नापीको नक्सामै छैन टुकुचा नदी, कसरी खाली गराउँछ महानगरले ?

नापीको नक्सामै छैन टुकुचा नदी, कसरी खाली गराउँछ महानगरले ?

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले टुकुचा नदी मिचेर बनेका संरचना हटाउन ३५ दिनको सूचना जारी गर्यो। तर सूचना जारी गरेको स्थानको नक्सा हेर्दा त्यहाँ नदी नै छैन।

काठमाडौँ महानगरपालिकाले २०६४ सालदेखि नै टुकुचा नदीको अतिक्रमित क्षेत्रलाई खुलाउने कोसिस गरेको थियो। २०६६ सालमा पहिलो पटक गायब भएको टुकुचाको क्षेत्रफल खोज्ने प्रयास भयो। २०७५ मा टुकुचाको २२८, ४२२७, १७१० र १७११ कित्ता नम्बरको जमिन खोज्न भन्दै काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई पत्र नै पठाएको थियो। तर ती कित्ता नै फेला परेन।

यति मात्रै हैन टुकुचा खुला गर्न त्यसको नक्सा समेत छैन। महानगरपालिकाको सहरी पूर्वाधार विकास विभागका अनुसार अतिक्रमित क्षेत्रमा नदीको क्षेत्र छुट्टाउन नक्सा खोज्दा नक्सा नै फेला परेको छैन।

‘पटक पटक नदी किन हरायो, कहाँ गायब भयो भन्नेबारे महानगरले खोजी गरेको थियो’  विभाग प्रमुख रामबहादुर थापा भन्छन्, ‘तर नापी कार्यालयको नक्सामा नदी नै गायब छ। नापी कार्यालयको ब्लु प्रिन्टमा पनि नदी देखिँदैन। नापी कार्यालयमार्फत पनि त्यो विषयमा खोजी भइरहेको छ।’

थापाका अनुसार यसअघि २०२२ सालको नापी नक्सामा भने टुकुचा देखिन्छ। त्यसपछिका नापी नक्साहरूमा नदी देखिँदैन। अब महानगरपालिकाले २०२२ को नक्सालाई आधार बनाएर टुकुचा नदी खुला गर्ने र नदीमाथि बनेका संरचनाहरू हटाउने तयारी गरिरहेको छ। ३५ दिने सूचना पनि जारी भयो। तर प्रभावशाली व्यापारिक घरानाहरूले समेत मिचेको क्षेत्र खुला गर्न त्यति सहज भने देखिँदैन।

इच्छुमती बन्यो टुकुचा

पौराणिक नाम इच्छुमती रहेको यो नदी अहिले टुकुचाको नामले परिचित छ। तर नाम मात्रै छ यसको अस्तित्व। नदी धेरै स्थानमा ढल बग्ने कुलो जस्तो भएको छ। केही स्थानमा नदी नै गायब छ। टुकुचाको उद्गम स्थल महाराजगन्जको बुढानीलकण्ठ क्षेत्र हो। यसको लम्बाई ६.४ किलोमिटर रहेको सर्वेक्षणले देखाएको छ।

सो क्षेत्रबाट उत्पत्ति भएको टुकुचा बाँसबारी, गैरीधारा, उत्तरढोका, हात्तीसार, कमलादी, बागबजार, प्रदर्शनीमार्ग हुँदै थापाथलीको कालमोचन पुगेपछि बाग्मती नदीमा मिसिन्छ। बाग्मती नदिका अन्य सहायक नदीमध्येको टुकुचा पनि हो।

अन्य सहायक नदी नभएको एक्लो टुकुचा नदी पछिल्लो समय अतिक्रमणको चपेटामा परेको छ। नदीका किनाराहरू अतिक्रमण गरी सुकुम्वासी बस्ती बन्नु, आवासीय भवन एवम् सडक निर्माण हुनु राजधानीभित्रका नदिहरुको लागि सामान्य नै हो।

तर नदिलाई नै गायब गरी आवासीय एवम् व्यापारिक संरचना निर्माण गर्नु र नदीको नाम निशाना नै मेटिने गरी अतिक्रमणको चपेटामा पर्नु टुकुचाको दुर्दशा हो। राजधानीभित्र बग्ने नदीमध्ये सबैभन्दा बढि अतिक्रमणमा परेको र प्रदूषित नदी टुकुचा नै हो।

बाग्मतीका अन्य सहायक नदिहरुको तुलनामा टुकुचामा खुला रूपमा ढल बग्ने, सबैभन्दा बढि प्रदूषित र सबैभन्दा मिचिएको छ। भाटभटेनी मन्दिर, टुँडालदेवी र नील सरस्वती इच्छुमती नदी किनारमा रहेका महत्त्वपूर्ण धार्मिक स्थलहरू हुन्। हाल यी धार्मिक स्थलहरू कस्तो अवस्थामा छन् स्पष्ट छैन। 

झन्डै ३ सय मिटर गायब

यदि गुगल अर्थबाट हेर्ने हो भने टुकुचा नदी (इछु नदी) बाँसबारीदेखि बाग्मती नदीसम्म साँघुरो कुलोजस्तो देखिन्छ। सो बिचमा सडक, पुल र अग्ला भवन संरचना भएको क्षेत्रमा टुकुचा देखिँदैन। देखिने क्षेत्रमा पनि कुलाजस्तो देखिन्छ।

