जसले सुकुटी बेचेर गाउँकै परिचय बदलिन्

जसले सुकुटी बेचेर गाउँकै परिचय बदलिन्

काठमाडौंको सामाखुसीबाट करिब १४ किलोमिटर उत्तर लागेपछि नुवाकोटका पहाडी थुम्काहरु देखिन्छन्। नुवाकोट-काठमाडौंको सिमानामा पर्ने शिवपुरी डाँडोबाट दुई किलोमिटर ओरालो झरेपछि एउटा गाउँ आउँछ।

पहिले-पहिले मान्छेले भिरपाखो मात्र भएको डरलाग्दो खोच भन्थे त्यो गाउँलाई। उब्जनी हुने जग्गा-जमिन कमै थियो त्यस गाँउमा। विवाहको लागि केटी माग्दा पनि दुखिया ठाउँमा दिँदैनौं भन्थे रे। त्यो गाउँको नाम थियो गुर्जेभञ्ज्याङ। 

गुर्जो धेरै पाइने भएकोले गाउँको नाम नै गुर्जेभञ्ज्याङ रह्यो। तर अहिले त्यस गाउँलाई मान्छेहरु गुर्जेभञ्ज्याङभन्दा पहिले गुरुङ गाउँ भनेर चिन्छन्। र, गुरुङ गाउँको रुपमा चर्चित बनाउने काम चाहिँ स्थानीय ३३ वर्षीया फूलमाया गुरुङले गरेकी हुन्। 

उनी गुरुङ गाउँमा सुकुटी बेच्छिन्। उनको सुकुटी खान आउनेहरुले यो कुन ठाँउ हो भनेर सोध्दा उनी यो  गुरुङहरुको गाउँ हो भन्थिन्। 

‘अहिले त सबैले गुरुङ गाउँ भनेर चिन्छन्,’ फूलमाया भन्छिन्, ‘हेलामा परेको ठाउँ हो यो। काठमाडौंबाट  नजिक भए पनि बिजुली, बाटो धेरै पछि आएको हो यहाँ। अब त सुन भयो।’

सुन बनाउने काम पनि उनै फूलमायाले गरेकी हुन्। काठमाडौंबाट शिवपुरी, सूर्यचौर लयागतको काठमाडौंको उत्तरी भेग घुम्न जानेहरु र नुवाकोटका उत्तरी भेगका मानिसहरु हत्तपत्त फूलमायाको सुकुटी नखाई फर्कंदैनन्। जताततै फूलमायाको सुकुटीको चर्चा जो छ।

‘म कुनै पकाउने कला सिकेर/पढेर आएको मान्छे होइन। सात कक्षा मात्र पढेको छु। तर मान्छेहरु मैले बनाएको खानेकुरा मिठो हुन्छ  भन्छन्,’ फूलमाया भन्छिन्, ‘कहाँ सेफ पढेर आको भन्छन्। पढे-लेखेको सेफ भए त देश/विदेश पुग्थें होला नि। म त परेर जानेको सेफ।’

फूलमायालाई विदेशिनेहरुसँग चित्त दुखाइ पनि रहेछ। सबैले सानो उमेरबाटै केही न केही कुरामा आकर्षण हुन्छ। एउटा न एउटा कामप्रति रुचि हुन्छ, जानेको हुन्छ।  त्यसैलाई निखार्दै जाने हो भने कम खटाइमा यहीँ नै विदेशभन्दा धरै कामाउन सकिन्छ भन्ने फूलमायालाई लाग्छ।

अचेल फूलमायाको जस्तै धेरै सुकुटी घर खुलेका छन् गुरुङ गाँउमा। सबैका आ-आफ्ना ग्राहक छन्। पाखो-बारीमा च्याउ फल्छ र फूलमायाका ग्राहकले ताजा च्याउ गोठबाटै उठाउँछन्। गाउँमा जे उत्पादन गरे पनि खपत हुन्छ। यी सबैको बाटो बनाएको उनै फूलमायाले रहेछ।

‘घरमा पनि सानैदेखि मैले जे पकाए पनि मिठो हुन्छ भन्थे। मलाई पनि पकाउन जाँगर चल्थ्यो,’ उनी सुनाउँछिन्, ‘सुरुमा यो ठाउँमा पसल राख्न मै हुँ। गाउँका केहीले कुखुरा पाल्थे। यहाँको देखिने व्यापार त्यति नै थियो। तर अहिले मेरो जस्तो सुकुटी घर धरैका छन् यही ठाउँमा।

