गण्डकी प्रदेशका भावी मुख्यमन्त्रीका दावेदारलाई अन्तरघातकै डर !

गण्डकी प्रदेशका भावी मुख्यमन्त्रीका दावेदारलाई अन्तरघातकै डर !

पोखरा: गण्डकी प्रदेशका यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ यसपटक संघीय निर्वाचन लड्दै छन्। वर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सक्रिय राजनीतिबाट बिदा लिन लागेका छन्। 

त्यसैले आसन्न प्रदेश सभा निर्वाचनपछि गण्डकीमा नयाँ अनुहार मुख्यमन्त्री बन्ने पक्का भएकाले प्रदेशमा भावी मुख्यमन्त्रीको चर्चा अत्यधिक हुन थालेको छ।

०००
विगतमा एक्लाएक्लै चुनाव लड्दा गण्डकीका अधिकांश निर्वाचन क्षेत्रमा एमालेले झिनो मतान्तरले धेरै ठाउँ जितेको थियो। यसपटक दलहरूबीच गठबन्धन भएकाले सजिलै एमालेलाई हराउने गठबन्धनको दावी छ।

यसपटकको मुख्यमन्त्रीको लागि गठबन्धनको ठूलो दल नेपाली कांग्रेसबाट धेरै आकांक्षीहरू देखिएका छन्। कांग्रेसभित्र व्यक्तिपिछे देखिएको गुटका कारण आकांक्षीहरू पनि गुटकै आधारमा देखिएका छन्। 

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चासहितको गठबन्धनले आफ्नो तर्फबाट आगामी मुख्यमन्त्री र मन्त्री बनाउने गरी उम्मेदवार चयन गरेका छन्। 

२०४६ सालपछिका निर्वाचनमा हाल गण्डकी प्रदेश कायम भएका अधिकांश जिल्लामा कांग्रेसले निर्वाचन जितेको भए पनि पछिल्लो समय गण्डकीका ११ जिल्लाअन्तर्गत प्रतिनिधि सभाका १८ र प्रदेश सभाका ३६ स्थानमध्ये अधिकांश क्षेत्रमा एमालेले विजय हासिल गरेको थियो।

गण्डकी प्रदेश एमालेमा पनि अझ 'केपी ओली पकड क्षेत्र'का रूपमा परिचित छ। पार्टी विभाजनका बेला प्रदेशमा तत्कालीन एमालेका २८ सांसदमध्ये बागलुङका इन्द्रलाल सापकोटाबाहेका सबै ओली पक्षका थिए। 

पार्टी विभाजनअगाडि माधव नेपाल पक्षमा रहेका सापकोटा पनि पछि ओली पक्षमै लागेका थिए। अहिले एमालेले त्यही वर्चश्व कायम गर्दै गण्डकीका अधिकांश स्थानमा विजय हासिल गर्ने दावी गरिरहेको छ।

कांग्रेसका धेरै आकांक्षी
यसपटकको मुख्यमन्त्रीको लागि गठबन्धनको ठूलो दल नेपाली कांग्रेसबाट धेरै आकांक्षीहरू देखिएका छन्। कांग्रेसभित्र व्यक्तिपिछे देखिएको गुटका कारण आकांक्षीहरू पनि गुटकै आधारमा देखिएका छन्। 

कांग्रेसबाट मुख्यमन्त्री दावी गर्नेमा पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मासहित विन्दुकुमार थापा, ध्रुव वाग्ले, सुरेन्द्रराज पाण्डे देखिएका छन्। 

त्यसैगरी माओवादी केन्द्रका हरि चुमान पनि मुख्यमन्त्रीको दावेदार हुन्। उनी यसअघि पृथ्वीसुब्बा गुरुङ नेतृत्त्वको सरकारमा तीन वर्ष मन्त्री बनेका थिए।

वाग्लेले स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवार हराउन गोविन्दराजको समर्थन रहेको उम्मेदवारलाई सघाएको आरोप लागेको थियो। अहिले उनै वाग्लेले प्रदेशमा मुख्यमन्त्री बन्न आकांक्षा देखाएको बुझिएको छ।

कांग्रेसका आकांक्षीमध्ये शुक्रराज शर्मा लामो समय कास्की कांग्रेसको सभापति भएका थिए। उनी राष्ट्रिय सभा सदस्य समेत बनेका थिए। शर्मा अहिले नेपाली कांग्रेसको तर्फबाट गण्डकीको समानुपातिक सूचीमा पहिलो नम्बरमा छन्। 