फिल्डमा जाँदा नदीको दायाँबायाँ एक इन्च जमिन पनि नदीको लागि बाँकी राखिएको छैन। नदीको गहिराइदेखि नै दुवै किनारतर्फ पर्खाल लगाएर छेउमै विभिन्न किसिमका भवन संरचनाहरू ठड्याइएका छन्। टुकुचा उद्गमस्थलदेखि बाग्मती पुगुन्जेल चेपुवामा परेर बगिरहेको छ।

टुकुचामा बग्ने पानीभन्दा बढि ढलमिश्रीत पानी देखिन्छ। नदी नै गायब पारिएको भनिएको क्षेत्रमा पुग्दा काठमाडौँ प्लाजानजिकै राखिएको मोटरेबल पुलमुनि सुरुङ देखिन्छ। त्यही सुरुङबाट गायब भएको क्षेत्रबाट प्रदूषित टुकुचा नदी निस्केको देखिन्छ।

त्यसभन्दा लक्ष्मी बैङ्क र आलिसान भवन क्षेत्र पुगेर नदी कहाँनिर छ भनेर सोध्दा सामान्य जानकारी भएका व्यक्तिहरूले यहाँमुनि छ भन्दै ढलको ढकनीको प्वाल देखाउँछन्।

काठमाडौँ महानगरपालिकाले जारी गरेको ३५ दिने सूचनाअनुसार हात्तीसार नजिकै काठमाडौँ प्लाजासँगै जोडिएको सिटी एक्सप्रेस र सन लाइफ इन्सुरेन्सदेखि नारायणहिटी दरबारको पर्खालसम्म टुकुचा नदी गायब छ। काठमाडौँ महानगरपालिकाको सहरी पूर्वाधार विकास विभागका अनुसार राजदरबारदेखि माथि उद्गमस्थलसम्म टुकुचा नदी देखिन्छ, यता काठमाडौँ प्लाजादेखि बाग्मतीसम्म पनि त्यो नदिकै रूपमा देखिन्छ। तर बिचको झन्डै ३ सय मिटर टुकुचा नदी  गायब छ।

नदी अतिक्रमण गरेर त्यसमाथि व्यापारिक भवन, आवासीय भवन, पार्कजस्ता संरचना बनाइएको छ। कैयौँ रोपनी जग्गा हडपेर व्यक्तिले सार्वजनिक सम्पत्तिलाई आफ्नो नाममा दर्ता गराएका छन्।

टुकुचा ब्युँताउने प्रयास

अहिले काठमाडौँ महानगरपालिका टुकुचा ब्युँताउने प्रयासमा लागेको छ। यसका लागि महानगरपालिकाले ३५ दिने सूचना जारी गरिसकेको छ। सो समयमा संरचना खालि नगरिए कानुन बमोजिम कारबाही गरिने थापा दाबी गर्छन्।

‘नदीनाला भनेको सार्वजनिक सम्पत्ति हो। कसैले झुक्काएर नदीजस्ता सार्वजनिक जमिन मिचेको छ वा आफ्नो कब्जामा लिएको छ भने त्यो जुनसुकै बेला बदर हुने ऐनमै व्यवस्था छ’ उनी भन्छन्, ‘नदिलाई अतिक्रमण गरेका छन्। पछि बनेका घर र अन्य संरचनाहरू पनि नक्साविना बनेका छन्। खोलाको सिमाना छोडेका छैनन्। ती आफैमा गैर कानुनी छन्।'

उनी तोकिएको समयमा खाली गर्न नमाने डोजर लगाएर भए पनि खोलामाथि बनेका संरचनालाई भत्काउने दाबी गर्छन्। पहिलो चरणमा टुकुचा नदिलाई खुला गर्ने र त्यसपछि अतिक्रमण भएको क्षेत्रलाई खाली गराइने उनले बताए।

वडाले नै मिच्यो कानुन, टुकुचा पुलमाथि सार्वजनिक शौचालय

उता महानगरपालिकाले टुकुचा नदीमाथि बनेका संरचना खाली गर्न सम्बन्धित निकायलाई पटक पटक आग्रह गरिरहेका बेला महानगरपालिकाको वडा न २८ ले भने टुकुचा माथि नै सार्वजनिक शौचालय निर्माण गरिरहेको छ।

पुतलीसडकस्थित शङ्करदेव क्याम्पसनजिकै टुकुचामाथि बनेको पुलमा सार्वजनिक शौचालय बनाएको हो। वडा न २८ ले नक्सा पास नगरी मापदण्ड विपरीत शौचालय बनाएको देखिन्छ। नदीमाथि शौचालय बनाइएको खुलेपछि निर्माणको काम रोकियो।

तर सो संरचना हाल पनि सोही अवस्थामा छ । न त सो संरचना भत्काइएको छ न त निर्माण कार्य अघि बढाइएको देखिन्छ। सो शौचालयको छेवैमा अर्को संरचनासमेत निर्माण भइरहेको छ। यसबारे महानगरपालिकासँग बुझ्दा सो सम्बन्धमा आफूहरू जानकार नरहेको दाबी गरे।

२३ साउन, २०७९, १२:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।