उकेरा फिचर

गुह्येश्वरी शक्तिपीठ: जहाँ बायाँ हातले पूजा गर्नुपर्छ अनि मद्य, मांस र माछा चल्छ


आज असोज शुक्ल पञ्चमी तिथि अर्थात् दशैंको पाँचौँ दिन।

नेपाली परम्पराअनुसार घटस्थापनादेखि महानवमीसम्म नौ दिन नवदुर्गाको पूजा अराधना गरिने परम्परा छ। दशौं दिन विजयादशमीमा देवी विसर्जन गरिने परम्परा रहेको छ।

घटस्थापनाको दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी भगवती, तेस्रो दिन चन्द्रघण्टाको पूजा गरियो। यस्तै हिजो चौथो दिन कुष्माण्डाको पूजा अराधना गरियो।

आज भने पञ्चमीका दिन स्कन्दमाताको पूजा अराधना गरिन्छ। 

पौराणिक ग्रन्थअनुसार कुनै समय शिव र पार्वती ऋषिहरूका सभामा जाँदा सबैले उठेर स्वागत गरे। ऋषि सनतकुमार ध्यानमा मग्न भएकाले उठेनन्। यो पार्वतीलाई मन परेन।

पार्वतीले ऋषिलाई ‘तिमी ऊँट बन’ भनी श्राप दिइन्। ऋषि ऊँट बने। शिवले पार्वतीलाई ‘ज्ञानीलाई कुनै श्रापले स्पर्श गर्न सक्दैन, यसैले ऊँटका योनीमा पनि आफ्नो ब्रह्मस्वरूप ज्ञानले आनन्दमा मस्त छन्’ भनी दुवै दम्पती ऊँटधारी सनतकुमारलाई हेर्न गएछन्।

पार्वतीले ऋषिलाई ऊँटको योनिमा कस्तो अनुभव हुन्छ भनी सोद्धा ऋषिले ‘मलाई हजुरले ऊँटको योनी प्रदान गरेर ठूलो अनुग्रह गर्नुभयो’ ‘भोक लागेका बेला जङ्गलका काँडाहरू चपाउँछु र आनन्दसँग ब्रह्मचिन्तन गरेर बस्छु र मलाई यस योनीमा कुनै पनि कष्टको अनुभव छैन’ भनी उत्तर दिएछन्।

ऋषिको कुराबाट पार्वती प्रभावित हुँदै भनिछन्, ‘ऋषिजी तपाईं ज्यादै ठूलो ब्रह्मज्ञानी हुनुहुँदो रहेछ, यहाँको महत्त्व नबुझी मैले दिएको श्रापबाट मलाइ ठूलो पश्चात्ताप छ, अब म तपाईंलाई पुत्रका रूपमा प्राप्त गर्न चाहन्छु’ पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ।

स्कन्दको अर्थ सनतकुमार हो। स्कन्दमाताको प्रतिमा लक्षणमा यिनी सिंहासनमा बसेकी तथा दुवै हातले कमलपुष्प समाएको हुने विवरण पाइन्छ।

स्कन्दमाता ज्ञानलाई कर्ममा बदल्न प्रेरणा दिने देवी हुन्। उनको पूजा अराधना गरेमा व्यापार व्यवसायमा सफलता मिल्ने विश्वास गरिन्छ। यस्तै राज्यबाट पाइने सेवा सुविधामा वृद्धि हुने र रोजगारी लगायतका क्षेत्रमा पनि फल प्राप्त हुने विश्वास गरिन्छ।

स्कन्दमातालाई विशेषगरी फलफूल र त्यसमा पनि केरा चढाउने गरिन्छ।

स्कन्दमाता पहेँलो वर्णको रूपमा चित्रण गरिएको छ। उनको भक्ति गर्नाले सन्तान सुख पाइने पनि बताइन्छ।

000

नवदुर्गामध्येकी स्कन्दमाताको दर्शनसँगै अब आजको शक्तिपीठ दर्शन गरौँ। आज गुह्येश्वरीको पालो।

