निजामती अस्पताल निर्देशकको बदमासीमा सशस्त्र अस्पतालकी इन्जिनियरको कनेक्सन

निजामती अस्पताल निर्देशकको बदमासीमा  सशस्त्र अस्पतालकी इन्जिनियरको कनेक्सन

काठमाडौँ : निजामती कर्मचारी अस्पतालका लागि एमआरआई मेसिन किन्न गरेको टेन्डरमा सशस्त्र प्रहरीबाट झिकाइएकी बायोमेडिकल इन्जिनियरले एक मात्र मेडिकल सामान सप्लायर्सलाई मिल्ने गरी स्पेशिफिकेशन बनाएको समितिका सदस्यहरुको दाबी छ।

अस्पतालका कार्यकारी निर्देशक विधाननिधी पौडेलले स्पेशिफिकेशन बनाउन सशस्त्र प्रहरी बलको बलम्बुमा रहेको अस्पतालमा कार्यरत बायोमेडिकल इन्जिनियर डिना केसीलाई झिकाएका थिए। पौडेलको इच्छामा उनले स्पेशिफिकेशन बनाए पनि त्यो समितिबाट पारित हुन नसकेपछि उनी राजिनामा दिएर हिँडेकी थिइन्।

१५ करोडमा आउने एमआरआई मेशिन २३ करोडमा खरिद गर्ने योजना अनुसार झिकाइएकी केसीले आरबी मर्चेन्टलाई टेन्डर पर्ने गरी स्पेशिफिकेशन बनाएर समितिमा पेस गरेको तर समितिका अन्य सदस्यहरूले अस्वीकार गरेपछि उनले समितिबाट राजीनामा दिएको समितिका अधिकांश सदस्यहरुको दाबी छ।

केसी गत साउनमा निजामती अस्पतालमा आएकी थिइन्। समितिमा ६५ सेन्टिमिटर बोर साइजको एमआरआई मेसिन किन्ने कि ७० सेन्टिमिटरको किन्ने भन्नेमा चर्को विवाद भएको थियो। 

स्पेशिफिकेशन समितिमा रहेका एक सदस्यका अनुसार केसीले प्रारम्भमा ६५ सेन्टिमिटर बोर साइज र डबल आरएफको एमआरआई किन्नुपर्ने अडान राखेकी थिइन्। पछि त्यो पनि बदलेर ६५ सेन्टिमिटर बोर साइज र सिङ्गल आरएफको मेसिनको मापदण्ड बनाउन उनले समितिमा प्रस्ताव गरेकी थिइन्।

समिति स्रोतका अनुसार केसीको सुझाव अनुसार स्पेशिफिकेशन बनाउँदा कम गुणस्तरीय एमआरआई आउने भएपछि समितिका अधिकांश सदस्यहरू सहमत भएनन्। समितिका एक सदस्यले भने,‘७० सेन्टिमिटर बोर साइजको डबल आरएफ किन्नेबारे सहमति हुने नदेखिएपछि सिङ्गल भए पनि ७० सेन्टिमिटर बोरकै मेशिन किन्नेबारे समितिको बहुमत सदस्यको राय भए पनि उहाँ सहमत हुनुभएन।'

समितिले आफ्नो सुझाव नमानेपछि केसीले समितिको सदस्यबाट राजीनामा दिइन्। उनले राजीनामा दिँदा पत्रमा समितिका संयोजक डा. राजबाबु व्यञ्जनकारलाई दोष दिँदै ' विभिन्न मितिमा बसेको एमआरआई प्राविधिक स्पेशिफिकेशन कमिटीको बैठकहरूमा संयोजक व्यञ्जनकारद्वारा ३ टेस्ला एमआरआईको स्पेशिफिकेशन तयार पारी पेस गरिएको’ उल्लेख गरेकी छन्।

पुस एक गतेको मितिमा बुझाएको राजीनामा पत्रमा उनले लेखिन्' कुनै एक कम्पनी विशेषलाई मात्र लक्षित गरी बनाइएको लक्ड स्पेशिफिकेशन देखिएकाले कमिटीमा बारम्बार लकिङ पार्ट हटाई संशोधन गरी ओपन स्पेशिफिकेशन तयार गर्न पटक- पटक सुझाउँदा समेत डा. व्यञ्जनकार तथा अन्य कमिटी सदस्यहरूले त्यसको बेवास्ता गरी सोही लक्ड स्पेशिफिकेशनलाई नै पारित गर्नुपर्ने अडान राखेकाले म एक विज्ञको रूपमा यस कमिटीमा रहनुको कुनै औचित्य नरहेको हुनाले यस कमिटीबाट बाहिरिन चाहेको जानकारी गराउँछु।’