समानुपातिक सूचीको दोस्रो नम्बरमा मुख्यमन्त्रीको दावेदारका रूपमा रहेका तनहुँका ध्रुव वाग्लेको नाम छ। उनले तनहुँ कांग्रेसमा विभिन्न जिम्मेवारी निभाएका छन्। तर, पछिल्लो समय कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध उनीलगायतका नेताहरूले तनहुँमा गुट चलाइरहेका छन्। 

उनी गोविन्दराज जोशी निकट मानिन्छन्। गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवार हराउन भूमिका खेलेको आरोपमा उनलाई कारबाही गर्न सिफारिस गरिएको थियो। 

वाग्लेले स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवार हराउन गोविन्दराजको समर्थन रहेको उम्मेदवारलाई सघाएको आरोप लागेको थियो। अहिले उनै वाग्लेले प्रदेशमा मुख्यमन्त्री बन्न आकांक्षा देखाएको बुझिएको छ।

त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका पूर्वसदस्य सुरेन्द्रराज पाण्डे गोखराबाट प्रदेश सभा निर्वाचन लड्दै छन्। उनी पनि मुख्यमन्त्री ताक्दै छन्।

अहिले गण्डकी प्रदेशका कानूनमन्त्री रहेका विन्दुकुमार थापा पनि सम्भावित मुख्यमन्त्री हुन्।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट थापाले आगामी मुख्यमन्त्रीको रूपमा आफूलाई दावी गरिरहेका छन्। 

एउटै क्षेत्रमा मुख्यमन्त्रीका दुई दावेदार भएपछि खड्का चिप्लिए
गण्डकीका मुख्यमन्त्रीको दावेदार एवं बहालवाला भौतिक योजना तथा यातायातमन्त्री कुमार खड्का कांग्रेसभित्रको गुटगत राजनीतिको चक्रव्यूहमा परेका छन्।

मुख्यमन्त्री बन्ने रस्साकस्सीमा खड्कालाई टिकटबाट बञ्चित गरिएकाले उनले अन्तरघात गरे भने मुख्यमन्त्रीको रूपमा हेरिएका थापा समेत कतै पराजित त हुने होइन भन्ने चर्चा समेत कास्कीमा चलिरहेको छ। प्रदेश, जिल्ला र आफ्नो क्षेत्रमा पनि यी दुईको सम्बन्ध सुमधुर छैन। एकले अर्कालाई प्रतिस्पर्धी ठानेकाले निर्वाचनमा अन्तरघात हुने सम्भावना थापापक्षले देखेको छ। 

अघिल्लोपटक कांग्रेसले जितेको कास्की २ ‘ख’ मा बहालवाला न्याय तथा कानूनमन्त्री विन्दुकुमार थापाले त्यस क्षेत्रबाट टिकट पाए। यही क्षेत्र भएका कारण मन्त्री खड्का खाली हात भए।

मन्त्रीद्वय खड्का र थापा दुवै गण्डकीको मुख्यमन्त्रीको आकांक्षी भए पनि देउवाको कृपामा थापाले टिकट पाउन सफल भए। हुन चाहिँ उनीहरू दुवै देउवा निकट हुन्। 

यता कास्कीका दुवै चर्चित नेताले प्रदेश सभा रोजेपछि प्रतिनिधि सभाको निर्वाचन छायामा परेको छ। संघीय सांसदको साटो प्रदेशको मुख्यमन्त्री बन्न चाहेकाले खड्का उम्मेदवार हुनबाटै बञ्चित भए। 

खड्का अखण्ड नेपाल पार्टीलाई कांग्रेसमा विलय गराएर समानुपातिकबाट सांसद हुँदै मन्त्री बनेका थिए। उनले एक कार्यक्रममा आफूलाई मुख्यमन्त्री पाउनेगरी टिकट नदिए पार्टी सभापति शेरबहादुर देउवाकै अगाडि च्यातेर फालिदिने चेतावनी दिएका थिए।

मुख्यमन्त्री बन्ने रस्साकस्सीमा खड्कालाई टिकटबाट बञ्चित गरिएकाले उनले अन्तरघात गरे भने मुख्यमन्त्रीको रूपमा हेरिएका थापा समेत कतै पराजित त हुने होइन भन्ने चर्चा समेत कास्कीमा चलिरहेको छ। प्रदेश, जिल्ला र आफ्नो क्षेत्रमा पनि यी दुईको सम्बन्ध सुमधुर छैन। एकले अर्कालाई प्रतिस्पर्धी ठानेकाले निर्वाचनमा अन्तरघात हुने सम्भावना थापापक्षले देखेको छ। 