गुह्येश्वरीको कथा जोडिन्छ स्वस्थानी व्रत कथामा उल्लेख भएका राजा दक्षप्रजापति, सतिदेवी र शिवसँग।

दक्षप्रजापतिले आफ्नी छोरी सतिदेवी र ज्वाइँ शिवलाई यज्ञमा बोलाएनन्। बुवाले नबोलाए पनि यज्ञमा जान्छु भनेर सतिदेवी माइत गइन्। 

तर दक्षप्रजापतिले छोरी र ज्वाइँको अपमान गरे। सतिदेवीले आफ्नो अपमान त सहिन् तर श्रीमान्‌को अपमान सहन सकिनन्। उनले त्यहीँ यज्ञमा हाम फालेर प्राण त्याग गरिन्।

शिव क्रोधित भए। अनि सतिदेवीको मृत शरीर बोकेर पागल जस्तै भौँतारिन थाले। उनको त्यो पागलपन देखेर देवलोकमा बैठक बस्यो। सतिदेवीको शरीर कुहाउन माखा उत्पन्न गराइयो। माखाले उनको शरीर कुहाउँदै झार्ने क्रममा बागमतीको किनारमा आइपुग्दा गुह्य पतन भयो। यहीँ गुह्येश्वरी शक्तिपीठ उत्पन्न भयो।

मन्दिरको गर्भगृहभित्र एउटा सानो प्वाल छ। चाँदीको कलशले ढाकिएको मन्दिरभित्रको जलपूर्ण कुण्डलाई श्रद्धालुहरूले देवीको रूपमा पूजा गर्ने गर्छन्। 

गुह्येश्वरीको महिमा नेपाल महात्म्य, हिमवत्खण्ड, श्री स्वस्थानी व्रतकथा आदिमा पनि बताइएको छ।

यद्यपि, पुराणहरूमा भने यो ५१ शक्तिपीठहरूमध्ये सतिदेवीको दुई घुँडा पतन भएर उत्पत्ति भएको शक्तिपीठको रूपमा चित्रित छ। तर लोक विश्वासअनुसार यस स्थानमा सतीदेवीको योनी पतन भएर पीठ उत्पन्न भएको किंवदन्ती रहेको छ।

अर्को किंवदन्ती
परापूर्व काल। समुद्र मन्थनबाट विष उत्पन्न भयो। राख्ने ठाउँ भएन।  अनि महादेवले विषलाई अञ्जुलीमा लिए र स्वाट्टै निलिदिए। 

कालकुट विष गलामा राख्न नसकेपछि महादेव चिसो ठाउँ खोज्न निस्किए। उनी गोसाइँकुण्डतिर लागे। बीचमा गोकर्णेश्वरमा विश्राम गर्न बसे। महादेवको पछिपछि पार्वती पनि आएकी थिइन्। 

तर गोकर्णेश्वर आइपुग्दा पार्वतीको रजश्वला भयो। यसपछि महादेवसँगै हिँड्न पाइनन् उनी। त्यसैले चार दिनसम्म उनी त्यहीँ बसिन्। त्यसैले गोकर्णेश्वरलाई कतिपयले पुरानो गुह्येश्वरी पनि भन्छन्।

ऐतिहासिक विवरण
प्रताप मल्लअघिका अभिलेख पाइएको छैन। तापनि देवी भागवत पुराणमा शाक्तहरूले दर्शन गर्नुपर्ने स्थान नेपालको गुह्यकाली भन्ने उल्लेख छ।

यसैलाई गोपालवंशीहरूको पालामा गुह्येश्वरीको नामले वर्णन गरिएको अनुमान गरिएको छ।

फरक ठाउँमा फरक तरिकाले गुह्येश्वरीको व्याख्या विश्लेषण गरिएको छ। विभिन्न व्याख्याअनुसार यसलाई प्रताप मल्ल, जगज्जय मल्ल, शाहवंशीय राजाहरू लगायतले पुनर्निर्माण गर्दै आए।