उनले राजीनामा त दिइन्। उनको राजीनामापछि समिति नै भङ्ग भएर दोस्रो समिति बन्यो। दोस्रो समिति बनेपछि पनि कार्यकारी निर्देशक डा पौडेलले उनै केसीलाई आमन्त्रित सदस्यको रूपमा बैठकमा बोलाए। सशस्त्र प्रहरी अस्पतालका निर्देशक डा रूपक महर्जनले पनि उनैलाई पठाए।

जबकि वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, स्वास्थ्य सेवा विभागमा समेत बायोमेडिकल इन्जिनियरहरू छन्। त्यहाँबाट समेत बायोमेडिकल इन्जिनियर मगाउन सक्ने भए पनि पौडेलले सशस्त्रकै केसीलाई नै बोलाए।

अनि असहमति जनाउँदै राजीनामा दिएकी केसी पनि आमन्त्रित सदस्यको रूपमा बैठकमा सहभागी भइन्। सो बैठकले ७० सेन्टिमिटर बोर साइजको एमआरआई मेसिन किन्ने निर्णय गरेको थियो।

बायोमेडिकल इन्जिनियर केसीले भने कुनै निश्चित कम्पनीलाई टेन्डर पार्ने गरी आफूले स्पेशिफिकेशन बनाउने प्रयास नगरेको दाबी गरिन्।

एआरआइ मेसिन किन्न सप्लायर्ससँग बार्गेनिङ गर्दै सिभिल अस्पतालका निर्देशक : १५ करोडको मेसिनलाई २३ करोड दिने तयारी

उनले स्पेशिफिकेशन बनाउने समितिमा रहेका अन्य सदस्यहरूले नै निश्चित एउटा कम्पनीलाई मात्रै टेन्डर पर्ने गरी स्पेशिफिकेशन बनाएपछि आफूले त्यसमा असहमति जनाउँदै राजीनामा दिएको दाबी गरिन्।

उनको राजीनामा पत्रमा असहमतिबारे उल्लेख छ।  ‘लक्ड स्पेशिफिकेशन विवादास्पद मात्र नभई त्यसलाई पारित गर्नुपर्ने सार्वजनिक खरिद नियमावली र नेपाल सरकारको प्रचलित नियम कानुन विपरीत रहेको’, उनले उल्लेख गरेकी छिन्।

तर,  एमआरआई खरिदका लागि बनेको स्पेशसिफिकेशन समितिका अन्य सदस्यहरू  केसीले आफू अनुकूल स्पेशिफिकेशन बनाएर पारित गराउन नसकेपछि चोक्खिन राजीनामा पत्रमा गलत दाबी गरेको बताउँछन्।

'सुरुमा उहाँ (केसी)को कुरा ६५ सेन्टिमिटर बोर साइज र डबल आरएफमा जाने भन्ने नै थियो। पछि बदलेर ६५ सेन्टिमिटर बोर साइज र सिङ्गल आरएफ जाने भन्ने कुरा गर्नुभयो। तर समितिका सदस्यहरूले मानेनन्। अनि राजीनामा दिएर हिँड्नुभएछ।’

केसी भने ६५ सेन्टिमिटर बोर साइजको एमआरआई खरिदका लागि स्पेशिफिकेशन नै नबनाएको दाबी गर्छिन्। बरु उनले सिभिलको स्पेशिफिकेशन प्राविधिक टिमले बनाएको स्पेशिफिकेशन कुनै निश्चित कम्पनीलाई मात्रै पर्ने देखिएपछि आफूले त्यो स्पेशिफिकेशनमा सहमत हुन नसकेको उकेरासँग दाबी गरिन्।

पहिलो समितिले बनाएको स्पेशिफिकेशनमा पनि ७० सेन्टिमिटर बोर साइजकै एमआरआई खरिद गर्नुपर्ने उल्लेख भएको उनको दाबी छ।