२०७४ को निर्वाचनमा गण्डकीका प्रत्यक्षतर्फका १८ सिटमध्ये कांग्रेसले ६ सिट मात्र जितेको थियो। प्रदेशमा मन्त्री बन्ने अधिकांश समानुपातिकबाट सांसद बनेकाहरू थिए।

यसअघिको सरकारमा कांग्रेसका तर्फबाट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र विन्दुकुमार थापा मात्र प्रत्यक्षबाट निर्वाचन जितेका थिए। मन्त्री बनेका कुमार खड्का, मणिभद्र शर्मा कँडेल, डोबाटे विश्वकर्मा समानुपातिक सांसद हुन्।

प्रतिनिधि सभाका तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा अघिल्लो पटकको निर्वाचनमा वाम गठबन्धनले 'क्लिन स्विप' गरेको थियो। प्रदेश सभाका ६ मध्ये एउटा निर्वाचन क्षेत्र मात्र कांग्रेसले जितेको थियो।

माओवादीका आकांक्षी
माओवादी केन्द्रबाट सम्भावित मुख्यमन्त्रीमा गण्डकी प्रदेशका पूर्व कानूनमन्त्री हरिबहादुर चुमानलाई हेरिएको छ। चुमान तनहुँ क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा निर्वाचन लड्दै छन्।

संघबाट ओर्लिएका अधिकारीको मुख्यमन्त्री बन्ने तयारी
त्यसैगरी एमालेमा पनि भावी मुख्यमन्त्रीका दावेदारहरू देखिएका छन्। विगतका अधिकांश निर्वाचनमा प्रतिनिधि सभाको निर्वाचन जितेर स्वास्थ्य र गृहमन्त्री समेत भएका खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री बन्ने योजनासहित प्रदेश सभा निर्वाचनमा होमिएका छन्। 

एमालेबाट प्रमुख दावेदार मानिएका खगराज एमाले गण्डकीका सबैभन्दा सिनियर उम्मेदवार हुन्। 

अधिकारी आगामी प्रदेश सभा निर्वाचनमा कास्की १ (क)बाट चुनाव लड्दै छन्। उनका प्रतिस्पर्धी गठबन्धनका दीपक कोइराला हुन्। उनी माओवादी केन्द्रका तर्फबाट यसअघि पनि त्यही क्षेत्रबाट निर्वाचित भएका थिए।

त्यसैगरी लमजुङका एमाले नेता जमिन्द्रमान घले पनि मुख्यमन्त्री बन्ने चर्चा छ। एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आइतबार लमजुङमा आयोजित एक कार्यक्रममा उनलाई भावी मुख्यमन्त्रीका रूपमा अर्थ्याएका थिए।

ओलीको चालबाट रन्थनिएका गुरुङ संघीय निर्वाचन नलड्ने भन्दै घुर्काउन थाले। ओलीलाई भेटेर प्रदेश सभामै टिकट दिन आग्रह समेत गरे। तर केही पार नलागेपछि उनी संघमै चुनाव लड्न तयार भए।

पार्टी विभाजन भए पनि गण्डकीमा नेकपा समाजवादीको प्रभाव सामान्य छ। त्यसैले पनि एमालेको विगतको विरासत मंसिर ४ को निर्वाचनपछि पनि कायम हुने उसको दावी छ।

मुख्यमन्त्री बन्ने आसमा पार्टीभित्रै हानाथाप
आगामी निर्वाचनमा गण्डकीमा एमाले सबैभन्दा ठूलो दल बन्ने आकलनसहित पुनः मुख्यमन्त्री बन्ने योजना लिएर संस्थापक मुख्यमन्त्री गुरुङ गृहजिल्ला लमजुङबाट प्रदेश सभा सदस्यमा निर्वाचन लड्न चाहेका थिए।

तर, पार्टी अध्यक्ष ओलीले उनले रोजेको प्रदेश सभाको टिकट दिएनन्। उनलाई बरू लमजुङबाट प्रतिनिधि सभाको उम्मेदवार बनाए। 

