४० वर्षदेखि असनमा भाँडा पिटिरहेका कालिगढ जो बिँडो थाम्ने मान्छे खोजिरहेछन्

४० वर्षदेखि असनमा भाँडा पिटिरहेका कालिगढ जो बिँडो थाम्ने मान्छे खोजिरहेछन्

असन बजारदेखि भित्र, त्यौड मन्दिरको साँघुरो गल्लीमा 'टिङ-टिङ’ को आवाज निरन्तर गुन्जिरहन्छ। 

बटुवालाई त यो आवाजले झिँझो पनि लाग्ला। तर, टोलवासीलाई भने आवाज सुन्ने बानी परिसकेको छ। किनकी, पचासौं वर्षदेखि यो टोलमा यसरी बजिरहन्छ- टिङ, टिङ, टिङ।

यो टोलमा नरेश महर्जनको भाँडा पसल छ। यहाँ उनी विभिन्न किसिमका भाँडा बनाउँछन्। भाँडा पिट्दा, प्वाल पार्दा, टाल्दा आवाज निस्कन्छ।

नरेशले काम सम्हाल्नुअघि यही ठाउँमा उनका बुबा भाँडाको काम गर्थे। बुबाको पेसालाई निरन्तरता दिइरहेका नरेश आफ्नो सेखापछि भने यो काम सम्हाल्ने मान्छे नहोलान् भनेर चिन्तित छन्।

कोही इच्छा देखाए भाँडा बनाउन सिकाउने र उसैलाई काम जिम्मा लगाउने उनको योजना छ।

काठमाडौँको रैथाने नेवार परिवारमा जन्मिएका नरेशको बाल्यकाल खेलेर र काम गरेरै बित्यो। बुबा पनि यही काम गर्ने हुँदा सानैदेखि बुबालाई सहयोग गर्दागर्दै उनले मन पनि यही काममा बस्यो।

एसएलसीपछि पढाइलाई पनि निरन्तरता दिन सकेनन् नरेशले। भाँडा बनाउने काममै रत्तिए। असन बजार जस्तो व्यापारिक क्षेत्रमा पसल भएपछि ग्राहकको कमी पनि भएन।

सानैदेखि सकेको काम गर्नुपर्ने र घरमा सबैले कामलाई नै महत्व दिएको हुनाले पढ्न मन नै नभएको उनी सुनाउँछन्। भन्छन्, 'पढाइलाई त्यति महत्व नै दिइएन। काममै ध्यान दिइयो।’ 

पढाइभन्दा सिप जरुरी भएको उनलाई लाग्छ। बिहानै आएर काममा लाग्नु अनि बेलुकैसम्म पसलमा बसेर काम गर्नु नरेशको ४० वर्षदेखिको दैनिकी हो। 

आफूले रेडिमेड सामान भने नबेच्ने नरेश बताउँछन्। अर्डर लिन्छन् अनि सामान बनाएर दिन्छन्। आफ्नो कामको मालिक आफैं हो भन्ने मान्यता राख्ने उनी कहिले दसौं हजारको व्यापार गर्छन् त कहिले एक हजारमा मात्र पनि चित्त बुझाउँछन्।

नरेश भाँडा बनाउनुका साथै फिल्डमा गएर भाडा फिट गर्ने काम पनि गर्छन्। चिम्नी र नाला जस्ता सामानहरु छतमा जडान गर्छन्। ग्राहकहरुले ट्यांका, चिम्नी, बेकरीका सामान र म:म पकाउने भाँडा बनाउनु परे उनैलाई सम्झिन्छन्। सबै सामान हातैले बनाउने नरेशकहाँ अहिले मःम पकाउने भाँडाको अर्डर सबैभन्दा बढी आउने रहेछ।

'मैले ३०/४० वर्ष अगाडिदेखि नै मःमको भाँडा बनाउन थालेको हुँ। अहिले भने म:म पसल धेरै भएकोले यसको डिमाण्ड धेरै छ। पहिला-पहिला त रेडिमेड नै किन्ने चलन थियो,’ उनले सुनाए।

पहिला साइकल चढेर मःम को भाँडा लिन आउनेहरु अहिले गाडी लिएर आउने गरेको उनको अनुभव छ। 'मःम पसलेहरु त करोडपति भइसक्यो नि' भन्दै उनी हाँस्छन्। 