 ‘पहिलेको पनि ७० सेन्टिमिटरको डबल आरएफ नै थियो’ उनले भनिन्' डबल आरएफ राख्दा सबै कम्पनीले प्रस्ताव पेस नगर्ने भएकाले सिङ्गल-डबल आरएफ राख्नु पर्ने प्रस्ताव राखेको हुँ।' उनले आफ्नो प्रस्तावमा समितिका सदस्यहरू सहमत नभएपछि राजीनामा दिएको दाबी गरिन्।

आफू स्पेशिफिकेशन बनाउने काममा संलग्न समेत नभएको उनको दाबी छ। उनलाई बोलाएकै स्पेशिफिकेशन बनाउन हो। तर उनी भन्छिन्'‘स्पेशिफिकेशन बनाउनेमा मेरो संलग्नता नै छैन। स्पेशिफिकेशन कसले र कसरी बनायो मलाई थाहा छैन।’

यसबारे समितिका अधिकांश सदस्यहरूसँग बुझ्दा केसीले एक पटक समितिमा आफैले स्पेशिफिकेशन बनाएर प्रस्तुत गरेको देखियो। उनले समितिमा प्रस्तावका रूपमा प्रस्तुत गरेको ६५ सेन्टिमिटर बोर साइजको स्पेशिफिकेशन अध्ययन गर्दा हाई इण्ड १.५ टेस्ला बराबरको कम गुणस्तरको एमआरआई देखिएकाले समितिका विरोध भएको अधिकांश सदस्यहरूले उकेरासँग बताए।

उनले राजीनामा गरे पनि अस्पतालका कार्यकारी निर्देशक डा. पौडेलले उनको राजीनामा तत्काल स्वीकृत गरेनन्। नयाँ बायोमेडिकल इन्जिनियर पनि बोलाएनन्। विवाद बढेपछि स्पेशीफिकेशन समितिका संयोजक व्यञ्जनकारले समेत राजीनामा दिए।

राजीनामा दिएर फेरी बैठकमा सहभागी

एमआरआई मेसिन खरिदका लागि बनेको पहिलो स्पेशिफिकेशन समिति भङ्ग भएको केही समयपछि नै डा. पौडेलले दोस्रो स्पेशिफिकेशन समिति बनाए। दोस्रो समितिको संयोजक बने डा अनुजजङग रायमाझी।

दोस्रो समितिमा पौडेलले अन्य अस्पतालबाट समेत स्पेशिफिकेशनका लागि विशेषज्ञ चिकित्सक तथा बायोमेडिकल इन्जिनियर बोलाए। दोस्रो समिति सदस्यमा डा. पौडेलले सशस्त्र प्रहरी अस्पताल र वीर अस्पतालका एक-एक जना चिकित्सक नियुक्त गरे।  राष्ट्रिय ट्रमा सेन्टरका बायोमेडिकल इन्जिनियर रोशन पोख्रेललाई समितिमा नियुक्त गरियो।

पोखरेललाई नियुक्त गरिसकेपछि पनि पौडेलले उनै केसीलाई पुन आमन्त्रित सदस्यको रूपमा समितिको बैठकमा बोलाए। उनलाई सशस्त्र प्रहरी अस्पतालका निर्देशकले पनि पठाए। पहिल्यै राजीनामा दिएर हिँडिसकेकी केसी दोस्रो समितिको पहिलो बैठकमा सहभागी भइन्।

केसीलाई सशस्त्र अस्पतालले २०७८ माघ १८ गते बैठकमा सहभागिताका लागि सिभिल अस्पताललाई पत्र लेखेको थियो। पत्रमा सशस्त्र अस्पतालका प्रमुख डा. रूपक महर्जनको हस्ताक्षर छ।

एक पटक राजीनामा दिइसकेपछि त्यही समितिको बैठकमा केसीलाई किन पठाएको भन्ने जिज्ञासामा महर्जनले केसीले राजीनामा दिएकोबारे थाहा नहुने कुतर्क गरे।

'अस्पतालले हामीलाई खटाइदिनुहुन भनेर पत्र आएको हुन्छ। हामीले त्यही अनुसार उहाँहरूलाई पठाउने हो। रिजाइन (राजीनामा) गरेको भन्ने कुरा त हामीलाई थाहै हुन्न,’ उनले दाबी गरे।

