हिंसा भड्कावको अभिव्यक्ति रोमान्सको अभिव्यक्ति बन्नुहुन्न : कांग्रेस महामन्त्री शर्मा 

हिंसा भड्कावको अभिव्यक्ति रोमान्सको अभिव्यक्ति बन्नुहुन्न : कांग्रेस महामन्त्री शर्मा 

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले व्यक्ति हत्याको धम्कीलाई गैह्र जिम्मेवार अभिव्यक्ति भनेका छन्। सामाजिक सञ्जाल ट्विटरमा महामन्त्री शर्माले मन्त्रीको गैह्र जिम्मेवार अभिव्यक्तिको स्वयं व्यक्तिद्वारा भुल स्वीकार र क्षमा याचना हुने लेखेका छन्। 

भुल स्वीकार र क्षमा याचना नगरे सम्बन्धित दलले राजीनामा गराउन पर्ने उनले उल्लेख गरेका छन्। सम्बन्धित दलले राजीनामा नगराए पदीय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीले पदमुक्त गर्नुपर्ने कांग्रेस महामन्त्री शर्माले लेखेका छन्। 

अझै झस्काइरहने त्यो दर्दनाक दृश्य : रगत लतपतिएको मन्दिर, कपाल टाँसिएको गोलो ढुंगा

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले माघ ५ गते रौतहटको गौरमा आयोजित जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ‘गौर हत्याकाण्ड’ जसरी नै घेरा हाली मार्ने धम्की दिएकी थिइन।

कांग्रेस महामन्त्री शर्माले यादवको व्यक्ति हत्या गर्ने अभिव्यक्ति गैह्र जिम्मेवार भनेका हुन्। उनले राज्यको जिम्मेवारीमा बस्नेको अभिव्यक्ति र व्यवहार तुलनात्मक रूपले बढी जिम्मेवार हुनै पर्ने उल्लेख गरेका छन्। 

‘हिंसा भड्कावको अभिव्यक्ति जोसुकैबाट होस् स्वीकार्य हुनुहुन्न, विगतको हिंसा देशका लागि गम्भीर पाठ बन्नुपर्छ, रोमान्सको अभिव्यक्ति बन्नुहुन्न’ लेखेर शर्माले ट्विट गरेका छन्।

८ माघ, २०७८, १२:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।