एकै ठाउँमा निरन्तर काम गरिरहँदा खासै गाह्रो महसुस नगरेका नरेशलाई भाँडा बनाउँदा आउने निरन्तरको आवाजले पछि श्रवन शक्तिमा समस्या आउने हो कि भन्ने डर भने रहेछ।

पहिला पाताको भाँडा बनाउने गरेको तर पाताको भाँडा छिटो कालो हुने हुँदा अहिले आल्मुनियमको भाँडाको डिमाण्ड बढी आउने गरेको उनी बताउँछन्। 

नरेशसँग बाबुले सिकाएको सिपसँगै उनले छोडेर गएको भाँडा बनाउन आवश्यक सबै सामग्री छ। अहिलेसम्म भाडा बनाउने सामान किन्नु नपरेको उनी बताउँछन्।

यो ठाउँ उनका बुबाले नै छानेका रहेछन्। त्यही भएर भएर छिमेकीले झिँझो-झर्को नमान्ने रहेछन्। 'सुरुमा बुबाले पसल खोल्दा टोलका मान्छेले कराएका थिए रे। अहिले त सबैलाई बानी परिसक्यो। कसैले केही भन्दैनन्। नयाँ ठाउँमा त यस्तो आवाज आउने काम गर्न दिँदैनन् नि,’ नरेश भन्छन्।

सुरुमा नरेशले २/४ जना कामदार पनि राखेका थिए। तर राम्रोसँग काम नगरेपछि अहिले आफू एक्लैले धानेका छन्। 'भारतीय कामदारलाई राखेको थिएँ। काम राम्रो भएन भन्ने गुनासो आयो। सामान नै टिकेन भनेर ग्राहक नै भड्किए। त्यसपछि हटाइदिएँ,' उनी भन्छन्।

आफूले बनाएका सामान विदेश पनि जाने गरेको उनी बताउँछन्। भन्छन्, 'मैले बनाएका सामान अष्ट्रेलिया, जापान, बेलायतसम्म पुग्छन्। सामान बनाउन भ्याइनभ्याइ हुन्छ।'

पहिले पाटन, साँखु, धुलिखेल, गोर्खा लगायतका ठाउँबाट पनि धेरै ग्राहक आउने गरेको उनी सम्झिन्छन्। अहिले त्यति टाढाबाट ग्राहक आउन छोडे पनि पुराना ग्राहकले भने नछोडेको उनी बताउँछन्।

भाँडा बनाउने काममा हात हालेपछि अन्य कामका बारेमा सोच्नै नभ्याएको उनको भनाइ छ। विवाहअघि खासै कामको चाप नभए पनि विवाहपछि भने खटेर काम गर्नुपरेको बताउँदै नरेश भन्छन्, 'मेरो विवाह भएको २५ वर्ष भयो। विवाहअघि जिम्मेवारी कम थियो, काम गर्दा पनि हुन्थ्यो। विवाहपछि जिम्मेवारीसँगै काम पनि थपियो।'

आफ्नो पेसालाई निरन्तरता दिने कोही नपाउँदा भने उनलाई चिन्ता छ। कसैले इच्छा देखाए सिकाइदिन्छु भन्दा पनि मान्छे नपाउँदा दु:ख लागेको नरेश बताउँछन्।

'एउटा छोरा छ। उसले पनि यो काम सिक्ने इच्छा गरेन। पढ्यो अनि बाहिर गइहाल्यो। त्यसैले म हुँदासम्म पसलको अस्तित्व रहने हो कि भन्ने चिन्ता लाग्छ।’ 

भाँडा बनाउने काम आर्मीहरुलाई सिकाउन मन रहेछ नरेशलाई। तर आर्मीलाई सिकाउन हुँदैन। देशको सेवा गर्नेले यस्तो काम गर्दैन भन्ने सुनेछन् कतै। तैपनि, उनले आर्मीसँग कुरा राखेको बताए। 'कुरा राखेको छु। हेरौं, जवाफ सकारात्मक आउँछ कि आउँदैन,' उनले भने।

आठ कक्षा पढ्दा नरेश एक वर्षे तालिमका लागि राष्ट्रिय सेवा दल (एनसिसी) मा गएका रहेछन्। 'त्यतिखेर आर्मीको तालिम लिन जान्थे स्कुलबाट। एनसिसीका बच्चाहरुलाई सिकाइदिउँ न त भनेर प्रस्ताव राखें। त्यतिखेर राखेको प्रस्तावको जवाफ पर्खिरहेको छु,’ उनले सुनाए।

२७ असार, २०७९, १४:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।