स्थानीयकै अवरोधले विद्यालय छाप्रोको छाप्रै

स्थानीयकै अवरोधले विद्यालय छाप्रोको छाप्रै

बुटवल : काठको खाँबो गाडेर अड्याएको टिन। न झ्याल, न ढोका। ठूलो हावा लागे टिन नै उडाउला भन्ने डर। न बस्नका लागि राम्रो बेन्च नै। झट्ट हेर्दा गाईगोठ जस्तै।

गुल्मीको अति दुर्गम मानिने मालिका गाउँपालिका वडा नम्बर २, साउनेपानीमा रहेको सिद्ध मालिका आधारभूत विद्यालयको स्वरुप कुनै गाईगोठभन्दा कम छैन।

जनप्रतिनिधिविहीन हुँदा र जनप्रतिनिधि आएपछि पनि विद्यालयमा तात्विक फरक छैन। शैक्षिक गुणस्तर उस्तै। विद्यालयको पूर्वाधार राम्रो छैन। शौचालय छैन। जंगलमै शौच गर्नुपर्ने अवस्था छ। बन्न लागेको एउटा भवन पनि एक चौथाई काम भएर रोकिएको छ। 

स्थानीयले अपनत्व नलिँदा विद्यालयको अवस्था दयनीय बनेको छ। शैक्षिक सुधार त परेको कुरा शौचालय निर्माणमा समेत स्थानीय विरोधमा उत्रन्छन्।

भवन निर्माण र शौचालयका लागि आएको बजेट फ्रिज भएको छ। स्थानीयबीच नै झगडा हुँदा त्यसको निशानामा विद्यालय परेको छ। त्यसै कारण विद्यालय अहिले छाप्रोमा छ। 

‘स्थानीय र विद्यालय व्यवस्थापन समितिबीच तालमेल छैन। विद्यालयलाई राम्रो गराउने कसरीभन्दा पनि कसरी काम हुन नदिने भनेर चलखेल हुँदा विद्यालय छाप्रोमै छ,’ मालिका गाउँपालिका वडा नं. २ का रविन्द्र विकले भने।

विद्यालय निर्माणका लागि आएको बजेट स्थानीयकै अवरोधका कारण फिर्ता गएको र एउटा भवनको एक चौथाई मात्र काम भएको उनले बताए।

२०७२ सालमा साढे १३ लाखको ट्रस भवनका लागि बजेट परे पनि भवन निर्माणमा आर्थिक चलखेल भएको भन्दै अख्तियारमा मुद्दा परेको छ। उक्त बजेटबाट पक्की भवन बनाउने भन्दै काम सुरु गरिए पनि स्थानीयकै अवरोधले भवनको एक चौथाई मात्र काम भएको मालिका गाउँपालिका वडा नं. २ का वडा सदस्य खिमलाल अर्यालले बताए।

‘झुपडी बनाउन नसक्नेले महल बनाउन आँट्दा विद्यालय अलपत्र बन्यो। आर्थिक अनियमितताको शंका भयो,’ उनले भने।

भवन बनाउन बाग्लुङको भिङगिठेदेखि खच्चडमा सिमेन्ट, बालुवा र मान्छेले बोकेर छड ल्याएका थिए। सडक बाटोले समेत नछोएको स्थानमा पक्की भवन निर्माण गर्न खोज्दा भनेजति काम हुन नसकेको उनले बताए।

‘भवन बनाउन घडेरी खार्दा चट्टान परेपछि त्यही समय र पैसा धेरै खर्च भयो। वर्षायाममा काम रोकिँदा आएको ८० बोरा सिमेन्ट समेत ड्यामेज भयो भन्ने कुरा छ। अख्तियारमा मुद्दा पनि भइसकेकाले यथार्थ के हो अब बाहिर आउला। अहिले यहाँ भवनको काम भने अलपत्र छ,’ वडा सदस्य अर्यालले भने।

जनप्रतिनिधि आएपछि विद्यालयमा भौतिक सुधार र शैक्षिक सुधारका लागि प्रयास गरे पनि स्थानीयकै अवरोधले गर्न नसकिएको उनको भनाइ छ। भवन निर्माण, सडक निर्माण, शौचालय निर्माणका लागि बजेट परे पनि स्थानीयमा भेगीय सोच बढी हुँदा जनप्रतिनिधिले समेत राम्रोसँग काम गर्न नसकेको उनले बताए।

उनले भूकम्प प्रतिरोधी ४ कोठे भवनका लागि ७२ लाख रुपैयाँ बजेट विनियोजन भए पनि स्थानीयकै कारण भवन बन्न नसक्दा उक्त रकम मालिका गाउँपालिकाकै वडा नम्बर ८, मर्भुङग गएको बताए। त्यति मात्र हैन शौचालय निर्माणका लागि ७ लाख बजेट विनियोजन भए पनि शौचालय समेत बन्न नसकेको उनको भनाइ छ।

