अझै झस्काइरहने त्यो दर्दनाक दृश्य : रगत लतपतिएको मन्दिर, कपाल टाँसिएको गोलो ढुंगा

अझै झस्काइरहने त्यो दर्दनाक दृश्य : रगत लतपतिएको मन्दिर, कपाल टाँसिएको गोलो ढुंगा
तस्बिर : संयुक्त अध्ययन प्रतिवेदन

मन्त्री रेणुकुमारी यादवले सिके राउतलाई पुन: गौर हत्याकान्ड दोहोरिनसक्ने चेतावनी दिएपछि यतिबेला मन्त्री यादवको सर्वत्र आलोचना भइरहेको छ। उनको भाषण सुनिरहँदा मेरो मन भने एकाएक गौरको त्यही रणभूमिमा पुग्यो।

जीवनमा पहिलो पटक त्यस्तो विभत्स दृष्य देखेको मेरो मनस्थिति सामान्य अवस्थामा फर्कन करिब एक महिना लागेको थियो। पछिसम्म पनि ती दृष्यले सपनामा बारम्बार झस्काइरहे मलाई। एउटा ढुंगा फनफनी दिमागमा घुमेको घुम्यै गरिरह्यो। जति प्रयास गरे पनि भुल्न सकिएन। अहिले पनि गौर घटनाको कुरा हुँदा त्यही ढुंगा झुल्किहाल्छ।

घटनास्थलमा पाँच दिनपछि पुग्दा त त्यस्तो थियो भने जुन दिन घटना भएको हो, त्यो दिनको दृष्य कस्तो थियो होला?

०००
राजधानी दैनिकमा स्ट्रिन्जरको रुपमा स्थानीय निकाय सम्बन्धी रिपोर्टिङ गर्थें म। एक दिन सम्पादक जीवेन्द्र सिम्खडाले बोलाएर एउटा रिपोर्टिङका लागि गौरमा टोली जाँदै रहेछ, तिमी जाउँ है भन्नुभयो। म उत्साहित भएँ।

जीवेन्द्र दाइले ओम शर्माको नाम लिनुभएको थियो। राजधानीमै जीवेन्द्र दाइलाई शर्मा भेट्न आउँदा एकाध पटक सँगै चिया पिएकाले मलाई सजिलै पनि भयो। अन्य को छन् टोलीमा थाहा थिएन।

२०६३ चैत ७ गते रौतहटको गौर बजारमा भएको नरसंहारबारे पत्रिकामा पढे पनि त्यति विस्तृत याद गरेको थिइनँ। त्यही घटनाबारे स्थलगत रिपोर्टिङ गर्न जाने भनेपछि पत्रिकाका पाना पल्टाउँदै समाचार डिटेलमा पढ्न थालें।

-   गौरबजारको चौरमा मधेसी जनअधिकार फोरम र नेकपा माओवादी निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाबीच एकै स्थानमा कार्यक्रम गर्ने सिलसिलामा घटना भएको थियो।

झस्काइरहने त्यो ढुंगा

मधेसमा फोरम र माओवादीबीच टकराव सुरु भइरहेको थियो। कार्यक्रम एकै दिन, एकै समय अनि एकै स्थानमा राखिएको थियो। यसले झडपको जोखिम बढाएको थियो। 

पछि एकै दिन एकै स्थानमा कार्यक्रम गर्ने भए पनि समय भने अगाडि-पछाडि पार्ने सहमति भएको रहेछ। त्यहीअनुसार फोरम र मोर्चाको मञ्च करिब ६० मिटर दूरीमा बनाए।

फोरमको कार्यक्रम सकिएपछि मोर्चाको कार्यक्रम गर्ने समझदारी अनुसार मोर्चाको जुलुस बजार परिक्रमामा निस्कियो। उता चौरमा भएको मोर्चाको मञ्च एक समूहले भत्काउन थाले। मोर्चाको जुलुस चौरमा आइपुगेपछि उनीहरुले पनि फोरमको मञ्च भत्काउन थाले।

