धपेडीबाट जोगिन सिकाउने पुस्तक ‘धेरैको धपेडी’ सार्वजनिक

धपेडीबाट जोगिन सिकाउने पुस्तक ‘धेरैको धपेडी’ सार्वजनिक

काठमाडौं: लेखक जीवनकुमार प्रसाईंको पुस्तक 'धेरैको धपेडी' सार्वजनिक भएको छ। पुस्तकमा बढ्दो उपभोक्तावादले जनस्वास्थ्य, सामाजिक जीवन र वातावरणमा के कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयलाई समेटिएको छ।

पुस्तकले वैज्ञानिक तथ्यहरूलाई सबैले बुझ्नेगरी सरल भाषामा व्याख्या गरेको छ।

अमेरिकाको युनिभर्सिटी अफ अलाबामामा अनुसन्धान र अध्यापनमा संलग्न उनले अढाई दशकभन्दा बढी समयदेखि जडीबुटी र खाद्यपदार्थमा रहेका पोलिफेनोलको क्यान्सरलगायत जीर्ण रोगहरूको नियन्त्रण तथा उपचारमा हुने असरका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन्। उनका आलेखहरू ‘साइन्स’ लगायत जर्नलमा प्रकाशित छन्।

प्रसाईंका अनुसार पछिल्लो समय अस्पताल र औषधिको पहुँच बढ्दै गए पनि त्यसअनुसारको आरोग्यता बढ्न सकेको छैन। त्यसमाथि धेरैभन्दा धेरै पैसा पद अनि धन आर्जन र संग्रह गर्ने प्रवृत्तिले सबैको जीवन धपेडीमा छ।

‘जीवनको जतन धेरैमा होइन तन, मन र वातावरण बीचको सन्तुलनमा टिकेको हुन्छ,’ लेखक प्रसाईं भन्छन्, ‘यो चेतना सँगसँगै सनातनदेखि चलिआएको संस्कृति र सम्पदाको संरक्षण र सम्बर्धन गर्नु आज जरुरी भएको छ।’ पुस्तकमा यिनै कुराहरू वैज्ञानिक तथ्यका आधारमा आम पाठकलाई चार अध्याय ‘कम हुँदैन थोरै’, ‘जीवनको जतन’, ‘शरीरको सामथ्र्य’ र ‘परम्परा, सम्पदा र स्वास्थ्य’ मार्फत् पस्किने प्रयत्न गरिएको छ।

उनले यसभन्दाअघि पनि खानपान, जीवनशैली र वातावरणले स्वास्थ्य जीवनमा पार्ने प्रभावका बारेमा पुस्तक लेखिसकेका छन्। उनका ‘जीवन जिउने काइदा’, ‘सँधै तन्नेरी’ र ‘वरीपरी नै सर्वोपरी’ गरेर तीनवटा पुस्तक यसअगावै नेपालयबाट प्रकाशित भइसकेका छन्।

नेपालयकी कार्यकारी प्रमुख सैजन मास्केका अनुसार पाठकहरूसमक्ष बौद्धिक खुराकका साथै समग्र स्वास्थ्य चेतना समेत पस्कने हिसाबले यो पुस्तक प्रकाशन गरिएको हो।

२२८ पृष्ठ लामो ‘धेरैको धपेडी’ पुस्तकको मूल्य ४२५ रुपैयाँ तोकिएको छ।

२३ भदौ, २०७९, १२:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।