महरा स्थानीय चुनावको परिणामले डराएर समानुपातिकमा बस्दा पोखरेललाई संघीय संसद् छिर्न 'चिठ्ठा' !

महरा स्थानीय चुनावको परिणामले डराएर समानुपातिकमा बस्दा पोखरेललाई संघीय संसद् छिर्न 'चिठ्ठा' !

बुटवल: माओवादी केन्द्रले नेता कृष्णबहादुर महरालाई समानुपातिकतर्फ  राखेसँगै उनी अब प्रत्यक्ष निर्वाचनको 'रेस'बाट बाहिरिएका छन्। योसँगै गठबन्धनको बलमा एमाले महासचिव शंकर पोखरेललाई दाङ- २ मै रोक्ने महराको योजना पनि तुहिएको छ।

महरा आफ्नै रोजाइले समानुपातिकतर्फ गएका हुन् वा भागबण्डाको लागि? प्रश्न अनुत्तरित छ।

एउटा के चाहिँ हो भने, महाराले प्रत्यक्ष चुनावी प्रतिस्पर्धाबाट बाहिरिनु भनेको शंकर पोखरेलको जित ‘सहज’ हुनु हो। एमालेभित्रका कतिपय नेताहरू त पोखरेलले ‘वाकओभर’ नै पाएको बताउँछन्।

अब भागबण्डामा दाङ-२  नेपाली कांग्रेसले पाएको अवस्थामा पोखरेलका प्रतिस्पर्धी कमलकिशोर घिमिरे हुनेछन्।

२०७४ को निर्वाचनमा दाङ-२ बाट महरा प्रतिनिधि सभामा विजयी हुँदा त्यही निर्वाचन क्षेत्रको प्रदेश सभा (क) बाट पोखरेल निर्वाचित भएका थिए।

दाङको क्षेत्र नं १ र २ तथा रोल्पाबाट प्रतिनिधि सभामा उम्मेदवार सिफारिस भएका महरा समानुपातिक सूचीमा खस आर्य समुदायबाट एक नम्बरमा छन्। 

दाङका एक माओवादी नेताका अनुसार वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा गठबन्धनले त्यहाँ पराजय व्यहोरेकाले पनि महाराले यस पटक प्रत्यक्ष चुनावमा प्रतिस्पर्धा गर्ने आँट नगरेका हुन्। 

‘पोखरेललाई यस पटक बलियो उम्मेदवारको रूपमा हेरिएको छ। प्रदेशको राजधानी ल्याउनेदेखि जिल्लाका कामले पनि उनी बलियो मानिएका छन्। त्यसैले पनि महरा समानुपातिकतर्फ बसेको आकलन गर्न सकिन्छ’, ती माओवादी नेताले भने।

महराले २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चाबाट चुनाव जितेका थिए। दोस्रो जनआन्दोलनपछि अन्तरिम विधायक बनेका उनी २०६४, २०७० र २०७४ साल भएका निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका थिए। 

उनी उपप्रधानमन्त्रीसहित पाँच पटक मन्त्री तथा सभामुख भइसकेका छन्। माओवादीमा सबैभन्दा धेरै अवसर पाउने नेताको सूचीमा उनी रहेका छन्।

२०७४ को निर्वाचनमा दाङ-२ बाट महरा प्रतिनिधि सभामा विजयी हुँदा त्यही निर्वाचन क्षेत्रको प्रदेश सभा (क) बाट पोखरेल निर्वाचित भएका थिए।

पोखरेल लुम्बिनी प्रदेशको पहिलो मुख्यमन्त्री समेत बने। 

प्रतिनिधि सभामा महरासँग नेपाली कांग्रेसका नेता राजु खनाल भिडेका थिए। महराले ३९ हजार मत प्राप्त गरेका थिए भने नेता खनालले २६ हजार मत प्राप्त गरेका थिए। 

प्रदेश सभामा पोखरेलसँग कमलकिशोर घिमिरे चुनावी मैदानमा उत्रिएका थिए। पोखरेलले १७ हजार मत प्राप्त गरी विजयी हँदा घिमिरेले आठ हजार मत प्राप्त गरेका थिए।

क्षेत्र नं. २ अन्तर्गत सबैभन्दा धेरै पालिका र मतदाता घोराही उपमहानगरपालिकामा छन्। यहाँ एमाले विजयी भएको छ। 

त्यस्तै समानुपातिकतर्फ नेपाली कांग्रेसले दाङ क्षेत्र नं. २ मा २२ हजार ९२, नेकपा एमालले २२ हजार ६९ र नेकपा माओवादी केन्द्रले १७ हजार मत प्राप्त गरेको थियो। 

०७४ मा प्रत्यक्ष तथा समानुपातिकतर्फ सत्ता गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादीको मत परिणाम खस्केको थियो। तर यसपालीको निर्वाचनमा महरा प्रतिस्पर्धामा नआएपछि पोखरेललाई निकै सहज हुने भएको छ।

दाङ क्षेत्र न. २ मा घोराही उपमहानरपालिका, बंगालचुली गाउँपालिका र तुलसीपुर उपहानगरपालिका पर्छ। स्थानीय तहको निर्वाचनमा बंगलाचुली गाउँपालिका सत्ता गठबन्धनले पूरै सिट जितेको छ। 

अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष नेपाली कांग्रेससहित ८ वटै वडामा सत्ता गठबन्धनले जित हात पारेको छ। 

घोराही र तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेले जित हात पारेको छ। आफ्नो निर्वाचन क्षेत्रको स्थानीय तहको चुनावी परिणामका आधारमा माओवादी र एमाले एकअर्कासँग त्रसित छन्।

क्षेत्र नं. २ अन्तर्गत सबैभन्दा धेरै पालिका र मतदाता घोराही उपमहानगरपालिकामा छन्। यहाँ एमाले विजयी भएको छ। 

सत्ता गठबन्धनतर्फबाट मेयरमा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मालाई पराजित गर्दै एमालेका दाङ इन्चार्ज नरुलाल चौधरी विजयी भएका थिए। 

शर्माले २६ हजार ३६८ मत प्राप्त गर्दा चौधरीले ३१ हजार ७२८ मत प्राप्त गरी विजयी भएका थिए। गठबन्धनतर्फ मेयर पदमा मात्रै १० हजार ७७ मत बदर भएको थियो। 

त्यस्तै उपमेयर पदमा पनि गठबन्धनका उम्मेदवार कांग्रेसका नेता भुपबहादुर डाँगीले ३० हजार ३५४ मत पाउँदा एमालेकी हुमा डिसीले ३० हजार ४०६ मत प्राप्त गरी विजयी भएकी थिइन्।

५ असोज, २०७९, १०:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।