झडप सुरु भयो। बाँस, घरेलु हतियार मात्रै हैन, गोली समेत चल्यो। आधुनिक हतियारबाट माओवादीमाथि आक्रमण भएका दावीहरु पनि थिए। घटनामा २७ जना माओवादी कार्यकर्ता मारिए।

समाचार पढेपछि आवश्यक पर्नसक्ने तथ्यहरु डायरीमा टिपें। 

यस्तो रिपोर्टिङको अनुभव थिएन। समाचार पढ्दै मन डराइसकेको थियो। समाचार पढ्दा कुनैमा माओवादीको गल्ती जस्तै लाग्थ्यो, कतै मधेसी जनअधिकार फोरमको। मुख्य समस्या चाहिँ कसको प्रभाव बढी भन्ने इगोले घटना गराएझैँ पनि नलागेको हैन।

०००
चैत १२ गते काठमाडौँबाट टोली हिँड्यो। टोलीमा अर्का परिचित पनि भेटें, फोटो पत्रकार सागर श्रेष्ठ। माइक्रो बस अगाडि बढ्दै जाँदा गौर हत्याकान्डबारे छलफल हुन थाल्यो। भाषा सुन्दा माओवादी पक्षधर अलि बढी नै छन् कि जस्तो लाग्यो। तर सबैसँग परिचित नभएकाले म मौन बसेर उनीहरुको विमर्श सुनिरहें।

राज्यको संक्षणमा भएको अपराध, भारतीय सत्तापक्षको समेत सहयोग छ भन्नेजस्ता विमर्श भइरहेका थिए।

छलफलमै घटनास्थलमा पुगेपछि आइपर्नसक्ने सुरक्षा चुनौतीबारे छलफल सुरु भयो। 'हामी आएको थाहा पाए भने बीचैमा हामीमाथि आक्रमण पनि हुनसक्छ' भन्दा साँच्चै ओठ-तालु सुकेको थियो। पछि परिचय भएका खिलबहादुर भण्डारीले गौरमा रहेका कसैसँग सुरक्षाको बन्दोवस्तीबारे कुराकानी गरिरहेका थिए।

माओवादीको मञ्च

'बीच बाटैमा त आक्रमण हुन्न नि? अनि सुत्ने र खाने ठाउँ त सुरक्षित छ नि?' कुराकानी यस्तै-यस्तै।

म पुलुक्क सागरको अनुहार हेर्थें। अलि हिमचिम भएका उनीमात्रै त थिए। उनी चाहिँ मेरो डराएको अनुहार हेरेर मुसुक्क हाँस्थे।

कतै चिया खान ओर्लिएको बेलामा सागरले 'ह्या कति डराएको, यस्तो पाराले पनि पत्रकार हुन सकिन्छ। केही हुन्न' भनेको अझै सम्झन्छु।

मैले डराएको छैन भनेर ढाँटे उनलाई। मनमा चाहिँ लागिरहेको थियो, के भएको रहेछ भनेर पत्रकार हेर्न आउँदैमा आक्रमण नै त किन होला र!

गौर पुग्दा अबेर भइसकेको थियो। बजारतिर जाने कुरा भएन। कतै भित्र बस्तीमा खाने-बस्ने व्यवस्था गरिएको रहेछ, माओवादीको स्थानीय कार्यकर्ताको घरमा।

आक्रमण भए के-कस्ता सावधानी अपनाउन सकिन्छ? वस्तीमा फोरम समर्थक कति छन्? यस्तै विषयमा बेलुका छलफल भएको थियो। फोरम भनेको त खतरै रहेछ भन्ने लागिरह्यो।

तल रित्तै अनि माथि चारैतिर खुला भएको ठाउँमा लहरै सुत्ने व्यवस्था मिलाइएको थियो। खानाको राम्रै व्यवस्था गरिएको थियो। खाना खाएर सुतियो। तर निन्द्रा लाग्नुपर्यो नि! 

