कुमारीकी आजीवन सेवक चम्पा जसले 'देवी' बोक्दाबोक्दै आफैँ हिँड्न बिर्सिइन्

कुमारीकी आजीवन सेवक चम्पा जसले 'देवी' बोक्दाबोक्दै आफैँ हिँड्न बिर्सिइन्

पाटन, गाबहालस्थित रत्नाकर महाविहार (कुमारी घर) नजिकैको घरमा करिब ३० वर्षदेखि जीवित देवी (कुमारी) को सेवामा व्यस्त छिन्, चम्पा बज्राचार्य। बिहानैदेखि देवीको दर्शन गर्न आउने दर्शनार्थीको व्यवस्थापन उनैले गर्छिन्।

मन्द मुस्कानका साथ सानो आवाजमा लवजैपिच्छे नेवारी शब्द उच्चारण गर्दै अतिथिको सत्कारमा लाग्ने चम्पा घरको काममा पनि एकदमै सक्रिय रहन्छिन्। एक वाक्यमा भन्नुपर्दा उनी 'देउता’ को आजीवन सेवक भएकी छिन्। 

०००
पाटन, सुन्धारामा जन्मिएकी चम्पाको बाल्यकाल काम गरेरै बित्यो। उनले ५ कक्षाभन्दा बढी पढ्न पनि सकिनन्।

'पढ्न मन लाग्दालाग्दै पढ्न पाइएन। १५ वर्ष पुग्दा बल्ल पाँच कक्षामा पढ्थें। अनि पढाइ छोडेर देउताको मूर्ति सफा गर्ने काम गरें,' उनी भन्छिन्।

२५ वर्षको उमेरमा नेत्रराज बज्राचार्यसँग मागी विवाह गरेकी चम्पाले विवाहपछि मात्र मूर्ति सफा गर्ने काम छोडेकी हुन्।

चम्पाका श्रीमान् नेत्र ललितपुरकी आजीवन कुमारी धनकुमारी बज्राचार्यका भाइ हुन्। उनले यो कुरा विवाह हुने पक्का भएपछि मात्र थाहा पाएकी थिइन्।

आफू कुमारीकी भाइ-बुहारी भएको थाहा पाउँदा उनलाई खासै अनौठो लागेन। चम्पा विवाह गरेर आउँदा आजीवन कुमारी आफ्नो पदबाट हटेको नै १६ वर्ष भइसकेको थियो।

आजीवन कुमारी भनेको जिन्दगीभर कुमारी भएर बस्नु हो। कुनै पनि कुमारी महिनावारी भएपछि स्वत: आफ्नो पदबाट मुक्त हुन्छिन्। तर धनकुमारी भने ७० वर्ष पुगिसक्दा पनि महिनावारी भएकी छैनन्।

तीस वर्षको उमेरसम्म त उनी कुमारी पदमा नै बसिन्। उनी नेपालकै सबैभन्दा धेरै उमेरसम्म कुमारी पदमा बस्ने कुमारी भनेर चिनिन्छन्। पदबाट निस्केपछि पनि कुमारी भएर नै बस्न चाहेको हुँदा उनलाई आजीवन कुमारी भनिएको हो।

कुमारीको बारेमा सुनेकी मात्र चम्पालाई घरमै प्रत्यक्ष कुमारी देख्नु र उनको सेवामा खटिनु निकै चुनौतीपूर्ण रह्यो। ससुरा नभए पनि विहे गरेको ६ वर्षसम्म सासुबाट उनले धेरै कुरा सिकिन्। सासुको मृत्युपश्चात् घरको सबै काम एक्लैले सम्हाल्नु पर्दा झन् गाह्रो भएको उनी सम्झिन्छिन्।

माइतीमा नगरेको काम पनि सबै गर्नुपरेको बताउँदै चम्पा भन्छिन्, 'चिन्ने मान्छेहरुसँग त आमाले पनि कुरा गर्नुहुन्थ्यो। पछि चिन्ने-नचिन्ने सबैलाई आफैंले हेर्नुपर्यो।’ 

