बेरोजगारको ठप्पा लागेका चित्रकार जसलाई एउटा बालकको जिद्दीले डेराबाट घरसम्म पुर्‍यायो

बेरोजगारको ठप्पा लागेका चित्रकार जसलाई एउटा बालकको जिद्दीले डेराबाट घरसम्म पुर्‍यायो
तस्बिर : कृष्पा श्रेष्ठ

२०५५ सालमा पशुपति परिसरभित्र रहेको आदर्श माध्यमिक विद्यालयले चित्रकला प्रतियोगिता आयोजना गर्ने भयो। सो प्रतियोगितामा भाग लिने भए, तीन कक्षामा पढ्ने विद्यार्थी अशोक थपलिया।

त्यतिबेला अशोकका सहपाठी थिए महेश मर्हजन। उनी पढाइमा भन्दा चित्र कोर्न बढी मन लगाउँथे। उनी धेरैजसो माछाको चित्र बनाउँथे।

माछाकै चित्र बनाएर महेशले स्कुलमा पनि नाम कमाएका थिए। स्कुलले महेश जस्ता विद्यार्थीको प्रतिभा पहिचान होस् भनेर नै चित्रकला प्रतियोगिता गरेको थियो।

काभ्रे, तेमालबेसीका अशोकले भने कहिल्यै कुनै चित्र कोरेका थिएनन्। सो प्रतियोगतामा उनले इनार, आकाश लगायतका सांकेतिक चित्र कोरे।

‘मैले पनि प्रतियोगितामा भाग लिएँ। मैले बनाएको चित्र देखेर मान्छेहरु मलाई उडाउन थाले,’ अशोक भन्छन्, ‘यस्तो कोरेर चित्र हुन्छ? भने सबैले।’

अशोकको बालमस्तिष्कमा आफू अपमानित भएको छाप पर्यो। 

निम्न आर्थिक अवस्था थियो अशोकको घरमा। आमा दैनिकी चलाउन नाङ्लो पसल गर्थिन् जयबागेश्वरीमा। आमा–छोरामात्र बस्थे सहरमा त्यतिबेला। 

अशोकका बा भने अर्कै परिवार बनाएर काभ्रेमै बसिरहेका थिए। आमा–छोराको आवश्यकता नाङ्लो पसलले नै चलाउँथ्यो।

‘आमासँग सामाजिक शिक्षाको होमवर्क छ भनेर पाँच रुपैयाँ मागें,’ अशोक भन्छन्, ‘त्यतिबेला पाँच रुपैयाँमा दुई वटा सादा पाना पाइन्थ्यो। त्यसमा नै मैले पहिलो पटक चित्र बनाएँ।’

उनले दुई वटा पानामा चित्र कोरे। आमासँग पैसा मागिरहन सक्ने अवस्था थिएन। त्यसैले अशोक आमाले राखेको पैसा चोर्न थाले। र, चोरेको पैसाले चित्र बनाउनका लागि कपी किन्न थाले।

चित्र बनाउन खुबै मन लगाउन थालेका अशोक पशुपतिनाथ हेर्दै चित्र कोर्न थाले। आमाको पैसा चोर्दै कपी किन्नु र चित्र बनाउनु अशाकेको दैनिकी नै बन्यो।

‘मलाई राम्रो चित्र बनाउँछु भन्ने इख थियो,’ अशोक भन्छन्, ‘त्यही चक्करमा लागेर पढाइ खस्किँदै गयो। तर मैले बनाएको पशुपितको चित्र अफिसमा राख्छु भनिन् स्कुलकी एक जना म्यामले।’

अशोकको आत्मबल बढ्न थाल्यो। तीन कक्षाको सुरुवाती अवस्थामा चित्र बनाउन थालेका अशोक तीन कक्षाको अन्तिममा आफ्नो चित्र विद्यालयको कार्यालयमा राखिने भएपछि निकै उत्साहित भए।

उनी पाँच कक्षासम्म सोही विद्यालयमा पढे। त्यतिन्जेलसम्ममा अशोकले पशुपति परिसरबाट भगवानका फोटा किनेर दुरुस्तै बनाउनेदेखि साथीभाइका रुमालमा महादेव बनाएर एक रुपैयाँमा बेच्नसम्म भ्याए।

‘आर्थिक अवस्था कमजोर भएको र पढाइ राम्रो विद्यार्थीलाई गणेशमान सिंह प्रतिष्ठानले स्कलरसिप दिन्थ्यो। त्यसमा म छानिएँ, 'अशोक भन्छन्, ‘त्यसपछि म योङ हार्ट बोर्डिङमा भर्ना भएँ। तर अंग्रेजीले गाह्रो पार्यो। त्यसपछि ७ कक्षाबाट फेरि बालबाटिकामा भर्ना भएँ।’

पढ्नु र चित्र बनाउनुमा मात्र सीमित अशोकको दैनिकीमा बढ्दो उमेरले जिम्मेवारी थप्दै थियो। त्यसैले चित्रकलालाई नै समातिरहन सकेनन्। पत्रिका पनि बेच्न थाले।

