्ण प्रसाद अधिकारीले जित्ने देखिन्छ भने प्रतिनिधि सभामा पृथ्वी सुब्बाले जित्ने देखिन्छ। 

निर्वाचन मत परिणाम अनुसार प्रदेश सभा 'क' मा गठबन्धन दलका उम्मेदवारहरूको प्राप्त मत २० हजार एक सय २७ रहेको छ। सोही निर्वाचन क्षेत्रमा एमालेको पक्षमा १९ हजार सात सय ६ मत परेको छ।

त्यसै गरी प्रदेश सभा 'ख' मा गठबन्धन दलका उम्मेदवारहरूको पक्षमा २० हजार नौ सय ३६ मत परेको छ भने नेकपा एमालेको पक्षमा २३ हजार १५ मत आएको थियो।

प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रदेश निर्वाचन क्षेत्र 'क' अन्तर्गत राईनास नगरपालिका, दुधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका, मर्स्याङ्दी गाउँपालिका र बेसीशहर नगरपालिकाको वडा नम्बर १० र ११ रहेका छन्।

त्यसैगरी, प्रदेश सभा निर्वाचन क्षेत्र 'ख' मा बेसीशहरका एक देखि ९ सम्मका वडा, सुन्दरवजार नगरपालिका, मध्य नेपाल नगरपालिका र क्होलासोँथार गाउँपालिका रहेका छन्।

३० असोज, २०७९, १७:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।