छोरी 'कुमारी’ घोषित भएको थाहा पाउँदा 
विवाह भएको एक वर्षमा चम्पाले छोरी जन्माइन्। छोरीलाई कुमारीको लागि पठाउन गुठीबाट बोलावट आइरहन्थ्यो। सानी छोरी, खेल्दै गरेकी। स्कुल पनि भर्खरै मात्र जान थालेकी हुनाले उनले आफ्नी छोरी चनिरा बज्राचार्यलाई कुमारी बनाउन चाहिनन्। एउटी मात्र छोरी राम्रोसँग पढोस्, बाहिरी संसार देखोस् भन्ने उनको मनमा थियो।

'हाम्रो घरमा तीन पटकसम्म बोलाउन आए,' उनी गम्भीर हुँदै छोरी कुमारी भएको पल सुनाउँछिन्, 'बोलाए, नजाऊ भन्न सकिनँ। उनी गइन्। जाने बित्तिकै कुमारीको लागि छनोट पनि भइन्।’ 

गएको केही घण्टामा चम्पाले आफ्नी पाँच वर्षकी छोरी कुमारी भएको खबर पाइन्। छोरी भगवान भएको थाहा पाउँदा एकछिन त अत्तालिइन् उनी। विश्वास नै गर्न सकिनन्। 'छोरी कुमारी भइन् भन्ने खबर पाउँदा त एकदम डर लाग्यो। तीन दिनसम्म त निद्रा लागेन। खान पनि मन लागेन। के हुने हो, कस्तो हुने हो भन्ने लागिरह्यो।’

कुमारी पदबाट एक दिन हट्छिन् भनेर थाहा भए पनि उनको मनमा खुल्दुली हुन छाडेन। कुमारीको लुगा र श्रृंगारमा आफ्नो छोरी सजिएर दर्शन दिन आसनमा बस्दा कुमारी हुनुभन्दा अगाडिकी छोरी र कुमारी भएपछिकी छोरी देखेर भावुक पनि हुने गर्थिन् चम्पा।  

चम्पाले कुमारीलाई कसरी सेवा गर्ने भन्ने घरबाटै सिकिसकेकी थिइन्। खाने, लाउने, दर्शनार्थीको व्यवस्थापन गर्ने सबै थाहा भए पनि विभिन्न जात्रामा र पर्वमा घर बाहिर कुमारीलाई कसरी निकाल्ने भन्ने उनलाई थाहा थिएन।

घरमै दुई जना कुमारीको दर्शन गर्न दर्शनार्थी आउँदा उनले धेरै कुरा सोच्न पनि भ्याइनन्। छोरी चनिरा कुमारी हुँदासम्म ललितपुरमा कुमारीको लागि 'कुमारी घर’ को व्यवस्था गरिएको थिएन। त्यसैले जो कुमारी भए पनि आफ्नै घरमा बस्नुपर्ने हुन्थ्यो। अहिले भने कुमारीलाई छुट्टै घरको व्यवस्था छ। 

चनिरा १५ वर्षकी हुँदासम्म ललितपुरकी कुमारी भएर बसिन्। ठूली (आजीवन) कुमारीले आफ्नो मेकअप आफैं गर्थिन् भने सानी (चनिरा) कुमारीलाई मेकअप गर्नेदेखि लिएर सबै तयारीको जिम्मा चम्पाले गरिन्। 

पूजाको सामान मिलाइदिने, खान बनाउने, लुगा धोइदिने। एउटा बुहारी भएर गर्नुपर्ने सबै काम गर्दै आएकी उनले आमा भएपछि पनि त्यही काम दोहोर्याउनुपर्यो। 'दुई जना कुमारीलाई सम्हाल्दा पनि त्यति गाह्रो चाहिँ भएन। दुवै जना घरमै थिए। एउटालाई हेर्दै आएकोमा दुईटालाई भन्ने मात्र त हो।’ 

छोरी (कुमारीलाई) पढाउन संघर्ष 
चम्पाले आफ्नो जीवनको १० वर्षसम्म त दुई जना कुमारीलाई सेवा गरिरहिन्। 'दर्शनार्थीको घुइँचो त्यत्तिकै। बिहानको खाना खाइसक्दा दिउँसोको तीन बजिसक्थ्यो,’ उनी भन्छिन्।

