काठमाडौँको फोहोरबाट नेप्सेम्याकले मात्र उठाउँछ वर्षको २४ करोड अवैध शुल्क

काठमाडौँको फोहोरबाट नेप्सेम्याकले मात्र उठाउँछ वर्षको २४ करोड अवैध शुल्क

काठमाडौँ : नेप्सेम्याक सेवा प्रालीले काठमाडौँको फोहोरको व्यापार गर्न कुनै सरकारी निकायसँग अनुमति लिएको छैन। अनुमति नलिए पनि उसले लामै समयदेखि काठमाडौँ महानगरपालिकाको १५, १६, ३, ४, ५ सँगै नागार्जुन नगरपालिकामा समेत आफूखुसी फोहोर सङ्कलन गर्छ।

त्यसबापत उसले प्रतिघर ४ सयदेखि ६ सय रुपैयाँ मासिक शुल्क लिन्छ। होटेलबाट कम्पनीले १ हजारदेखि १० हजारसम्म शुल्क उठाउने गरेको छ।

कम्पनीका सञ्चालक बाबुराम घिमिरेकाअनुसार उसले महानगरमा १२ हजार घरधुरीबाट शुल्क लिन्छ। नागार्जुन नगरपालिका र उपत्यकाका अन्य क्षेत्र गरी थप ४० हजार घरधुरीले उसलाई शुल्क बुझाउँछन्। उसले शुल्क उठाउने घर परिवारको मासिक शुल्क ४ सय मात्र राख्ने हो भने पनि फोहोर सङ्कलनबापत मासिक २ करोड ८ लाख रूपैयाँ उठाउँछ।

फोहोर सङ्कलनबापत महानगरवासीसँग वर्षको २४ करोड नेप्सेम्याकले मात्र सङ्कलन गर्छ। यस बापत उ जवाफदेही कतै हुनुपर्दैन। कम्पनी प्रालि हो। उसले न फोहोर सङ्कलन गर्न कुनै स्थानीय तहसँग सम्झौता गर्नुपरेको छ, न शुल्क कति उठाउने कुनै सरकारी मापदण्डै छ।

फोहोरसँगै आउने बिक्रीयोग्य प्लास्टिक तथा फलाम बिक्रीबापत छुट्टै आम्दानी हुन्छ नै। आम्दानी नहुने फाल्नै पर्ने फोहोर महानगरपालिकाको ल्यान्डफिल्डसाइटमा सहजै लैजान पाइन्छ। आफैँले व्यवस्थापन गर्नुपर्ने झन्झट पनि छैन।

‘फोहोर उत्पादनको आधारमा शुल्क तोकिएको हुन्छ’ सञ्चालक घिमिरेले भने, ‘हामीले सामान्यतया मासिक रूपमा प्रति घर ४ सयदेखि ६ सयसम्म उठाउने गरेका छौं, त्यो पनि घरमा भएको भान्सा र घरमा सञ्चालन हुने व्यवसायको आधारमा। तर, होटेल व्यवसायको भने हेरी-हेरी हुन्छ।'

घिमिरेका अनुसार ठूल्ठूला होटेल व्यवसायको कम्पनीहरूले १ हजारदेखि १० हजारसम्म पनि शुल्क उठाउने गर्छन्। फोहोर ढुवानीको क्रममा कम्पनीहरूको दैनिक १० हजारसम्म खर्च लाग्ने र त्यसको खर्चको आधारमा शुल्क लाग्ने उनको भनाइ छ।

अब ढुवानी खर्च हेर्ने हो भने सानो गाडीको ३ सय ५० शुल्क अनि १० टन क्षमतासम्मको ठूलो गाडीको ५ सय शुल्क तिर्नुपर्छ। महानगरपालिकाले तोकेको व्यवसाय एवं नवीकरण कर अन्तर्गत  वार्षिक करिब १५ हजार रूपैयाँ शुल्क।

कम्पनीले दिएको जानकारी अनुसार दैनिक ३० ट्रकसम्म फोहोर ढुवानी हुन्छ। यस आधारमा महिनाको ९ सय ट्रक फोहोर फाल्छ उसले। सबै ट्रक १० टन बराबरको मानेर हिसाब गर्दा पनि उसले २ करोड आठ लाख शुल्क उठाएर, पुन : प्रयोग र बिक्री गर्न मिल्ने फोहोर छुट्टाएर बाँकी रहेको नष्ट गर्न नसकिने फोहोर फाल्दा मासिक ४ लाख ५० हजार मात्रै महानगरलाई तिरे पुग्छ।

