वाद्ययन्त्र बनाउन खप्पिस विष्णुका हात पशुपालनतर्फ सल्बलाउँदै

वाद्ययन्त्र बनाउन खप्पिस विष्णुका हात पशुपालनतर्फ सल्बलाउँदै

धादिङ, थाक्रे गाउँपालिकाका विष्णु तामाङलाई वाद्ययन्त्र बनाउन भ्याइनभ्याइ छ। काठमाडौँको प्याफलमा १५ वर्षदेखि वाद्ययन्त्र बनाउँदै आएका उनी अहिले पनि हरेक दिन ३/४ वटा वाद्ययन्त्र तयार पार्छन्।

उमेरले ३५ वसन्त पार गरेका विष्णु वाद्ययन्त्र मात्र बनाउँदैनन्, त्यसका लागि आवश्यक पर्ने सामग्रीहरु पनि आफैं तयार गर्छन्। रसुवाबाट छाला ल्याउने, पाटनबाट तामा र धादिङबाट काठ पनि आफैं ल्याउँछन् उनी।

उनी बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म यही काममा व्यस्त हुन्छन्। वाद्ययन्त्र बनाउन विभिन्न आकारका काठ र तामाका तयारी सामान नै ल्याउने र छाला चाहिँ आफैंले काटेर मिलाउने गरेको उनी बताउँछन्।

वाद्ययन्त्र बनाउन बाख्रा, खसी र गाई-गोरुको छाला प्रयोग हुन्छ। छाला ल्याएपछि त्यसको आकार मिलाउने र सरसफाइ गर्ने कम पनि उनी आफैं गर्छन्। छालामा लचकपन हुने हुँदा वाद्ययन्त्रमा ध्वनी निस्केको हुनसक्ने उनको अनुमान छ।

विभिन्न वाद्ययन्त्रका साथै मादल, नौमति बाजा, ढोलक, डम्फु, खैंजडी, जिम्बे, डमरु, ढ्यांग्रो र तबलाको सेट पनि आफूलाई बनाउन आउने उनले बताए। 

विष्णुले वाद्ययन्त्र सम्बन्धी न कुनै शिक्षा लिएका छन् न त कुनै तालिम नै। तर पनि कुन यन्त्रलाई कति र कस्तो समान आवश्यक पर्छ भने कुरामा उनी सिपालु भइसकेका छन्।

पाँच कक्षा पढ्दापढ्दै बीचैमा पढाइ छोड्न बाध्य भएका विष्णुले जनआन्दोलनको तितो अनुभव पनि गरेका छन्। 'म सधैं कक्षामा प्रथम हुन्थें। स्कुलमा बम पड्केको आवाज आउँथ्यो। माओवादी स्कुलको वरिपरि घुम्थे। कहिले त सरलाई नै लिएर जान्थे। उनीहरुलाई देखेर कति भागे-भागे,’ उनी सम्झन्छन्, 'सबै त्रसित हुन्थे। एक चोटी त मलाई पनि एउटाले समातेर माओवादी बन्ने प्रस्ताव राखेको थियो।’ 

माओवादी गतिविधि बढेपछि स्कुल जानै छोडेका विष्णु घरबाट भागेर धादिङ-काठमाडौं चल्ने बसमा सहचालकको रुपमा काम गर्न थाले। '६ महिना त्यो काम गरें। दु:ख पाइयो अनि छोडिदिएँ,’ उनले भने।

बसको काम छोडेर उनी गाउँ नै फर्किए। गाउँ फर्किएपछि गाउँकै नानीमाया भन्ने दिदीले उनलाई समाजसेवा गर्न प्रेरित गरिन्। उनी जनसंख्या स्वास्थ्य विकास कार्यक्रममा सहभागी भए। 

आइएनजीओमा पनि पाँच वर्ष काम गरे। त्यहाँ मौखिक तथा लिखित तालिम लिए। उनी भन्छन्, 'समूह-समूह बनाएर नेतृत्व विकास, महिला हक-हित, समावेशीकरण र विधान कार्यक्रममा भाग लिएँ र अरुलाई सहभागी गराएँ।’

दक्षता, क्षमता भए पनि सर्टिफिकेट नभएका कारण त्यहाँको जागिरे हुन नसकेको उनी बताउँछन्। '१० कक्षा मात्र पढ्न पाएको भए पनि केही सजिलो काम गर्न पाउँथे कि!’ उनी भन्छन्।

विष्णु राजनीतिमा पनि होमिए। २०७४ को स्थानीय चुनावमा थाक्रे गाउँपालिका वडा नम्बर ६ को वडाअध्यक्षको उम्मेदवार पनि बने तर निर्वाचित हुन सकेनन्।

केही समयपछि काठमाडौँ घुम्न आएका विष्युलाई वाद्ययन्त्र बनाउने कामको प्रस्ताव आयो र अहिलेसम्म सोही कामलाई अँगालिरहेका छन्। उनलाई खान र बस्नको व्यवस्था पनि कम्पनीले नै मिलाइदिएको छ।

वाद्ययन्त्र लोप हुँदै गएको कुरामा भने उनी सहमत छैनन्। भन्छन्, 'यसमा खासै सत्यता छैन। वाद्ययन्त्र लोप भएकोभन्दा पनि बनाउने व्यक्तिमा कमी भने पक्कै आएको हो।'

अहिले वाद्ययन्त्र बजाउने चलनसँगै सजाउने चलन पनि आएकोले बाजाहरु लोप हुन गाह्रै हुने उनको दावी छ।

उनका श्रीमती, दुई छोरा र एक छोरी गाउँमै छन्। श्रीमती रक्सी बनाएर बेच्ने काम गर्छिन् भने दुवै छोरा यसपालि एसइई दिँदैछन्। छोरी भने चार कक्षामा पढ्दै छिन्।

बोलीमा निकै मिजासिला विष्णु आफ्नो विवाहको एउटा रोचक किस्सा सुनाउँछन्। उनी भन्छन्, 'मेरो न प्रेम विवाह हो, न मागी। कस्तो-कस्तो। उनी आउन तयार भइन्, म ल्याउन तयार। घुम्न गएको बेला साथीहरुले हल्ला गरे। मैले पनि यसो कर्के नजर लगाएँ। घुमेर फर्किंदा त उनी मसँगै आइन्। श्रीमती ल्याएको भोलिपल्ट उनकी आमा लिन पनि आएकी थिइन् तर आधा बाटोबाटै फर्किइन्।’ 

आफू पढ्न नपाए पनि सन्तानलाई धेरै पढाउने विष्णुको इच्छा छ। अब छिट्टै गाउँ फर्किएर कृषि तथा पशुपालन गर्ने योजना पनि उनले सुनाए। त्यसका लागि पशुपन्छी फर्म दर्ता पनि गरिसकेका छन्।

उनी भन्छन्, 'बाटो पुगिसकेको छ। अब अलि सहज छ। त्यही भएर गाउँ फर्किन्छु अनि पशुपालनमा मिहिनेत गर्छु।'

१२ बैशाख, २०७९, ११:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।