छोरी कुमारी हुँदा चम्पाका कान्छा छोरा सानै थिए। सानो बच्चा सम्हालेर उनले दुई जना कुमारीलाई सेवा गरिन्। बेलाबेलामा छोरीको श्रृंगारमा उनका श्रीमानले पनि सहयोग गर्थे। श्रीमान् पेन्टर भएको कारण त्यत्ति सहयोग भयो भन्दै उनी हाँस्छिन्। 

चम्पाका श्रीमानको श्रवण शक्ति कम छ। बोल्न पनि सक्दैनन्। श्रीमानको यस्तो अवस्थाको बारेमा पनि उनले विवाहपछि मात्र थाहा पाएको बताउँछिन्।

चम्पा भन्छिन्, 'उहाँले पहिलादेखि नै पेन्टिङ गर्दै आउनुभएको छ। उहाँको काम राम्रै छ।’

एकदमै व्यस्त भएका छोरी कुमारी भएपछिका १० वर्ष उनी आफैं पनि प्राय: घरबाट बाहिर निस्कन पाइनन्। आफू पढ्न नपाएका कारण उनले छोरीलाई कुमारी हुँदा नै पढाउने व्यवस्था मिलाइन्। त्यसको लागि स्कुल, शिक्षक सबैको घरमै बन्दोबस्त गरिन्। 

'गाह्रो त एकदम भयो नि। पैसा पनि धेरै खर्च भयो। मैले पढ्न पाइनँ। नेवारीमा धेरै बोल्ने भएको कारण अहिले त नेपाली बोल्न गाह्रो हुन्छ। म जस्ती नहोस् भनेर छोरीलाई पढाएँ मैले।’

सानो कुमारीलाई पढाउन शिक्षकहरु दिनमा दुई घण्टाको लागि घरमै आउँथे। दर्शनार्थीहरुको घुइँचोमा उनलाई दुई घण्टा समय मिलाउन पनि हम्मेहम्मे भयो। तर जसोतसो छोरीलाई घरबाटै एसएलसी दिने वातावरण मिलाइन् चम्पाले।

'एसएलसी दिने बेलामा पनि कुमारीले एसएलसी दिन लागेको भनेर घरभरि मान्छे हेर्न आए। पत्रकार पनि आए। त्यसबेला त प्रहरी नै राख्नु परेको थियो,’ उनले सुनाइन्।

अहिलेसम्म आफूले गरेको सबैभन्दा गाह्रो काम नै छोरी पढाउन भएको भन्छिन् चम्पा। भन्छिन्, 'कुमारी पदबाट हटिसकेपछि पढ्न परेको भए झन् कत्ति गाह्रो हुन्थ्यो होला! पदबाट हटेपछि त केही मतलब नै हुँदैन नि।’

छोरीलाई पढाउन घरमा शिक्षक आउँदा उनलाई पनि पढ्न मन लागेको थियो रे। तीन महिना कोशिस पनि गरिन्। तर घरकै काममा व्यस्त हुने हुँदा नसकेको उनी सुनाउँछिन्।

छोरीलाई हिँड्न सिकाउँदा आफैं हिँड्न बिर्सेजस्तो
छोरी कुमारी पदबाट हटेपछि पनि चम्पालाई चुनौती नै भयो। १० वर्षसम्म भुइँमा खुट्टा नराखेकी छोरीलाई हिँडाउन त्यत्ति सहज कहाँ थियो र! ६ महिनासम्म त १५ वर्ष भइसकेकी छोरीलाई हात समाएर नै हिँडिन् उनी।

'बाहिर निकाल्दा त हिँड्नै सकिन नि। उसलाई हिँड्न सिकाउँदा सिकाउँदा आफैंलाई नै हिँड्न नआएको जस्तै भयो,’ उनी हाँस्दै भन्छिन्, 'बसमा बसेर झ्यालबाट बाहिर हेर्दा सबै घर हिँडेको जस्तै लाग्छ नि, त्यस्तै भयो त्यतिखेर।’

