माहुरी व्यवसायकी 'वान म्यान आर्मी’ : कृषि कार्यक्रमको दर्शकदेखि सफल कृषि उद्यमीसम्म

माहुरी व्यवसायकी 'वान म्यान आर्मी’ : कृषि कार्यक्रमको दर्शकदेखि सफल कृषि उद्यमीसम्म

माहुरी पालक सरिता भट्टराई श्रेष्ठ आफ्नो पेसामा मग्न छिन्। बिहानदेखि नै माहुरीको घार खोलेर उनीहरुको अवस्था हेर्नु, चरन क्षेत्रमा भएको उपस्थिति हेर्नु, रोग लागेको छ कि भनेर जाँच गर्नु, मह र कुटको हेरविचार गर्नु, रानी र भाले माहुरीको संख्यामा ध्यान दिनु उनको नियमित कार्य नै भएको छ।

माहुरीसँग सम्बन्धित हरेक काम गर्न सिपालु सरिता पछिल्लो केही समययता भने विभिन्न संघ-संस्थामा पनि आवद्द छिन्। 

प्रधानमन्त्री कृषि आधुनिकीरणमा उनी माहुरीको क्षेत्र अन्तर्गत सचिव हुनुका साथै बागमती प्रदेश घरेलु महासंघमा पनि महिला उद्यमीहरुकी वरिष्ठ उपाध्यक्ष हुन्।

सरिताको जीवन बदल्न माहुरीको ठूलो भूमिका छ। त्यसैले  उनी माहुरीलाई आफ्नो भगवान मान्छिन्। उनको घार बनाउने स्रोत केन्द्र पनि छ। माहुरीको घार बनाउनेदेखि त्यससँग सम्बन्धित हरेक सरसामान बनाउन जानेकी छिन्।

'म भोको बसेको देखेर नजिकै बस्ने एउटा भाइले सडकमा माग्न जाउँसम्म भनेको थियो'

घार, धुवाधानी, टोपी, पन्जा, फ्रेम, क्विन कप, रानी छेक्ने पाता, मह छान्ने जाली, मह निकाल्ने मेसिन अनी मह हाल्ने बट्टा समेत बनाउन आउँछ उनलाई। माहुरीबाट समान उत्पादन गरेपछि त्यसलाई बजारीकरण पनि उनैले सम्हालेकी छिन्।

चितवनबाट काठमाडौँ आएको १० वर्षमै सरिताले सफल व्यवसायीको परिचय बनाइसकेकी छिन्। पढाइमा अब्बल सरिताले चितवनमा हुँदा त्यति धेरै संघर्ष गर्नु परेन। उनका आमाबुवा नै मास्टर भएको कारण पनि त्यति धेरै दु:ख भोग्न नपरेको उनी बताउँछिन्। तर एक निर्णयसँगेै दुख पनि साथमै आयो।

अन्तरजातीय होइन चिनजान विवाह
१२ कक्षा सक्किएपछि उनको अन्तरजातीय विवाह भयो। उनी आफ्नो विवाहलाई चिनजान विवाह भन्न रुचाउछिन्। 'अन्तरजातीय विवाह भन्ने बित्तिकै लभ म्यारिज होला, एकले अर्कालाई मन पराएरै विवाह गरेको होला भन्ने हुन्छ। तर हाम्रो त्यस्तो होइन, 'उहाँको पहिलेदेखि नै उतै व्यवसाय थियो। कहिलेकाहीँ देखेको मात्र हो। उहाँले एक दिन मसँग विहे गर भनेर ठाडै भन्नुभयो। मेरो पनि के दिमागमा आयो हस भनिहालें।’

विवाह गरेपछि माइतीतर्फ बोलचालै बन्द भयो। घरमा पनि छिर्न दिएनन्। अनि उनीहरु काठमाडौँ आए। र, डेरामा बस्न थाले।

तर, काठमाडौँ आएको तीन दिनमै श्रीमान् फर्किएर चितवन नै गए। त्यसपछि उनी एक्लै परिन्। उनी भन्छिन्, 'श्रीमान् २/३ महिनामा एक चोटी आउनुहुन्थ्यो अनि केही पैसा छोडेर फेरि फर्किहाल्नुहुन्थ्यो।’

काठमाडौँको भीडमा सरिता एक्लेै परिन्। पैसा नहुँदा कति दिन भोक-भोकै पनि बसिन्। पेट पाल्नका लागि झन्डै माग्न हिँड्नुपर्ने अवस्थासम्म आएको उनले सुनाइन्। 'म भोको बसेको देखेर नजिकै बस्ने एउटा भाइले सडकमा माग्न जाउँसम्म भनेको थियो,' उनले भनिन्।

त्यतिबेला फोनको पनि खासै चलन नभएकाले श्रीमानसँग पनि लामो समय उनको कुरा हुन पनि सकेन। सरितालाई पनि चितवन फर्किन मन नभएको होइन। तर परिवारसँग बोलचाल नै नभएकोले फर्किन अफ्ठ्यारो लागेको उनले बताइन्।

