रुपन्देहीमा एमाले उम्मेदवार : विष्णु र खिमलाल सर्वसम्मत सिफारिस हुँदा भुसालको प्रतिस्पर्धी तीन

रुपन्देहीमा एमाले उम्मेदवार : विष्णु र खिमलाल सर्वसम्मत सिफारिस हुँदा भुसालको प्रतिस्पर्धी तीन

बुटवल : आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरिरहेको प्रमुख प्रतिपक्षी दल एमालेले रुपन्देहीमा उम्मेदवार बन्न चाहने नेताहरूको नाम सिफारिस गरेको छ। क्षेत्रीय कमिटीले कुनै निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस गरेको छ भने कतै आकाङ्क्षीको विकल्पसहित नाम सिफारिस गरेको छ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि विष्णु पौडेलको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ।

क्षेत्रीय कमिटीको आइतबारको बैठकले पार्टीका उपाध्यक्ष समेत रहेका पौडेल र अर्का नेता खिमलाल भट्टराईको नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय गर्यो। तर घनश्याम भुसालसहित चार जनाको नाम पठायो।

पौडेल २०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनदेखि निरन्तर रूपमा यही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्। सो क्षेत्रबाट नेपाली कांग्रेसले गृहमन्त्री बालकृष्ण खाँणको नाम सिफारिस गरेको छ।

निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि घनश्याम भुसाल, वासुदेव घिमिरे, यज्ञजित शाह र दुर्गा भुसालको नाम सिफारिस गरेको छ। भुसाल स्थायी कमिटी सदस्य हुन्। घिमिरे लुम्बिनी प्रदेश कमिटी सदस्य हुन्। शाह लुम्बिनी प्रदेश कमिटी सदस्य र भुसाल शियारीका हुन्।

भुसाल २०७४ सालको निर्वाचनमा सोही क्षेत्रमा राप्रपा-कांग्रेस गठबन्धनका उम्मेदवार दीपक बोहोरालाई पराजित गरेर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। घिमिरे २०७४ को स्थानीय तह निर्वाचनमा तिलोत्तमा नगरपालिकाको नगरप्रमुखमा विजयी भएका थिए। यस पटक राप्रपाबाट बोहोरा पुन सोही क्षेत्रबाट उम्मेदवारका लागि सिफारिस भएका छन्। 

यसै गरी, निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागी खिमलाल भट्टराईको नाम सर्वसम्मत रूपमा सिफारिस भएको छ। राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक समेत हुन् उनी। उनी हाल एमाले केन्द्रीय सदस्य हुन् भने विद्यार्थी सङ्गठन अनेरास्ववीयुका पूर्व अध्यक्ष समेत हुन् ।

यो क्षेत्रबाट कांग्रेसले भरत साहको नाम सिफारिस गरेको छ।

१९ भदौ, २०७९, १७:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।