०००
काठमाडौंबाट नजिकै भएका कारण ताजा उत्पादन दिन सक्ने अवस्थामा थियो फूलमायाको गाउँ। त्यसैले  फूलमायाकहाँ चिया-खाजा खाँदा-खाँदै गाउँलेले पनि स-साना व्यवसाय गर्न थाले। ताजा तरकारी उत्पादन गरेर काठमाडौं पठाउन थाले। गाउँलेको जीवनस्तर उकासिँदै गयो। त्यसैले त फुलमायालाई लाग्छ, मान्छेले आफ्नो रुचिलाई पहिचान गर्न सके नेपालमै आरामको जीवन छ।

तर, जति आरामको जीवन आज फूलमायाले बिताएकी छिन्, यहाँसम्म आउन उनले निकै संघर्ष गरेकी छिन्। 

०००
२०५७ सालमा सात कक्षामा पढ्दै गर्दा टोलकै युवकसँग भागेर विवाह गरिन् फूलमायाले। १४ वर्षको उमेरमा विवाह गरेर बुहारी बनेपछि उनका कक्षाहरु घाँस-दाउरा र खेतीपातीमा नै बित्न थाले।

अधिकांश स्थानीय जस्तै फूलमायाको परिवार पनि निम्न आर्थिक अवस्थाको थियो।

सिंचाइको अभाव, सेपिलो ठाँउ, पाखो, बलौटे माटो। बिहान-बेलुका खान पुग्ने धान नफल्ने। चामल बाहिरबाट किनेर ल्याउनुपर्ने अवस्था थियो फूलमायाको गाउँमा।

भौगोलिक रुपमा असहज मानिएका ती ठाउँहरु आज पर्यटकीय स्थल बनेका छन्। तर पहिले विवाहवारी गराउन समेत गाह्रो हुन्थ्यो। मान्छेले खुबै हेप्थे फूलमायाको गाउँलाई। 

सडकबाट दुई मिनेटको दूरीमा घर सारेपछि उनले आर्थिक विपन्नतालाई देख्न थालिन्, बुझ्न थालिन्। त्यसपछि उनलाई लाग्यो, अब आफैं केही गर्छु।

‘२०४५ सालमा खनेको बाटो (टोखा छहरेको बाटो) हो यो। पहिले मान्छे कोही हिँड्दैनथे। गाडी चल्दैनथे तर पनि मलाई केही गर्नु थियो। सुरुमा चाउचाउ, चिया बेच्न थाले,’ फूलमायाले व्यापारको सुरुवाती चरण सम्झिइन्, ‘त्यतिन्जेल मेरा दुवै छोरा जन्मिसकेका थिए। यो २०६२ सालको कुरा हो।’

दुई वर्षसम्म १३ फिटे बाटोको छेउमा टिनले बारेर फूलमायाले चिया, चउचाउ बेचिन्।  छोराहरु हुर्कंदै गए। गाउँमा गतिलो स्कुल पनि भएन। उनी  घरबाट १० किलोमिटर माथि काठमाडौंको झोरमा डेरा गरी बस्न थालिन्। छोराहरु बोर्डिङ पढ्न थाले।

छोराहरु पढाउन सहरमा बस्दा उनलाई निकै बेचैनी हुन थाल्यो। आफैं काम गरौं भने बच्चा साना छन्। अरुको काम गर्न मन छैन।

‘दुई वर्ष काठमाडौं बसेपछि मैले स्कुललाई अनुरोध गरेर गाडी गाउँमा नै आउने बनाएँ,’ फूलमाया भन्छिन्, ‘तर स्कुलले १४ जना बच्चा खोज्नुपर्ने सर्त राख्यो। त्यत्तिका बच्चा खोज्न मलाई निकै सकस भयो। अहिले अरु काठमाडौं तिरका स्कुलले पनि यहाँबाट बच्चा लान्छन्। गाउँमा बसेर बच्चाले सहरमा पढ्न पाइरहेका छन्।’

फूलमायाले स्कुलाई मनाएकै भोलिपल्ट गाउँ फर्कने तयारी भयो। उनले कोठाका सामानसँगै चाउचाउ, चियापत्ति, चिनी, लगायत सत्ताइस सयको सामल पनि पोको पारिन्। र, गाउँ फर्किइन्।

२०६४ सालमा फूलमायाले गाउँ छोड्दा बाटो विस्तार हुन लाग्दै थियो। जसमा उनको टिनको दुई कोठे छाप्रो पनि भत्किइँदै थियो। त्यसैबाट विरक्तिएर र छोरालाई पढाउने चाहनाको प्रतिफल थियो फूलमाया सहर पस्नु।

‘बाटो पनि बढिसकेको थियो। मान्छेहरु फाट्टफुट्ट हिँड्न थालेका थिए। छोराहरुकै लागि भनेर काठमाडौं बस्न पनि परेन,’ उनी भन्छिन्, ‘बाटो छेउमा नै घर भएको कारण ठाउँको पनि समस्या भएन। पुरानो घरमा नै मैले फेरि चाउचाउ, चिया बेच्न थालें।’

