जिल्ला नेतृत्त्वनै एमालेमा गाभिएपछि झाँक्रीलाई झमेला, विष्टको बाटो सहज

जिल्ला नेतृत्त्वनै एमालेमा गाभिएपछि झाँक्रीलाई झमेला, विष्टको बाटो सहज

बुटवल : भदौ २० गते गुल्मीमा एमाले उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टको उपस्थितिमा एकीकृत समाजवादीको नेतृत्त्व नै एमालेमा समाहित हुँदै पार्टी एकता नै घोषणा गरियो।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य गणेश खनाल र जिल्ला इन्चार्ज नरेश भण्डारीलाई यस्तोबेला एमालेमा प्रवेश गरे जतिबेला एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री गुल्मी–२ बाट चुनाव लड्ने तयारीका साथ प्रचारप्रसारमा थिइन्।

पार्टीको जिल्ला नेतृत्त्व नै एमालेमा समाहित भएको खबरले अत्तालिइन् झाँक्री। एमालेमा नेतृत्त्व नै समाहित हुँदा गुल्मीमा एकीकृत समाजवादी ‘नील’ जस्तै बनेको छ। पाँच दलीय भागबन्डामा गुल्मी–२ एकीकृत समाजवादीको कोटामा परेसँगै झाँक्रीले चुनाव लड्ने निश्चित भएको छ।

झाँक्रीले एमाले सचिव गोकर्ण विष्टसँग चुनाव लड्ने लगभग पक्कापक्की जस्तै छ। एमालेले गुल्मी–२ बाट विष्टसँगै राजेन्द्र अर्याल र लक्ष्मण पराजुलीको नाम सिफारिस गरे पनि अन्ततः विष्ट नै उम्मेदवार हुने एमाले उच्च स्रोत बताउँछ।

अनेरास्ववियूको विद्यार्थी राजनीतिबाट कहलिएकी झाँक्री ०७४ सालको निर्वाचनमा उनै विष्टको चुनावी अभियानमा थिइन्। एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीकी सचिव झाँक्री यो निर्वाचनमा बलियो नभएको जानकार बताउँछन्। उनको पार्टी उनको निर्वाचन क्षेत्रमा मात्र नभएर जिल्लामै नील भएको एमाले नेताको दाबी छ।

‘झाँक्रीजीको पार्टी उहाँको निर्वाचन क्षेत्रमा मात्र होइन, जिल्लामा नै नील छ,’ ती नेताले भने, ‘जिल्लामा समग्र १ हजार भोट छै्रन, विष्टसँग प्रतिस्पर्धा गरेर २० हजार बढि भोट ल्याउछु भन्नु आकाशको फल आँखा तरी मर भने जस्तै हो।’

नेपाली कांग्रेस, माओवादीको टेकोमा संसद छिर्ने झाँक्रीको योजना असम्भव प्राय भएको ती नेताले बताए। शिक्षा, स्वास्थ्य, सडक पुर्वधार, खानेपानी, विद्युतिकरण, गरिवी निवारणमा आफ्नो क्षेत्रमा राम्रो काम गरेकाले निर्वाचनमा आफ्नो जित निनिश्त भएको उनको दाबी छ।

‘कम्युनिष्टको किल्ला’
गुल्मी–२ लाई ‘कम्युनिष्टको किल्ला’ भन्दा फरक पर्दैन। २०४८ को निर्वाचनमा गुल्मीको तत्कालीन क्षेत्र नं. ३ बाट कांग्रेस उम्मेदवार रुद्रमणि शर्मा निर्वाचित भएपछि त्यहाँ अहिलेसम्म कांग्रेस परााजित छ।

२०५१ मा भएको मध्यावधि निर्वाचनसँगै २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा त्यहाँबाट कम्युनिष्ट नै विजयी भएका छन्। ०४८, ०५१, ०७० र ०७४ को निर्वाचन एमालेले जित्दा ०६४ को निर्वाचन माओवादीले जितेको थियो।

अहिलेको अवस्था
गठबन्धनको भागबन्डामा गुल्मी–२ एकीकृत समाजवादीलाई नै पर्ने पक्का भएकाले कम्युनिष्ट किल्ला तोड्ने कांग्रेसको ‘अवसर’ यस पटक पनि गुमेको छ। यसपटक कम्युनिष्टबीचमै प्रतिस्पर्धा हुने देखिन्छ।

‘गुल्मीमा नेपाली कांग्रेसले टिकट पाए एमालेलाई सहज रूपमा पराजित गर्न सकिने अहिलको अवस्था थियो,’ प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस भएका कांग्रेस नेता दामोदार भुसालले भने, ‘तर, अब भागबन्डा र त्यसपछिको परिस्थिति के हुन्छ, केही भन्न सकिँदैन।’

स्थानीय तहको वडाध्यक्षमा आएको मतलाई आधार मान्दा एमाले बलियो देखिए पनि यो निर्वाचन क्षेत्रमा पर्ने पाँचवटै स्थानीय तहको प्रमुख वा अध्यक्षमा भने एमाले पराजित छ। त्यस्तै ४३ वडामध्ये १७ वटामा मात्र एमालेका वडाध्यक्ष विजयी भएका छन्। बाँकी २६ मध्ये २५ मा कांग्रेस र एउटामा माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएका छन्।

तर, वडाध्यक्षमा आएको मतलाई आधार मान्ने हो भने एमाले १ हजार ७ सय २ मतले अघि छ। २०७४ कै स्थानीय चुनावलाई आधार मान्ने हो भने कांग्रेस एमालेभन्दा ५ हजार १ सय ४१ मतले पछि छ।

एमालेको ३१ हजार ५२३ मत छ भने नेपाली कांग्रेसको २९ हजार ८२१ मत छ। त्यस्तै माओवादीको १ हजार ८४१ मत हुँदा झाँक्रीको पार्टी एकीकृत समाजवादीको जम्मा ६५८ मत मात्र रहेको छ।

समग्रमा गठबन्धनको ३२ हजार ४२७ मत हुँदा एमालेको ३१ हजार ५२३ मत मात्र छ। तर, व्यक्ति विशेषका कारणले आउने मतले पनि विष्टलाई यस पटकको चुनाव निकै सहज भएको आकंलन जिल्लाका नेताहरूले गर्ने गरेका छन्।

१४ असोज, २०७९, १६:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।