‘त्यतिबेला साझा बसको भाडा तीन रुपैयाँ थियो। म  गौशालाबाट न्युरोड गएर पत्रिका बेच्दै आउँथें, 'अशोक भन्छन्, ‘कान्तिपुर बेच्दा ८० पैसा फाइदा हुन्थ्यो त्यो बेला। प्रभात भन्ने पत्रिकामा चाहिँ एक रुपैयाँ नै फाइदा हुन्थ्यो। न्युरोडबाट बेच्दै-बेच्दै म एयरपोर्ट आउँथे। कराइ-कराइ पत्रिका बेच्थें।’

आमाको नाङ्लो पसलले मात्र दुई दिदी र आमा-छोराको जीविका धान्न गाह्रो परिरहेको थियो। आमालाई आर्थिक राहत होस् भनेर अशोक बिहान पत्रिकामा बेच्थे। दिउँसो विद्यालय जान्थे।

पत्रिका बेच्न त्यति सहज भने थिएन। पत्रिका बेच्नेको आफ्नो क्षेत्र तोकिएको हुन्थ्यो। अशोक परे बाहिरका। बिहान प्राय:जसो पत्रिका मान्छेका घर-घरमा पुगिसकेका हुन्थे। त्यसैले पत्रिका किन्न पसलसम्म पुग्न नभ्याएका मान्छेहरु खोज्नुपर्थ्यो। त्यसको विकल्प उनले एयरपोर्टमा देखे।

'क्षेत्र-क्षेत्र हुने रहेछ पत्रिका बेच्नेको। मलाई मान्छे लगाएर निकै थर्काए, त्यो क्षेत्रमा पत्रिका बेच्ने ठेक्का पाएको मान्छेले। तर पनि मैले ८ महिना जस्तो पत्रिका बेचें,’ उनले सुनाए।

पत्रिकाको काममा धम्की आउन थालेपछि अशोक घडी बेच्नतिर लागे। सडकमा मान्छेलाई समय बेच्दै हिँड्दाको समयमा मित्रपार्कको मित्र ग्यालरीबाट कामको प्रस्ताव आयो।

'फ्रिह्याण्ड ड्रोइङ' गरिरहेका अशोकले सोही काम पाए। यता  घडी कोठामा नै थुप्रिएर बस्यो।

‘चित्र बनाउने काम छुटिरहेको थियो। आमालाई पनि राम्रोसँग सघाउन सकिरहेको थिइनँ। मनमा बसेको काम पाएपछि बेचिरहेको घडी कोठामा थन्क्याएर चित्र बनाउने काम थालें,’ अशोक भन्छन्, ‘त्यसमा पनि टुइस्ट आइदियो। काम गरेको २८ दिनमा पेसा दिन सकिँदैन, काम छाड भन्न आइन् मालिककी श्रीमती। मालिक रक्सीको लतमा थिए। काममा उनले लत्तो छाडिसकेका थिए।’

महिना मर्न दुई दिन बाँकी हुँदा कामबाट निस्कनु परेपछि अशोक आफ्नो कर्ममा नै फर्किए।

अब उनी दैनिक पशुपति जान थाले। त्यहाँ देखिएका दृश्यहरु कारेर समय बिताउन थाले।

‘एक दिन स्कुलबाट फर्केर पशुपतिमा मन्दिरको स्केच बनाइरहेको थिएँ। एउटी जर्मन नागरिकले मैले बनाएको हेरिरहेकी रहिछिन्। तिनले मलाई स्केच गर्ने केही बेसिक टेक्निक सिकाइन्, ’अशोकले सम्झिए, ‘ म त आफैं सिकेर  जानेको। ती जर्मन नागरिकले पेन्सिल समात्न सिकाएपछि काम गर्न अझ सहज भयो।’

०००
आफैं अभ्यास गर्दै सिक्दै चित्र बनाइरहेका अशोकको करिअर भने एक जना बालकले फेरिदिए। ‘सधैं जस्तो म पशुपतिमा चित्र बनाउँदै थिएँ। एक जना बालक आएर आफ्नो चित्र बनाइदिन अनुरोध गरे,’ अशोक भन्छन्, ‘धेरै मान्छेले चित्र बनाइदिन अनुरोध गर्थे। उनीहरुलाई अनुहार बनाउने छुट्टै पढेका हुन्छन् भनेर टार्थें। त्यो बालकले जिद्दी गरेपछि टार्न सकिनँ।’

पहिलो पटक अशोकले मान्छेलाई अघिल्तिर राखेर चित्र बनाए। सबैले दुरुस्तै भनेर तारिफ गरे। उनले पारिश्रमिक स्वरुप १ सय रुपैयाँ पनि पाए। 

