मेयर बालेन्द्र, आफ्नै कार्यालयको शौचालय पनि हेर्ने कि !

मेयर बालेन्द्र, आफ्नै कार्यालयको शौचालय पनि हेर्ने कि !

काठमाडौँ : सार्वजनिक शौचालयको अभावमा सर्वसाधारणहरुले पाउने गरेको सास्ती हटाउन भन्दै काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भए लगत्तै बालेन्द्र शाहले पहिलो कार्यपालिका बैठकबाटै होटल, रेस्टुरेन्ट लगायतकाको शौचालय सर्वसाधारणले समेत प्रयोग गर्न पाउने गरी सम्झौता गर्ने निर्णय गरे।

उनको निर्णयको प्रभाव काठमाडौँ महानगर क्षेत्रमा मात्र परेन। काठमाडौँ बाहिर पनि बालेनको घोषणालाई समर्थन गर्दै ग्राहकको प्रयोगका लागि बनाइएको शौचालय अन्य सर्वसाधारणहरूका लागि समेत खुला गरिए।

काठमाडौँमा नबिल बैक लगायतका रेस्टुरेन्ट र होटलहरु समेत महानगरको निर्णय कार्यान्वयनमा सहमत भए। ‘वी फर बालेन, बालेन फर अस’ को बोर्डहरू लागे। यसो हेर्दा पछिल्लो देश निःशुल्क शौचालयमय बनिरहेको देख्न सकिन्छ।

काठमाडौँ महानगरपालिका अनुसार मेयर बालेन्द्रको प्रस्तावपछि हालसम्म महानगरभित्रबाट मात्र ३४ वटा सेवा प्रदायक कम्पनीले सार्वजनिक शौचालय उपलब्ध गराउन सहमत भएका छन्। जसमा अधिकांश होटल र रेस्टुरेन्ट छन् भने त्यसबाहेक बैङ्क, स्कुल र अन्य केही कम्पनीहरू समेत राजी भएका छन्।

सार्वजनिक शौचालय प्रयोग गर्न जाँदा पार्किङ गरेबापत महँगो शुल्क तिर्नु परेको, केही स्थानमा निःशुल्क शौचालयको बोर्ड राखिए पनि शौचालयमा ताल्चा लगाउने गरेको गुनासाहरू आइरहेका छन्।

सर्वसाधारणको शौचालयको अभावका कारण खेप्नु परेको सास्ती कम गर्न महानगर नेतृत्वले गरेको निर्णय स्वागतयोग्य नै हो। तर त्यही प्राथमिकता र सेवा महानगरपालिकामा निधिन्न काम लिएर आउने सेवाग्राहीले नपाउनु भने छक्क पार्ने घटना हो। यस्तै देखियो उकेराको अनुगमनमा।

अहिले काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालय सुनधारास्थित जेडीए कम्प्लेक्सको पाँचौँ र छैटौँ तलामा छ। २०७२ वैशाखको भूकम्पपछि माघबाट महानगरपालिकाको कार्यालय बाग दरबारबाट त्यता सरेको हो।

सो कम्प्लेक्सको भुइतलादेखि छैटौतलासम्म हिँड्दै जाने हो भने भवनभित्र सबैभन्दा बढी शौचालयकै गन्ध आउँछ। महानगरको भवन रहेको पाँचौँ र छैटौँ तलाभित्र सेवाग्राहीले प्रयोग गर्न मिल्ने शौचालय छ। महिला अनि पुरुषका लागि बनाइएको शौचालय छिरिन सक्नु छ।

काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखको सचिवालयभित्रका शौचालय पुराना छन्। केही प्यानहरू प्रयोगै गर्न नसकिने अवस्थाका छन्। शौचालयमा हात धुन सामान्य साबुन समेत देखिएन।

शौचालय भित्र प्रवेश गरेपछि छेउमै स्टोर रुमजस्तो छ जहाँभित्र फोहोर थुपारिएको छ। कागज, काम नलाग्ने पुराना सामग्री र थुपारिएको फोहोरको दुर्गन्ध टाढैबाट थाहा पाइन्छ। महानगरवासीको स्वास्थ्यसँग जोडिने शौचालयजस्तो विषयमा मेयर बालेन्द्रको टिमले देखाएको गम्भीरता राम्रो हो।

तर सुधारको प्रारम्भ भने आफ्नै कार्यालयको शौचालयबाट गर्नुपर्ने देखियो

३१ जेठ, २०७९, २०:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।