बौद्धमा रसुवाको सिस्नु बेचेर छोरा पढाउने सपना देख्छिन् डोल्मा

बौद्धमा रसुवाको सिस्नु बेचेर छोरा पढाउने सपना देख्छिन् डोल्मा

बौद्धनाथ स्तुपा अगाडि रहेको ठूलो घण्टी हुँदै धाराटोल निस्कने बाटैमा पसल खोलेर बसेकी छिन्, डोल्मा तामाङ। उनले यहाँ पसल राखेको करिब ८ वर्ष भयो।

डोल्माको पसलमा सबैभन्दा बढी बिक्री हुने वस्तु हो सिस्नु। सिस्नु बेचेरै परिवारको गुजारा चलाइरहेकी डोल्मा जाडो महिनामा दिनमै १३/१४ बोरा सिस्नु बेच्छिन्। गर्मीमा भने सिस्नु व्यापार खासै हुँदैन। 

‘रसुवादेखि ल्याउनुपर्छ। काठमाडौँसम्म ल्याइपुर्याउँदा आधाजति त कुहिसक्छ,’ डोल्मा भन्छिन्, ‘गर्मी भनेर नल्याउँ भने पनि भएन। अलि–अलि भए पनि व्यापार हुन्छ। त्यही भएर थोरै–थोरै ल्याउने गर्छु।’ 

रसुवाबाट करिब ८ वर्षअघि काठमाडौँ आएकी डोल्माको पसलमा लोकल अण्डा, सिमी, दाल, चम्पा पिठो, मह, घिउ, साग, सिस्नु लगायतका धेरै अर्गानिक सामान पाइन्छ।

घर र माइत नजिकै भएका कारण धेरै दुःख भने नभएको डोल्मा सम्झिन्छिन्। ‘रिस उठ्यो भने वा आमा–बाको याद आयो भने म त घर गइहाल्थें। नजिकै त छ,’ उनले सुनाइन्।

डोल्माको ठूलो सपना छ, छोरालाई राम्रोसँग पढाउने अनि परिवार सँगैसँगै बस्ने। उमेरले भर्खर २९ लागेकी उनी ‘अब त बुढी भयो’ भन्दै मजाले हाँस्छिन्।

रसुवा जिल्लाको चाइना बोर्डर नजिकै गत्लाङ भन्ने गाउँमा मामाघरमा हुर्किएकी डोल्माको बाल्यकाल हजुरआमा र हजुरबुबासँगै १२ वटा चौरीसँग बित्यो। 

याद भएसम्म उनी बाजे र मामासँगै हुर्किएकी हुन्। खाना पकाउने, चौरी चराउने र बाजे र मामाको पछि लाग्दै उनको दिन जान्थ्यो। घरको काम र घर र गोठ गर्दागर्दै उनले पढ्न पाइनन्। ‘कसैले पढ् पनि भनेन अनि पढ्नुपर्छ भन्ने पनि भएन,’ उनी भन्छिन्, ‘म त गोठाल्नी। गोठाल्नीले के पढेको हुन्छ र!’ 

उनी १३ वर्षकी हुँदा हजुरबुबाको मृत्यु भयो। त्यसपछि उनको काँधमा जिम्मेवारी थपियो। हजुरआमा पनि काम गर्न नसक्ने हुँदै गइन्। त्यसपछि भने डोल्मा आफ्नै आमा–बासँग बस्न थालिन्। घर गएर पनि ठूली छोरी भएको नाताले जिम्मेवारी बढी नै रह्यो।

०००
डोल्माको विवाहको कुरा चल्यो। प्रस्ताव नै आयो। उनी भन्छिन्, ‘सबैले विवाह गर्नुपर्छ, अब तँ घरमा बस्नुहुन्न भन्न थाले। घरमा भाइ–बहिनी ठूला हुँदै थिए। केटा माग्न आएपछि मेरो विवाह भयो।’ विवाह हुँदा उनको उमेर जम्मा १४ वर्षको थियो। श्रीमान् भने २१ वर्षका थिए। 

घर र माइत नजिकै भएका कारण धेरै दुःख भने नभएको डोल्मा सम्झिन्छिन्। ‘रिस उठ्यो भने वा आमा–बाको याद आयो भने म त घर गइहाल्थें। नजिकै त छ,’ उनले सुनाइन्।

विवाह भएको एक वर्षपछि नै छोरा जन्माएकी डोल्माको दैनिकीमा खानै नयाँपन आएन। खेतिपाती र घरको काम गरेर नै दिन बित्थ्यो उनको।

‘श्रीमान् पनि सामाजिक कार्यमा नै व्यस्त हुन थाल्नुभो। गाउँमा त्यही त हो नि, कहिले कसको विहे, कसको घेवा भन्दै समय बित्दै थियो। २०७२ को भूकम्पपछि अब यसरी बसेर हुँदैन। बच्चा पनि ठूलो हुँदैछ। यसलाई पढाउनु पर्छ भनेर हामी काठमाडौँ आयौँ,’ उनी भन्छिन्, ‘यता भएका आफन्तले कोठा खोजिदिए अनि बस्न थाल्यौं।’ 

पहिलो पटक काठमाडौँ आउदा त केही मेलोमेसो नै नपाएको डोल्माले सुनाइन्। डोल्मा भन्छिन्, ‘केही गर्न आउँदैनथ्यो। गाउँबाट आउँदा ल्याएको केही सामान नै बेच्ने विचार गर्यौं। गुजाराको लागि २/४ किलो सिमी, पिठो, सिस्नु अनि सिस्नुको धुलो बेच्न थालें।’