फोरमको मञ्च

यताउता छिसिक्क भयो कि लौ फोरम आयो हान्न जस्तो लागिरहने। अब बन्द कोठामा सुतेको भए पनि यत्तिको डर हुन्थेन। न झ्याल न ढोका भएको खुला ठाउँमा सुतिएको थियो। 

कतिखेर पो आँखा लागेछ। कल्याङमल्याङले आँखा खुल्यो। केही तयार भइसकेका केही सुतिरहेकै। चिया-नास्ता खाएर घटनास्थल लागियो सुरक्षा प्रबन्धसहित।

हामी जता जान्थ्यौं बढो शंकालु नजरले हेर्थे स्थानीय। प्रहरी थिए सुरक्षाका लागि। कसैसँग कुरा गर्न पनि समस्या। स्थानीय सकेसम्म तर्किरहेका थिए। उनीहरुको आँखामा डर प्रष्ट देखिन्थ्यो। समूहबाट अलग भएर एक्लै रिपोर्टिङ गरौं कि क्या हो भन्ने नलागेको होइन। तर हिम्मत आएन फोरमको कुराले। समूहसँगै हिँडे।

पहिला चौरमै पुग्यौं। पुरानो राइस मिलको चौरमा वारि र पारि बनाएको मञ्चको अवशेषमात्र बाँकी थिए। केही स्थानीय घटनाबारे जानकारी गराउन समूहसँगै हिँडे। 

उनीहरु ऊ त्यताबाट गोली चलेको थियो भन्दै देखाइरहेका थिए। पुरानो राइस मिल चौरमा मोर्चाका पाँच जना कार्यकर्ता मारिएको बताइयो। वाइसिएल उपाध्यक्ष लक्ष्मण यादवले मोर्चाका कार्यकर्ता गोली लागेर घाइते भएपछि पनि फोरमका कार्यकर्ताले लाठी, फट्टा र खुकुरीले हानेर मारेको बताए।

उनी यसले हाने भन्दै देखाइरहेका थिए। तर चौरमा देखिने प्रमाण केही थिएनन्। हजमनिया बोधिमाई मन्दिर रहेछ पाँच किलोमिटरको दूरीमा। भागेर त्यता पुगेका माओवादी कार्यकर्तालाई लखेटी-लखेटी मारेको भन्दै थिए स्थानीय सहयोगी। माओवादी कार्यकर्तालाई मन्दिरमा बलि दिएको भन्दै थिए। त्यहाँ ११ जना मारिएका थिए।

त्यहाँ पुग्दा भने घटना कतिसम्मको गम्भीर भएको रहेछ भन्ने प्रमाणहरु देखियो। आक्रमणमा प्रयोग भएका बाँस त्यहीं थिए। आधा काटिएको बाँसको धारतिर रगत लागेका थिए भने केहीमा कपालको रौँ समेत देखिन्थे। गहुँ खेतमा मानिस लड्दाको आकृति जस्ताको तस्तै थियो। रगत लागेका कपडा थिए।

सबैभन्दा भयावह दृष्य देखियो मन्दिर नजिकै। केहीले माओवादीका कार्यकर्ताहरुलाई कब्जामा लिएर मन्दिरमा बलि नै दिएको दावी गरेका थिए। मन्दिरमा रगतका टाटाहरु देखिन्थे। 

नरबली दिएको दाबी गरिएको मन्दिर

मन्दिर नजिकै गोलो ठूलो ढुंगा थियो। ढुंगामा रगतको ठूलो टाटो थियो। टाटोसँगै टाँसिएका कपाल थिए। नजिकै गिदी। घटनाको छैटौँ दिन पुग्दा त त्यस्तै दृष्य थियो भने घटनाको दिन कस्तो थियो होला! 