यता हिमवत्खण्डमा व्याख्या गरिएअनुसार गुह्येश्वरी एक्ली छैनन्। करोडौं नामले युक्त भएकी ब्राह्मणी, करोडौं योगिनी र सिद्धयुक्त, कामविनायक र क्षेत्रपालले सुरक्षित राखेका छन्।

धमैदत्त खैलाधिपति नाम गरेका एक साधकले ध्यानपश्चात गुह्येश्वरीको व्याख्या यसरी गरेका थिए: 

१० मुख, ५४ हात, ३ आँखा, बिजुलीजस्तै जिब्रो, मुण्डमाला, बाघको छाला, डरलाग्दो दाह्रा, ढाल तरबार लिएकी, शमशानमा रहने, शवहरूले विभूषित, शवमाथि उभिरहने र रगत पिइरहने, बुद्धमार्गी, खगानमा, नैरात्म्य योगिनीका रूपमा उनी छिन्।

आश्विन शुक्ल नवमी तिथि गुह्येश्वरीको स्नान दर्शनका लागि अति उत्तम र फलदायी मानिएको छ। सतिदेवीको गुह्य पतन भएकाले बायाँ हातले पूजा गर्ने चलन यो मन्दिरमा छ।

घटस्थापनादेखि नै गुह्येश्वरीमा विशेष पूजा अराधना हुन्छ। तर यहाँ देवीहरूको कुनै मूर्ति भने छैन। गुह्येश्वरीलाई मद्य, मांस र माछा चल्छ। 

यहाँको कुण्डबाट माछा हात लागे ठूलो सफलता र सौभाग्य मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

त्रिपालमुनि भोट माग्न गएका उम्मेदवारलाई मतदाताको जवाफ- ‘लिखित वाचा नभए हाल्दैनौं भोटसोट’

रातिको १२ बजेको थियो। एक्कासी गड्याङगुडुङ आवाजसँगै छिमेकीहरू कराएको हल्ला चल्यो। महेन्द्र ब्यूँझिए, यस्सो घरबाहिर हेर्दा पहिरोले घरलाई दायाँबायाँबाट घेरा हालिसकेको थियो। बल्लतल्ल झ्यालबाट हाम....

गाउँमै व्यवसाय गर्न पनि सरकारसँग जुधिरहेका हरिबहादुर दम्पती

सिरीरी चलिरहेने सिरेटो र वरपरको सुन्दर दृश्यले जोकोहीलाई लोभ्याउँछ नै। यहि होम स्टे चलाउने हरि बहादुर घिमिरे र उनी श्रीमती स्वस्तिकाको भने आफ्नै दुःख छ।....

साँखुमा डाेकाे बुन्ने जयनारण भन्छन्- 'नेतालाई भोट हाल्नु र खोलामा ढुङ्गा हान्नु एकै हाे'

एक्लो सन्तान भएको र आफ्नो आर्थिक अवस्था कमजोर भएकै कारण उनले विद्यालय पढ्न जान समेत पाएनन्। गाउँघरमा खेती किसानीको काम गर्दा-गर्दा दिक्क भएका राईकाे दिमागमा....

३० वटा माटाका गिलासबाट सुरू भएकाे ‘दाह्री भाईको चिया पसल’, जहाँ मुख्यमन्त्री र मन्त्रीले चिया पिउँछन्

सुर्खेतमा प्रख्यात बनेको मट्का चियाको ‘ब्राण्ड’सँगै विभिन्न योजना र कुराकानी समेत हुन्छ यहाँ। चुनावी सरगर्मी चलिरहेका बेला अहिले उनको पसलमा राजनीतिका गफ पनि टन्नै हुन्छन्।....

१५ वर्षदेखि आँगनमै भाषण गर्दा पनि कुनै नेताले देखेनन् धर्मबहादुरको घर

कार्यक्रममा उनकै घरतिर माइक फर्काएर नेताहरू ठूल्ठूला स्वरमा भाषण गर्छन्– ‘हामी गरिबलाई धनी बनाउँछौं। बाटो, खानेपानी र बिजुली ल्याउँछौं। गरिबका खरले छाएका झुपडीमा टिन हाल्छौं।....