विद्यालयसम्म बाटो लगिए पनि अहिले स्थानीयकै अवरोधले बाटो रोक्ने काम भएको समेत उनले बताए। ‘विद्यालयसम्म जाने बाटो थिएन। बाटो बनाउँदा समेत स्थानीयले विरोध गरे। बाटो स्कुलमा पुगे पनि अहिले बाटोमा वाल लगाएर अवरोध गरिएको छ,’ उनले भने।

करिब १ सय ५० विद्यार्थी रहेको सिद्ध मालिका आधारभूत विद्यालयमा कक्षा ८ सम्म पढाइ हुन्छ। २०६५ सालमा स्थापना भएको यो विद्यालयले अनुमति २०६६ सालमा पाएको हो। ७ कक्षासम्म अनुमति पाए पनि अहिले यहाँ ८ कक्षासम्म अध्ययन हुने गरेको छ। उपल्लो पाटाखर्क, साउनेपानी, सिरुखर्क, बाग्लुङ पातलेका बालबालिका विद्यालयमा पढ्ने गर्छन्। 

ओमबहादुर खड्का, भरत खत्री लगायतका व्यक्तिका कारण विद्यालयको विकास हुन स्थानीयवासीले नै बताएका छन्। पछिल्लो समय बाटोमा समेत मालिका वडा नं. २ का नेपाली कांग्रेस सभापति रविन्द्र विककै योजनामा अवरोध गरिएको स्थानीयले बताएका छन्।

‘रेशम खड्का विद्यालय चाहन्छन्। कुनै बेला उनैले खर्च दिएर पनि विद्यालय चलेको हो। तर अहिले यो विद्यालयमा भेगीयता बढ्यो। एकले गरेको काम अर्कोले स्वीकार नगर्ने स्थिति बनेको छ,’ मालिका गाउँपालिका वडा नं. २ की एक  स्थानीयले भनिन्।

कतिपयले उक्त विद्यालय रेशम खड्काको भनेर समेत चिन्ने गर्छन्। गाउँकै नेपाली कांग्रेसका पूर्व वडा सभापति समेत रहेका भरत खत्रीले असहयोग गर्दा नै विद्यालयको सुधार हुन नसकेको कतिपयले बताउँदै आएका छन्।

मालिका गाउँपालिकाका प्रवक्ता सोभाखर गिरीले स्थानीयकै विवादका कारण विद्यालयको अवस्था दयनीय भएको बताए। ‘जनप्रतिनिधि आएपछि समस्या समधानका लागि पहल भयो। बाटो लैजानुपर्छ,  भवन बनाउनुपर्छ, शौचालय बनाउनुपर्छ भनेर बजेट समेत पार्ने काम भयो। तर स्थानीयले नै काम गर्न दिएनन्,’ उनले भने।

८ कक्षाको परीक्षा च्यानडाँडामा गराउने गरिएकोमा समेत त्यहाँका स्थानीयले विरोध गरेर नेटा दर्लिङ लैजानुपर्ने स्थिति समेत रहेको उनले बताए। ‘शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्छ भनेर हामीले त्यहाँ दरबन्दी समेत थप्ने निर्णय गर्यौं। पहिले एउटा मात्र दरबन्दी रहेको विद्यालयमा अहिले ६ वटा दरबन्दी र एउटा बालकोटा राखेका छौं। तर स्थानीयले विद्यालयको विकास देख्न चाहेका छैनन्,’ उनले भने। 

विद्यालयका प्राचार्य प्रदीप पन्तले पनि स्थानीयकै अवरोधले काम हुन नसकेको बताए। ‘भवन निर्माण मात्र होइन, खानेपानी, शौचालय समेत बनाउन नदिएपछि प्रशासनसम्म गुहार माग्नु परेको छ। काम सुरु गर्यो कि मुद्दा मामिला पर्छ,’ उनले भने। 

भवन निर्माणका लागि पैसा आए पनि विभिन्न समूहबाट हुने असहयोगले काम हुन नसकेको र त्यही कारण छाप्रोमै भए पनि विद्यार्थीलाई अध्ययन गराउनु परेको उनले बताए।

अहिले विद्यालयका आठ वटा कक्षा माटोले बनेका छन् भने ३ वटा टिनको छाप्रामुनि बारेर पढाउने गरिएको उनले बताए। कक्षा, २, ३ र ४ का विद्यार्थीलाई छाप्रामै राखेर पढाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ।

उनले खानेपानी ममर्तका लागि आएको डेढ लाख पैसा समेत फ्रिज भएको बताए। ‘माथिल्लो क्षेत्रको विकास गर्न नदिने। माथिको बस्ती शिक्षित भए हामी पछि पर्छौं भनेर काम गर्न दिइएन। मलाई दुःख मात्र दिएका छन्। जनताले पनि दुःख पाएका छन्,’ उनले भने।

१४ चैत, २०७८, ०७:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।