एक वर्षमा उसले ५४ लाख महानगरलाई तिर्दा महानगरवासीबाट भने फोहोर सङ्कलनबापत २४ करोड सङ्कलन गर्छ। सोझो हिसाबमा पनि एउटै कम्पनीले कर्मचारीको शुल्क बाहेक २३ करोड ५० लाख बराबर फाइदा गर्ने देखिन्छ।

काठमाडौँ महानगरमा नेप्सेम्याक जस्ता २९ वटा कम्पनी छन् जसले कुनै स्थानीय तहसँग कुनै सम्झौतै नगरी आफूखुसी फोहोर सङ्कलन गरिरहेका छन्। यसबारे सबै स्थानीय तहका नेतृत्व जानकार छन्। तर उनीहरूले अवैध रूपमा फोहोर व्यवस्थापनको बहानामा भइरहेको अर्बौंको अवैध व्यापार रोक्न कुनै चासै लिएका छैनन्।

अब अर्को कम्पनीको आम्दानी र खर्चको हिसाब हेरौँ। परिवर्तन सेवा प्रालिले महानगरको वडा नम्बर ६, ७, ८, १५, १६, १७ र १८ को चाबहिल, सरस्वतीनगर, चःमति, खुसिबुँ, नरदेवी, क्षेत्रपाटी, खिस्बु क्षेत्रको फोहोर उठाउने गर्छ।

काठमाडौंको फोहोर २९ संस्थालाई मोहोर, सम्झौता छैन तर पैसा लिन्छ महानगर

दक्षिणकाली र काभ्रेपलान्चोक बनेपा नगरपालिकाको समेत फोहोर उठाउँदै आएको सो कम्पनीले झन्डै ३० हजार घरधुरीको फोहोर उठाउँदै आएको छ। महानगरपालिकाभित्र मात्र झन्डै १६ हजार घरबाट फोहोर उठाउने सो कम्पनीले फोहोरमैला उत्पादनको आधारमा सेवाग्राही सदस्यबाट प्रतिघर औसत चार सय शुल्क लिँदै आएको देखियो।

परिवर्तन सेवा प्रालिका सञ्चालक मित्र प्रसाद घिमिरेले भने, 'हाम्रो अध्ययनमा एउटा घरमा औसतमा तीन वटा भान्सा देखिएको छ। सोही बमोजिम प्रतिघर औसत ४ सय शुल्क उठाउँछौँ। झन्डै १६ हजारले शुल्क तिर्छन्।’

उनको दाबी अनुसार मासिक १६ हजारले चार सय शुल्क तिर्दा पनि मासिक ६४ लाख शुल्क उठ्छ। वर्षको सात करोड ६८ लाख। ल्याण्डफिल क्षेत्रमा प्रवेश बापत सो कम्पनीले महानगरपालिकालाई प्रति ट्रक ४ सय शुल्क बुझाउँदै आएको छ।

वेस्ट म्यानेजमेन्ट सर्भिस प्रालिले वडा १ को दरबारमार्ग र नक्साल क्षेत्रको फोहोर उठाउने गर्छ। दैनिक चार ट्रक फोहोर ल्याण्डफिल साइटमा ढुवानी गर्दै आएको यसले आफ्नो क्षेत्रभित्रको झन्डै १४ सय घरधुरीको फोहोर उठाउँछ। कम्पनीले सेवाग्राहीबाट प्रतिघर न्यूनतम १५० देखि ५ सयसम्म शुल्क उठाउने गरेको छ। सरदर ४ सय शुल्क मान्दा उसले महिनाको पाँच लाख ६० हजार शुल्क उठाउँछ।

कम्पनीका सञ्चालक वासुदेव उप्रेती काठमाडौँमा ८० प्रतिशत फोहोर निजी क्षेत्रले उठाउने बताउँछन्। सेवाग्राहीबाट शुल्क लिँदा घरमा भएका भान्सा, घरधनीको प्रकार, घरमा सञ्चालन भएका व्यवसायको आधारमा लिने गरेको उनले दाबी गरे।

‘हामीले घरअनुसार शुल्क लिन्छौ । अपार्टमेन्टबाट प्रतियुनिट मासिक ५ सय शुल्क लिन्छौँ,' उप्रेती भन्छन्, ‘सडकमा फालिएको फोहोर आफैँ उठाउनुपर्छ। सरदर मासिक ४ सय शुल्क लिने गरेका छौँ।'