‘सिस्नु डाँडापाखामा फुलेर जान्छ। यता ल्याएर बेच्न सक्यो भने त्यसबाटै केही आम्दानी हुन्छ,’ उनी भन्छिन्।

‘बौद्ध स्तुपामा रहेको ठूलो घण्टीमुनि केही किलो सामान बिक्न २ घण्टा पनि लागेन। सामान बिक्री भएको देखेर गर्यो भने हुने रहेछ भन्ने सोच आयो। अनि बुढालाई गाउँमा सामान लिन पठाएँ,’ डोल्माले भनिन्। 

डोल्मा यतै बसेर बच्चालाई स्कुल लैजाने–ल्याउने गर्न थालिन् भने श्रीमान् केही दिनपछि थप ३/४ किलो पिठो, दाल, सिमी अनि सिस्नु लिएर आए। उनीहरु फेरि सोही घण्टीकै मुनि बसेर सामान बेच्न थाले। एक चोटी श्रीमानले लिएर आएको सामान बेचेपछि उनीहरुको परिवारलाई एक हप्तासम्म आरामले खान पुग्थ्यो। त्यसपछि भने उनीहरुले सामानको मात्रा बढाउन थाले।

तर, सधैंझैँ दिन एकैनासको भएन। ‘त्यहाँ बेचेको देखेर बौद्धको समितिले हामीलाई गाली गर्यो। पछि पालेहरूले त्यहाँबाट लखेटे। हाम्रो सामान सबै फ्याँकिदिए,’ अँध्यारो अनुहार बनाएर डोल्मा भन्छिन्, ‘एक दिन पानी परिरहेको थियो, बुढा गाउँ गएको बेला उनीहरुले मेरो सामान सबै खोसे। कति त पानीमा फाल्दिए। म रुँदै छोरा बोकेर कोठामा गएँ। भोलिपल्ट त्यहाँ गएर मेरो सामान खै भन्दा कसैले केही बोलेनन्।’ 

भविष्यमा के गर्ने योजना छ? भन्ने प्रश्नमा डोल्मा भन्छिन्, ‘के गर्ने खै। के नै गर्न सकिन्छ र हामीले। पढेको छैन। बच्चालाई चाहिँ राम्रोसँग पढाउने हो।’

करिब एक महिनासम्म उनले त्यहाँ पसल राख्न सकिनन्। ‘मलाई सधैं यसरी यहाँ आएको देखेर एउटा यतैको मान्छेले ठाउँको लागि कुरा गर्दिए। त्यसपछि भने कसैले केही भनेनन्। अहिले त सबले माया गर्छन्। नयाँ ठाउँमा आएर केही गर्न निकै गाह्रो हुने रहेछ,’ डोल्मा भन्छिन्, ‘त्यसपछि मैले यहाँ खासै नराम्रो महसुस गर्नु परेको छैन।’ 

अहिले डोल्माको छोरा ५ कक्षामा पढ्छन्। श्रीमान् गाउँमै बस्छन्। डोल्मा यता पसलमा बस्ने, श्रीमान् गाउँबाट सामान ल्याउने बन्दोबस्त गर्ने। पसलमा पाइने सबै समान आफूहरुले नै खेती गर्ने गरेको डोल्माको भनाइ छ।

‘सिस्नु डाँडापाखामा फुलेर जान्छ। यता ल्याएर बेच्न सक्यो भने त्यसबाटै केही आम्दानी हुन्छ,’ उनी भन्छिन्।

सिस्नु बेच्न पनि निकै संघर्ष गर्नुपरेको डोल्माको गुनासो छ। ‘एक चोटी १०/१५ किलोको बोरा ल्याउने भनेर गाउँबाट मगाएको, धुन्चे भन्ने ठाउँबाट ल्याउन दिइएन। अगाडि थोरै ल्याएर होला केही गरेको थिएन। धेरै ल्याउन खोज्दा बाटोमै रोकिदिने, फालिदिने गर्न थाले। पछि मात्र थाहा भयो, सिस्नु ल्याउनका लागि निकुञ्जबाट अनुमति ल्याउनुपर्ने रहेछ।’ उनलाई त्यो अनुमतिपत्र ल्याउन डेढ वर्ष लाग्यो।

डोल्माले जाडो महिनामा सिस्नु मात्र बेचेर मासिक डेढ लाखभन्दा बढी कमाएकी छिन्। उनले अहिले गाउँबाट अन्य थुप्रै अर्गानिक सामान मगाएर बेच्न थालेकी छिन्। बौद्ध पिपलबोटमा उनको डेरा छ। डेरा नजिकै भए पनि खाना खान जाने फुर्सद हुँदैन। 

भविष्यमा के गर्ने योजना छ? भन्ने प्रश्नमा डोल्मा भन्छिन्, ‘के गर्ने खै। के नै गर्न सकिन्छ र हामीले। पढेको छैन। बच्चालाई चाहिँ राम्रोसँग पढाउने हो।’

छोरा आफैं खाना बनाएर खान सक्ने भएपछि गाउँ नै फर्किने योजना पनि सुनाइन् डोल्माले। ‘गाउँ फर्किएर खेतीपाती गर्छु। खेतिपाती गर्न सकिएन भने चाइना बोर्डरमा पसल खोलेर बस्छु। केही न केही त होला नि। जे भए पनि आफ्नै मान्छेको नजिक बस्न त पाइन्छ।’

२१ चैत, २०७८, ११:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।