करिब १० वर्ष उनले दु:खजिलो गरेर बिताइन्। पछि केही पैसा जम्मा गरेर एउटा म्यानपावरमा लगानी गरिन्। 'म्यानपावरमा लागेपछि धेरै गुनासो आयो। उनले त्यो काम छोडेर डेरी खोलिन्। त्यहाँ पनि खासै आम्दानी भएन। डेरी पनि छोडिन्।

त्यतिबेला विदेश जाने अवसर पनि मिलेको थियो सरितालाई। 'विदेश जान एयरपोर्टभित्र छिरिसक्या थिएँ। तर फर्किएँ,’’ उनले विगत सुनाइन्।

सानैदेखि आफ्नै केही गर्नुपर्छ भन्ने मान्यता भएको कारण आफ्नै देशमै केही गरौ भनेर फर्किएको उनी बताउछिन्। 

कृषि कार्यक्रमको दर्शकदेखि सफल कृषि उद्यमीसम्म
एक दिन छिमेकीको कोठामा टिभी हेर्न जाँदा सरिताले कृषि कार्यक्रम चलिरहेको देखिन्। त्यहाँबाट माहुरी पालन सम्बन्धी तालिमको बारेमा उनले थाहा पाइन्। लगत्तै उनी ललितपुरको किट विभाग निर्देशनालय गइन्।

उनी आजकल माहुरीको एआई पनि गर्छिन्। एआई भनेको माहुरीलाई कृत्रिम रुपमा गर्भाधारण गराउनु हो।

त्यहाँ केही दिन तालिम लिइसकेपछि उनले गोदावरीमा रहेको माहुरी विकास समन्वय कार्यालयबाट पनि तालिम लिइन्। सिक्नकै लागि भनेर ५ घार माहुरी पनि किनिन्। त्यहीबाट विस्तारै उनको मौरीको घारहरु बढ्न थाले।

सुरुमा मौरीले टोकेर निकै दु:ख पाएको उनले बताइन्। 'माहुरी खेलाउँदा टोकिहाल्ने। कत्ति दिन त हात, अनुहार सबै सुन्निएर पनि थला परें। लगानी थोरै भए पनि रेखदेख गर्न एकदमै समस्या भयो। तर मिहिनेत सँगै कमाइ पनि राम्रै हुन थाल्यो,' उनले भनिन्।

उनको व्यवसाय फस्टाउँदै गयो। मान्छेहरु मह घरमै किन्न आउन थाले। बिस्तारै चाकाहरु किन्न आउन थाले। पछि त माहुरी नै पनि किन्न आउँथे। अनि त मैले दिनमा एक हजार जम्मा गर्न थाले। बिस्तारै दुई हजार जम्मा गर्न थालें। दिनमा दुई हजार जम्मा गर्नु त महिनामा ६० हजार हुनु हो नि। मैले कुनै ठाउँमा जागिर खाएको भए मलाई महिनामा ६० हजार कसले दिन्थ्यो र!' कमाइ थपिँदै गएपछि उनमा झन् उत्साह बढ्दै गयो। 

त्यतिबेला लोकल सामानलाई त्यति मान्यता नदिएको सरिता बताउँछिन्। उनले आफूलाई यस क्षेत्रमा आवश्यक पर्ने हरेक कुरा आफैं बनाउन सिकिन्। घार बनाउने तालिम पनि उनले त्यतिखेर नै लिएकी हुन्। 

'६० जना पुरुषसँग बसेर मैले घारको तालिम लिएकी हुँ। त्यसैले घार कति बन्यो। कति काठ खेर गयो भन्ने पनि अलिअलि ज्ञान छ। अहिले त घार पनि बेच्न थालेको छु,’ उनले भनिन्।

सामानको माग बढ्न थालेपछि उनले धापाखेलमा जग्गा भाडामा लिएर माहुरी फार्म नै खोलिन्। अहिले उनको फार्ममा २० जना कर्मचारी छन्। मह काढ्ने बेला र चरन क्षेत्र लाने बेला भने फार्ममा करिब ३५ जना कर्मचारी हुने उनले बताइन्। 

व्यवसाय सुरु ८ वर्षको अविधमा सरिता माहुरी विज्ञका रुपमा चिनिन थालेकी छन्। उनले आफ्नै नाममा धापाखेलमा 'माउन्टेन बी कन्सर्न’ नामको कम्पनी दर्ता गरेकी छिन्। 

उनी आजकल माहुरीको एआई पनि गर्छिन्। एआई भनेको माहुरीलाई कृत्रिम रुपमा गर्भाधारण गराउनु हो।

उनका श्रीमान् पनि चितवनमा माहुरी व्यवसाय गर्छन्। ३/४ महिनामा श्रीमान् यता आउने गरेको उनले बताइन्। माहुरीलाई चरन क्षेत्रको लागि चितवन लाग्दा श्रीमानले हेर्ने गर्छन्। त्यस समय सरिता भने यता बजार व्यवस्थापनमा अलि बढी ध्यान दिने गर्छिन्।