महानगरपालिकाको वडा ३१ र १० को शंखमुल र मीनभवन क्षेत्रको फोहोर उठाउँदै आएको अर्को निजी संस्था बानेश्वर महिला वातावरण सेवा प्रालिले करिब २२ सय घरको फोहोर उठाउँदै आएको छ।

संस्थाकी दुर्गा दुलालले घरबेटीको कार्डको आधारमा मासिक कम्तीमा १५० देखि ५ सय सम्म उठाउने गरेको बताइन्। सरदर ४ सय शुल्क मान्दा संस्थाले मासिक आठ लाख ८० हजार रुपैयाँ उठाउँछ।

शुल्क आधार घरबेटीसँग सम्झौता

महानगर क्षेत्रमा फोहोर उठाउने २९ संस्थाले यसरी नै शुल्क उठाउने गरेका छन्। महानगरपालिकाकै तथ्याङ्क मान्ने हो भने निजी संस्थाहरूले महानगरभित्रको ८५ प्रतिशत फोहोर उठाउँछन्। महानगरले करिब १५ प्रतिशत मात्र।

महानगरबाहेक काठमाडौँका अन्य नगरपालिकाभित्रको शत प्रतिशत फोहोर विभिन्न निजी कम्पनीले नै उठाइरहेको देखियो। केही निजी कम्पनीसँग बुझ्दा उनीहरूले २०५३ सालदेखि सेवाको नाममा फोहोर उठाउन थालेको खुल्छ।

फोहोरमैला व्यवस्थापन र संकलनसम्बन्धी नेपवेस्ट र लगानी बोर्डसँग सम्झौता प्रक्रियाको टुङ्गो नलाग्दा र महानगरपालिकासँग कुनै पनि सम्झौता नहुँदा अप्ठेरो पर्ने गरेको केही निजी कम्पनी सञ्चालकको दाबी छ।

१५ वर्षदेखि अलपत्र बनेको ग्लोबल टेन्डरबारे महानगरपालिका र लगानी बोर्डले टुङ्गो नलगाउँदा निजी कम्पनीहरूले सम्झौता विना नै फोहोर उठाउने गरेको नेप्सेम्याकका बाबुराम घिमिरे दाबी गर्छन्।

महानगरमा फोहोर संकलन गरेर शुल्क उठाउने २९ संस्था

‘लगानी बोर्डको संयोजकत्वमा ग्लोबल टेन्डर र महानगरबीच सम्झौता सम्बन्धमा लामो समयदेखि  छलफल भइरहेको छ’ उनी भन्छन्, ‘यसबारे स्थानीय तहको अघिल्लो कार्यकालमा पनि टुङ्गो नलाग्दा महानगरले अहिले कुनै पनि सङ्घसंस्था, कम्पनीसँग सम्झौता गरेर फोहोरको शुल्क तोक्ने र अन्य कार्यबारे सम्झौता गराएको छैन। त्यो सम्झौता टुङ्गोमा नपुगी अरू पार्टीसँग महानगरपालिकाले सम्झौता गर्न सक्ने अवस्था छैन। हामीले पटक-पटक सम्झौता गरौँ। त्यसो भए काम गर्न सहज हुन्छ, भनेका छौँ।'

वेस्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिका वासुदेव उप्रेतीका २०५७ सालमा फोहोर मैला सङ्कलन र व्यवस्थापनसम्बन्धी महानगरपालिकासँग निजी क्षेत्रका कम्पनीले प्रति वर्ष नवीकरण गर्ने र कुन आधारमा फोहोर उठाउने सम्बन्धमा सम्झौता भएको थियो। त्यसयता यस सम्बन्धमा नवीकरण र सम्झौतासम्बन्धी कुनै काम भएको छैन।

‘कर्मचारीको शासन आएपछि महानगरपालिकाले नवीकरण पनि गरेन, सम्झौता पनि भएन’ उनी भन्छन्, ‘फोहोर उठाउने निजी क्षेत्रका कम्पनीले औपचारिक सम्झौता विना नै फोहोर उठाइरहेका छन्। हामीले त महानगरपालिकालाई करको लागि भए पनि सम्झौतामा जाऊँ भन्दै आएका छौं। तर ग्लोबल टेन्डरको कारण अहिले सम्झौता हुन सकेको छैन। यो प्रक्रियाको टुङ्गो नलागेसम्म महानगरपालिकाले हामीसँग सम्झौता गर्नै सक्दैन।’