त्यो दृश्य देख्दा आङ नै सिरिङ्ग भयो। त्यसमा स्थानीय सहयोगीले यसरी हानेर मारे, यता महिलालाई लडाएर गुप्ताङमा बाँस घोचे भन्दा घटना नै लाइभ देखिए झैँ लाग्ने। तर मेरो दिमागमा चाहिँ रगत र कपाल टाँसिएको त्यो ठूलो ढुंगा नमेटिने गरी गढेछ।

लामो समयसम्म पनि त्यसले मलाई विचलित बनाइरह्यो। काठमाडौँ फर्किएर आएपछि पनि धेरै पटक सपना देखें, कसैले ढुंगा उचालेर हानिरहेको। अहिले पनि गौर घटना भन्नासाथ पहिला झलक्क आउने त्यही ढुंगा हो। 

०००
बोल्न राजी अधिकांश स्थानीय माओवादी समर्थितहरु नै भएको उनीहरुको बोलीबाटै थाहा भयो। अपराधीहरुले यसरी मारे, उसरी मारे भन्दै थिए। राज्य नै हामी विरुद्ध लागेको छ त स्थानीयले पक्कै भन्दैनन्। 

घटनास्थल नजिकैका ४०/५० घर त रित्तै रहेछन्। डरले भागेछन् स्थानीय। केही वृद्धले भने घटनाबारे बताए। नमार भन्दै नमस्कार गरिरहेकालाई बाँसको फाटकले हानेर मार्ने, आगो लगाइदिने, महिलाको गुप्ताङ्गमा बाँसले घोच्ने जस्ता उनीहरुले बताएको दृष्य त्यो दिन गौरमा भुतै चढेको झैँ लाग्यो। केहीले गोलीको आवाज सुनेको भने पनि गोली फोरमले हाने कि माओवादीले चाहिँ भनेनन्।

जिल्ला प्रहरी कार्यालय गौरका तत्कालीन एसपी रामकुमार खनालसँग घटनाबारे कुरा भयो। घटना भएको बेलामा प्रहरी प्रशासनले सहयोग नगरेको, गोली चल्दा समेत प्रहरी एक्सनमा नआएको, फोरमलाई सघाएको जस्ता आरोप थिए प्रहरीमाथि। घटनामा संलग्न कोही पक्राउ नपरेकाले पनि प्रहरीको भूमिका शंकास्पद हुने नै भयो। केही स्थानीयले दिएको जानकारीका आधारमा झडप सुरु भएपछि जुन रुपमा प्रहरी सक्रिय हुनुपर्ने हो त्यो भएको भने देखिएन।

तर, प्रहरीले भने सुरक्षा प्रबन्ध गरेकाले नै कम क्षति भएको दावी गरिरहेको थियो। स्थलगतमा फोरमको कुनै पक्षसँग कुराकानी हुन सकेन। यो चाहिँ खट्किइरह्यो। फोरमका पनि कुनै नेतासँग कुरा गर्न पाए हुने भन्ने आसय राखेको पनि हो। तर भेट्दा जोखिम हुन्छ झैँ कुरा भएकाले मैले एक्लै हिम्मत पनि गरिनँ। तर कता-कता ब्यालेन्स नभएको अनुभव भने भइरह्यो। किनकी, सबै आरोप फोरममाथि नै लागेको थियो। माओवादीबाट पनि केही भएको थियो कि? जनयुद्धको धङधङी अझै त छ भने २०६३ मा झन कति थियो होला? फोरमले भटाभट हान्दा साँच्चै निरीह नै भएका थिए त माओवादी?

त्यता फोरमका कसैसँग कुरा गर्न सम्भव नभएपछि काठमाडौँ फर्किएर कुरा गरौँला भनेर हिँडे। त्यो रात गौरमै बस्दा जोखिम हुन्छ भनेकाले त्यही दिन काठमाडौँ फर्कियौँ टोली। फर्कदा आँखामा त्यही मन्दिर अनी त्यही ढुँगा घुमिरह्यो। अझै घुमिरहेको छ।

म देख्नेको अवस्था त अझैँ यस्तो छ भने जसले भोगे अनी जो मारिए उनीहरुको परिवारको अवस्था कस्तो होला ! कसैले कुरा कोट्याउँदा भो पुराना कुरा भनेर तर्किनुपर्ने त्यस्तो नरसंहार दोहोर्याउँछु भन्ने हिम्मत कहाँबाट आउँछ होला !

७ माघ, २०७८, २१:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।