माहुरीलाई चरन क्षेत्रको कमी
सरिता माहुरी चरनको लागि चितवन, दाङ, सर्लाही, सिलिंगे, राष्ट्रिय निकुञ्ज, भैरहवा लगायतका जिल्लामा लाने गर्छिन्। चिउरी माहुरीलाई एकदम धेरै मन पर्ने भएको कारण बनसँग सहकार्य गरेर चिउरीको बिरुवा रोप्ने कि भन्ने छलफलमा पनि आफू सहभागी भएको उनले बताइन्।

सरिता माहुरी किसान हुनुमा आफूलाई निकै गर्व महसुस भएको बताउँछिन्। कोभिड महामारीको समयमा महको ठूलो माग भएको उनले सुनाइन्। 'सबै व्यवसाय ठप्प भएका बेला मेरो व्यवसाय भने मारामार थियो। त्यतिबेला आफूलाई कृषक हुनुमा गर्व महसुस भयो।

'चरन क्षेत्रमा नलाने हो भने त माहुरी पालकलाई धेरै गह्रो हुन्छ। अहिले चरन क्षेत्रको कमी छ। उनीहरुको बासस्थान भनेको त जंगल नै हो। त्यसको लागि फूल, जंगल क्षेत्र एकदमै आवश्यक छ। तर, हामीसँग चरन क्षेत्रको कमी छ,’ उनले सुनाइन्।

माहुरीबाट फाइदै-फाइदा 
माहुरी व्यवसायमा फाइदै-फाइदा भएको सरिता बताउँछिन्। माहुरी यस्तो एउटा किरा हो जसले केही पनि खोज्दैन। उसलाई एउटा घर बनाएर व्यवस्थापन गरेर राख्न सक्यो भने पुग्यो।

सरिताका अनुसार माहुरीले आफ्नो लागि संचित गरेर राखेको खानेकुरा झिक्ने, उसको बच्चालाई बेच्ने हो। नराम्रो पाटो भनेको टोकाइलाई लिने गरिन्छ। तर त्यो पनि फाइदाजनक नै हुन्छ। सरिता भन्छिन्, 'माहुरीको टोकाइले मान्छेको धेरै रोग नष्ट गरिदिन्छ भनेर त डाक्टरहरुले प्रमाणित गरेकै कुरा हो।' 

मह त माहुरीले दिने सबैभन्दा सस्तो चिज भएको सरिता बताउँछिन्। उनी भन्छिन्, 'रोयल जेली भन्ने हुन्छ। जुन उत्पादन गर्न सक्यो भने किलोकै लाख पर्न जान्छ। त्यो माहुरीको सिल्क ग्रन्थी रसाएर निस्कने एउटा थुकको थोपा हो। त्यो नेपाली बजारमा पहिला माग नै हुँदैनथ्यो। किनभने एकदमै महँगो हुन्थ्यो। तर अहिले माग हुन थालेको छ।'

तर, रोयल जेली उत्पादन गर्न भने निकै गाह्रो हुने उनी बताउँछिन्। त्यसको लागि ५०० घार माहुरी त स्टकमै राख्नुपर्ने उनको भनाइ छ। 

त्यस्तै माहुरीले घारको माथि एउटा प्रोपोलिस टाल्छ। त्यसको पनि होलसेलमै किलोको ५ हजारसम्म पर्ने उनले सुनाइन्। 'माहुरीले पोल्लेन ल्याउँछ त्यसको पनि ३५ सयदेखि ५ हजारसम्ममा म घरबाटै बेच्छु। त्यो पोल्लेन खुट्टामा बोकेरा ल्याउँछ। त्यसले घारमा जानुभन्दा अगाडि बाहिर नै झर्छ। त्यो सानो मेथीको दाना जस्तो हुन्छ। अनि हामी संकलन गरेर सुकाएर बोतलमा हालेर बेच्छौं,' सरिताले भनिन्।
त्यस्तै माहुरीबाट उत्पादन हुने अर्को चिज भनेको मैन पनि हो। पछिलो समय सरिताले साबुन पनि बनाएर बेच्न थालेकी छिन्।

सफलतासँगै जोडिएको परिवार
काठमाडौँ आएको सुरुवाती वर्षमा आफू एक्लै भए पनि अहिले धेरै आफन्त कमाउन सफल भएको सरिता बताउँछिन्। उनी भन्छिन्, 'अहिले त म सबैको छोरी, बुहारी, भाउजु, र आफन्त भएकी छु। तर यो सब मैले अहिले मात्र महसुस गर्न पाएँ। पहिला जब म एक्लै हुन्थें त्यति खेर कुनै एक जनाको मात्र साथ भएको भए म अझै अघि बढ्न सक्थे जस्तो लाग्छ। आफ्नो परिवारको साथले अगाडि बढ्न पाएको भए झन् राम्रो हुन्थ्यो कि भन्ने लागिरहन्छ।’

२३ जेठ, २०७९, ११:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।