अशाकेले बनाएको चित्र हेर्नेको भीडबाट एक जनाले आफ्नो पनि बनाइदिन भने। अशोकले ती व्यक्तिको दुरुस्तै स्केच बनाइदिए। त्यो स्केच हेरेर अशोक आफैं पनि छक्क परेका थिए।

त्यसपछि आजका दिनसम्म निरन्तर अशोक पशुपति क्षेत्रमा बसेर मान्छेका चित्र बनाउँदै आएका छन्। साथसाथै १७ वर्षदेखि उनी काठमाडौं इन्टरनेसनल स्कुलमा चित्रकला पढाउँदै पनि आएका छन्।

‘१७ वर्षदेखि म रोजगार छु। तर चित्र बनाउने मान्छे बेरोजगार हुन्छन् जस्तो लाग्दोरहेछ यो समाजलाई। काम खोजेर गर भन्छन् धेरैले। यही काम त भ्याइनभ्याइ हुन्छ, कताको काम खोज्नु,’ अशोक भन्छन्।

०००
एसएलसीको रिजल्ट आयो। अशोक पास भए। चित्रकला नै उनको भविष्यको रुपमा उदायो। पशुपतिमा मान्छेका अनुहार बनाउँदै ललितकला क्याम्पसबाट उनले आइएसम्मको अध्ययन गरे।

‘गाँउको मान्छे। बाले हेर्दैनथे। आमाको नाङ्लो पसलले बिहान-बेलुका खान ठिक्क थियो। दिदीहरुको विवाह गर्दा आमालाई निकै गाह्रो अवस्था थियो,’ अशोक सुनाउँछन्, ‘घर-घडेरीको अवश्यकता थियो। दैनिकी सुधार्नेतिर ध्यान दिन थालें। पढाइ छुट्यो।’

पशुपतिमा चित्र बनाएर नै अशोकले घर बनाइसकेका छन् काठमाडौंमा। आमा, श्रीमती र छोरीसँगै बस्ने अशोक आफ्नो कामबाट सन्तुष्ट नै छन्। 

१७ वर्षअघि १० रुपैयाँबाट सुरु गरेको स्केच बनाउने कामको मूल्य अहिले ३५० पुगेको छ। एक दिनमा १५ जनासम्मको स्केच बनाएका अशोकलाई पुरुषको स्केच बनाउन ४५ मिनेट र महिलाको बनाउन डेढ घण्टासम्म लाग्छ।

‘कोरोनापछि त मान्छेको फोटो लिएर चित्र बनाउने गरेको छु। भोलि पल्ट पठाइदिन्छु। १ हजार लिन्छु। तेल रङमा भने प्रतिव्यक्ति पाँच हजारका दरले बनाउँछु।’

अशोकले चित्रकलालाई आफ्नो पेसा बताइरहँदा धेरै मानिसले हात-खुट्टा तगडै छन्, बाटोमा के चित्र बनाएको होला भन्छन्। कुनै गतिलो काम खोजेर गर्नु नि समेत भन्छन्।

‘आफ्नै मामाले पनि यही भन्नहुन्छ। जबकी, यही पेसाले म कोठाबाट घरसम्म पुगेको छु। यही पेसाले मेरो परिवार खुसीसाथ बाँच्न सकेको छ,’ अशोक भन्छन्, ‘कलाकार भएर बाँच्न सजिलो त छैन। तर असम्भव पनि होइन।’

१२ हजारभन्दा बढी मान्छेको अनुहार बनाइसकेका छन् अशोकले। उनले बनाएको चित्र देश-विदेशमा पुगेको छ। उनी अझै त्यही पशुपतिको भर्याङमा बसिरहन्छन्।

कोरोनाभन्दा अघि विदेशी पर्यटक आउँथे। तोकिएकोभन्दा कम पैसामा बनाउन भन्थे। जब अशोकले बनाइदिन्थे तब अशोकले नसोचेको पैसा दिएर जान्थे। कोरोनाका कारण त्यो पनि सम्भव भइरहेका छैन अहिले।

‘सुरुमा बार्गेनिङ गरेर चित्र बनाउन लगाउँथे। जाने बेलामा २–४ हजारसम्म दिएर जान्थे। अहिले त्यो छैन। मान्छेको फ्लो पनि छैन,’ अशोक भन्छन्, ‘आउन चाहिँ दिनकै आउँछु। मान्छे हेर्छु बस्छु। कोही बेला हजार/पाँच सय हुन्छ। कोही बेला हुँदैन।' 

बाल मस्तिष्कमा साथीलाई देखाउन बनाउन थालेको चित्र आज अशोकको करिअर भएको छ। चित्र बनाउने काम आँखा र हात तगडा भएसम्म हो जस्तो लाग्छ उनलाई।

आँखाले देखेसम्म र हात-खुट्टा चलेसम्म चित्र बनाइरहने छन् उनी। चित्रहरु सजिने छन्, देश-विदेशका भित्तामा। र, अशोक जीवन्त रहने छन् सधैं-सधैं।

७ चैत, २०७८, १८:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।