दोस्रो पटक गठन भएको समितिको बैठकमा पनि आरबी मर्चेन्टलाई मिल्ने गरी ६५ सेन्टिमिटर बोर साइजको एमआरआई मेसिन किन्ने स्पेशिफिकेशनमा सहमति हुन सकेन।

राजीनामा दिएर हिँडेको व्यक्ति पुन किन बैठकमा सहभागी भएको भन्ने उकेराको जिज्ञासामा केसीले भनिन्'एपिएफ अस्पतालले खटाएर पठाएपछि म जाने हो। त्यतिकै जाने हैन।

उनले दोस्रो पटक गठन भएको स्पेशिफिकेशन बन्नु अघि बैठक बसेको र दोस्रो पटक प्रारम्भिक मिटिङमा बोलाउँदा स्पेशिफिकेश नबनेको तर्क गरिन्।

यसरी बनेको थियो समिति

पहिलो समितिमा सिभिल अस्पतालका दुई रेडियोलोजी चिकित्सकएक जना रोडियोलोजिष्ट र केसी गरी चार सदस्य थिए। समितिमा केसी बाहेक स्पेशिफिकेशनका सबै सदस्यले कम्तीमा ७० सेन्टिमिटर बोर साइजको गुणस्तरीय डबल आरएफ’ को एमआरआई ल्याउनुपर्ने पक्षमा उभिएका थिए। त्यही अनुसार स्पेशिफिकेशन तयार पनि गरे। डबल वा सिङ्गलमध्येमा भने लचिलो हुन सकिने गरी समितिले एक तहको स्पेशिफिकेशन तयार गरेको थियो।

केसीले समितिमा ७० सेन्टिमिटर बोर साइजको स्पेशिफिकेशन नै ठिक नभएकाले आफैँ बनाएर ल्याउने भनेको एक सदस्यले बताए। केसी बनेको स्फेशिफिकेशन अनुसार एउटा मात्रै कम्पनीले प्रस्ताव पेस गर्न सक्ने देखिएपछि आफूले यसमा सिङ्गल वा डबल (सिङ्गल-डबल) आरएफ राख्नुपर्ने सुझाएको दाबी गर्छिन्।

तर, अन्य सदस्य त्यसमा सहमत नभएपछि उनले राजीनामा दिएको समितिका तत्कालीन अधिकांश सदस्यहरूले उकेरालाई बताए।

उहाँहरूले बनाएको लक्ड स्पेशिफिकेशनमा सही नगरेर के मैले अपराध गरेँ?’, उनले  भनिन्,‘त्यो स्पेशिफिकेशन मैले बनाएको हैन। त्यसमा क्लियर हुनु। उहाँहरू (समिति सदस्य)हरुले दिनु भएको हो।

तरकेसीको दाबी जस्तो स्पेशिफिकेशन लक्ड’ नभएको समितिका एक सदस्यले दाबी गरे। समितिका अधिकांश सदस्यहरू सिङ्गल आरएफमा झर्न सकिने भए पनि ७० सेन्टिमिटर बोर साइज भन्दा कमको एमआरआई मेशिन खरिद गर्न नहुने पक्षमा अडिग बनेको ती सदस्यको दाबी छ।

ती सदस्यका अनुसार ७० सेन्टिमिटर वाइड बोर साइजको डबल आरएफ मेसिनको स्पेशिफिकेशन गङ्गालाल अस्पतालमा खरिद भएको एमआरआई मेसिनकै स्पेशिफिकेशनलाई आधार बनाएर बनाइएको थियो। सो अनुसार धेरै कम्पनीले प्रस्ताव पेस गर्न सक्ने ती सदस्यको दाबी छ। तर केसीले उकेरासँग पटक-पटक पहिलो चरणमा एउटा मात्रै कम्पनीलाई मिल्ने गरी स्पेशिफिकेशन बनाएकाले आफूलाई चित्त नबुझेर राजीनामा दिएको तर्क गरिरहिन्।

पहिलो समितिबाट केसीले राजीनामा दिएपछि कार्यकारी निर्देशक पौडेल र समितिका अन्य सदस्यबिच मनमुटाब बढेको थियो। कार्यकारी निर्देशक नै ७० सेन्टिमिटर बोरको एमआरआई मेसिन किन्ने पक्षमा नदेखिएपछि समितिका सबैले राजीनामा दिए। पहिलो समिति भङ्ग भयो।