निजी कम्पनी सञ्चालकहरू सम्झौता नगरी आफूखुसी शुल्क तोकेर फोहोर उठाएको हाकाहाकी स्वीकार गर्छन्। उता महानगरमा कति वटा निजी कम्पनीले स:शुल्क काम गरिरहेका छन् भन्ने सबै विवरण राखेर बसेको महानगरपालिकाको जिम्मेवार निकायले पनि उही लगानी बोर्डसँगको सम्झौतालाई देखाएर सम्झौता गर्न नसकेको बहाना देखाउने गरेको छ।

फोहोर व्यवस्थापन कानुन अनुसार स्थानीय तहसँग सम्झौता नगरी कसैले पनि शुल्क लिएर फोहोर उठाउन पाउँदैन। यसबारे महानगरको नेतृत्व जानकार छन् नै।

जनप्रतिनिधिले नै संरक्षण गर्छन् अवैध असुली

महानगरका मेयर बालेन्द्र शाह दोहोरो संवाद मन पराउँदैनन्। उनी सामाजिक सञ्जालमार्फत आफ्नो कुरा एकोहोरो भनेरै रमाइरहेका छन्। कसैले प्रश्न उठाए दोहोरी खेलेर बस्छन्।

महानगरका नेतृत्वदायी कर्मचारीहरूसँग कुरा गर्दा आफूहरूले पटक-पटक गैर कानुनी काम भइरहेको छ रोकौँ न भन्दा जनप्रतिनिधिले वास्तै नगर्ने गरेको बताउँछन्।

'स्थानीय तहको नेतृत्व कर्मचारीले गर्दा भित्रिएको अराजकता हो यो। तर, जनप्रतिनिधिको दोस्रो कार्यकाल आइसक्यो। कानुनको अधिनमा ल्याउन भन्दा सुन्दै सुन्दैनन्,' महानगरका एक उच्च अधिकारीले भने' विद्यासुन्दर शाक्यको कार्यकालभरि कार्यविधि बनाउनभन्दा सुनेनन्। अहिले पनि भनिरहेका छौँ। तर मेयरले सुनेको नसुन्यै गरिरहेका छन्।'

स्रोतका अनुसार आजै आइतबार मेयर शाहले फोहोर सङ्कलन गर्ने निजी कम्पनीका सञ्चालकहरूसँग बैठक गरेका थिए। त्यहाँ उनले गैर कानुनी रूपमा भइरहेको कामबारे कुरा गर्ने आश गरेका रहेछन् महानगरका कर्मचारीले। तर उनले उल्टो साह्रै राम्रो काम गर्नुभएको छ भनेर प्रशंसा गरे।

'भन्दा आरोप मात्र लगाएको जस्तो देखिन्छ। तर महानगरवासीहरूसँग अवैध रूपमा पैसा उठाइरहेका संस्थालाई कानुन अनुसार मापदण्डमा ल्याउनुका साटो वर्षमा अर्बौं अवैध शुल्क उठ्दा पनि रोक्न नखोज्नु भनेको आर्थिक लाभ लिइरहेका छन् भनेर बुझ्ने त हो। महानगरवासीले पनि यस्तै बुझेका होलान्। हामीले बुझेको पनि यही हो।'

'गैर कानुनी हो तर नियन्त्रण गर्न सकेनौँ'

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर महानगरसँग सम्झौतै नगरी आफूखुसी फोहोरको शुल्क तोकेर पैसा उठाउनु गलत भए पनि कार्यविधि नहुँदा नियन्त्रण गर्न नसकेको बताउँछन्।

डम्पिङ साइटमा फोहोर फाल्न नसक्दा सडकमा फोहोर थुप्रिदा निजी संस्थाहरू चुप बस्ने अनि जब ल्यान्डफिल्ड साइट खुल्छ महानगरले फोहोर उठाउने गरे पनि शुल्क भने उनीहरूले नै उठाउने गरेको भन्दै उनले यसलाई नियन्त्रण गर्नै पर्ने अवस्था आइसकेको बताउँछन्।

'महानगर क्षेत्रमा गरिने आर्थिक क्रियाकलाप महानगरसँग सम्झौता नहुनु भनेको गैर कानुनी हो। निजी फोहोर सङ्कलनले गरेको काम गैर कानुनी हो। अब यसलाई नियन्त्रण गर्न कानुन बनाउनै पर्छ। नत्र निजी संस्थाले गरेको कामको दोष हामीले बोक्नुपर्ने हुन्छ।'

५ भदौ, २०७९, २१:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।