चाउचाउ र चियासँगै फूलमायाले घरमै बनाएको मदिरा पनि बेच्न थालिन्। पहिलो दिन नै १० हजारको व्यापार भयो रे गाउँमा। भोलिपल्ट उनले तीन किलो मासु ल्याइन्। त्यसलाई सुकुटी बनाइन्। 

एकै दिनमा तीन किलो सुकुटी सकिएन। सुकुटी कोही बेला निकै जाने, कोही बेला नजाने भइरहन्थ्यो। तर व्यापार भने चलेकै थियो।

‘मान्छेहरु मैले बनाएको जे खाने कुरा पनि गजब मान्थे। विस्तारै खाना खानेहरु बढे। बिहान गाउँभरिका मान्छेलाई बात मार्दै चिया पिउने थलो पनि बन्यो। यसरी नै चलिरहेको थियो,’ उनी भन्छिन्, ‘एक  दिन बाटोबाटै एक जना ग्राहकले सुकुटी छ? भनेर सोधे। मैले नभएको जवाफ दिएपछि उनी न्याउरो अनुहार लगाएर फर्किए। ती ग्राहकको अनुहार मेरो मनमा गहिरो गरी बस्यो।’

ती ग्राहक फूलमायाको सुकुटीको तरिफ सुनेर काठमाडौंदेखि धाएर गएका रहेछन्। त्यसपछि भने उनले कहिल्यैं सुकुटी टुटाइनन्। र, कान्छा छोरा समीरको नामबाट सुरु भएको समीर खाजा घर अहिले सुकुटी घर बन्यो। अहिले फूलमाया दिनमै ६० किलोसम्म मासुको सुकुटी बेच्छिन्। 

उनका श्रीमान् गाउँगाउँबाट राँगा उठाउँछन्। अहिले फूलमायाको आफ्नै बधशाला पनि छ। उनी गाउँको लोकल राँगा र आफ्नो पाककलाको जादुले बढीमा एक लाखसम्म दिनमै कमाउँदै आएकी छिन्।

‘ग्राहकले नै नाम राखिदिएका छन्, सुकुटी खाजा घर। अब  त १० वर्ष बढी भयो। धेरै मान्छे चिनियो,’ फूलमाया भन्छिन्, ‘दिनमा  कम्तीमा ३५ हजार कमाउन कतै जान पर्दैन मलाई। जस्तै संकट आए पनि। चिने-जानेका मान्छे आए मात्र पनि टिक्नलाई गाह्रो हुन्न अब।’

बाटो विस्तारपछि यातायताको चाप बढ्यो। मान्छे बढे। फूलमायाको जीवनस्तर सुधारियो। बाटोको चहलपहलबाट उठेको उनको सुकुटी घर बन्दै गरेको छहरे टनेलले अप्ठ्यारोमा पर्ने त होइन? 

‘मेरो जस्तो स्वाद अरुले ल्याउँदैनन्। पुरानो घरमा गाउँले जीवनसँग जोडिएर खानादेखि खाजासम्म  खुवाउँछु,’ फूलमाया ढुक्क छिन्।

ग्राहकलाई समस्या नहोस् भनेर उनी निकै सचेत छिन्। त्यसकारण पनि उनलाई बन्दै गरेको टनेलसँग कुनै डर छैन। फूलमायालाई आफ्नो पाककलामा पूर्ण विश्वास छ।

'मेरोभन्दा राम्रा-राम्रा होटल छन्। म त स्वाद र सेवाकै कारण टिकेको हुँ। मेरो यही स्वाद र सेवाले मेरो गाउँ पनि फेमस भएको छ,’ फूलमाया भन्छिन्, ‘यहाँका मान्छेलाई काम गर्न, गाउँमै अवसर खोज्न आँट दिएको छ। पर्यटकीय ठाउँ बन्दै छ। मान्छेहरु हिजो हेला गरेका जग्गा-जमिन किन्न खोज्दै छन्। मेरो सुकुटीको बलले त यतिका रुप फेर्योद। सबै मिलेर यही देशमा गरे त नाम, दाम, काम सबै हुने रहेछ।’

विकासले दिएको अवसरको एक रुप आफैंलाई ठान्ने फूलमाया टोखा छहरे टनेलले पनि अरु धेरै फूलमाया जन्माउने बताउँछिन्। 

‘सानो कुराको विकासले पनि अवसर सिर्जना गर्दोरहेछ। त्यसलाई समात्न चाहिँ सक्नुपर्छ,' फूलमायाले कुराको बिट मारिन्।

९ फागुन, २०७८, १३:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।