चम्पाले छोरीलाई कपडा पनि सबै आफैंले किनिदिने गर्थिन्। केही समय त छोरीलाई के मन पर्छ  भन्ने नै उनलाई ठम्याउन गाह्रो भयो। 'अहिले त सबै ऊ आफैंले किन्छ,’ उनी भन्छिन्।

सबै कुरामा बदलाब आए पनि छोरीको खानामा भने अहिलेसम्म बदलाब नआएको चम्पा बताउँछिन्। भन्छिन्, 'कुखुराको मासु, अण्डा, जुठो अहिलेसम्म खाएको छैन छोरीले।’

छोरी कुमारी पदबाट हटे पनि ठूली कुमारीको दर्शन गर्न अझै दर्शनार्थी आउँछन्। दुईटा कुमारीलाई सम्हाल्दाको रमाइलो क्षण उनलाई सम्झना छैन। विभिन्न जात्रा तथा चाडपर्वमा दर्शनार्थीको भीड अत्यधिक हुन्छ। त्यस्तो बेला एक जनालाई एउटा कोठामा र अर्कोलाई अर्को कोठामा राखेर व्यवस्थापन गर्थिन्। त्यतिखेर यता र उता गरेरै उनको दिन बित्थ्यो। जति नै गाह्रो भए पनि अरु कुनै कामदार राख्ने विषयमा भने उनले सोचिनन्। 

आफ्नो बारेमा सोच्नै भ्याइनन्
विवाह गरेदेखि लगातार एउटै काम गरिराख्दा कहिलेकाहीं झिँझो लाग्ने गरेको पनि चम्पाले सुनाइन्। 'कत्ति एउटै काम गर्नु जस्तो पनि लाग्यो। तर के गर्ने? कसैले गर्ने हैन। आफैंले गर्नु परिहाल्यो। त्यतिखेर आँटियो अनि गरियो पनि। अहिले पो उमेरसँगै कमजोर हुँदै गएँ।’

दुई जना देवीको सेवा गर्दागर्दै चम्पाले आफ्ना इच्छा, सपना देख्दै देखिनन्। अहिले ५४ वर्ष पार गरिसक्दा पनि बेलाबेलामा साथीहरु भेट्न जाने बाहेक आफ्ना लागि केही गर्नै भ्याएकी छैनन्। 'पढेको भए त केही हुन्थ्यो कि। पढेको छैन। त्यसैले इच्छा, सपना पनि केही छैन,’ उनी भन्छिन्। 

घर खर्चको लागि चम्पाले घरको भुइँतला भाडामा दिएकी छिन्। दुवै कुमारीको महिनामा पाँच हजार भत्ता आउँछ। दर्शनार्थीहरुले ५/१० रुपैयाँ चढाउने गर्छन्। तर त्यत्तिले मात्र खर्च धान्नै नपुग्ने चम्पा बताउँछिन्।

अहिले भने छोरीले पनि कमाउन थालेकोमा उनी खुसी छिन्। 'छोरी कुमारी पनि भइन्। पढाइ पनि सकिन्। अहिले जागिर पनि खाँदैछिन्। विहे गर्ने उमेर पनि पुग्दैछ। तर विवाह गर्ने/नगर्ने छोरीको इच्छा हो।'

आफूलाई आजीवन कुमारीको सेवक भन्न रुचाउँछिन् चम्पा। भन्छिन्, 'मान्छेले कस्तो-कस्तो ठूलो काम त गर्छन्। मैले भगवानको सेवा गरेको न हुँ। विवाह भएदेखि अहिलेसम्म कुमारीको सेवा गर्दै आएको छु। ठूलो कुमारीलाई आजीवन कुमारी भने जस्तै मलाई पनि आजीवन कुमारीको सेवक भन्न मिल्यो नि।'

अहिले चम्पाको घरमा आजीवन कुमारी, श्रीमान्, छोरी र दुई जना छोरा छन्। छोरीले पढाइ सकिसकिन् भने दुवै छोरा स्नातक पढ्दै छन्।

'यतिका समयसम्म भगवानको सेवा गरेको छु। भगवानले पनि साथ दिन्छन् जस्तो लाग्छ मलाई,’ चम्पा भन्छिन्।

२३ साउन, २०७९, १५:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।