गुरुङ गण्डकीको मुख्यमन्त्री हुँदा प्रदेशलाई अधिकार दिन माग गर्दै पोखरामा मुख्यमन्त्रीहरू डाकेर भेला गरेपछि ओली असन्तुष्ट बनेका थिए। उनले गण्डकीमा पुनः मुख्यमन्त्री बन्ने लालसा पालेका गुरुङलाई संघमा मात्र तानेनन्, गुरुङको परस्पर प्रतिस्पर्धि खगराज अधिकारीलाई ओलीले मुख्यमन्त्री बनाउने योजनासहित कास्की क्षेत्र नं. १ को प्रदेश सभा ‘क’ बाट उम्मेदवार बनाए। 

ओलीको चालबाट रन्थनिएका गुरुङ संघीय निर्वाचन नलड्ने भन्दै घुर्काउन थाले। ओलीलाई भेटेर प्रदेश सभामै टिकट दिन आग्रह समेत गरे। तर केही पार नलागेपछि उनी संघमै चुनाव लड्न तयार भए।

एमालेमा लामो समयदेखि संगठन विभाग प्रमुख भएका अधिकारी र उपमहासचिव गुरुङबीच गुटगत लडाइँ चल्दै आएको छ।

लामो समयदेखि आन्तरिकरूपमा चलेको शक्तिसंघर्षमा अधिकारीले प्रदेश सभामा निर्वाचन लडेर मुख्यमन्त्री बन्न चाहेसँगै पृथ्बीसुब्बालाई संघमा पठाएर गण्डकीमा आफ्नो रजगज चलाउने योजनामा उनी सफल हुँदैछन्। तर यो प्रतिस्पर्धाले स्थानीय तह निर्वाचनमा जस्तै अन्तरघात त हुने होइन भन्ने डर अधिकारी पक्षमा छ। 

उनीहरूबीच २०७४ सालको स्थानीय तहको निर्वाचनदेखि नै शक्ति संघर्ष चल्दै आएको छ। त्यसबेला पोखरा महानगरपालिकाको मेयरको टिकट गुरुङनिकट मानबहादुर जिसी कि अधिकारीनिकटका कृष्णबहादुर थापालाई दिने भन्ने विषयमा दुई नेताबीच विवाद भएको थियो।

पछि गुरुङ मुख्यमन्त्री नै भएपछि कास्की एमालेमा समेत उनको रजगज चलेको थियो। लामो समयदेखि अधिकारीको वर्चश्व रहँदै आएको कास्कीमा गत अधिवेशनबाट कास्कीको नेतृत्त्वमा गुरुङनिकटकै मनबहादुर गुरुङ निर्वाचित भएका थिए। 

पृथ्बीसुब्बा र खगराजबीचको द्वन्द्वका कारण कास्कीको अधिवेशनमा मतदान नै भएको थियो। खगराजनिकट दामोदर बैरागीलाई पृथ्बीसुब्बानिकटका मनबहादुरले पराजित गरेका थिए। 

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि पोखरा महानगरको मेयरमा पृथ्बीसुब्बानिकट दीपक पौडेलले टिकट पाएका थिए। तर, पौडेलले मेयरको टिकट पाएको सार्वजनिक भएलगत्तै १० वर्ष पहिलेको भिडियो (पोखराको एक पसलबाट सुन चोरेको भनिएको) सार्वजनिक गरिएको थियो।

भिडियो सार्वजनिक भएको भोलिपल्टै पृथ्बीसुब्बानिकट पौडेलले पाएको मेयरको टिकट खगराजनिकट कृष्णबहादुर थापालाई दिइएको थियो। 

आफूनिकटका पौडेलले पाएको टिकट खोसेपछि थापालाई हराउन पृथ्बीसुब्बा गुटले योजना बनाएको अडियो सार्वजनिक भएको थियो।

लामो समयदेखि आन्तरिकरूपमा चलेको शक्तिसंघर्षमा अधिकारीले प्रदेश सभामा निर्वाचन लडेर मुख्यमन्त्री बन्न चाहेसँगै पृथ्बीसुब्बालाई संघमा पठाएर गण्डकीमा आफ्नो रजगज चलाउने योजनामा उनी सफल हुँदैछन्। तर यो प्रतिस्पर्धाले स्थानीय तह निर्वाचनमा जस्तै अन्तरघात त हुने होइन भन्ने डर अधिकारी पक्षमा छ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा ३६ उम्मेदवार प्रत्यक्षबाट चुनिन्छन्। २४ जना सांसद समानुपातिक प्रक्रियाबाट संसदमा छिर्छन्। गण्डकीमा सरकार गठनका लागि ३१ सांसदको समर्थन चाहिन्छ।

असोज २८, २०७९ शुक्रबार ०८:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।