सेटिङको अन्तिम कसरत

दोस्रो पटक गठन भएको स्पेशिफिकेशन समितिले ७० सेन्टिमिटर वाइड बोर साइजकै सिङ्गल वा डबल (सिङ्गल-डबल) आरएफको एमआरआई खरिद गर्ने गरी एमआरआइको स्पेशिफिकेशन बनायो।

दोस्रो समितिको पहिलो बैठकमा पनि ६५ सेन्टिमिटर बोर साइज वा ७० सेन्टिमिटर बोर साइजको एमआरआई खरिद गर्ने बारे छलफल भएको उनले दाबी गरिन्। समितिका एक सदस्यका अनुसार सो बैठकमा पनि केसीले ६५ र ७० सेन्टिमिटर बोर साइजमा खासै फरक नपर्ने तर्क गरेकी थिइन्।

त्यो बैठकमा न्यूनतम ७० सेन्टिमिटर बोर साइजको एमआरआई मेसिन किन्ने सहमति भएको थियो। यो केसी पनि स्वीकार गर्छिन्। उनले बैठकको माइन्युटमा हस्ताक्षर गरेको तर कस्तो स्पेशिफिकेशन बनेको हो भन्नेबारे जानकारी भने नभएको दाबी गरिन्।

दोस्रो समितिले पहिलो स्पेशिफिकेशनमा संशोधन गरेर नयाँ स्पेशिफिकेशन बनायो। खरिद प्रक्रिया अगाडी बढ्यो। विशाल पण्डितको हस्पिटेक’, सार्थक न्यौपानेको आरबी मर्चेन्ट’ र शेरसिंह श्रेष्ठको इष्ट वेस्ट कन्सर्नले एमआरआई खरिदका लागि प्रस्ताव पेस गरेका छन्। टेन्डर अहिले मूल्याङ्कनको चरणमा छ।

अन्य सप्लायर्सको एमआरआइमा भएका विभिन्न सामान तथा सुविधा (फिचर) मा त्रुटि देखाएर आरबी मर्चेन्टकै टेन्डर पास गर्ने खेल भने अझै जारी देखिन्छ। समितिले एमआरआई खरिदका लागि प्रस्ताव पेस गरेका सप्लायर्स कम्पनीसँग एमआरआई मेशिनका बारेमा थप क्लेरिफिकेशन पत्र समेत पठाइसकेको छ।

स्रोतका अनुसार पण्डितको हस्पिटेकले फिलिप्स कम्पनीको एमआरआई मेशिन दिने प्रस्ताव पेस गरे पनि अस्पतालको बजेटको सिलिङ २३ करोड भन्दा बढीको रकम प्रस्ताव गरेको छ। आरबी मर्चेन्टले युनाईटेड इमेजिङ कम्पनीको ६५ सेन्टिमिटरको न्यारो बोर साइजको एमआरआई ल्याइदिने प्रस्ताव पेस गरेको छ। केसीले उकेरालाई बताए अनुसार पहिलो बैठकमा ७० सेन्टिमिटर बोर साइजको मेसिन किन्ने निर्णय भएको थियो। उनकै दाबी अनुसार पनि आरबीको प्रस्ताव अस्पतालको स्पेशिफिकेशनसँग मिल्ने देखिएन।

त्यसै गरी इष्टवेष्ट कन्सर्नले  सिमेन्स कम्पनीको एमआरआई मेशिन खरिद गर्ने प्रस्ताव पेस गरेको छ। जुन कम्पनीको प्रस्ताव स्पेशिफिकेशनसँग मिल्ने स्रोतले बतायो।

६५ बोर साइजको एमआरआई मेसिन १२ देखि १५ करोड भन्दा कम मूल्यमा किन्न सकिन्छ।  ७० सेन्टिमिटर बोर साइजको करिब २३ करोड पर्ने जानकार स्रोत बताउँछ। अस्पतालको सिलिङ २३ करोड रहेको र ६५ बोर साइजको पारित गर्दा करिब ११ करोडसम्म कमिसन निस्कने देखिन्छ।

६ जेठ, २०७९, ००:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।